नेपाली नर्सको तलव जम्मा ४ देखि ८ हजार, अधिकांश नर्सको पीडा एउटै पैसा थोरै, पेलान धेरै
हेल्थपोष्टको फाइल तस्बिर काठमाडौं । सिता शर्मा राप्ति उपक्षेत्रिय अस्पताल घोराहीमा काम गर्छिन। उनले त्यस अस्पतालमा काम गरेको २ वर्षभन्दा बढी समय भयो। उनी बेलुका ४ बजे अस्पताल पुग्छिन । अस्पतालका शैथ्यामा विरामीहरुको सेवामा तत्लिन हुन्छिन् । राती १० बजे ड्युटी सकिन्छ। घर फर्कदा उनलाई सुरक्षाको कुनै अनुभूति छ न त उनलाई अस्पताल प्रशासनले घरसम्म लगिदिन्छ। यो समस्या सिताको मात्र होइन । देशभरका निजी तथा सरकारी अस्पतालमा कार्यरत अधिकांश नर्सहरुको हो। नेपाल नर्सिङ एशोसिएसनको तथ्थांक अनुसार ६७ हजार नर्स नेपालमा दर्ता भएका छन् । जसमध्ये ६ हजार ५ सय जना सरकारी सेवामा छन् । २२ हजार निजी अस्पतालमा छन् । केही एनजिओ र थुप्रै विदेशमा छन् । उनीहरुको तलव मासिक ४ हजारदेखि ८ हजार रुपैयाँसम्म हुन्छ। समस्या उठायो भने जागिर जाने डर उनीहरुमा छ। नेपाल समाचार पत्र दैनिकबाट ।
मृगौला रोगको उपचारमा सबै सम्पति बेच्दासमेत खर्च पुगेन, भैँसी र बारिको पाटो पनि सकिदैँ
फाइल तस्बिर म्याग्दी । बाबियाचौर ३ खुम्ल्याका योगनाथ शर्माले गोठमा पालेको भैँसी बिक्री गरेर श्रीमतीको उपचारमा खर्च गरे। एक वर्षअघि ५० वर्षीया श्रीमती टीकाकुमारीको मिर्गौलामा समस्या देखिएपछि उपचारमा उनले घरमा भएको पशुचौपाया बिक्रीका साथै आफन्त र छिमेकीबाट दुई लाखभन्दा बढी ऋण लिए। विपन्न परिवारका शर्माले पशुचौपाया र अन्नपात बेचेरसमेत श्रीमतीको उचारमा खर्च गरे पनि उपचार पूरा हुन सकेको छैन। अब एउटा भैँसी र खेतका केही फोटा बाँकी छन्। ती पनि बेचेर उपचार प्रयास गरिरहेको छु, शर्माले भने। टीका कुमारी गत असारमा लगातार बिरामी भएपछि उपचारका क्रममा चिकित्सकले मिर्गौलामा पत्थरी भएको र मिर्गौलाले समेत काम नगरेको बताए। त्यसपछि शर्माले अञ्चलभित्रका सबै अस्पताल, पोखराका मणिपाल, गण्डकी र काठमाडौंको ओम हस्पिटलसम्म पुगेर उपचार गराए। घरको सबै सम्पति बेच्दासमेत श्रीमतीको उपचार खर्च पुगेन। बालबच्चाको पनि बिजोग भएको छ, शर्माले भने। ऋण दिएका साहुले समेत ताकेता गर्न थालेपछि समस्या थपिएको उनले गुनासो गरे। नागरिक दैनिकबाट ।
नब्बे रुपियाँको औषधि एघार रुपियाँमै, प्रसुति गृहमा बाहिरको भन्दा २० प्रतिशत सस्तो
काठमाडौं १८, माघ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले आफ्नै औषधि पसल (फार्मेसी) सञ्चालनमा ल्याएको छ । गतवर्ष सर्वोच्च अदालतले सरकारी अस्पतालमा आफ्नै फार्मेसी राख्नुपर्ने आदेश जारी गरेपछि सरकारी अस्पतालले फार्मेसी राख्न सुरु गरेका हुन् । परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक डा.अमिरबाबु श्रेष्ठले सोमबारबाट विधिवत् रूपमा अस्पतालको छुट्टै फार्मेसी सञ्चालन गरेको जानकारी दिए। उनले सरकारले उपलब्ध गराएको बीउ पुँजीबाट फार्मेसी सञ्चालन गरिएको जानकारी दिँदै बाहिर निजी फार्मेसीले बेच्ने मूल्यभन्दा पाँच गुणासम्म कममा औषधि बिक्री गर्न सकिने बताए। अन्य औषधिमा पनि बाहिरभन्दा २० प्रतिशतसम्म छुटमा औषधि बिक्री गर्न सकिने भन्दै डा. श्रेष्ठले सार्वजनिक खरिद ऐन अन्तर्गत टेन्डरमार्फत औषधि लिएको बताए। टेन्डरमार्फत औषधि लिँदा धेरै कम मूल्यमा औषधि बेच्न सकिन्छ, निर्देशक डा. श्रेष्ठले अस्पतालको फार्मेसीमा नेपाल सरकारले सूचिकृत गरेका सम्पूर्ण औषधि पाइने बताए। आमा सुरक्षा कार्यक्रम अन्तर्गत निःशुल्क गर्नुपर्ने सम्पूर्ण औषधि फार्मेसी अन्तर्गतको छुट्टै शाखाबाट वितरण गरिने जानकारी दिँदै हाललाई छ जना जनशक्तिको व्यवस्था गरेर फार्मेसी सञ्चालनमा ल्याइएको बताए। अहिले निजी औषधि पसलमा ९० रुपियाँ पर्ने आईभी क्यानोलालाई टेन्डरमार्फत् लिँदा अस्पतालले ११ रुपियाँमा बिक्री गर्दा पनि फाइदा हुने उदाहरण दिँदै उनले अन्य सर्जिकलका सामान र औषधि पनि कम मूल्यमा बिक्री गरिने बताए। गोरखापत्र दैनिकबाट ।