हेटौँडामा ६२ जनामा भेटियाे डेङ्गु सङ्क्रमण

हेटौंडा । मकवानपुरमा ६२ जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ । सङ्क्रमितमध्ये ३० जना सरकारी तथा ३२ जना निजी क्लिनिकमा उपचार गराइरहेका छन । ती सबै सङ्क्रमित हेटौँडा उपमहानगरपालिकाका छन् । डेङ्गुको संक्रमण बढेपछि उपमहानगरपालिकाले यसको नियन्त्रणका लागि पहल थालिएको छ । उपमहानगरपालिकाको बुधबार बसेको कार्यपालिकाको बैठकले प्रत्येक वडामा डेङ्गु नियन्त्रणका लागि समिति गठन गर्ने र लामखुट्टेको लार्भा र प्युपा बस्ने वासस्थान नष्ट गर्ने निर्णय गरेको हो । डेङ्गुका बिरामीको सङ्ख्या बढेपछि उपमहानगरपालिकाले डेङ्गु प्रभावित क्षेत्रमा लामखुट्टे मार्ने र सचेतनामूलक कार्यक्रम गरिरहेको हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले बताएका छन् । हेटौँडामा विगत चार दिनदेखि जनचेतना जगाउँदै डेङ्गुको सङ्क्रमण हुने स्थानको पहिचान गरी डेङ्गु सार्ने लामखुट्टे, त्यसका लार्भा र प्युपा खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन गरिएको हेटौँडा उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाबाट माइकिङ गर्ने, लामखुट्टेको बासस्थान नष्ट गर्ने, टोलटोलमा यसका बारेमा जनचेतना जगाउने, विद्यालयमा गएर चेतनाको अभियान सञ्चालन गर्ने लगायतका काम गरिएको उपमहानगरपालिकाका स्वास्थ्य शाखाप्रमुख सुपेन्द्र कार्कीले बताए । वर्षासँगै डेङ्गु रोग फैलन सक्ने भन्दै उनले सचेत हुन र भाँडामा पानी जम्न नदिन स्थानीयवासीलाई आग्रह गरेका छन् । एक हप्तासम्म भाँडोमा जमेको पानीमा डेङ्गु सार्ने लामखुट्टे हुर्कने चिकित्सकले बताएका छन् । एडिस एजेप्टाई नामको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु रोग लाग्छ । उक्त लामखुट्टे कुनै पनि भाँडामा जमेको सफा पानीमा बस्ने र उसका लार्भा त्यसैमा हुर्कने गर्छ । त्यसैका लागि चेतना दिन र पानीमा रहेका लार्भा तथा प्युपा नष्ट गर्न घरघरमा अभियान सञ्चालन गर्न लागिएको प्रमुख कार्कीले जानकारी दिए । गमला, टायर तथा फालिएका प्लास्टिकका भाँडामा जमेको पानीमा यसले फूल पार्ने गर्छ । उपमहानगरपालिका क्षेत्रमा यस्तो समस्या देखिएसँगै जिल्लाका अन्य क्षेत्रहरुबाट पनि बिरामीलाई डेङ्गुको आशङ्कामा स्वास्थ्यकर्मीहरुले हेटौँडा रेफर गर्ने क्रम बढेको बताइन्छ । तर ग्रामीण क्षेत्रहरुमा भने हालसम्म त्यस किसिमका प्रयास भएको पाइँदैन । लामखुट्टेबाट जोगिन र शङ्का लागेमा सम्बन्धित स्वास्थ्य केन्द्रमा गई उपचार गराउन प्रदेश ३ को सामाजिक विकास मन्त्रालयले अनुरोधसहित सूचना समेत जारी गरेको छ । रासस

सिभिल अस्पतालमा अब लाइन बस्नु पर्दैन, प्रभु पे बाट घरमै बसेर टिकट काट्न सकिने

काठमाडौं । सरकारी अस्पतालमा बिरामी जाँच गर्ने भन्ने वित्तिकै धेरैले लामो लाइन बसेर टिकट काट्न गर्नुपर्ने दुःख सम्झन्छन् । तर, अब अस्पतालको ओपिडी टिकट लिन बिरामी तथा बिरामीको आफन्तले घन्टौं लाममा बस्नुपर्ने अवस्थाको अन्त्य हुने भएको छ । टिकट काट्नका लागि बिरामीले अस्पतालमा समेत पुग्न नपर्ने सुबिधा भएको छ । अब बिरामी वा आफन्तले घरमा बसेर नै अस्पतालको ओपिडी टिकट काट्न सक्नेछन् । प्रभु पे मोबाइल वालेट मार्फत अस्पतालको ओपीडी टिकट काट्ने व्यवस्थाको सुरुवात सिभिल अस्पतालबाट भएको छ । मेडीफ्लो सोलुसनले प्रभु पे मोबाइल एप मार्फत घरमा नै बसेर टिकट काट्न सक्ने प्रविधिको विकास गरेको हो । उक्त प्रविधिबाट टिकट काट्ने व्यवस्था शुरु गर्ने सिभिल अस्पताल पहिलो हो । मेडिफ्लोले अन्य अस्पतालमा पनि यो सेवा विस्तार गर्दै लैजाने मेडीफ्लोका सिओओ सुरेन्द्र न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार मेडीफ्लोले अहिले यो सेवा प्रभु पे मोबाइल बालेटसँगको सहकार्यमा शुरु गरेको छ । अस्पतालले बिरामीको सहजताका लागि प्रविधिको प्रयोग गर्दै प्रभु पे मोवाइल वालेट मार्फत टिकट काट्ने व्यवस्था शुरु गरेको अस्पतालका कार्यकारी निर्देशक प्राडा दीर्घराज आरसीले जानकारी दिए । ‘अस्पतालमा ओपिडीको टिकट लिनका लागि निकै लामो लाइन बस्नुपर्ने बाध्यता छ,’ उनले भने–‘हामीले विभिन्न प्रविधिको प्रयोग मार्फत यसलाई व्यवस्थित बनाउने काम गरिरहेका छौं । अब मोबाइल एपबाट नै काट्न सकिने भएपछि बिरामीले घरबाट नै टिकट काट्न सक्ने भएका छन् ।’ कार्यकारी निर्देशक डा. आरसीका अनुसार अस्पतालमा हाल दैनिक ८०० सय बिरामी ओपीडीमा आउने गरेका बताइएको छ । अहिले यो सेवा मार्फत टिकट काट्नका लागि मोबाइल प्रयोगकर्ताले प्रभु पे मोबाइल बालेट नामक एपलाई डाउनलोड गर्नुपर्छ । प्रभु पे मोबाइल बालेट बाट यो सेवा लिने ग्राहकको लागि बिशेष सहुलियतको ब्यबस्था गरिने प्रभु टेक्नोलोजीका जीेएम खुशल रेग्मीले जानकारी दिए ।

युनि ग्लोव कलेजले गर्यो स्वास्थ्य शिविर

काठमाडौँ । काठमाडौंको नयाँबानेश्वरमा रहेको युनिग्लोव कलेज परीसरमा सोमवारको स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त शिविरमा रक्तदान कार्यक्रम, आँखा जाँच शिविर, दन्त जाँच शिविर र छाला जाँच सम्बन्धि शिविर, जनरल फिजिसियन जाँच शिविर लगायत फिजियोथेरापी प्रशिक्षण समेत दिइएको थियो । कार्यक्रममाविभिन्नविषयका विशिष्ट विशेषज्ञ डाक्टरहरुको टोलिको उपस्थिति रहेको थियो । कार्यक्रममा झण्डै १२० पाउण्ड रगत संकलनभएको थियो । उक्त शिविरमा कलेजका विद्यार्थीहरु, शिक्षक, कर्मचारीलगायत टोलवासीहरुले निशुल्क स्वास्थ्य जाँच गर्ने अवसर प्राप्त गरेका थिए ।