औषधि व्यवसायी सङ्घको अध्यक्षमा निर्वाचित भए पन्त

चिप्लेढुंगा । नेपाल औषधि व्यवसायी सङ्घ जिल्ला कार्यसमितिको अध्यक्षमा विक्रम पन्त निर्वाचित भएका छन् । पन्तले प्रतिष्पर्धी सञ्जीव देवकोटा क्षेत्रीलाई पराजित गरी प्रथम अधिवेशनबाट अध्यक्ष बनेका हुन् । शनिबार राति सम्पन्न मतदानबाट पन्तको पक्षमा १४५ र प्रतिष्पर्धी देवकोटाको पक्षमा १३२ मत परेको थियो । सङ्घको उपाध्यक्षमा धीरज गौतम, महासचिवमा पूर्णबहादुर बस्नेत ‘काजी’, कोषाध्यक्षमा मिलन श्रेष्ठ, सचिव निराजन रेग्मी र उपकोषाध्यक्षमा विक्रमराज पहारी निर्वाचित भएका छन् । त्यसैगरी तीन सदस्यमा सुमन तिवारी, आशा आले रानामगर र दुर्गाप्रसाद अधिकारी निर्वाचित भएका हुन् । यसअघि सङ्घको उद्घाटनसत्रमा गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले औषधि व्यवसायी नाफामुखी मात्र हुन नहुने भन्दै सामाजिक दायित्वमा ध्यान दिन आग्रह गरेका थिए । उनले नागरिकको लागि एकीकृत स्वास्थ्य अभियानबाट बजेटको व्यवस्था गरेको जानकारी दिएका थिए । औषधि व्यवसायी सङ्घ गण्डकी अञ्चलका अध्यक्ष रामबहादुर केसीले प्रादेशिक संरचनाअनुसार सङ्घले आफ्नो क्षेत्र विस्तार गरेको बताएका छन् । व्यावसायिक हकहितको पक्षमा ऐक्यबद्ध भएर सामाजिक उत्तरदायित्व बहन गर्दै सङ्घ अघि बढ्ने उनको भनाइ थियो । रासस

मेडिसिटीमा बिना शल्यक्रिया प्रोस्टेट समस्याको उपचार

काठमाडोँ । शारीरिक समस्याका कारण शल्यक्रिया चुनौतीपूर्ण भएका मुत्र रोगीहरुको उपचार अब शल्यक्रिया बिना नेपालमै पहिलो पटक नेपाल मेडिसिटीमा शुरु भएको छ । ललितपुर स्थित नेपाल मेडिसिटी अस्पतालका इन्टरभेन्सनल रेडियोलोजीष्टहरुले नेपालमै पहिलो पटक प्रोष्टेट आर्टरी इम्बोलाइजेसन सम्भव गरेका हुन् । नेपाल बाहिरका थुप्रै अस्पतालमा शल्यक्रियाको विकल्पका रुपमा प्रचलित यस पद्धतिबाट ७५ वर्षीय पुरुष नेपालमै पहिलोपटक लाभान्वित भएका छन् । प्रोष्टेट ग्रन्थीलाई आपूर्ति गर्ने आर्टरीलाई बन्द गरी प्रोष्टेटलाई निष्किृय पार्ने यो पद्धतीलाई प्रोष्टेटिक आर्टरी इम्बोलाइजेसन भनिन्छ । मंगलबार करिब १ घण्टा लगाएर गरिएको यो प्रक्रिया पश्चात बुधबार बिरामीलाई डिस्चार्ज गर्न समेत सफल भएको असपतालका इन्टरभेन्सनल रेडियोलोजिष्ट डा.ओम बिजु पन्तले जानकारी गराए । उनका अनुसार विदेशमा धेरै अभ्यास गरिने प्रोष्टेटिक आर्टरी इम्बोलाइजेसन नेपालमा पहिलो पटक सम्भव भएको हो । बेनाइन् प्रोष्टेटिक हाइपरप्लासीया अर्थात प्रोष्टेट ग्रन्थी बढ्ने समस्या भएका व्यक्तिलाई अपनाइएको यो पद्धतिले कम्मर र तीघ्रा बिचको भागमा सानो प्वाल बनाइ प्रोष्टेट ग्रन्थीमा रक्तसञ्चार रोक्ने काम गर्दछ ।

नेपालमा उत्पादन हुने औषधि पनि विदेशबाट आयात, वर्षेनी विदेशिन्छ ३० अर्ब

काठमाडौं । औषधि उत्पादनमा नेपाल आत्मनिर्भरतातर्फ उन्मुख छ, तर नेपालमै उत्पादन  हुने औषधि पनि विदेशबाट आयात हुँदा वर्षेनी ३० अर्ब नेपाली रुपैयाँ विदेशिंदै आएको छ । मुटुरोग, एन्टीबायोटिक, मधुमेह, श्वासप्रश्वास सम्बन्धी औषधी नेपालमा पर्याप्त उत्पादन भएपनि विभिन्न देशबाट निर्वाध रुपमा भित्रिरहेका छन् । नेपाल औषधि उत्पादक संघका अध्यक्ष दीपकप्रसाद दाहाल भन्छन्-नेपाल औषधि उत्पादकको क्षेत्रमा आत्मानिर्भर हुने प्रयासमा रहिरहेको अवस्थामा यस्तो गतिविधिले नेपाली व्यवसायीहरु निराश छन् । खुला बजार र सरकारको कमजोर नीतिका कारण विदेशी औषधि नेपालमा निर्वाध रुपमा भित्रिरहेका छन्-अध्यक्ष दाहालले भने । नेपाल औषधि उत्पादक संघका अनुसार नेपाल ६३ प्रकारका औषधिमा आत्मानिर्भर भईसकेको छ । त्यसमा पनि झोल औषधि र मलममा नेपाल पूर्णरुपमा आत्मानिर्भर भईसकेको अवस्था छ । नेपालमा वर्षको ५५ अर्ब बराबरको औषधि खपत हुने गरेको छ । यी खपत हुने औषधिको ८० प्रतिशत कच्चा पदार्थ भारतबाट आयत हुने गर्दछ । यता, भारत औषधि उत्पादन गर्ने राष्ट्रमा विश्वकै तेस्रो ठूलो मुलुक हो । त्यहाँ उत्पादन हुने औषधिको ८५ प्रतिशत कच्चापदार्थ चीनबाट आयात हुन्छ । चीनबाट आयत हुने औषधिको कच्चा पदार्थ भारतले नेपाललाई सोही मूल्यमा उपलब्ध गराए नेपालमा औषधि उत्पादन लागत ४० प्रतिशत सस्तो हुने अध्यक्ष दाहाल बताउँछन्। उनी भन्छन्–‘नेपालले चीनबाट सिधै औषधिको कच्चा पदार्थ थोरै परिमाणमा ल्याउँदा सस्तो पर्दैन, तर भारतले ल्याएको कच्चा पदार्थ नेपाललाई त्यही रकममा उपलब्ध गराए ४० प्रतिशत लागत घट्छ ।’