देशभर २२ हजार औषधी पसल, नियमन गर्ने विभागमा छैन पर्याप्त जनशक्ति
काठमाडौं । देशभर २२ हजार औषधी पसल छन् । ती औषधी पसल मध्ये कयौँले अबैध धन्दा गरिरहेको गुनासो आउने गरेको छ । तर, ती औषधी पसलहरुको अनुगमन गर्न ३४ जनाको मात्रै जनशक्ति छ, जसका कारण प्रभावकारी अनुगमन हुन सकेको छैन । औषधी व्यवस्था विभागको तथ्याङ्क अनुसार नेपालमा हाल ५५ नेपाली औषधी उद्योग छन् । देशभर २२ हजार औषधी पसल र ३५० भन्दा बढी अन्तरराष्ट्रिय कम्पनीको औषधी नेपालमा विकी वितरण भईरहेको छ । विभाग र शाखा कार्यलयमा कार्यरत कर्मचारीको कूल संख्या १५० जना छ । औषधी व्यवस्था विभागमा स्थापनाकालदेखि कर्मचारी संख्या थप भएको छैन । जबकी औषधी उद्योग र पसलहरु भने बढीरहेका छन् । त्यसकारण विभागको काम प्रभावकारी हुन नकसको प्रवक्ता सन्तोष केसी पनि स्वीकार गर्छन् । काठमाडौंको बबरमहलमा केन्द्रीय कार्यालय र बिराटनगर, बीरगंज तथा नेपालगञ्जमा गरी जम्मा ३ वटा मात्रा शाखा कार्यालय रहेको छ । नेपाल स्वास्थ्य मन्त्रालयको मातहतमा औषधी व्यवस्था विभागको स्थापना २०३६ सालमा भएको हो । औषधी उत्पादन ऐन २०३५ अनुसार औषधी नियमन गर्नको लागि सरकारले औषधी व्यवस्था विभाग स्थापना गरेको हो । तर कर्मचारीको अभावमा प्रभावकारी काम गर्न सकिएको छैन–निमित्त महानिर्देशक प्यानबहादुर छेत्रीले बताए । औषधी जस्तो जनस्वास्थ्यसँग सम्बन्धित संवेदनशील बिषयमा सरकारले त्यति ध्यान दिएको पाइदैन । औषधी उत्पादन र बिक्री बितरणमा सानो कमजोरी भएमा मानिसको ज्यानै जान सक्छ । विभागले औषधीको उत्पादन, फार्मेसीहरुको दर्ता, विदेशी औषधीहरु दर्ता गर्ने र बजार अनुगमनको काम गर्दै आएको छ। बजारमा भएका औषधीहरुको गुणस्तर, औषधी पसलहरु नियम अनुसार चलेका छ वा छैनन्, औषधी पसल एन अनुसार दर्ता भई चलेका छ वा छैनन् भन्ने सबै कुराको नियमन र दण्ड सजाय पनि दिने गर्दछ । विभागले कारबाही गर्ने दुई पाटो छ। चेतावनी दिने, केही समयको लागि औषधी पसलहरु निलम्बन गर्ने र अर्को कारबाहीको पाटो भनेको कानूनी कारबाही हो ।
एभरेष्ट बैंकका ग्राहकलाई ओम समाज डेन्टल हस्पिटलमा १५% छुट
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले ग्राहकहरुलाई छुट र स्पेशल प्याकेजको व्यवस्था गर्न ओम समाज डेन्टल हस्पिटलसँग साझेदारी गरेको छ । चावहिल र नयाँ नैकाप कलंकी स्थित ओम समाज डेन्टल हस्पिटल सबैका लागि नेपालमा शिर्ष दन्त चिकित्सा सेवा प्रदान गर्ने बहुविशेषता भएको दन्त स्वास्थ्य सेवा केन्द्र हो । एभरेष्ट बैंक र ओम समाज डेन्टल हस्पिटलबीच हस्ताक्षर भएको एमओयू अनुसार ग्राहकहरुले एक्स–रे बाहेक सम्पूर्ण सेवा शुल्कमा १५% सम्म छुट पाउने छन् । ग्राहकहरुले एभरेष्ट बैंकको एटिएम वा क्रेडिट कार्ड देखाएर उक्त छुट पाउन बैंकले जनाएको छ ।
हिमालय आँखा अस्पतालले गर्यो बीस लाखको उपचार, साढे चार लाखको शल्यक्रिया
पाखरा । नेत्र ज्योति सङ्घ कास्कीद्वारा सञ्चालित हिमालय आँखा अस्पताल, पोखराले स्थापनाको साढे दुई दशकमा २० लाख आँखाका बिरामीको उपचार गरेको छ भने साढे चार लाखको मोतियाविन्दुको शल्यक्रिया गरेको छ । साविकका गण्डकी, धौलागिरि र कर्णाली अञ्चललाई मुख्य सेवा क्षेत्र बनाएको अस्पतालबाट दैनिक ५०० बिरामीले आँखाको उपचार सेवा लिँदै आएका छन् । अघिल्लो वर्ष मात्रै एक लाख ४६ हजार बिरामीले आँखा उपचार सेवा लिएको र तीमध्ये आठ हजार २०० जनाको शल्यक्रिया गरिएको अस्पतालका प्रमुख निर्देशक डा. इन्द्रमान महर्जनले जानकारी दिएका छन् । स्थापनाकालदेखि नै अस्पतालको सेवाको गुणस्तरीयतालाई प्राथमिकतामा राखिएको बताउँदै उनले आगामी दिनमा अझै सुव्यवस्थित गर्दै लगिने बताए । अस्पतालको स्थापनामा आइकेयर फाउन्डेशन, नेदरल्याण्डले सहयोग गरेको हो । आइकेयर फाउन्डेशन, नेदरल्याण्डका प्रमुख कार्यकारी अधिकृत ब्जोर्न स्तेन्र्वेसका अनुसार तत्कालीन समयमा भ्रमणमा आएको नेदरल्याण्डको टोलीले आफ्नो घुमाइका क्रममा नेपालमा आँखाको समस्या भएको कुरालाई मनन गर्यो । नेपालबाट फर्किसके पछि यहाँ आँखाको उपचारमा केही गर्नुपर्छ भन्ने भावना विकसित भएसँगै हिमाली क्षेत्रबाट उक्त संस्थाले आफ्नो सेवा सुरु गरेको थियो । नेपाल नेत्र ज्योति सङ्घसँग आबद्ध भई फाउन्डेशनले आँखा सेवाका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ । साविकका गण्डकी, धौलागिरि र कर्णाली अञ्चललाई लक्षित गरी हिमालय आँखा अस्पतालले सेवा प्रवाह गरिराखेको नेपाल नेत्र ज्योति सङ्घ कास्कीका संस्थापक अध्यक्ष डा. नन्द श्रेष्ठले बताएका छन् । उनका अनुसार २०४६ साल फागुन ७ गते शिलान्यास गरिएको उक्त अस्पतालको भवन २०४९ फागुन १६ गते तत्कालीन राजा वीरेन्द्र शाहले उद्घाटन गरेका हुन् । त्यस यता निरन्तर रुपमा सेवा प्रवाह गरिरहेको अस्पतालबाट ठूलो सङ्ख्यामा सर्वसाधारणले नयाँ ज्योति प्राप्त गरेका छन् । आई केयर फाउन्डेशन, नेदरल्याण्डको सहयोगमा ७० रोपनी क्षेत्रफलमा निर्मित अस्पतालका २६ वटा भवन छन् । फाउन्डेशनले अस्पताल स्थापनापछि पाँच वर्ष पूर्ण रुपमा आफ्नै व्यवस्थापनमा अस्पताल सञ्चालन गरिदिएको थियो भने त्यस पछिका १० वर्ष सञ्चालनमा आंशिक सहयोग गरेको थियो । पछिल्ला ११ वर्ष भने अस्पतालको आफ्नै व्यवस्थापनमा सञ्चालन भइरहेको छ । अस्पतालले विशेषज्ञको अभावलाई पूरा गर्न पोखरा विश्वविद्यालयअन्तर्गत दृष्टि विशेषज्ञको स्नातक तह (ब्याचलर अफ साइन्स इन अप्टोमेट्रिस्ट) र स्नातकोत्तर तह (माष्टर अफ साइन्स इन अप्टोमेट्रिस्ट)को अध्यापन गराउँदै आएको छ । अस्पतालले वर्षेनी स्नातक तहका लागि १७ जना र स्नातकोत्तर तहका लागि पाँच जना विद्यार्थीलाई अध्यापन गराउँदै आएको नेत्र ज्योति सङ्घ कास्कीका अध्यक्ष कृष्णबहादुर गुरुङले जानकारी दिएका छन् । विभिन्न तहमा मानव संशाधनका तालीम दिँदै आएको अस्पतालमा प्रमाणपत्र तहको नेत्र सहायक विषयको अध्यापनसमेत हुँदै आएको छ । अस्पतालमा हाल आठ जना डाक्टर सहित ९६ जना जनशक्तिमार्फत सेवा प्रवाह भइरहेको जनाइएको छ । यसैबीच विगत ३५ वर्षदेखि नेपाल नेत्र ज्योति सङ्घसँग आबद्ध रहँदै आएको आई केयर फाउन्डेशनले ३५ औँ वार्षिक दिवस पोखरामा विभिन्न कार्यक्रमका साथ मनाउन लागेको छ । फाउन्डेशनका नेपालका आयोजना निर्देशक अनिल गोर्खालीका अनुसार वार्षिक दिवसका अवसरमा आँखा उपचार सेवामा महत्वपूर्ण योगदान पुर्याएका चिकित्सकलाई सम्मान गर्ने लगायतका कार्यक्रम छन् । रासस