स्वास्थ्य चौकीमा औषधि अभाव
बैतडी । यहाँका विभिन्न स्वास्थ्य संस्थामा अत्यावश्यक औषधि अभाव भएको छ । जिल्लाका स्वास्थ्य संस्थामा वैशाखदेखि औषधि अभाव भएको स्वास्थ्य संस्थाले जनाएका छन् । सरकारले स्वास्थ्य चौकीमार्फत ३६ प्रकारका औषधि निःशुल्करुपमा उपलब्ध गराउने भनेको भए पनि अत्यावश्यक औषधि अभाव रहेको हाट स्वास्थ्य चौकीका प्रमुख विनोदकुमार कुँवरले जानकारी दिए । आन्तरिक स्रोतबाट केही औषधि खरिद गरिएको भए पनि पछिल्लो समयमा औषधि अभाव भएको उहाँले बताउनुभयो । सबै प्रकारका नभई केही औषधिको भने अभाव रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा गुणराज अवस्थीले बताए । स्वास्थ्य चौकीका लागि २० प्रकारको औषधि पर्याप्त मात्रामा छ तर १६ प्रकारको औषधिको भने अभाव रहेको उनले बताए । औषधि अभाव भएका स्वास्थ्य संस्थामा एक दुई महिना अझै अभाव हुने देखिएको छ । औषधि खरिदको रकम अब सम्बन्धित स्थानीय तहमै गएकाले प्रक्रियामा केही ढिलाइ हुने देखिएको हो । औषधि अभाव देखाउँदै दुर्गमका स्वास्थ्य चौकी दिउँसो १ बजे नै बन्द हुने गरेका छन् । सरकारले साँझ ५ बजेसम्म स्वास्थ्य चौकी खोल्ने नियम बनाए पनि त्यो नियमको भने पालना हुन सकेको छैन । रासस
राजधानीमा कडा खालको स्वाइनफ्लु, स्वाइनफ्लुबाट राजधानीमै दुईको मृत्यु
काठमाडौं । केही दिनयता काठमाडौं मा कडा खालको स्वाइनफ्लुको संक्रमण बढेको छ । स्वाइनफ्लुको संक्रमणबाट बिरामी परेका केहीको उपचार भइरहेको र ती मध्ये दुई जनाको ज्यान नै गइसकेको छ। शिक्षण अस्पताल महाराजगन्जका आइसीयू विभाग प्रमुख डाक्टर सुवास आचार्यका अनुसार स्वाइनफ्लुको संक्रमणबाट शिक्षण अस्पतालमा दुई जनाको मृत्यु भइसकेको छ । शिक्षण अस्पतालमा भाइरल निमोनियाका अन्य दुई जना बिरामी आईसीयूमा उपचाररत रहेको डाक्टर आचार्यले बताए । भाइरल निमोनियाका कारण अस्पताल आएका बिरामीको ल्याब परीक्षण गर्दा स्वाइनफ्लु देखिएको थियो । नेपाल समाचारपत्र दैनिकबाट ।
स्क्रब टाइफसको संक्रमणबाट चारको मृत्यु
चितवन । स्क्रब टाइफस रोगको संक्रमणबाट गत वर्ष चितवनमा चारजनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीका अनुसार गत आर्थिक वर्षमा एक हजार ७६५ जनाको रगत परीक्षण गर्दा ५०९ जनामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको र तीमध्ये चारजनाको मृत्यु भएको छ । आव २०७३/७४ को कात्तिक महिनामा तीनजना र भदौ महिनामा एकजनाको स्क्रब टाइफसका कारण मृत्यु भएको उनले बताए । मृत्यु हुनेमध्ये तीनजना चितवनका र एकजना तनहुँका थिए । गत असार महिनामा मात्रै १३७ जनाको रगत परीक्षण गर्दा पाँचजनामा यो रोगको संक्रमण देखिएको थियो भने अघिल्लो वर्षको सोहि अवधिमा ३१ जनामा यसको संक्रमण देखिएको थियो । आव २०७२/७३ मा स्क्रब टाइफसबाट एकजनाको मृत्यु भएको थियो । साउन महिना लागेपछि संक्रमण बढ्दो छ । गत एक सातामा १३ जनामा रोगको संक्रमण देखिएको केसीले बताए । भरतपुर अस्पतालमा आठजना, नारायणी सामुदायिकमा चारजना र बकुलहर अस्पतालमा एकजनामा संक्रमण देखिएको हो । ती अस्पतालमा ५४ जनाको रगत परीक्षण गरिएको थियो । यसैबीच जिल्लामा स्क्रब टाइफस रोग पत्ता लगाउन गरिने ल्याब परीक्षणको किट अभाव भएको छ । केसीका अनुसार थप किटका लागि विभागमा पत्राचार गरिएको छ । माइट नामको मुसाको कानमा बस्ने एक प्रकारको संक्रमित किराले टोकेमा यो रोग सर्छ । यो ओरेन्सिया सुसुगामुसी भन्ने जीवाणुबाट सर्छ । यो रोग मानिसबाट मानिसमा सर्दैन । मुसाबाट झारमा झर्ने र त्यसबाट मानिसमा टाँसिएर यसले टोक्छ । यो रोग लागेमा १०४ डिग्रीसम्म ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने, शरीरका विभिन्न अंग दुख्ने हुन्छ । यसको नियन्त्रणका लागि विशेषगरी मुसाको नियन्त्रण गर्ने, झारमा काम गर्दा सावधानी अपनाउनुपर्ने चिकित्सकले बताएका छन् । चितवनमा गएको वर्ष गरिएको अनुसन्धानमा मुसा र माइटमा समेत टाइफस रोग संक्रमण पुष्टि भएको थियो । रोग पत्ता लागेमा उपचार सहज रहेको जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनका प्रमुख विजय झाले जानकारी दिए । रासस