क्यान्सरको पूर्ण उपचार हुने, करिव ५ करोड रुपैयाँ खर्च हुने

काठमाडौं । अमेरिकी फूड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले क्यान्सरको उपचारमा प्रयोग गर्नका लागि नयाँ प्रकारको उपचार पद्धतिलाई स्वीकृति दिएको छ । सो पद्धति अनुसार बिरामीको आफ्नै स्वेत रक्तकोषलाई निकालेर ‘जेनेटिकल्ली रिप्रोग्राम’ गरि पुनः बिरामीलाई दिइन्छ, जसले बिरामीको शरिरमा रहेको क्यान्सरका कोषलाई निष्कृय बनाउँछ । यो उपचार पद्धतिले स्विकृति पाएसँगै विश्वभर क्यान्सर उपचारमा नयाँ युगको प्रारम्भ भएको मानिएको छ । औषधि उत्पादक कम्पनी नोर्भा्टिसले उत्पादन गरेको उक्त औषधिको प्रयोगबाट रक्तक्यान्सर लागेका ८३ प्रतिशत बिरामी पूर्णरुपमा निको हुने दाबी गरिएको छ । यद्दपि हाललाई उक्त पद्धतिको उपचार निकै महंगो हुने छ, जसको मुल्य ४ लाख ७५ हजार डलर (करिव ५ करोड रुपैयाँ) पर्नेछ । ‘लिभिङ ड्रग थेरापी’ भनिएको उक्त उपचार पद्धतिलाई ‘सीएआर–टी (कार्ट)’ पनि भनिन्छ जसले भविष्यमा किमोथेरापी र शल्यकृयालाई पूर्णरुपमा विस्थापित गर्ने सम्भावना रहेको चिकित्सहरुको बुझाइ छ । एफडीएका डा. स्कट गटलीभका अनुसार ‘लिभिङ ड्रग थेरापी’ प्रयोगमा आउनु भनेको उपचार पद्धतिमा नयाँ आयामको सुरुवात हो । ‘सेल र जीन थेरापी जस्ता नयाँ प्रविधिको प्रयोगबाट उपचार हुनु भनेको हाम्रो आफ्नै शरिरले उपचार नै हुन नसक्ने भनिएका रोगलाई निको पार्नसक्ने अवस्था आउनु हो,’ उनले भने । हाललाई यो उपचार पद्धति ‘एक्यूट लिम्फोब्लास्टिक ल्युकिमिया (एएलएल)’ (एकप्रकारको रगतको क्यान्सर)को उपचारका लागि बजारमा उपलब्ध हुने छ । ‘कार्ट’ प्रयोग गरेर पहिलो बिरामी बच्चाको उपचार गरेका अमेरिकाको फिलेडेल्फिया बाल अस्पतालका डा. स्टेफान ग्रुप्पका अनुसार यो निकै ‘उत्साहप्रद’ औषधि हो । ‘हामीले यस्तो पहिला कहिल्यै देखेका थिएनौं,’ उनको प्रतिकृया थियो, ‘बिरामी मृत्युको मुखमा थियो । तर अहिले पाँच वर्ष भयो उसमा क्यान्सर छैन ।’ स्विकृति पाउनु पूर्व ‘ट्रायल’ (प्रयोग)का रुपमा ६३ जना बिरामीको उपचार गरिएकोमा ८३ प्रतिशत बिरामी उपचार सुरु गरेको तीन महिनामा नै क्यान्सर मुक्त देखिएका थिए । यद्दपि लामो समयको तथ्यांक र विवरण भने अझै जम्मा भइरहेको छ । यस्तै, यो उपचार पूर्ण रुपमा जोखिम मुक्त भने छैन । ‘कार्ट’ कोषको वृद्धी सँगै शरिरले ज्यानलाई जोखिममा पार्नसक्ने ‘साइटोकिन रिलिज सिन्ड्रोम’ हुन सक्छ । तर यसलाई अन्य औषधिको प्रयोगबाट नियन्त्रण भने गर्न सकिन्छ । नयाँ युगको प्रारम्भ ‘कार्ट’ प्रविधिको प्रयोग एकप्रकारको क्यान्सरको उपचारमा मात्रै सिमित छैन । फ्रेड हच्किन्सन क्यान्सर अनुसन्धान केन्द्रका सेलुलर इम्यूनोथेरापीका मेडिकल डाइरेक्टर डा. डेभिड म्यालोनीका अनुसार एफडीएको स्विकृति ‘कोषेढुंगा’ हो । ‘हामीलाई लाग्छ यो चाँडै नै सबै प्रकारको क्यान्सरको उपचारमा नयाँ पद्धतिका रुपमा आउँछ,’ उनले भने । ‘कार्ट’ प्रविधिले विभिन्न प्रकारको रक्तक्यान्सरको उपचारमा राम्रो नतिजा दिएको छ । तर ‘सलिड ट्युमर(गाठो)’ जस्तै फोक्सो तथा छालाको क्यान्सरमा भने खासै राम्रो नतिजा दिन सकेको छैन । निजामति कर्मचारी अस्पतालका रक्तरोग तथा बोनम्यारो ट्रान्सप्लान्ट विशेषज्ञ डा. विशेष पौड्यालका अनुसार कार्ट सेलको प्रयोगबाट हाललाई एएलएलमा मात्रै प्रयोग गरिने भएपनि भविष्यमा यो सबै प्रकारका क्यान्सरको उपचारका लागि प्रयोग हुने सम्भावना अत्याधिक रहेको छ । उनको अनुसार बिरामीको रगतबाट स्वेत रक्तकणिका निकालेर त्यसमा एकप्रकारको क्यान्सरका कोषहरुलाई निष्कृय पार्ने भाइरस प्रवेश गराइन्छ । जसले स्वेत रक्तकणिकामा क्यान्सरसँग लड्ने क्षमता उत्पन्न हुन्छ र त्यो बिरामीलाई दिइन्छ । ‘कार्ट प्रविधिले भविष्यमा बोनम्यारो ट्रान्सप्लान्टलाई नै प्रतिस्थापन गर्न सक्छ,’ उनले भने, ‘नेपालमा यो प्रविधि भित्रिन केही नभए पनि अझै पाँच वर्ष लाग्ला । जबसम्म भारतीय वा अन्य जेनेरिक औषधि बनाउने अन्तर्रा्ष्ट्रिय कम्पनीले यसको उत्पादन सुरु गर्दैनन् नेपालीले यो उपचार पद्धतिलाई धान्न सक्दैनन् ।’ डा. पौड्याल थप भन्छन्– ‘आज अमेरिकी एफडीएले जेको लागि स्विकृति दिएको छ त्यसले पुरै विश्वको उपचार पद्धतिलाई परिवर्तन गर्न सक्ने क्षमता राख्छ । त्यसैले नेपालमा कहिले आउँछ भनेर हेर्नुभन्दा उपचारमा नयाँ युगको प्रारम्भ भएको रुपमा यसलाई हेर्नुपर्छ ।’ उनको अनुसार यसमा अझै धेरै अध्ययन र अनुसन्धान हुन बाँकी छ । तर अहिले विश्वले जे प्राप्त र्गयो त्यो चिकित्सा क्षेत्रलाई उत्साहित बनाउन पर्याप्त छ । कान्तिपुरबाट

चितवनमा स्क्रब टाइफस र स्वाइनफ्लु रोगको संक्रमण फैलदै गर्दा फेरी डेंगु रोग देखियो

चितवन । स्क्रब टाइफस र स्वाइनफ्लु रोगको संक्रमण फैलिरहेको चितवन जिल्लामा डेंगु रोगसमेत देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार यो आर्थिक वर्ष लागेपछि जिल्लामा एक जना डेंगु रोगको बिरामी देखिएको हो । कार्यालयका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले २२४ जना बिरामीको परीक्षण गरिएकामा एक जनामा डेंगु लागेको पाइएको बताए । कालिका नगरपालिकास्थित जुटपानीकी १७ वर्षीया एक किशोरीमा रोग देखिएको जनाइएको छ । गएको साउन २७ गते भरतपुर अस्पतालमा डेंगु पुष्टि भएको र उनलाई स्क्रब टाइफससमेत देखिएको जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रण निरीक्षक केसीले बताए । अहिलेसम्म जिल्लामा ३९१ जनामा गरिएको परीक्षणमा १०५ जनामा स्क्रब टाइफस रोग देखिएको छ । जसमा एक जना महिलाको मृत्यु भएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । चितवनको भरतपुर अस्पतालमा २७, रत्ननगर अस्पतालमा चार, चितवन मेडिकल कलेजमा २३, नारायणी सामुदायिक अस्पतालमा ३६ र मनकामना अस्पतालमा दुई जना स्क्रब टाइफसका बिरामी फेला परेका छन् । यस्तै अन्य १३ जना बिरामी अन्य विभिन्न निजी ल्याबमा पत्ता लागेका हुन् । यस्तै स्वाइनफ्लुबाट तीन महिनाको अन्तरालमा १७२ जना बिरामी भएको केसीले जानकारी दिए । स्क्रब टाइफस र डेंगुको लक्षण अत्याधिक ज्वरो आउने, टाउको दुख्ने लगायत लक्षण उस्तै भए पनि स्वाइनफ्लुमा भने रुघाखोकी देखिने चिकित्सकले बताएका छन् । स्क्रब टाइफस माइट नामको सुक्ष्म कीराले टोकेमा सर्छ भने डेंगु एडिस एजेप्टाइ नामको संक्रमित पोथी लामखुट्टेले टोकेमा सर्छ । जिल्लामा अहिले भाइरल ज्वरोसमेत फैलिएकाले सचेत हुन र ज्वरोसँगै लक्षण देखिनेबित्तिकै चिकित्सकको निगरानीमा जान भरतपुर अस्पतालका फिजिसियन डा भोजराज अधिकारीले आग्रह गरेका छन् । रासस

५५४ घन्टापछि अनशन स्थगित, देश रोएका बेला अनशन लम्व्याउनु उचिन लागेनः डा.केसी

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राखेर ११औँ पटक अनशन बसेका प्रा.डा. गोविन्द केसीले २३औँ दिन अर्थात् पाँच सय ५४ घन्टापछि अनशन स्थगित गरेका छन् । बाढीपहिरोले देशमा आइपरेको विपत् र त्यसले उत्पन्न हुने प्रकोप न्यूनीकरण गर्न समग्र राज्यको ध्यान केन्द्रित हुनुपर्ने भन्दै केसीले अनशन स्थगित गरेका हुन् । मंगलबार साँझ शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गरी केसीले आफूले अनशन तोडेको नभई केही समयका लागि स्थगित मात्रै गरेको बताए । उनले भने, ‘कसैले डरायो र अनशन तोड्यो भन्लान्, तर होइन । अविरल वर्षाबाट ठूलो जनधनको क्षति भएको समयमा मैले अनशनलाई निरन्तरता दिन उचित ठानिनँ । त्यसैले केही समयका लागि स्थगित गरेको हुँ । नागरिकले सहज स्वास्थ्य शिक्षा सेवा नपाएसम्म मेरो अनशन जारी रहन्छ ।’ बाढीबाट जनजीवन सामान्य भएपछि अनशनलाई निरन्तरता दिने डा। केसीले बताए । माथेमा कार्यदलको सुझाव अनुसार विधेयक पास नगरी तोडमोड गर्न खोजिए पुनः अनसन बस्ने चेतावनी पनि उनले दिए । २३ दिन अनसन बसेका केसीको स्वास्थ्य बिग्रीएको भन्दै मंगलबार साँझ आइसियुमा भर्ना गरिएको छ । जनता र विद्यार्थीमुखी ऐन ल्याएरै छाड्ने अनसनरत डा। केसीले माफियाहरुलाई परास्त पार्दै जनता र विद्यार्थीमुखि ऐन ल्याएर छाड्ने स्पष्ट पारे । ‘जनताले तिरेको करबाट सभासदहरुले तलब भत्ता खाएका छन्’ केसीले भने, ‘तर, जनताको स्वाथ्य र शिक्षाको विषयमा मौन छन् । यस्तो घृणित कार्यमा लिप्त रहेका सभासदहरुलाई ठेगान लगाउन पनि हाम्रो आन्दोलन आवश्यक छ ।’ निजी मेडिकल कलेज किन्न समिति डा। केसीको सर्तअनुसार मनमोहन मेडिकल कलेजसहित निजी मेडिकल कलेज खरिद गर्न सरकारले मुख्य सचिवको नेतृत्वमा पाँच सदस्यीय समिति बनाएको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले निजी मेडिकल कलेज खरिदको लागि आवश्यक मापदण्ड बनाउन समिति गठन गरेको हो । चिकित्सा शिक्षा सुधारको माग राख्दै समितिमा स्वास्थ्य सचिव, शिक्षा सचिव, अर्थसचिव र सार्वजनिक खरिद कार्यालयका सचिवहरुको समिति बनाईएको छ । नयाँ पत्रिका दैनिकबाट ।