कुपोषणले आउँदो वर्ष ४ लाख बालबालिकाको मृत्यु हुने चेतावनी
संयुक्त राष्ट्रसङ्घ । राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ)ले आउँदो वर्ष सन् २०१८ मा मात्रै कङ्गोमा ४ लाख बालबालिकाको मृत्यु हुनसक्ने चेतावनी दिएको छ । कुपोषणको अवस्था अहिलेकै जस्तै रहे मृत्यु हुनेको संख्या भयावह हुनसक्ने युनिसेफले बुधबार चेतावनी दिएको हो । युनिसेफले आयोजना गरेको पत्रकार सम्मेलनमा सबैभन्दा धेरै कसाई क्षेत्रमा मृत्यु भएको पाइएको जानकारी दिइएको छ । विभिन्न खालका हिंसा, आम विस्थापन र न्यून गुणस्तरको कृषि उत्पादनका कारण गत १८ महिनाको अवधिमा ठूलो संख्यामा बालबालिकाको मृत्यु भएको युनिसेफले जनाएको छ । ती ठाँउहरूमा सुरक्षाको अवस्था पनि कमजोर भएको, विस्थापित भएकाहरू आफ्नो गाँउघरतर्फ फर्किन लागेको र मानवअधिकारको अवस्था नाजुक रहेको अधिकारीहरूले बताएका छन् । ठूलो क्षेत्रमा धेरै जनामा खाद्य असुरक्षा देखिएको र आउँदो सन् २०१८ को जुनसम्ममा सुधार हुने अवस्था पनि देखिएको छैन । स्वास्थ्य सेवा खस्कीदै गएको, सबैलाई उपचार सेवा पु¥याउन गाह्रो भइरहेको र कुपोषण भएका बालबालिकालाई पर्याप्त हेरचाह हुन नपाएकाले मृत्यु हुनेको संख्या बढ्ने देखिएको युनिसेफको ठम्याई छ । रासस÷सिन्ह्वा
पाठेघर प्रत्यारोपण गरिएकी महिलाबाट बच्चा जन्मियो, अमेरिकी चिकित्सा विज्ञानमा ठूलो उपलब्धि
हाउसटन । अर्कै महिलाको पाठेघर (गर्भाशय) प्रत्यारोपण गरिएकी एक महिलाबाट संयुक्त राज्य अमेरिकामा बच्चा जन्मिएको समाचार छ । यस घटनालाई विश्वकै चिकित्सा विज्ञानमा ठूलो उपलब्धि भएको भनी चिकित्सा क्षेत्रका व्यक्तिहरुले प्रचारप्रसार गरेका प्राप्त समाचारमा जनाइएको छ । गर्भाशय प्रत्योपित महिलाबाट अमेरिकामा यो पहिलो पटक बच्चा जन्मिएको अमेरिकाको टेक्सासमा रहेको अस्पतालले पुष्टि पनि गरेको समाचारमा उल्लेख छ । अमेरिकी राज्य टेक्सासको डालासमा रहेको ‘द बेइलर स्कट एण्ड ह्वाइट मेडिकल सेन्टर’ नामक अस्पतालमा शुक्रबार ती अमेरिकी महिलाले बच्चा जन्माएकी हुन् । उक्त अस्पताल हाउसटनबाट करिब ४०० किलोमीटर उत्तरमा पर्दछ । उक्त अस्पतालले एक्काइसौँ शताब्दिमा प्राप्त चिकित्सा क्षेत्रका केही उपलब्धिमध्येको एक उपलब्धिका रुपमा महिलाको प्रत्यारोपण गरिएको गर्भाशयबाट बच्चा जन्मिएको भनी आफ्नो ट्वीटर अकाउन्टमार्फत सार्वजनिक गरेको छ । ती महिलाले बच्चालाई जन्म दिएको भिडियो नै सो ट्वीटर अकाउन्टमा राखिएको छ । र भनिएको छ- चिकित्सा क्षेत्रमा प्राप्त यो उपलब्धि धेरै ठूलो हो, जुन अमेरिकामा पहिलो पटक प्राप्त भएको छ । उक्त अस्पतालले सन् २०१६ को सेप्टेम्बर महिनामा चार जना महिलामा गर्भाशय प्रत्यारोपण गराएको थियो । यस क्रममा उनीहरुले स्वीडिस् मेडिकल समूहको सहयोग लिएको जनाएका थिए । ती मध्ये एकजना महिलाको मात्र प्रत्यारोपण सफल भएको थियो । तिनै महिलाले शुक्रबार बच्चा जन्माएकी हुन् । यसरी एक महिलाको गर्भाशय अर्कोमा प्रत्यारोपण गर्ने कामको सुरुवात स्वीडेनमा भएको हो । त्यहाँ यसअघि नै यसरी गर्भाशय प्रत्यारोपण गरिएका महिलाबाट पाँच जना शिशु जन्मिइसकेका छन् । सन् २०१४ को सेप्टेम्बर महिनामा पहिलो पटक स्वीडेनमा यसरी प्रत्यारोपण गरिएको गर्भाशयबाट बच्चा जन्मिएको थियो । रासस/सिन्ह्वा
लामखुट्टेले टोक्दा एड्स सर्छ कि सर्दैन ? यस्ता छन् एचआईभी सम्बन्धी तथ्यहरु
एड्स र एचआईभीको विषयमा मानिसमा निकै दुविधा हुने गरेको छ । यसको बारेमा जानकारी हुनु निकै आवश्यक छ । एचआईभी एउटा भाइरस हो जसको संक्रमण सिधै रोग प्रतिरोधात्मक क्षमता (इम्युन सिस्टम) मा पर्दछ । यदी यसको उपचार सही समयमा भएन भने मानिसको इम्युन सिस्टम पूर्णरुपमा खराब हुनसक्छ । यिनै मानिसमा एचआईभी फैलिनेबारेमा कति भ्रमहरु हुन्छन् । यस्तो गर्दा एचआईभी सर्दैन अंकमाल गर्दा, हात मिलाउदा, ट्वाइलेट साझेदारी गर्दा, सँगै खादाँ वा नजिकै मुख ल्याउदा तथा चुम्बन गर्दा एचआईभी सर्दैन । यसबाहेक लार, आँसु, पसीना (शरीरमा एचआईभी संक्रमित व्यक्तिको नमिसिएको), लामखुट्टे वा अन्य कुनै परजीवी प्राणीले रगत चुस्दा पनि एचआईभी सर्दैन । कसरी सर्छ एचआईभी एचआईभी विशेष किसिमको शरीरबाट निस्कने तरल पदार्थ, रगत, सीमेन, प्री-सेमिनल फ्लूइड, रेक्टल फ्ल्युड, वजाइनल फ्ल्युड्स या एचआईभी संक्रमित महिलाको स्तनबाट निस्किएको दुध बाट दोस्रो व्यक्तिको शरीरमा पुग्न सक्छ । अधिकांश मानिसमा एचआईभी असुरक्षित यौनसम्पर्क वा सिरिन्जमार्फत फैलन्छ । एचआईभी संक्रमित आमाले बच्चाहरुमा पनि यो संक्रमण फेलाउन सक्छ । एचआईभीका बारेमा केही तथ्य -एचआईभी एक भाइरस हो जसले इम्यून सिस्टममा आक्रमण गर्दछ । एचआईवी संक्रमणको अन्तिम चरणमा शरीरमा थुप्रै रोगको लक्षण देखापर्छ, जसालाई एड्स भनिन्छ । -एचआईभी संक्रमण भयो भने एड्स पनि लाग्छ । यद्यपी उपचार कति चाडो भयो, त्यसमा निर्भर गर्छ । -एचआईभीको संक्रमणबाट बच्ने सबैभन्दा अचुक उपाय कन्डोमको प्रयोग हो । -ड्रग्सको प्रयोगका लागि सधै सफा नीडलको प्रयोग गर्नुपर्छ । (स्रोत – नवभारतटाइम्स)