विदेशी औषधी आयतको पक्षमा व्यवसायी संघ

काठमाडौं– नेपाल औषधी व्यवसायी संघ (एनसीडीए)ले विदेशी औषधी आयत रोक्न नहुने पक्षमा उभिएका छन् । आफुहरुले स्वदेशी उद्योगीले भन्दा सस्तो मुल्यमा औषधी उपलब्ध गराउँदैआएको भन्दै आयत रोक्न नहुने पक्षमा उभिएका हुन् । आत्मनिर्भरताको नामममा सिन्डिकेट लागू गर्न खोजिए यो आफुहरुलाई मान्य नहुने संघले जनाएको छ । ‘नेपाल औषधीमा अत्मनिर्भर हुनु एकदमै राम्रो पक्ष हो । हामी त्यसको स्वागत गर्छौं । तर, आत्मनिर्भरताको नाममा सस्तोमा पाइरहेको गुणस्तरीय औषधी बन्द गरेर महंगो मूल्यमा नेपाली औषधी जवर्जस्ती भिडाउनु कति उचित हो ?,’ नेपाल औषधी व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले प्रश्न गरेका छन् । संघले विदेशी औषधी हरु आयात गरी विक्री वितरण गर्दै आएको एनसीडीएले औषधी आयात रोक्नुपर्ने कारणको चित्तबुझ्दो जवाफ दिन उद्योगीहरुसंग माग समेत गरेको छ । यसअघि २०७१ साल जेठ २६ गते सचिवस्तरीय निर्णयको बुँदा नम्बर १३ मा नेपालमा उत्पादन हुने कुनै पनि औषधी विदेशबाट आयत गर्न नपाइन भनी उल्लेख गरिएको थियो । एनसीडीएले स्वदेशी औषधी उद्योगहरुले आत्मनिर्भरको नाममा विदेशबाट आयत हुँदै आएका औषधीहरु बन्द गराएर जनतालाई महंगोमा नेपाली औषधी बेच्न खोजेको आरोप लगाएका छन् ।

मानव अंग प्रत्यारोपण केन्द्रले ४ सय बढी मिर्गौला प्रत्यारोपण गर्न सफल, विरामीको चापले गर्दा पालो कुर्नुपर्ने अवस्था

भक्तपुर । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरले ४ सयभन्दा बढी मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न गरेको छ ।केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले अहिलेसम्म ४०४ जनालाई सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको जानकारी दिए। केन्द्रले विसं २०६९ माघ ६ गतेदेखि मिर्गौला प्रत्यारोपण शुरु गरेको हो । यसअघि डा श्रेष्ठ र प्रा.डा राकेश वर्माको टोलीले वीर अस्पतालमा ९९ मिर्गौला प्रत्यारोपण गरेको थियो । कार्यकारी निर्देशक डा श्रेष्ठले भने, “भक्तपुरमा मानव अंग प्रत्यारोपण केन्द्र सञ्चालन हुनुअघि वीर अस्पतालमा हाम्रै टोलीले ९९ वटा मिर्गौला प्रत्यारोपण गरेको थियो, भक्तपुरमा केन्द्र शुरु भएपछि यही टोलीले ४०४ वटा मिर्गौला प्रत्यारोपण गरेका छौँ, यो टोलीले अहिलेसम्म दुई अस्पतालमा गरेर ५०३ वटा मिर्गौला प्रत्यारोपण गरिसकेका छ ।” वीर अस्पतालमा चार वर्षमा ९९ मिर्गौला प्रत्यारोपण भएकामा भक्तपुरको केन्द्रमा चार वर्षमा ४०४ प्रत्यारोपण गर्न सफल भएको जानकारी दिँदै उनले भने , “केन्द्रमा भएको प्रत्यारोपणमा मिर्गौला दातातर्फ शतप्रतिशत र मिर्गौला प्रत्यारोपणतर्फ ९८ प्रतिशत सफलता हासिल गरेका छौँ, यो विश्वकै उत्कृष्ट सफलता हो ।” केन्द्रले २०७४ वैशाखदेखि हालसम्म २५ हजार १०२ बिरामीलाई बहिरङ्ग सेवा, १ हजार ४४९ जना भर्ना, ५६४ जटिल तथा ८६२ सामान्य शल्यक्रिया, २५ हजार ३८६ को डायलोसिस गरेको छ भने १२८ जनाको मिर्गौला तथा एक जनाको कलेजो प्रत्यारोपण गरेको छ । केन्द्र स्थापनादेखि हालसम्म ६७ हजार ३२८ बिरामीलाई बहिरङ्ग सेवा, ५ हजार ४८९ जना भर्ना, १ हजार ५८८ जनाको जटिल तथा २ हजार ९४९ जनाको सामान्य शल्यक्रिया गरिएको अस्पतालका नेफ्रोलोजी विभागका प्रमुख परामर्शदाता डा कल्पना श्रेष्ठले जानकारी दिए। केन्द्रले १ लाख १२ हजार २६१ को डायलोसिस, २ हजार ४२९ जनाको सिएपिडी, दुई जनाको कलेजो प्रत्यारोपण गर्नाका साथै २ लाख ८७ हजार ५४० को प्रयोगशाला जाँच, ९ हजार १८० को युएसजी, १ हजार ६०७ को इको, ३ हजार ३१८ को इसिजी, १ हजार ४६४ को इन्डोस्कोपी र ११ हजार ४८१ लाई एक्स–रे सेवा प्रदान गरेको जानकारी दिए। बिरामीको चाप मिर्गौला प्रत्यारोपणबाहेक युरोलोजी, ग्यास्ट्रो सर्जरी, कार्डियोथेरापी सर्जरीलगायत विभिन्न पत्थरीको शल्यक्रियासमेत सेवा शुरु गरिएपछि बिरामीको चाप निकै बढेको डा. वर्माले जानकारी दिए। श्यैया र भवनको अभावका कारण बिरामीले सेवा लिनका लागि कुर्नुपर्ने समस्या आएको छ । डा श्रेष्ठले मिर्गौैला प्रत्यारोपणका लागि अहिले ४०० बिरामीले पालो कुरेर पर्खिरहेको र त्यसभन्दा बढी डायलोसिसका बिरामीले पालो पर्खेर बसेको बताउनुभयो । सरकारले निःशुल्क डायलोसिस सेवा दिएपछि कतिपय बिरामीले मिर्गौला प्रत्यारोपण नगरी डायलोसिस गरेर मात्रै बसेकाले पनि डायलोसिसमा थप समस्या आएको बताइएको छ । डा श्रेष्ठले भन्नुभयो, “दैनिक १० जनाबाट शुरु भएको डायलोसिस अहिले दैनिक १५० जनासम्म पुग्ने गरेको छ, ३५ वटा मेशिनले काम गरेका छौँ, १२ मेशिन बिग्रिएको छ, ठाउँ अभावले श्यैया र मेशिन थप्न नपाउँदा कैयौँ बिरामी बेटिङमा बस्नुपरेको छ ।” छ वर्षदेखि मिर्गौला प्रत्यारोपण नगरी पुराना बिरामीले डायलोसिस मात्रै गर्दा नयाँ बिरामीलाई डायलोसिसलाई ठाउँ पाउन गाह्रो भएको उनको भनाइ थियो । प्रा.डा वर्माले केन्द्रमा अहिले सातामा कम्तीमा ३ देखि ८ वटासम्म मिर्गौला प्रत्यारोपण हुने गरेको बताउँदै ठाउँ र श्यैया भए दैनिक प्रत्यारोपण गर्न सकिने जानकारी दिए । रासस

कलंकीको नेसनल अस्पतालको सबै सेवा बन्द गर्न विभागको आदेश

काठमाडौं। काठमाडौं स्थित कलंकीमा रहेको नेपाल नेसनल अस्पताललाई आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले ७ दिनभित्र अस्पतालको सबै सेवा बन्द गर्न आदेश दिएको छ । अस्पतालको प्ररम्भीक अनुसन्धानबाट उक्त अस्पतालले सम्बद्ध निकायबाट अनुमती नलिई सेवा सञ्चालन गरेको पाएपछि विभागले सेवा बन्द गर्न निर्देशन दिएको हो । विभागले पुस १८ गते सो अस्पतालको अनुगमन गरेको थियो । विभागका शाखा अधिकृत रामकृष्ण श्रेष्ठले अस्पतालले आवश्यक अनुमति नलिइ सेवा सञ्चालन गरेको देखिएको जनाए । त्यसैले उपभोक्ता संरक्षण ऐन, स्वास्थ्य संस्था स्थापना, संचालन तथा स्तरोन्नती मापदण्ड सम्बन्धि निर्देशिका लगायत बमोजिम ७ दिनभित्र अस्पतालको सबै सेवा बन्द गरी विभागलाई जानकारी अराउन आदेश दिइएको उनको भनाइ छ ।