एनसीसी बैंकद्वारा अपाङ्ग बाल अस्पताललाई २५ लाख आर्थिक सहयोग प्रदान
काठमाडौँ । एनसीसी बैंकले प्रदेश नं. ३, काभे्र जिल्लाको बनेपा स्थित अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रलाई बिहीबार पच्चीस लाख बयालिस हजार एक सय नब्बे रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रलाई अतिविपन्न समुदायका अपाङ्गता भएका बालबालिकाहरुलाई चिकित्सा सहयोग गर्नको निम्ति बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उपलब्ध गराईएको बैंकले जनाएको छ । उक्त रकमको चेक एनसीसी बैंकका संचालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रका प्रबन्ध निर्देशक डा. विवेक बास्कोटालाई हस्तान्तरण गरेका हुन् ।
विश्व मुटु दिवसको अवसरमा नर्भिकले गर्यो प्रभातफेरी
काठमाडौँ । विश्व मुटु दिवसको अवसरमा नर्भिक इन्टरनेशनल हस्पिटलले शुक्रबार प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । गतवर्ष नर्भिकमा विविधखाले मुटुरोगको सफलतापूर्वक उपचार गराई नव जीवन प्राप्त गरेका बिरामीहरु, चिकित्सकहरु, नर्भिकका कर्मचारीहरु र सर्वसाधारणको उपस्थितिमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा नर्भिक हस्पिटलका मुटुरोग विभागीय निर्देशक प्राडा यादवदेव भट्टसहित अन्य मुटुरोग विशेषज्ञहरू, कर्मचारीहरू लगायत, संघ संस्थाका पदाधिकारीहरू गरी करिब २०० जना सहभागी थिए । प्रभातफेरि नर्भिकको प्राङ्गणबाट सुरु भई कुपण्डोल, पाटनढोका, कृष्णमन्दिर हुँदै नर्भिक पुगेर टुङ्गिएको थियो । विश्व मुटु दिवसकै अवसरमा शनिबार एक मुटु रोग सम्बन्धी कार्यक्रम आयोजना गरिने हस्पिटलले जनाएको छ । कार्यक्रममा मुटुरोग, यसका जटिलताहरु, रोकथामका उपायहरु, आकस्मिक अवस्थामा अपनाउनुपर्ने सावधानीहरु, जीवन बचाउका उपायहरु आदि बारे विरामी पक्ष लगायत सर्वसाधारणलाई विशेष प्रशिक्षण दिइने कार्यक्रम छ । प्रशिक्षण प्राडा भट्टसहित मुटुरोग विशेषज्ञहरुको टोलीले नर्भिकको ओपीडी विभागमा दिने जनाइएको छ । विश्व मुटु महासंघको आह्वानमा सन् २००० को सेप्टेम्बर अन्त्यदेखि मनाउन थालिएको विश्व मुटु दिवस यस वर्ष सेप्टेम्बर २९ तारिखका दिन मनाइदै छ । विश्व मुटु महासंघको सन् २००५ को तथ्याङ्क अनुसार विश्वभर हरेक वर्ष १ करोड ७५ लाख भन्दा बढी मानिसहरूले रक्तनली, पक्षाघात तथा मुटुजन्य रोगका कारण ज्यान गुमाइरहेका छन् ।
मुनाल सहकारीका ग्राहकलाई चरक मेमोरियल हस्पिटलमा विशेष छुट
काठमाडौँ । कास्की जिल्लाभर कार्यक्षेत्र भएको पोखराको मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र पोखरा पृथ्बीचोकमा रहेको चरक मेमोरियल हस्पीटल प्रालिबीच स्वास्थ्य सेवामा छुट प्रदान गर्ने विषयमा सम्झौता भएको छ । बिहीबार दुबै संस्थाका संचालकहरुको उपस्थितिमा मुनाल बचत तथा ऋण सहकारीको तर्फबाट अध्यक्ष दुर्गाप्रसाद हुमागाई र चरक मेमोरियल हस्पीटल प्रालिको तर्फबाट अध्यक्ष डा. बद्री पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यो सम्झौतापछि मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सम्पूर्ण सेयर सदस्य, सदस्यका परिवार र सहकारीका कर्मचारीले मुनाल डिस्काउन्ट कार्ड र आफ्नो परिचयपत्र मार्फत चरक मेमोरियल हस्पिटलले प्रदान गर्ने सबै किसिमका स्वास्थ्य सेवामा बिशेष छुट सुविधा प्राप्त गर्न सक्नेछन् । हस्पिटलले २४ घण्टा इमर्जेन्सी सेवा, अनुभवी विशेषज्ञ डाक्टरहरुबाट सबै प्रकारका रोगको उपचार सेवा, आधुनिक ल्याव, आधुनिक शल्यक्रीया कक्ष, फार्मेसी मार्फत स्वास्थ्य सेवा प्रदान गरिरहेको बताइएको छ । हस्पिटलले छिटै नै नागढुङ्गा स्थित हेलीप्याड सहितको आफनै भवनबाट नियमित स्वास्थ्य सेवाको अलावा सिटि स्क्यान, अत्याधुनिक ल्याब, फार्मेसी, मुटुरोग, न्युरो, मृगौला सम्बन्धी सम्पुर्ण रोगको शल्यक्रिया र उपचार गर्ने तयारी गरेको अध्यक्ष डा. बद्री पौडेलले बताए । पोखरामा कर्पोरेट हस्पिटलको आबश्यकता महसुस गरी चरकले यस किसिमको उपचार सेवा दिन लागेको अध्यक्ष डा.पौडेलले बताए । चरक मेमोरियल हस्पिटलसंगको यो सहकार्यबाट सहकारीका सेयर सदस्य, सदस्यका परिवार र कर्मचारी स्वास्थ्य सेवाबाट लाभान्वित हुने मुनाल सहकारीका अध्यक्ष दुर्गाप्रसाद हुमागाईँले बताए ।