पाँच करोड लागतमा सम्पन्न ट्रमा केयर सेन्टरको बुधबारबाट औपचारिक सेवा शुरु
विराटनगर । जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर प्रालिले बुधबारदेखि औपचारिक रूपमा सेवा शुरु गरेको छ । प्रदेश नं। १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बुधबार यहाँ आयोजित कार्यक्रममा सेन्टर सेवाको औपचारिक सुरुवात गरेका हुन् । विराटनगर–९ स्थित रु पाँच करोडको लागतमा सञ्चालन भएको सो सेन्टर १५ श्ययाको छ । निजी क्षेत्रबाट सञ्चालित सो सेन्टरमा सघन उपचार कक्ष, एन सघन उपचार कक्ष पिआइसीयु, भन्टिलेटरलगायतका अन्य ल्याब सम्बन्धीसेवा उपलब्ध गराएको सञ्चालक जयप्रकाश रायले बताएका छन् । सेन्टरले उच्चरक्तचाप, डाइबिटिजका बिरामीलाई दैनिक निःशुल्क सेवा उपलब्ध गराउने भएको छ । अस्पतालमा १२ जना विशेषज्ञ चिकित्सकसहित ३० जना कर्मचारी कार्यरत रहेका छन् । असहाय, गरिबीका रेखामुनी रहेका बिरामीलाई सम्बन्धित निकायको सिफारिशमा सम्पूर्ण उपचारलगायत औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको सञ्चालक रायले जानकारी दिए । सो अवसरमा मन्त्री घिमिरेले विराटनगरलाई ‘स्वास्थ्य पर्यटन केन्द्र बनाउनमा यसले सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् । आगामी १५ दिनसम्म सेन्टरका सम्पूर्ण उपचार सेवामा बिरामीलाई ५० प्रतिशत छुट उपलव्ध गराएको छ । रासस
ग्लोबल आइएमई बैंक र नारायणी बयोधा अस्पतालबीच छुटसम्बन्धी सम्झौता
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नारायणी बयोधा अस्पताल प्रा.लि. बीच अस्पतालले बैंकका ग्राहक तथा कर्मचारीहरुलाई प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकको वीरगञ्ज शाखा प्रमुख राकेश ज्ञवाली र नारायणी बयोधा अस्पताल प्रा.लि.को तर्फबाट अस्पतालका मानव संशाधन प्रबन्धक अंशु शर्माले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता पश्चात नारायणी बयोधा, वीरगञ्जमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट , क्रेडिट ,प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १० प्रतिशत सम्म छुट पाउने छन् । बैंकले १४५ वटा शाखा, ३० वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १४८ एटिएम, १८८ शाखारहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय (अष्टे«लिया, बेलायत र भारत) मार्पmत आफ्ना ११ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
आज देशभरका सरकारी स्वास्थ्य संस्थाको ओपिडीतर्फको टिकट निःशुल्क हुने
काठमाडौं । संविधान दिवसका अवसरमा सरकारी स्वास्थ्य संस्थाको बहिरङ्ग (ओपिडी) तर्फको टिकट निःशुल्क हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्ना मातहतका अस्पताल तथा प्रतिष्ठानबाट ओपिडीतर्फको टिकट आज निःशुल्क हुने जनाएको हो । स्वास्थ्य सेवा पाउने संविधानप्रदत्त मौलिक अधिकारलाई सुदृढ कार्यान्वयन गर्न यसले थप सहयोग पुग्ने मन्त्रालयले जनाएको छ । संविधानअनुसार तीन तहका सरकारले आधारभूत स्वास्थ्य सेवा निःशुल्क रूपमा प्रदान गरिरहेका छन् । मन्त्रालयले संविधान कार्यान्वयन भएपछि आज पहिलोपटक ओपिडीतर्फको टिकट निःशुल्क गरेको हो । यसबाट विपन्न समुदायका बिरामीले थप राहत पाउने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. राजेन्द्र वाग्लेले जानकारी दिएका छ । उनले भने, “जुम्ला अस्पतालले गरीब, विपन्न जनतालाई कुनै शुल्क नलिई उपचार गरिरहेको छ ।” चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालमा दैनिक ओपिडीतर्फ ७०० देखि एक हजार १०० सम्म बिरामी सेवा लिन आउँछन् । “हामीले आज ओपिडीतर्फको टिकट निःशुल्क गर्छौँ”, अस्पतालका निर्देशक प्रा. डा. केदार सेञ्चुरी भन्छन् । विसं १९४७ मा १५ श्ययाबाट सेवा दिन शुरु गरेको वीर अस्पतालको हालको क्षमता ४५० श्ययाको छ । न्याम्समा चिकित्सा विज्ञानका नर्सिङ, एमबीबिएस, एमडीलगायत विभिन्न तह, विषयमा उच्च शिक्षा पठनपाठन तथा तालीमका कार्यक्रमसमेत सञ्चालन हुँदै आएको छ । संविधानको मौलिक हकअन्तर्गत प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क रूपमा प्राप्त गर्ने हक हुने, कसैलाई पनि आकस्मिक सेवाबाट वञ्चित नगरिने, व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुने र नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने प्रवधान रहेको छ । मौलिक हक कार्यान्वयन गर्न मन्त्रालयले दुईवटा विधेयक ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी र जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ कार्यान्वयनमा ल्याएको छ । ती विधेयकलाई थप कार्यान्वयन गर्न नियमावली तयार गरी मन्त्रिपरिषद्मा पेश भएको मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । “मन्त्रालयले सङ्घीयता कार्यान्वयन गर्न आफ्ना मातहतका अस्पतालको वर्गीकरण गरी यसको सञ्चालन र व्यवस्थापनमा स्थानीय र प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको छ । आधारभूत स्वास्थ्य सेवालाई थप व्याख्या गरी सेवालाई चुस्त बनाएको छ”, उनले भने । पछिल्लो सयम स्वास्थ्य क्षेत्रका केही सूचकमा सामान्य सुधार देखिएको छ । शिशु मृत्युदर (प्रतिहजार जीवित जन्ममा) र नवजात शिशु मृत्युदर (प्रतिहजार जीवित जन्ममा) क्रमशः ३३ र २३ मा झरेको छ । पाँच वर्षमुनिका बाल मृत्युदर (प्रतिहजार जीवित जन्ममा) ३८ तथा मातृ मृत्युदर (प्रतिलाख जीवित जन्ममा) २५८ मा झरेको छ । परिवार नियोजनको दर करिब ५३ प्रतिशतको हाराहारीमा उक्लेको छ । कूल प्रजननदर (१५–४९ वर्षका उमेर समूहका महिलाको) दुई दशमलव तीन रहेको छ । तौल नपुगेका बच्चाको २८ प्रतिशतमा, क्षयरोगको सफल उपचार र आयोडिनयुक्त नुनको प्रयोग गर्ने घरपरिवारको सङ्ख्या ९० माथि उक्लेको छ । रासस