सामाजिक क्षेत्रमा युनाइटेड क्लबकाे २० लाख

चिप्लेढुंगा । सामाजिक क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउँदै आएको पोखराको युनाइटेड क्लबले आर्थिक वर्ष २०७५/७६ मा रु २० लाख सामाजिक क्षेत्रमा खर्च गरेको जनाएको छ । स्थापनाकालदेखि शिक्षा, स्वास्थ्य, खेलकूद, पर्यटन प्रवद्र्धनका लागि विभिन्न गतिविधि गर्दै आएको क्लबले पोखरामा नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिडियाखाना निर्माण र सेती नदी संरक्षणको कामलाई प्राथमिकतामा राखेर काम गर्दै आइरहेको छ । पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरी आर्थिक सङ्कलन गर्दै आएको क्लबले पोखरा र आसपासका क्षेत्रमा सामाजिक कामका लागि आर्थिक सहयोग गर्दै आइरहेको क्लबका महासचिव शान्तबहादुर थापाले जानकारी दिएका छन् । क्लबले चालू आर्थिक वर्षमा पोखरामा निर्माणाधीन पोखरा जुलोजिकल उद्यानलाई रु नौ लाख प्रदान गरेको छ भने, शिक्षातर्फ रु दुई लाख, सेती नदी संरक्षणतर्फ रु १० हजार, खेलकूदमा रु चार लाख ५० हजार, स्वास्थ्यमा रु दुई लाख, विपद् व्यवस्थापनतर्फ रु एक लाख ३९ हजार र विभिन्न सङ्घसंस्थालाई रु एक लाख १० हजार गरी रु २० लाख १९ हजार सामाजिक काममा खर्च गरेको क्लबका कोषाध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिएका हुन्। तिमिल्सिनाले आर्थिक वर्ष २०७५÷७६ मा क्लबले आफ्नो सामाजिक कामअन्तर्गत रु २० लाख १९ हजार शिक्षा, स्वास्थ्य, खेलकूद, नयाँ पर्यटकीय गन्तव्य चिडियाखाना, सेती नदी संरक्षण, विपद् व्यवस्थापन र विभिन्न सङ्घसस्थालाई वितरण गरिएको बताए । क्लबले स्थापनाको १०औँ वर्षसम्म आइपुग्दा सामाजिक विकासमा आफ्नो पहिचान स्थापित गर्न सफल भएको क्लबका अध्यक्ष लालकाजी गुरुङ बताउँछन् । उनले क्लबको पहलमा निर्माणाधीन अवस्थामा रहेको जुलोजिकल उद्यानको कामलाई स्थानीयवासीले निर्वाध रूपमा काम गर्न दिनुपर्ने बताए । उनले भने, “क्लबले लिएको उद्देश्य साझा भएकाले पछिल्लो समय पोखरा जुलोजिकल उद्यानमा भएको विवादले गलत सन्देश गएको छ । पोखराको थप अर्को आकर्षक गन्तव्यका लागि आफूहरुले लिएको उद्देश्यलाई प्रदेश सरकारले सहयोग गरेर अघि बढनुपर्छ । रासस

स्थापनाको ५७ औं वर्षमा रेडक्रस

काठमाडौं। मानवीय भावना फैलाउन र प्रेममय वातावरण विकास गर्न ‘माया’ भन्ने मूल सन्देशका साथ नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को ५७ औं स्थापना दिवस आज देशैभर विविध कार्यक्रमसहित सम्पन्न भएको छ । नेरेसो केन्द्रीय कार्यालयमा रेडक्रसका संस्थापक जँ हेनरी ड्यूनाको तस्विरमा माल्र्यापण गरी सोसाइटीका अध्यक्ष संजीव थापाले दिवसको शुरुवात गर्नुभएको थियो । अध्यक्ष थापाले भने, ‘यस वर्षको मूल नारा ‘माया’ ले हामी सबै रेडक्रस प्रेमीलाई एक बनाउन मद्धत गरिरहेको छ।’ रेडक्रसको अन्तरराष्ट्रिय महासंघका नेपाल प्रमुख जुजा किम, रेडक्रसको अन्तरराष्ट्रिय समिति आइसीआरसीका नेपाल सहयोग प्रमुख प्रमेश पौडेल, साझेदार राष्ट्रिय सोसाइटीका तर्फबाट क्यानेडियन रेडक्रसका नेपाल प्रमुख पिताम्बर अर्यालले नेपाल रेडक्रसले गरेका कामको प्रशंसा गर्नुहुदै यसलाई अझै सबल र विश्वसनीय बनाउन सहयोगको प्रतिवद्धता व्यक्त गरे। दिवसको अवसर पारेर रेडक्रस प्रति माया झल्काउने फोटो प्रतियोगिता र नेरेसो कर्मचारी कल्याण कोषको संयोजनमा फुटबल, म्यारथन, चेसलगायतका खेलकुद प्रतियोगिताका विजेताहरुलाई सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले पुरस्कार र प्रमाण पत्र वितरण गरे। माया झल्काउने फोटोतर्फ धनकुटाका हरी राई, लोकप्रिय फोटो तर्फ रमा ढकाल, रचनात्मक फोटोतर्फ दिव्यराज पौडेल, समूहगत फोटोतर्फ स्वयम्भू उपशाखा र प्रेरणादायी फोटोतर्फ कमल बास्तोला पुरस्कृत भएका छन्। नेरेसोमा कार्यरत कर्मचारीका छोराछोरीहरु तर्फ कक्षा ८ र एसइई परिक्षामा सर्वोत्कृष्ट हुनेलाई पनि महामन्त्री धाख्वाले पुरस्कार र प्रमाण पत्र वितरण गरे। यसै अवसरमा सोसाइटीमा २५ वर्ष निरन्तर सेवा गर्नुभएका नौजना कर्मचारीहरुलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरुमा उमेशप्रसाद ढकाल, सुवर्ण कुमारी सिग्देल, धर्मकला मिश्र, माधवप्रसाद गुनी, मानवहादुर सिंह, इश्वरी पन्त, दुर्गा वेलवासे, हुतराज भट्टराई र नारायण शाही रहेका छन्। सम्मानित हुनेहरुको तर्फबाट बोल्दै नेरेसोका कार्यकारी निर्देशक उमेश प्रसाद ढकालले २५ वर्ष संस्थामा काम गर्दा आफूले मानवीय क्षेत्रका धेरै कुरा सिकेको र सेवाको अवसर प्राप्त भएको बताए। केन्द्रीय कार्यालयमा ४३ जनाले रक्तदान गरेका थिए। नेरेसोका स्वयंसेवक तथा कर्मचारीहरुले वार्षिकउत्सवको अवसरमा प्रतिभा प्रर्दशन तथा साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरेका थिए । दिवसको पूर्व सन्ध्यामा बुधबार केन्द्रीय कार्यालय परिसर सरसफाई गरिएको थियो । यस अवसरमा देशभरीका ७ वटै प्रदेश, ७७ वटै जिल्ला शाखा र १५०० भन्दा वढी उपशाखा र जुनियर युवा सर्कलहरुले विविध कार्यक्रमको आयोजना गरेका छन् । धादिङ र गोरखा जिल्लामा प्रभातफेरी र रक्तदान, पर्सामा प्रधानाध्यापकहरुसँगको अन्र्तक्रिया, पर्वतमा सरसफाई कार्यक्रम, बाँकेमा वृक्षारोपण र रक्तसमूह परिक्षण, भक्तपुरमा पत्रकार भेटघाट, सुर्खेतमा कविता वाचन जस्ता कार्यक्रमहरु सञ्चालन भएका छन् । २०२०, भाद्र १९ गते नेरेसोको स्थापना भएको थियो । देशका सबै ठाउँमा रहेका नेपाल रेडक्रसका एक लाख भन्दा बढी स्वयंसेवक तथा कर्मचारीहरुले वर्षेनी औषत २५ लाख मानिसलाई सेवा पु¥याँउदै आएका छन् । नेरेसोका जुनियर युवा लगायत १० लाख सदस्यहरु रहेका छन् ।

हेपाटाईटिस बि नियन्त्रणमा उपलब्धी हाँसिल गरेकोमा नेपाल सम्मानित

काठमाडौं।  हेपाटाईटिस बि नियन्त्रणमा महत्वोपूर्ण उपलब्धी हाँसिल गरेको भन्दै विश्व स्वास्थ्य संगठनले नेपाललाई सम्मान गरेको छ। विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसियाली क्षेत्र हेर्ने भारतको नयाँदिल्लीस्थि कार्यालय (सेरो)को क्षेत्रीय बैठकमा नेपालको तर्फबाट उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई मंगलबार सम्मान गरिएको हो। नेपालले यसअघि पोलियो उन्मूलन, मातृशिशु मृत्युदर नियन्त्रण, रुबेला नियन्त्रण, धनुष्टंकार उन्मूलन गर्न सफल हुँदै विश्व स्वास्थ्य संगठनबाट प्रमाणपत्र पाइसकेको छ। संगठनले विभिन्न विधामा जनस्वास्थ्यमा महत्वोपूर्ण उपलब्धी हाँसिल गरेकोमा नेपाल सहित अन्य ५ मुलुकलाई सम्मान गरेको छ। सम्मान हुने अन्य ५ मुलुकमा बंगलादेश, भुटान, थाइल्याण्ड, माल्दिभ्स र श्रीलंका परेका छन्।