गर्भावस्थामा के खाने ? कस्तो व्यवहार गर्ने ? बारे नयाँ पाठ्यक्रम शुरू गर्दै भारतीय विश्वविद्यालय

काठमाडाैं । गर्भावस्थामा के खाने ? सरसफाइ कसरी गर्ने ? कस्तो संगित सुन्ने ? र कसरी आफूलाई आराम र स्वस्थ राख्ने ? भन्ने बारेमा कतिपयलाई ज्ञान नहुन सक्छ । झट्ट सुन्दा महिलाका लागि मात्र काम लाग्ला जस्तो लागेता पनि पुरुषहरुले पनि यस बारे थाहा पाइ राख्न निकै जरूरी छ । यहि विषयलाई मध्यनजर गर्दै भारतको उत्तर प्रदेशस्थित लखनउ विश्वविद्यालयले ‘गर्भ संस्कार’ नामक एक अनौठो विषयमा अध्ययन सुरु गराउने भएको छ ।  यसै वर्षको अप्रिलबाट सुरु हुने नयाँ शैक्षिक शत्रबाट भारतमै पहिलो पटक संचालनमा आउन लागेको गर्भावस्था तथा मातृत्वसम्बन्धी यस शैक्षिक कार्यक्रमअन्तर्गत महिलाहरुले गर्भावस्थामा कस्तो कपडा लगाउने, कस्तो खानेकुरा खाने र कस्तो व्यवहार गर्ने लगायत विषयमा गहन अध्यापन गराउने उद्देश्य राखेको छ । प्रविणतापत्र र डिप्लोमा तहमा संचालन हुने यस विषयअन्तर्गत गर्भावस्थामा कस्तो संगित सुन्ने, गर्भावस्थामा सरसफाइ कसरी गर्ने र कसरी आफूलाई आराम र स्वस्थ राख्ने भन्ने पनि सिकाइने छ । विश्वविद्यालयले भने अहिले यूवावस्थामा प्रवेश गरिरहेका छात्राहरुलाई भविष्यमा आमा बन्न सहायता गर्ने उदेश्यले सो पाठ्य कार्यक्रम संचालन गर्न लागेको जनाएको छ । झट्ट सुन्दा महिलाका लागि मात्र काम लाग्ला जस्तो लागेता पनि विश्वविद्यालयले भने पुरुष विद्यार्थीहरुलाई पनि यस पाठ्यक्रममा सहभागीता जनाउन दिने टाइम्स अफ इण्डियाले जनाएको छ ।  जर्मनीमा पहिल्यैदेखि समान प्रकृतीको शैक्षिक कार्यक्रम संचालन भइरहेको जनाएको विश्वविद्यालयले यस पाठ्यक्रमका कारण भविष्यमा भारतमा रोजगारीको श्रृजना हुनसक्ने पनि विश्वास लिएको छ । विश्वविद्यालय श्रोतका अनुसार, यस शैक्षिक पाठ्यक्रमअन्तर्गत विद्यार्थीहरुले गर्भावस्थाभन्दा अघि र गर्भावस्थामा रहेका महिलाहरुले अंगिकार गर्नैपर्ने परिवार नियोजन, पोषण, सरसफाइ तथा स्वच्छता लगायतका १६ वटा मान्यताहरु सिक्नेछन् । ‘गर्भावस्थामा प्रवेश गर्न लागेका केहि भारतीय महिलाहरु सचेत र शिक्षित भएता पनि अन्य असंख्या महिलाहरुको अवस्था त्यस्तो छैन । फेरी शिक्षित महिलाहरुमा पनि गर्भावस्थाको बेला के गर्नुपर्ने र के गर्नुनपर्ने भन्ने बारेमा जानकारीको अभाव रहेको पाइन्छ,’ विश्वविद्यालयका प्रवक्ता दुर्गेस श्रीबास्तव भन्छन् । उनका अनुसार यस विषयको अध्ययनले महिलाहरुलाई सफा तथा सुरक्षित वातावरणमा बस्न, स्वस्थ तथा पोषिलो खानेकुरा खान, आफ्नो र जन्मेको बच्चाको शरिर र स्वास्थ्यको स्याहार गर्न सघाउने छ । ‘भारतको नयाँ पुस्तालाई सुखी र स्वस्थ बनाउन यस पाठ्यक्रमको ठूलो योगदान रहनेछ,’ श्रीबास्तव थप्छन् । लखलउका विद्यार्थी तथा स्त्री रोग चिकित्सकहरुले विश्वविद्यालयको यस घोषणाको खुलेर स्वागत गरेका छन् । ‘यो बास्तवमै राम्रो र संबेदनशील विषय हो । यस विषयको अध्यापनले दम्पत्तिहरुलाई स्वस्थ बच्चा जन्माउन मद्धत गर्छ जसले भारतको स्वस्थ भविष्य निर्माण गर्नमा टेवा पुर्याउँछ,’ पुरुष विद्यार्थी सञ्जिब शर्मा भन्छन् । यसैगरी वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर मधु गुप्ता यस्तो खालको पढाइले महिला र बालबालिका सहायता कार्यक्रमलाई बल पुर्याउने बताउँछिन् ।

सिटिजन्स बैंकद्वारा डोल्पाको विद्यालयलाई आर्थिक सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले डोल्पा जिल्लाको श्री सरस्वति माध्यमिक विद्यालयलाई ५० हजार रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । उक्त रकम बैंकले आइतबार एक कार्यक्रमका बीच विद्यालयलाई हस्तान्तरण गरेको हो । गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको यस विद्यालयले उक्त सहयोग रकमबाट हिमाली छात्रवासमा रही अध्ययन गरिरहेका २५ जना छात्र÷छात्राहरू र महिला फिडर छात्रवासमा आवासिय रूपमा अध्ययन गरिरहेका २० जना छात्राहरुको लागि आवश्यक खाद्यान्न तथा न्यानो ओढ्ने र ओछ्याउने लुगाहरू खरिद गर्ने बताएको छ । यस किसिमको सहयोगबाट त्यहाँ अध्ययन गर्दे आएका विद्यार्थीहरुको जिवनस्तरमा सुधार आउने तथा चिसोबाट जोगिन मद्दत पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ । साथै, यस सहयोगले सामाजिक अपहेलना र तिरस्कार भोगेर जीवनयापन गरिरहेका निमुखा, गरीब र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुको मनोवल थप उच्च हुने कुरा विद्यालयले जनाएको छ । नेपाल सरकारले अवलम्बन गरेको ’सुखी नेपाली र सम्बृद्ध नेपाल’ को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास बैंकले व्यक्त गरेको छ । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ । हाल बैंकले ९३ वटा शाखा, ९० वटा एटीएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

सिटिजन्स बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच छुटसम्बन्धी सम्झौता

काठमाडौं । सिटिजन्स इन्टरनेशनल बैंक र र सिद्धार्थ बिजनेस ग्रुप एण्ड हस्पिटालिटीबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई बिभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । यस सम्झौता अनुसार सिटिजन्स बैंकका डेबिट/क्रेडिट/प्रिभिलेज कार्डवाहक ग्राहकले सिद्धार्थ बिजनेस ग्रुप एण्ड हस्पिटालिटीको देशैभरी रहेका होटेल, क्याफे तथा रिसाेर्टमा सेवा लिंदा विशेष छुट पाउँनेछन् । अन्तर्रा्ष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा यस बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस मेशिन मार्फत सामान वा सुविधा खरिद गर्दा २०% सम्म क्यास ब्याक (नगद फिर्ता) हुने योजना सञ्चालनमा रहेको छ । सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा एटिएम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।