विश्व स्वास्थ्य संगठनले राख्याे नेपाललाई काेरोनाको उच्च जोखिम सूचीमा
काठमाडौं । नेपाल कोरोना भाईरसको उच्च जोखिममा भएको देशमा परेको छ । बिहिबार विश्व स्वास्थ्य संगठनले जारी गरेको सूचीमा नेपाल काेराेना भाईरसको उच्च जोखिमा परेकाे हाे । विश्व स्वास्थ्य संगठनको बिहीबार बसेको बैठकले नेपाललाई कोरोना भाईरसको उच्च जोखिममा भएको देशमा राखेको हो । यसअघि चीनलाई मात्र संगठनले उच्च जोखिम भएको देशमा राखेको थियो । संगठनले नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तानका साथै केही अफ्रिकी मुलुकलाई पनि कोरोनाको उच्च जोखिममा राखेको छ । नेपालमा हालसम्म एक जनामा बाहेक कसैमा पनि काेराेना भाईरस देखिएको छैन । चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वका विभिन्न देशमा फैलिएको छ । एशियाली मुलुकहरुसहित युरोप, अफ्रिका लागायतमा पनि कोरोना भाइरसको प्रकोपमा वृद्धि भइरहेको छ । चीनबाहेक दक्षिण कोरिया, थाइल्याण्ड, मलेसिया, सिंगापुर, जापान, इटाली र इरानमा समेत अहिले कोरोना भाइरसको संक्रमण देखिएको छ । अहिलेसम्म कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २८ सय पुगेको छ । त्यस्तै विश्वभरका ८३ हजारमा संक्रमण फैलिएको छ । चीनपछि सबैभन्दा बढी संक्रमण फैलिएको दक्षिण कोरियामा २ हजार २२ जनामा संक्रमण फेला परेको उल्लेख गरिएको छ । चीनमा बिहीबारमात्रै २९ भन्दा बढीले ज्यान गुमाएका छन् भने ४ सय ३३ जनामा नयाँ संक्रमण देखिएको छ । त्यस्तै, कोरियामा १ हजार २ सय ६१ नयाँ संक्रमित फेला परेका छन् । कोरोनाकै कारण दक्षिण कोरियामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । चीनपछि दक्षिण कोरियामा कोरोना भाइरसले प्रकोपको रुप नै लिइसकेको छ । कोरोना भाइरसको संक्रमण चीनपछि दक्षिण कोरियामा बढेको विश्व स्वास्थ्य संगठनको भनाइ छ । त्यस्तै इटालीमा १७ जनाले ज्यान गुमाएका छन् । ६ सय ५० जनामा संक्रमण देखिएको छ । युरोपका अल्जेरिया, डेनमार्क, रोमानिया, स्पेनमा पनि यसको संक्रमण फैलिएको छ । त्यस्तै, बेलायतमा १६ जनामा संक्रमण देखिएको छ । नेदरल्याण्ड, ब्राजिलमा पनि कोरोना संक्रमित फेला परेका छन् । फ्रान्समा कोरोनाको संक्रमणबाट २ जनाले ज्यान गुमाउनुका साथै ३८ जनामा संक्रमण देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
नर्भिक अस्पतालले कानकाे शल्यक्रियामा ५० प्रतिशत छुट दिने
काठमाडौं । नर्भिक अस्पतालकाे कानकाे शल्यक्रियामा ५० प्रतिशत छुट दिने भएकाे छ । नर्भिक इन्टरनेशनल हस्पिटलको नाक–कान–घाँटी विभागले विश्व श्रवण शक्ति दिवसका अवसरमा कानकाे अवसरमा ५० प्रतिशत छुट दिने भएकाे हाे । यस्तै, अस्पतालले फागुन २० र २१ गते १० बजेदेखि साँझ ५ बजेसम्म कान सम्बन्धी समस्याहरूको निःशुल्क जाँच तथा परामर्श सेवा उपलब्ध गराउने पनि जनाएकाे छ । निशुल्क सेवा प्राप्त गर्नका लागि ग्राहकहरुले अग्रिम नाम दर्ता गराउनुपर्ने छ । उक्त सेवा परिचालनका लागि नाक–कान–घाँटी विशेषज्ञहरु प्रा. डा. दिपेन्द्र श्रेष्ठ, डा. रेस्की देव, डा. खम्बीर श्रेष्ठ, वरिष्ट श्रवण विशेषज्ञ विद्वान भुषाल लगायतका विशषज्ञहरुको टोली कार्यरत रहने अस्पतालले जानकारी दिएको छ । दुवै दिन श्रवण शक्ति परीक्षण गराउनुपर्ने भएमा सो सेवा निःशुल्क हुनेछ भने श्रवण यन्त्र परीक्षणसमेत निःशुल्क गरिने अस्पतालले जानकारी दिएको छ । कान सम्बन्धि शल्यक्रिया गनुपर्ने भएमा शल्यक्रिया शुल्कमा र शल्यक्रिया तयारीका लागि यदि कुनै निदानात्मक सेवाहरु आवश्यक परे तिनमा पनि ५० प्रतिशत छुट गरिने र साथै श्रवण यन्त्रको आवश्यकता पर्ने विरामीलाई उक्त यन्त्रको शुल्कमा २५ प्रतिशत छुटसहितको दरमा प्राप्त हुने अस्पतालले जानकारी दिएको छ ।
५० शैय्याको सैनिक अस्पताल सञ्चालनमा
इटहरी । इटहरीमा रहेको पूर्वी पृतनामा आधुनिक उपकरणसहितको ५० शैय्याको सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएको छ । उक्त अस्पतालकाे उद्घाटन प्रधानसेनापति पूर्णचन्द्र थापाले गरेका हुन् । उनले नेपाली सेनाका बहालवाला तथा सेवानिवृत्त आफन्त तथा परिवार स्वास्थ्य समस्याबाट पीडित भएर काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्यका लागि सेनाले अस्पताल निर्माण गरेको बताएका छन् । अस्पताल सञ्चालनमा आएपछि प्रदेश एक तथा आसपासमा बसोवास गर्ने सेनाका आफन्त तथा उनीहरुका आश्रितले सामान्य रोगको उपचार गराउन काठमाडौँ जानु नपर्ने बताए । यहाँ उपचार हुन नसक्ने बिरामीको लागि विराट अस्पतालसँग सम्झौता भएकाले तुरुन्तै यहाँबाट रेफर गरेर पठाइने बिरामीको त्यस अस्पतालमा सबै किसिमको उपचार हुने समेत उनले बताए । प्रधानसेनापति थापाले अहिले यस अस्पतालमा बहालवाला सेना तथा उनका आश्रितको मात्र उपचार हुने भए पनि पछि यहाँका जनप्रतिनिधि तथा उद्योगी व्यापारीको अनुरोधमा सर्वसाधारण नागरिकको पनि उपचार गराइने बताए । हाल यस अस्पतालबाट छातीरोग, बालरोग, स्त्रीरोग, दन्त चिकित्सा, हाडजोर्नी तथा मेडिकल सेवा उपलब्ध हुने बताइएको छ । रासस