दाङको तुलसीपुरमा सय श्ययाको अस्पताल बन्दै

दाङ । दाङको तुलसीपुरमा सय श्ययाको अस्पताल बन्ने भएको छ । तुलसी अस्पताल प्रालिले सय श्ययाको अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेको छ । “तुलसीपुरमा सय श्ययाको अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेका छौँ”, अस्पतालका सञ्चालक डा किशोर खत्रीले भने, “त्यसका लागि तुलसीपर उपमहानगरपालिका–९ बेलुवामा प्रक्रिया अघि बढिसकेको छ ।” दाङका बिरामीलाई बाहिरी जिल्ला जानुपर्ने अवस्थाको अन्त्य गर्ने गरी सेवा दिने तयारी थालिएको उनको भनाइ छ । “अहिले दाङमा सुविधासम्पन्न अस्पताल नहुँदा उपचारका लागि बाहिरी जिल्ला सिफारिश भएर जानुपर्ने अवस्था छ”, उनले भने, “यसको अन्त्य गर्ने हाम्रो लक्ष्य छ ।” अहिले बालरोग विशेषज्ञ सेवा दिँदै आएको अस्पतालले ल्याब, आइसीयू, एक्सरे सेवा थप गरेको समेत बताए । डा खत्रीका अनुसार अब अस्पतालले सुत्केरी सेवा, जनरल मेडिसिन, गर्भ जाँच, पाठेघर तथा महिलामा सेतोपानी बग्ने, बेहोस बनाएर उपचार गर्नेलगायतका सेवाहरु शुरु भएका छन् । रासस

प्रधानमन्त्री आज डिस्चार्ज हुने (विज्ञप्तीसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज डिस्चार्ज गरिने भएकाे छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज बेलुका डिस्चार्ज गरिने भएको हाे । १९ फागुनमा अस्पताल भर्ना भएका उनको शरीरमा २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलाई भान्जी समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन् । उनी अस्पतालबाट डिस्चार्ज भइसकेकी छन् । प्रधानमन्त्री ओलीलाई पनि पूर्ण स्वास्थ्य लाभपछि डिस्चार्ज गर्न लागिएको अस्पतालले जनाएकाे छ ।  

काेराेनाले पार्ने असरबारे नेपाल-भारतबीच छलफल हुँदै

काठमाडौं । कोरोनाले पार्ने असर बारे नेपाल-भारत सीमा व्यवस्थापन गर्नेबारे छलफल हुने भएकाे छ । विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड१९) रोकथामका लागि लिइएका निर्णयले नेपाल-भारत सीमामा पार्ने अप्ठ्याराबारेमा वार्ता हुने भएको छ। मन्त्रालय स्रोतका अनुसार केहीबेरपछि यस विषयमा कुराकानी हुन लागेको हो। परराष्ट्र सचिव शंकरदास बैरागीले भारतीय राजदूत विनय मोहन क्वात्रालाई मन्त्रालयमा बोलाएर यसबारे छलफल गर्न लागेका हुन्। सीमा नाकाहरुमा पर्याप्त चेकजाँचको व्यवस्था भएका चेक प्वाइन्टबाहेकका अन्य स्थल नाकाबाट समेत भारत प्रवेशमा कडाइ गर्ने निर्णय भारतले गरेको थियो। भारतको यस्तो निर्णयले नेपाल र भारतको सीमामा असर पर्ने र यसले भारतबाट नेपालतिर खाद्यन्नलगायतमा असर पार्ने भन्दै चिन्ताहरु व्यक्त भइरहेका छन्।