कसरी बनाउने चाकु ? के कस्ता छन् यसका फाइदा ?

काठमाडौं । हिन्दुहरुको प्रमुख चाडमध्ये माघे संक्रान्ति पनि महत्वपूर्ण पर्व हो । परम्परादेखि मानी आएको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यो संक्रान्तिलाई मकर संक्रान्तिको रुपमा पनि चिनिन्छ । माघे संक्रान्तिमा विशेष गरेर घ्यू चाकु, तिलको लड्डू, फापरको फुरौला, तरुल, सखरखण्ड जस्ता खाद्यपदार्थ खाने प्रचलन छ । माघे संक्रान्तिको आसपासमा यस्ता खाद्यपरिकार विक्री वितरणको लागि पर्याप्त मात्रामा राखिएका पनि हुन्छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार व्यवसायिक चाकु उत्पादन गर्ने संस्था विभागमा दर्ता भएका छैनन् । यसैकारण यस्ता खाद्य पदार्थको गुणस्तरमा यकिन हुन सकिने अवस्था भने छैन । तर, परम्परादेखि उत्पादन गरिदै आएको खाद्य पदार्थ भएकोले गुणस्तरहीन हुन्छन् भनेर आरोप लगाइहाल्न मिल्ने अवस्था पनि छैन । गुलियो तथा अमिलो खाद्य पदार्थ आफैमा सुरक्षित खाद्यपदार्थ भएकाले यसको विग्रिने सम्भावना अति हुन्छ । सखर तथा चिनीलाई पकाएर बनाउने चाकुको गुणस्तरमा विभागले हालसम्म बजारमा अनुगम गरेको छैन । काठमाडौं उपत्यकामा धेरै चाकु उत्पादन हुने स्थान टोखा हो । टोखामा माघे संक्रान्तिताका धेरै परिमाणमा चाकु उत्पादन हुने गर्छ । घरमा नै बनाउने आफ्नै प्रक्रिया भएकोले पनि यसको विश्वनियता बढ्दै गएको छ र पछिल्लो समय चाकुलाई नेपाली चक्लेटको रुपमा ब्राण्डिङ गर्ने प्रयास पनि भएको छ । बजारमा माघे संक्रान्ति तथा नेवारहरुको यमुरी पूर्णिमाको दिन चाकुको प्रयोग धेरै हुने भएपनि हालसम्म कुनै गुनासो नआएको विभागको भनाइ छ । चाकु बनाउने तरिका पानीमा सखर राखेर आगोमा लामो समयसम्म पकाउने, उक्त पानी र सखर पाकेसँगै ठूलो खुल्ला भाँडोमा राख्ने । तातो सेलाएसँगै त्यसलाई रंग परिवर्तन नहुँदासम्म फिट्ने । त्यसपछि आफूलाई चाहिने मात्रामा किसकिस, काजु, नरिवल मिसाएर केही समय खुल्ला छोड्ने । यस्तै, घरेलु तरिकाले आफूले चाहेअनुसारको आकारमा चाकु तयार गर्न सकिन्छ । यस्ता छन् चाकुको फाइदा गुलियो खाद्यवस्तुले शरिरलाई शक्ति प्रदान गर्ने गर्दछ । जाडो मौसममा थकित शरिरलाई सन्तुलन गर्ने काम गुलियो खाद्यान्नभित्र पाइन्छ । चिसोबाट थाकेको शरिरलाई न्यायो हुन्छ भन्ने मान्यताका साथ चाकु, घ्यू, तरुल, तिल, सक्खरखण्ड जस्ता खाद्यपदार्थलाई प्रसादको स्वरुप लिने गरिँदै आएको छ । सखर र पानीबाट बन्ने चाकुमा कार्बाेहाइड्रेड प्रशस्त मात्रामा हुन्छ । त्यस्तै, चाकुमा हुने कालो पदार्थमा अधिक मात्रामा आइरन पाइने हुँदा कमजोर शरिर तथा रक्तअल्पता भएका विरामीको लागि यसले धेरै फाइदा गर्छ । शरिरलाई ताप प्रदान गर्नका लागि घ्यू सन्तुलित मात्रामा प्रयोग गर्दा उपयुक्त हुन्छ । जाडोयाममा शरिरलाई अधिक मात्रामा उर्जा आवश्यक पर्ने हुँदा घ्यू र चाकु प्रयोग गरिएको हो ।

ह्याम्स अस्पतालले चाडै नै १ सय शैया थप्दैछः अनिल ओड्युभिल

काठमाडौं । हस्पिटल फर एड्भान्सन्ड मेडिसिन एण्ड सर्जरी ( ह्याम्स) सन् १९९७ मा स्थापना भएको हो । २२ वर्षको लामो इतिहास बोकेको सय शैयाको यस अस्पतालले क्रिटिकल केयरको क्षेत्रमा विशेष प्राथमिकता दिएर उपचार प्रदान गर्दै आएको छ । नयाँ स्थानमा साँढे एक वर्षबाट सञ्चालनमा आएको यस अस्पतालले ४ सय ५० भन्दा बढीलाई रोजगार प्रदान गर्दै आएको छ । अस्पतालका प्रमुख कार्यकारी निर्देशक  रहेका अनिल ओड्युभिल स्वास्थ्य क्षेत्रमा करिब ३० वर्षदेखि संलग्न छन् । यद्यपि अस्पतालको कुरा गर्नुपर्दा उनले दुबई स्थित डा. बिआर सिटी ग्रुपमा पहिलोपल्ट उपाध्यक्षको रुपमा आबद्ध भएका थिए जुन दुबईको सबैभन्दा ठूलो हस्पिटल चेन हो । यस्तै, उनी नेपालको स्वास्थ्य क्षेत्रमा ४ वर्ष देखि आबद्ध छन् । यसअघि उनी नेपाल मेडिसिटी र ग्रान्डी सिटी अस्पतालसँग आबद्ध थिए र हाल ह्याम्समा १ महिनादेखि कार्यरत छन् । ह्याम्स अस्पतालका सीईओ अनिल ओड्युभिलसँग विकासन्युजका लागि डोमी शेर्पाले अस्पतालको वर्तमान अवस्था, भविष्यका योजनाहरु र यो क्षेत्रका चुनौतिका बारेमा कुराकानी गरेकी छन्ः ह्याम्स अस्पतालको विशेषज्ञता खास गरेर कस्तो प्रकारको उपचारका लागि हो ? ह्याम्स अस्पताल सन् १९९७ बाट संचालनमा आएको हो । यसअघि अस्पताल काठमाडौंकै बुद्धनगरमा थियो । साढे एक वर्षदेखि काठमाडौंको धुम्बाराहीमा छ । यो अस्पातालमा नेपालका प्रख्यात डाक्टरहरु आबद्ध छन् । ह्याम्सको विशेषताको कुरा गर्दा न्युरो साईन्स, न्युरो सर्जरी, न्युरो फिजिसियन, न्युरो ईन्टरभेन्सन जस्ता सेवाहरु यसका विशेष हुन् । यस्तै, हामीसँग निकै राम्रा कार्डियाक सर्जन, ग्यास्ट्रो सर्जन, अर्थाेपेडिसियन, स्पाईनल सर्जनहरु रहेका छन् । डाक्टर भोला रिजालको नेतृत्वमा आमा र शिशु विभाग संचालित छ । ह्याम्सका पूर्वाधार र जनशक्क्ति कस्ता छन् ? हाम्रा पूर्वाधारको कुरा गर्दा हामीसँग भएको आईसीयु अन्तराष्ट्रियस्तरका छन् । हामीसँग ६ वटा मोडुलर अपरेसन थिएटर छन्, जुन अन्तराष्ट्रियस्तरका छन् । जुन जुन स्थानमा क्रिटिकल केयरको आवश्यक हुन्छ, त्यसमा सेवा दिनको लागि हामीसँग प्रतिभाशाली डाक्टर, नर्सको टिम छ । हाम्रा डाक्टरहरु पछिल्लो समयको प्रविधिबारे अभ्यस्त छन् । उनीहरु प्रमाणमा आधारित औषधीमा विश्वासमा गर्छन् । त्यस्तै, स्पेशल केसहरुमा आवश्यक परेको अवस्थामा हामी टिम बसेर छलफल गर्छाैं र सबैको हितमा हुने र नियम भित्र रहेर उपचार गर्छौं, जसले गर्दा हामी धेरैको विश्वासको पात्र बन्दै आएका छौं । अस्पतालको प्रमोटरको रुपमा को–को छन् ? हाम्रो अस्पतालको अध्यक्षको रुपमा निकै नै प्रतिभाशाली व्यक्ति रामशरण भण्डारी हुनुहुन्छ । बोर्डमा ३ सदस्य रहेका छन् । त्यस्तै डा. भगवान कोइराला हाम्रा निकै महत्वपूर्ण सल्लाहकारका  रुपमा रहनुभएको छ । डा. कोइरालाले ह्याम्सलाई यो अवस्थासम्म ल्याउनको लागि निकै नै महत्वपूर्ण भुमिका खेल्नुभएको छ । हाल उहाँ मेडिकल काउन्सिलसँग आबद्ध रहेनुभएकोले यहाँ बिरामी जाँच्नको लागि मात्र आउनुहुन्छ । ह्याम्सको सेवाको गुणस्तरलाई कसरी मापन गर्न सकिएला ? ह्याम्सको गुणस्तरलाई ह्याम्सले लागू गर्न तयारीमा रहेको एनएबीएचलाई हेरेर मापन गर्न सकिन्छ । एनएबीएच अस्पतालहरुलाई नियमन गर्न बोर्ड हो, जसले अस्पतालको लागि नियमहरु बनाएको हुन्छ । उसले बनाएको नियम मातहतमा रहेर काम गर्नुपर्ने हुन्छ । ह्याम्सले यसको प्रकृया सुरु गरिसकेको छ । पूरा कार्यान्वयनको लागि कम्तिमा पनि १६ महिना लाग्न सक्छ । यो प्रकृयामा अस्पतालका हरेक विभागका व्यक्तिहरु सहभागी हुन्छन् । उनीहरुलाई तालिम पछि कस्तो घटना हुँदा के गर्ने भन्ने विषयमा पूर्ण जानकारी हुन्छ । जस्तो कि कोही बिरामी बेहोस् भए के गर्ने, शहरमा भुकम्प जस्तो कुनै ठुलो प्रकोप आउँदा कसरी परिचालन गर्ने वा अस्पतालमा आगलागी भए कसरी सुरक्षित रहने भन्ने जस्ता विभिन्न विषयमा तालिम दिईन्छ । यो पुरा प्रकृया बिरामी, डाक्टर र अस्पतालका स्टाफहरुको सुरक्षासँग सम्बन्धित छ । यसले उनीहरुको सुरक्षाको प्रतिबद्धता गर्दछ । यो लागू भएसँगै ह्याम्स अस्पताल यो प्रकृया लागु गर्न दोस्रो अस्पताल हुनेछ । यसअघि अर्काे कुनै अस्पतालले एनएबीएच लागू गरेको छ । ह्याम्सको भविष्यका योजनाहरु के के छन् ? मलाई लाग्छ कि जुन गतिले हामी अगाडी बढिरहेका छौं, त्यसलाई हर्दा हामीले चाँडै नै आफूलाई विस्तार गर्न आवश्यक छ । हामीसँग अझै १ सय शैयाको लागि स्थान छ, जसले हामीलाई कुल २ सय शैयाको अस्पताल बनाउँछ । यसका साथै एनएबिएच लागू गर्नाले हाम्रो अस्पताललाई मानिसहरुको लागि अझ विश्वासिलो स्थान बनाउनु हो । हालको लागि हाम्रा योजनाहरु यति नै छन् । सरकारी नीति नियमको विषयमा पनि प्रश्न उठ्ने गरेको छ, अस्पताल चलाउनको लागि सरकारी नीति नियम कत्तिको अनुकुल छन् भन्ने लाग्छ ? यो विषयमा हामीले धेरै स्थानहरुमा छलफल गरिरहेका छौं । मलाई लाग्छ कि हाल नेपालको अवस्था अस्पताल उद्योगमैत्री छैन । अस्पताल व्यसायमा लगानी गर्छु भन्दा कर्जा दिने निकायहरु निकै कम छन् । व्यवसायीहरुलाई अस्पतालमा लगानी गर्नुभन्दा होटलमा लगानी गर्नु सजिलो अवस्था छ । अस्पतालहरुलाई सरकारले १० प्रतिशतलाई निःशुल्क उपचार गर्नुपर्ने व्यवस्था गरेको छ । तर, होटल व्यवसायमा यस्तो नियम छैन । यस्तै अस्पतालहरुमा आवश्यक पर्ने उपकरणको आयातमा पनि महंगो कर तिर्नुपर्छ । विदेशी कम्पनीले उत्पादन गरेका गुणस्तरीय औषधी सीमा क्षेत्रमा आइसकेपनि नेपालमा बैधानिक रुपमा भित्र्याउन समय लाग्छ । यस्तो समस्या सोही कम्पनीका अन्य उत्पादन नेपालमा आयात भइरहेका कम्पनीको हकमा पनि छ । यस्ता समस्याको कारण पनि अस्पतालहरुले ठूलो परिमाणमा औषधी स्टक राख्नुपर्ने वाध्यता छ । नेपालमा स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिको अवस्था कस्तो छ ? नेपालमा साँच्चै नै भन्नुपर्दा निकै नै प्रतिभाशाली डाक्टरहरु छन् । कुरै गर्नु पर्दा म ४ वर्ष अगाडि नेपाल आउँदा एनेस्थेसियाको डाक्टरहरु ३ सय ५० जनाभन्दा बढी थिए, जसले मलाई अच्चम पारेको थियो । ६–७ वर्ष अगाडी केरलाको आमुर्दा ईन्ष्टिच्युट अफ मेडिकल साईन्स अस्पतालमा मात्र ८४ जना एनेस्थेसिस्टहरु थिए । खास सुरक्षित ऐनेस्थेसिया गर्नको लागि एउटा अस्पतालमा मात्र यति एनेस्थेसिस्टहरुको आवश्यक हुन्छ । धेरै संख्यामा एनेस्थेसिस्टहरु काठमाडौंमा रहेका छन् । त्यसो भए अन्य ठाउँमा कसले एनेस्थेसिया गराईरहेको छ त भन्ने प्रश्न पनि आउँछ ? यद्यापि सर्जरीहरु भईरहेका छन् । मलाई लाग्छ केही हदसम्म यसमा सुधार आएको छ । तर, अझै पनि संख्या अपुग छ । यस्तै, एकदमै सिमित क्षेत्रमा र संख्यामा डाक्टरहरुले विशेषज्ञता हासिल गरेका छन् । डाक्टरहरुको सर्जरी गर्नसक्छु भन्ने आत्माविश्वास कम भएको पाएको छु । किनभने उनीहरुसँग भरोसा गर्न लायक टिमहरु तयार भइसकेका छैनन् । पारामेडिक्सहरुको पनि संख्या निकै नै कम छ । यस्तै धेरै अस्पतालहरुसँग गुण नियन्त्रण विभाग छैन । यस्ता विभागको अधिनमा रहेर मात्र व्यक्तिहरुले के गर्ने नगर्न विषयमा जानकार हुन्छन । अनि मात्र नेपालमा स्वास्थ्य सेवा क्षेत्रको विकास हुनेछ ।

स्वास्थ्यमा निजी क्षेत्रको १९ अर्ब लगानी, मणिपाल हस्पिटल पहिलो पनि ठूलाे पनि 

काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रमा पनि निजी क्षेत्रको लगानी खुल्ला गरेसँगै यो क्षेत्रमा निजी क्षेत्रको आकर्षण बढ्दो क्रममा रहेको देखिएको छ । निजी क्षेत्रले संचालन गरेका अस्पताल, स्वास्थ्य सम्बन्धी शैक्षिक संस्था र अक्सिजन उद्योगमा अहिलेसम्म १९ अर्ब रुपैयाँको लगानी भएको छ । यो तथ्यांक उद्योग विभागमा दर्ता भएको निजी क्षेत्रका स्वास्थ्य सेवा प्रदायक संस्थाहरुको हो । विभागका अनुसार निजी क्षेत्रबाट सबैभन्दा पहिला खुलेको स्वास्थ्य संस्था मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुप नेपाल हो । यो ग्रुपले २०५१ सालमा उद्योग विभागमा कम्पनी खोलेको थियो । मणिपाल ग्रुपले कास्कीको पोखरामा मणिपाल अस्पताल संचालन गरेको छ । यो ग्रुपले मात्रै ३ अर्ब ३२ करोड रुपैयाँ लगानी गरेको छ । विभागका अनुसार निजी क्षेत्रबाट संचालित ५५ अस्पताल र ४ वटा अक्सिजन उद्योग छन् । यो तथ्यांक गत २५ भदौसम्मको हो । यी ५५ अस्पताल र ४ अक्सिजन उधोगले प्रत्यक्ष रुपमा ११ हजार ५ सय १२ जनालाई रोजगार दिएका छन् । मणिपाल पहिलो पनि ठूलाे पनि कास्कीको पोखरामा रहेको मणिपाल एजुुकेसन एण्ड मेडिकल गु्रप नेपालले ३ अर्ब ३२ करोड रुपैयाँ लगानी गरेको छ । उद्योग विभागका अनुसार एउटै ग्रुप वा कम्पनीले स्वास्थ्य सेवा क्षेत्रमा गरेको लगानीमा यो नै सबैभन्दा धेरै हो । मणिपाल हस्पिटल यस्तै, ललितपुर स्थित एभरेष्ट मेडिकल कलेजमा १ अर्ब ५ करोड १६ लाख रुपैयाँ लगानी गरिएको छ । विभागका अनुसार बाँकेमा रहेको लर्ड बुद्ध एजुकेसनमा १ अर्ब ५० करोड रुपैयाँ लगानी छ । काठमाडौंको ग्राण्डी इन्टरनेसनल अस्पतालमा १ अर्ब ६ करोड रुपैयाँ लगानी छ । काठमाडौंमा २३ वटा अस्पताल देशको संघीय राजधानी काठमाडौंमा अस्पताल खोल्ने निजी क्षेत्रको आकर्षण निकै देखिन्छ । विभागको तथ्यांक अनुसार काठमाडौंमा मात्रै निजी क्षेत्रबाट संचालित २३ अस्पताल छन् । यस्तै, ललितपुरमा ७ वटा, कास्कीमा ५ वटा, बाँकेमा ३ वटा, दाङमा ३ वटा, धनुषामा १, मोरङमा २, रुपन्देहीमा २, पर्सामा २, चितवनमा २, कन्चनपुरमा १, हुम्लामा १, सप्तरीमा १ र काभ्रेमा १ वटा अस्पताल छन् । साढे ११ हजारलाई रोजगारी निजी क्षेत्रबाट स्थापित स्वास्थ्य सेवा प्रदायक संस्थाहरुमा ११ हजार ५ सय १२ जनाले प्रत्येक्ष रोजगारी प्राप्त गरेका उद्योग विभागको तथ्यांकमा उल्लेख छ । बाँकेस्थित लर्ड बुद्ध एजुकेसनले सबैभन्दा बढी १ हजार १ सयलाई प्रत्यक्ष रोजगार दिएको छ । यस्तै, दाङस्थित लालबहादुर शास्त्री मेमोरीयल कलेजले ९ सय ४८ जनालाई, रुपन्देहीस्थित युनिभर्सल ईन्सटिच्युट अफ एडुभान्स स्टडिजले ७ सय ८७ जनालाई, चितवनस्थित ईन्टरनेसनल सोसाईटी फर मेडिकल एजुकेसनले ७ सय १८ जनालाई र चितवन मेडिकल कलेजले ६ सय ४५ जनालाई रोजगार दिएको छ ।