स्यानिटाइजरः वयस्कमा पनि असर, बालबालिकलाई झनै हानिकारक
काठमाडौं । मानिसहरुले कोभिड १९ बाट कसरी बच्न सकिन्छ भन्ने विषयमा जानकार भएदेखि बजारमा ह्याण्ड स्यानिटाइजरको व्यापार ह्वात्तै बढेको छ । भाइरस तथा व्याक्टेरिया संक्रमणबाट जोगिन मानिसले जथाभावी रुपमा यसको प्रयोग गरिरहेको छन् । यसले किटाणु मार्न भन्दै आफूमात्र नभई बालबालिकाहरुमा पनि जथाभावी प्रयोग गरिरहेको छन् । तर स्यानिटाइजरको कहाँ प्रयोग गर्न र यसले कसरी काम गर्छ भन्ने कुरा जान्न आवश्यक छ । स्वास्थ्य विशेषज्ञहरु सम्भव भएसम्म साबुन पानीले हात धुने सल्लाह दिन्छन् । किनभने यसले हातमा भएको सबै प्रकारका किटाणु र रसायनहरुको मात्रा घटाउँदछ । तर, साबुन र पानी जतिबेला पनि उपलब्ध नहुनाले विशेषज्ञहरु यसको विकल्पको रुपमा ह्याण्ड स्यानिटाइजर प्रयोग गर्न सुझाव पनि दिन्छन् । स्यानिटाइजरले तपाईंको हातमा भएको किटाण मार्छ । साबुनले त्यसलाई पखाल्छ । साबुनले सिधै किटाणु मार्दैन तर यसले किटाणुहरु कम गराउँछ । प्रत्येक्ष रुपमा देखिने हातका फोहोरहरुलाई हटाउन ह्याण्ड स्यानिटाइजरले काम दिँदैन । यसको लागि साबुन नै प्रयोग गनुपर्छ । बजारमा विभिन्न किसिमका ह्याण्ड स्यानिटाइजरहरु पाईन्छन् । तर ६० प्रतिशतभन्दा बढी अल्कोहल मिसिएको स्यानिटाइजरले मात्र किटाणुहरु मार्ने र सर्नबाट जोगाउने विशेषज्ञहरुको बताउँछन् । ह्याण्ड् स्यानिटाइजर अन्वेषक सन् १९६६ मा पहिलोपटक एक विद्यार्थी नर्स ल्युप हरन्यानडेजले हात धुने सामाग्री नभएको अवस्थामा रक्सी मिसिएको जेल जस्तो सामाग्री प्रयोग गर्न सकिन्छ भनेकी थिईन् । तर, सन् २००९ मा एचवान एनवान भाईरस स्वाईन फ्लुले महामारीको रुप लिएपछि स्वास्थ्य संस्थाहरुमा यसको प्रयोग गर्न थालिएको हो । सम्भव भएसम्म साबुन पानी नै आफ्नो सुरक्षित स्थानमा आइसकेपछि हात साबुन पानीले सफा गनुहोस् । सुरक्षित स्थान भन्नाले तपाईको घर, तपाईको कार्यस्थल, तपाईको बस्ने कुर्सी आदि हुन् । तर याद गर्नुहोस् साबुन पानीले गरिएको सरसफाईलाई केहीले पनि जित्न सक्दैन । साबुन पानी नभएको अवस्थामा मात्र स्यानिटाइजरको प्रयोग गर्नुहोस् । सकेसम्म घर बाहिर हँुदा मात्र स्यानिटाइजरको प्रयोग गर्नुहोस् । यसलाई तपाईले ब्याकअपको रुपमा राख्न सक्नुहन्छ । थोरै प्रयोग गरौं किटाणु मार्छ भन्दैमा जति पायो त्यति स्यानिटाईजरको प्रयोग गर्नु राम्रो होइन । स्यानिटाइजर थोरै पनि धेरै हुने गर्दछ । चाहिनेभन्दा बढी स्यानिटाइजरको प्रयोग गर्दा छाला सुख्खा हुने, फुट्ने, छालाको प्राकृतिक तेल हराउने जस्ता समस्या देखापर्दछ । बालबालिकाको लागि हानिकारका ह्याण्ड स्यानिटाइजरमा सामान्यत ६० प्रतिशतभन्दा बढी मात्रामा अल्कोहल हुने गर्दछ । बालबालिकाहरु आफ्नो हात बारम्बार आँखा, मुखमा लैजाने गर्दछन् । विभिन्न अध्ययनले अल्कोहलयुक्त स्यानिटाइजरले बालबालिकाहरुको मुखमा परेको अवस्थामा स्वास्थ्यमा असर गर्न देखाएको छ । १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई यसले विशेष असर गर्ने देखिएको छ । स्यानिटाइजर बालबालिकाको मुखमा परे आँखा चिलचिलाउने, सुन्निने, वान्ता हुने, मुख चिलाउने, खोकी लाग्ने, पेट दुख्ने र कुनै अवस्थामा त बालबालिकाको मृत्युसमेत हुने पनि गरेको विभिन्न अध्ययनले देखाएको छ । त्यसैले स्यानिटाइजर प्रयोग गरिसकेपछि बालबालिकाले नभेट्ने गरी टाढा राख्नुपर्छ । अभिभावकालाई सचेत बनाउन औषधी पसलेहरुले मुख्य भुमिका खेल्न सक्छन् । भाइरसलाई बाँच्न र अर्काे भाइरस जन्माउनको लागि एक जिवित कोषको आवश्यक हुन्छ । त्यसैले हात फोहोर भएको अवस्थामा वा अन्य समयमा पनि आँखा मिच्ने, हात बारम्बार मुखमा लैजाने, घाउहरु छुने काम नगरौं । यसो गरियो भने भाइरस बाँच्न वा अर्काे भाइरस जन्मन सक्ने खतरा रहन्छ । अन्तराष्ट्रिय विभिन्न संचारमाध्यमहरुले तयार पारेको सामग्रीमा आधारित
राति निन्द्रा नलागेर तनावमा हुुनुहुन्छ? छिनभरमै निदाउन अपनाउनुस् यस्ता उपाय
काठमाडौं । हिजोआज हर मान्छेको दैनिकी व्यस्त छ । व्यस्तसँगै कतिपयमा तनाव पनि उतिकै हुन्छ। जसले गर्दा मानिसहरुमा अनिन्द्राको समस्या देखा पर्ने हुन्छ । यहाँ जोकोहीलाई पनि भोलिको चिन्ता छ । जसले गर्दा हामीलाई दैनिक रुपमा अल्छी, अनिन्द्रा र थकानले सताइरहेको हुन्छ । दिनभरी चलायमान भएको शरीर रातमा आराम गरेर भोलिपल्ट फेरि सक्रिय हुन्छ, यसको लागि मानिस निदाउन जरुरी छ । एक स्वस्थ मानिस हुनलाई कम्तिमा ६ देखि ८ घण्टा निदाउनु पर्छ। शरीरलाई ताजा, फूर्तिलो, तन्दुरुस्त र स्वस्थ्य राख्न निन्द्रा अपरिहार्य छ । निन्द्राले हाम्रो शरीर र मस्तिष्कलाई विश्राम दिन्छ । तर कतिपय मानिसलाई निन्द्रा नलाग्ने समस्या हुन्छ। सुत्ने समयमा निन्द्रा नपर्नु, निन्द्रा परेपनि राति बिउँझनु र फेरि सुत्न नसक्नु, बिहान अति चाँडै आँखा खुल्नु अनिन्द्राको लक्षण हुन्। हुन त उमेरले ३० नाघेपछि अनिन्द्राको समस्या हुन्छ भन्ने डाक्टरहरु बताउँछन्। अनिन्द्रा भयानक समस्या हो, जो अनेक रोगको कारण बन्छ । खासगरी अनिन्द्राको कारण मधुमेह, उच्च रक्तचापदेखि तौल बढ्नेसम्मको खतरा हुनछ । अनिन्द्राका कारण शरीरमा कर्टिसोल हर्मोनको उत्पादनमा वृद्धि हुन्छ । जसले शरीरमा चिनीको मात्रा बढाउने काम गर्छ । त्यसैले राम्रोसँग निद्रा नपर्ने व्यक्ति मधुमेहको जोखिममा हुन्छन् । अनिद्राका कारण उच्च रक्तचापको समस्या पनि हुन सक्छ । अनिद्राको समस्या निरन्तर रहे मुटुसम्बन्धि रोगको खतरा पनि बढेर जान्छ । अनिद्राका कारण सम्झने शक्तिमा पनि कमी आउनुका साथै मानसिक अस्थिरतासमेत निम्त्याउँछ । अनिद्राले गर्दा बिहान उठ्दा स्फूर्तिको अनुभूति नहुने, दिनमा निद्रा लाग्ने, काममा मन नजानेलगायत समस्या हुन्छ । अनिद्रा र यसबाट उत्पन्न हुन सक्ने सबैखाले शारीरिक तथा मानसिक समस्याबाट बच्नका लागि व्यवस्थित जीवनशैली अवलम्बन गर्नुपर्छ । कसरी पाउने आनन्दको निन्द्रा ? – आनन्दको निन्द्राका लागि लागि शारीरिक गतिविधिलाई बढाउनुहोस् । घरको काम गर्ने, हिँड्ने, खेल्ने, व्यायाम गर्ने जस्ता कामहरु गर्नुहोस् । – बिहान चाँडै उठ्ने र मर्निङवाकमा निस्कने गर्नुहोस् । – सुत्ने समय निश्चित गर्नुहोस् । सुत्नुअघि हल्का व्यायाम गर्नुहोस् । – गहिरो निन्द्रका लागि ओछ्यान आरामदायक हुनुपर्छ । मध्यम श्रेणीको मुलायम बिछ्यौनामा सुत्नुपर्छ । धेरै मुलायम बिछ्यौनामा कम्मर एवं ढाँड दुख्ने समस्या हुनसक्छ । धेरै मुलायम र धेरै कडा बिछ्यौना मेरुदण्डका लागि पनि उपयोगी हुँदैन । – सिरानी धेरै अग्लो वा होचो हुनु हुँदैन । केवल चौडा सिरानी प्रयोग गर्नुपर्छ । – संभव भएसम्म खुट्टाको भागलाई थोरै उँचो बनाउनुहोस् । – सुत्नासाथ निन्द्रा लाग्दैन भने केही पढ्ने अभ्यास गर्नुहोस्, मधुर संगीत सुन्नुहोस् । – मन र मस्तिष्कलाई शान्त र एकाग्र बनाउने अभ्यास गर्नुहोस् । गहिरो सास लिने र छाड्ने प्रक्रिया दोहोर्याउनुहोस् । – धेरै शारीरिक मिहिनेत र कम तनाव नै गहिरो निन्द्राको अचुक प्राकृतिक तरिका हो । –सुत्ने कोठामा टेलिभिजन, कम्प्युटर, मोबाइल आदि नराख्नुहोस् । – सुत्नुअघि धेरै पानी पिउनु हुन्न । पटक–पटक पिसाब लाग्ने भएकाले निन्द्रा बिथोलिन्छ । – सुत्ने समयमा चिया, कफी, मादक पदार्थ सेवन नगरौं । (अंग्रेजी साईटको सहयोगमा)
टेस्ला डायग्नोस्टिक क्लिनिकको औपचारिक सुरुवात
काठमाडौं । बालुवाटारमा अवस्थित टेस्ला डायग्नोस्टिक क्लिनिकले बुधबार आफ्नो सेवाको औपचारिक सुरुवात गरेको छ । सोही अवसरमा क्लिनिकले विभिन्न स्वास्थ्य प्याकेजहरुमा ५० प्रतिशत छुट तथा अन्य सेवाहरुमा २५ प्रतिशत छुटको व्यवस्था सहित आफ्नो सम्पूर्ण निदान सेवाहरु सुरु गरेको छ । सन् २०१९ मा स्थापना भएको यस क्लिनिकले एक नवीन डायाग्नोस्टिक, अनुसन्धान तथा वेलनेश क्लिनिक स्थापना गर्नुका साथै किफायति दरमा नयाँ प्रविधिका साथमा उच्चमत गुणस्तरको मेडिकल सेवाहरु प्रदान गर्ने भएको छ । टेक्नोलोजिकल विकासको गति र स्वास्थ्य सेवामा उत्कृष्टताको लागि बढ्दो आवश्यकतालाई ध्यानमा राख्दै टेस्लाले उन्नत र उच्चस्तरिय प्रविधिको सेवा, रेडियोलोजी सम्वन्धि सम्पूर्ण सेवाहरू प्रदान गर्दै आइरहेको छ प्याथोलोजी ल्याबले सबै आधारभूत जाचँहरु सम्बन्धी सेवा प्रदान गर्छ । अन्य डाइग्नोष्टिक सेवाहरु जस्तै इको कार्डियोग्राफी, एबिपि, होल्टर, इसिजी, पिएफटि, युरिया ब्रिथ टेष्ट एण्ड बिएमडी पनि उपलब्ध रहेको छ । यस क्लिनिकले बहिरङ्ग सेवा दिदै आइरहेको छ साथै, रोकथामपूर्ण स्वास्थ्य सेवामा प्रमुख ध्यान दिनुको साथै सहुलियत दरमा विभिन्न स्वास्थ्य स्क्रीनीङ्गको प्याकेजहरु प्रदान गर्दै आइरहेको छ । बिरामी केन्द्रित सेवा प्रदान गर्ने मिसन अनुसरण गर्दै, फार्मेसीले औषधि र औषधि अभ्यासको सम्बन्धमा परामर्श सेवा पनि प्रदान गर्दै आइरहेको छ । यस सँगै फार्मेसीले एक नियन्त्रित वातावरणमा औषधीहरूको सुरक्षा पनि सुनिश्चित गर्दै आइरहेको छ । क्लिनिकले यस क्लिनीकमा आउने बिरामी/असक्त महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै यातायात सुविधा पनि संचालन गरेको छ, जसले क्लिनिकका विमारीहरुको यातायातको आवश्यकताहरु व्यवस्थित गर्न मद्दत गर्नेछ । यो क्लिनिक विहान ७ बजे देखि राती ८ बजे सम्म खुल्छ । क्लिनिक खुल्ने अवधिभित्र रेडियोलोजी र इमेजिंग परामर्शदाता डाक्टरहरु उपलब्ध हुनुहुनेछ । प्याथोलोजि सेवा पनि अन्र्तराष्ट्रिय मान्यता अनुरुप बरिष्ठ तथा अनुभवी प्याथोलोजिष्टहरुको निगरानीमा सञ्चालन भइरहेको छ । यसका साथै अन्य बहिरङ्ग (अेपिडी) सेवाहरु पनि साप्ताहिक तालिका अनुसार उपलब्ध हुनेछन् ।