कोरोना संक्रमण बिरुद्ध आयुर्वेद चिकित्सा

विश्व कोरोनाको प्रकोपले आतङ्कित छ । नेपालमा कारोनाको संक्रमण हालसम्म नदेखिए पनि यो नेपाल भित्रिने प्रयाप्त सम्भावनाहरु छन् । भनिन्छ ‘प्रिभेन्सन इज बेटर देन क्योर’ । अतः यस्तो बेलामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण हुनबाट बच्नु वा हुन नदिनु बुद्धिमानी हुन्छ । स्मरण राख्नुपर्ने पहिलो कुरा कुरा के हो भने, संक्रमण सम्भावितले रोगप्रतिरोधात्मक क्षमतालाई बलियो बनाएर भाइरससँग सजिलै लड्न सक्छ । जसका लागि आयुर्वेद चिकित्सा शास्त्रहरुमा विभिन्न विधिहरुको व्याख्या गरिएको पाइन्छ । कोरोना संक्रमणको हालसम्म कुनै उपचार भेट्टिएको छैन । कुनै खोपको पनि आविष्कार भएको छैन । यस परिस्थितिमा संक्रमणमबाट बच्ने उपाय नै गर्ने हो । भन्नुको अर्थ हरसम्भव आफ्नो रोगप्रतिरोधात्मक (इम्युनिटी) क्षमतालाई बढाउनु हो । शरीरलाई स्वस्थ कायम राख्नु हो । बेलायतको प्रसिद्ध मेडिकल पत्रिका ‘ल्यानसेट’का अनुसार संक्रमितमा देखिने सामान्य एवं साझा लक्षण भनेको ज्वरो, सुख्खा खोकी र साँस बढ्ने हुन्छ । केहीमा नाक बग्ने, नाक बन्द हुने, धाँटी सुक्ने वा दुख्ने, पखाला लाग्ने आदि हुन्छ । यी लक्षण सधैं देखिन्छ भन्ने पनि हुँदैन । र, यीमध्ये केही वा सबै लक्षण देखिदैमा कोरोना संक्रमण भएकै हो भनेर ग्यारेन्टी गर्न सकिँदैन । कोरोना संक्रमण भएका व्यक्तिमा देखिने लक्षण पनि यस्तै हुन् भन्ने मात्रै हो । आयुर्वेदानुसार ज्वरोबाट बच्न उपवास गर्नु उत्तम मानिन्छ । खोकीबाट बच्न दिनभरीमा पटक पटक बेसार पानी वा गुर्जोको काढा, असुरोको पातको रस बनाएर पिउन सकिन्छ । साँस लिन अप्ठयारो भए तत्काल अस्पताल भर्ना हुनुपर्छ । अक्सिजनको सहारा लिनुपर्ने हुनेहुन्छ । संक्रमित व्यक्ति दिउँसो सुत्नु हुन्न । दिउँसोको सुताईले वसन्त ऋतु (चैत–बैसाख) मा शरीरमा कफको बृद्धि भई इम्युनिट (रोग प्रतिरोधात्मक क्षमता) लाई असर पार्छ । घर बाहिर पकाईएको नास्ता, खाना वा खाजा खानुहुन्न । साथै माछा, मासु, अण्डा, दुध (मधुर रसयुक्त हुने भएकोले) वा दुधजन्य खाद्यपदार्थ र वेकरी (मैदायुक्त भएकोले) आईटमहरु सेवन गर्नु हुन्न । चिया कफीले यस मौसममा शरीरको कफ काट्ने भएकोले कालो चिया र कालो कफी प्रतिदिन ४ देखि ५ कपसम्म (विना चिनीको) खानु यस मौसममा राम्रै मानिन्छ । मह (मेदोहर) र ध्यू (क्रिदोष सामक) को प्रयोगले इम्युनिटी थप बलियो हुन्छ । कफ बर्धक हुने भएकोले सकेसम्म मासु प्रयोग नगर्ने र गर्नै पने अवस्थामा जंगली जनावरको मांस वा मांसरस यस ऋतुमा हितकर बताईएको छ । कोरोनाको यस माहोलमा सकेसम्म शाकाहार रहनु स्वस्थकर देखिएको छ । बजारमा अनेकथरी खानेतेल पाइन्छ । जसमध्ये धेरै थरी तेल स्वस्थको लागि अहितकर पाइएको छ । अतः यस मौसममा खाने तेलको प्रयोग सचेत रुपमा गर्नुपर्छ । सकेसम्म तेलमा तारे भुटेको खाना खान छोड्नुपर्छ । एक पटक तताएको तेल फेरि प्रयोग गर्नु हुन्न । सधैं एकै ब्रान्डको तोरीको तेल प्रयोग गर्नु नै बुद्धिमानी हुने देखिन्छ । किनकि बजारमा पाइएका सुर्यमुखी, भटमास, आलस आदिका तेल झनै अखाद्य पदार्थयुक्त पाइएको छ । अमेरिकी हार्डवर्ड मेडिकल स्कूलले कोरोना संक्रमणपछिको निराशा र मानसिक विक्षिप्तताबाट बच्न योग र ध्यान गर्न सिफारिस गरेको छ । योगाभ्यास एउटा सम्पूर्ण प्याकेज मानिएकोले योग आसनले शरीरलाई पुष्ट, प्राणायामले स्वाँसलाई स्थीर, ध्यानले मनलाई एकाग्र एवं शान्त बनाई सकरात्मक सोचको अभिबृद्धि गराउँछ । सकारात्मक सोच पनि रोगप्रतिरोधात्मक क्षमता बृद्धिको बलियो आधार हो । आयुर्वेदमा इम्युनिटी बृद्धिका लागि दिनचर्या, ऋतुचर्या, स्वस्थवृत्, सद्वृत, सदाचार (नमस्कार गर्ने संस्कार, पटक पटक हात धुने, जस्ता) आदिको विधान गरिएको छ । कोरोना विरुद्धको बिशेष दिनचर्याको रुपमा व्याधिक्षमत्वको वृद्धिको लागि – यस ऋतुमा शारीरिक पाचनशक्ति तुलनात्मक रुपमा कमजोर नै हुने भएकाले पुराना अन्नबाट वनेका हल्का सुपाच्य भोजन गर्दा फाइदा हुन्छ । भातभन्दा रोटी खानुपर्छ । छिट्टै पच्ने दाल खानुपर्छ । – नास्ता, खाना वा खाजामा मौसमीफलफूल एवं शब्जी सेवन गर्ने बानी गर्नुपर्छ । फलफूल खाली पेटमा खाने गर्नुपर्छ । खाना धरै पटक चपाएर मात्र निल्ने गर्नुपर्छ । – शारीरिक क्षमता अनुसारका व्यायाम तथा योगाभ्यास गरी शरीरमा आन्तरिक न्यानोपन उत्पन्न गराउनु स्वस्थकर हुन्छ । – गुर्जो, अदुवा र तुलसी पात मिश्रित काढा पटक पटक बनाएर पिउनुपर्छ । बेसार पानी पकाएर पटक पटक पिउँदा पनि शरीरको इम्युनिटी बढ्ने हुन्छ । – विहानीपख सबेरै उठ्ने गर्नुपर्छ र नित्यकर्म सकेर कम्तिमा ३० मिनेट सधैं सुर्यकिरणको स्नान गर्नुपर्छ । यसले व्याधिक्षमत्व बढाउँछ । – उत्तरायणमा पर्ने वसन्त ऋतुमा अमलालाई इम्युन बर्धक रसायनको रुपमा प्रयोग गर्न सकिन्छ । – वैज्ञानिक अनुसन्धानहरुका अनुसार उपवासले पनि इम्युनिटी बढाउने देखाएकोले सबैले कम्तिमा हप्ताको एक दिन उपवास गर्ने गर्नु हितकर हुन्छ । – घर बाहिर बनेको वा प्याक गरिएको पत्रु खाना खानुहुन्न, बासी वा फ्रिजको खाना सकेसम्म उपयोग गर्नुहुन्न । – यस मौसममा रख्सी मिश्रित औषधी आसव र अरिष्ट प्रयोग गर्नु हितकर मानिन्छ । यसर्थ वसन्त ऋतुमा कहिले काँही हल्का मात्रामा सेवन गरिएको गुणस्तरीय रख्सीले स्वस्थको रक्षा गर्ने देखिन्छ । तर घरेलु रख्सी र दैदिन सेवन गर्ने बानी सर्वथा हानीकार हुन्छ । – दिनभर पटक पटक सम्झी सम्झी हात, मुख धोई राख्नुपर्छ । सकरात्मक सोचका साथ सबैको मंगलको कामना गरी राख्नुपर्छ । (लेखक आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टर, धुलिखेलका चिकित्सक हुन्)

कोरोना संक्रमणको आशंकामा दुई जना अस्पतालमा भर्ना

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा २ जना व्यक्ति कञ्चनपुरको महाकाली अञ्चल अस्पतालमा भर्ना भएका छन् । शनिबार भारतबाट नेपाल भित्रिएका २ जनालाई उच्च ज्वरो देखिएपछि महाकाली अञ्चल अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर स्रोतका अनुसार गड्डाचौकी नाकाबाट नेपाल भित्रिएका २ जनामा १०० डिग्री फरेनहाइटभन्दा बढी ज्वरो देखिएको थियो । परीक्षणका क्रममा ज्वरो उच्च देखिएपछि दुवै जनालाई महाकाली अञ्चल अस्पताल पु¥याइएको हो । कोरोना संक्रमणको आशंका गरिएका दुवै जनालाई आइसोलसन वार्डमा भर्ना गरेर परीक्षणका लागि नमूना (स्याम्पल) लिने प्रक्रिया थालिएको अस्पताल स्रोतले जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार शनिबार मात्रै १० हजार बढी नेपाली गड्डाचौकी नाका भएर भारतबाट नेपाल भित्रिएका छन् ।

अपडेट: कोरोना भाइरसबाट विश्वभर ११ हजार ४ सय १७ जनाको मृत्यु, इटालीमा सबैभन्दा बढी

जेनेभा । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरसको सङ्क्रमणबाट शनिबारसम्म ११ हजार ४ सय १७ जनाको मृत्यु भएको छ, र यो संख्या दिनहुँ बढ्दो क्रममा रहेको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभर दुई लाख ७६ हजार व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिमध्ये ९१ हजार ९ सय ५४ जना उपचारपछि घर फर्किएका छन् । एक लाख ७३ हजार व्यक्ति हाल सङ्क्रमित रहेका छन् । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १७६ भन्दा बढी देशमा देखा परिसकेको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट सुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । कोरोनाभाइरस सङ्क्रमणबाट चीनभरी तीन हजार २ सय ५५ व्यक्तिको मृत्यु भएको छ भने ८१ हजार जना सङ्क्रमित भएका थिए । चीनले अपनाएको उच्चतम सतर्कता, हुबे प्रान्तको राजधानी उहान सहित प्रान्तभर आवतजावतमा गरिएको प्रतिबन्ध, तत्काल उपचार समेतका आपतकालीन व्यवस्थाले संक्रमित व्यक्तिको मृत्युदर कम रहेको मानिएको छ । हाल कोरोनाभाइरसका कारण अत्यन्त प्रभावित इटालीमा ४ हजार ३२ जनाको मृत्यु भइसकेको छ । बुढ्यौली जनसंख्या बढी रहेको इटालीमा दैनिक मृत्युदर निकै कहालीलाग्दो अवस्थामा रहेको छ । हाल ३७ हजार ८ सय ६० जना सङक्रमित रहेको इटालीमा ५ हजार १ सय २९ व्यक्ति उपचारपछि घर फर्किएका छन् । मध्यपूर्वका राष्ट्रहरुमध्ये इरानमा कोरोना भाइरसको सङ्क्रमण सबैभन्दा डरलाग्दो अवस्थामा छ । यहाँ कोरोनाकै कारण एक हजार ४ सय ३३ व्यक्तिको मृत्यु भइसकेको छ भने ११ हजार ४ सय ६६ जना सङक्रमित रहेका छन् । ६ हजार ७ सय ४५ जना उपचारपछि घर फर्किएका बताइएको छ । स्पेनमा कोरोना भाइरसको सङ्क्रमणको कारण एक हजार ९३ व्यक्तिको मृत्यु भएको छ । हाल १८ हजार ८ सय ९० जना सङक्रमित रहेका छन् । शनिबार प्राप्त समाचार अनुसार एक हजार ५ सय ८८ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् । जर्मनीमा ६८ जनाको मृत्यु भएको छ भने १९ हजार ६०० जना सङक्रमित रहेका छन् । उपचारपछि १ सय ८० जना घर फर्किएका छन् । संयुक्तराज्य अमेरिकामा २७५ व्यक्तिको मृत्यु भएको छ । हाल १९ हजार ३ सय ५२ जना सङक्रमित रहेका छन् भने १ सय ४७ जनाको उपचार गरिएको छ । फ्रान्समा ४ सय ५० जनाको मृत्यु भएको छ । हाल १० हजार ५ सय ७५ जना सङक्रमित रहेका छन् । दक्षिण कोरियामा १ सय २ जनाको मृत्यु भइसकेको छ भने ६ हजार ८५ जनामा अझै पनि सङ्क्रमण छ । कोरोनाभाइरस संक्रमणका कारण स्वीजरल्याण्डमा ५६ जना, बेलायतमा १ सय ७७ जना, नेदरल्याण्ड्समा १ सय ६ जना, बेल्जियममा ३७ जना र जापानमा ३५ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म कम्तीमा २ सय ७० जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ । पाँच जनाको मृत्यु भइसकेको भारतमा मोदी सरकारले आइतबार एक दिन “जनता कफ्र्यु” लागू गर्न र घरबाहिर कोहीपनि ननिस्कन आह्वान गरेको छ । दक्षिण एसियाली अन्य मुलुकहरु श्रीलङ्कामा ७३, अफगानिस्तानमा २४, बङ्गलादेशमा २०, माल्दिभ्समा १३ र भुटानमा २ जना सङ्क्रमित देखिएका छन् । नेपालमा भने हालसम्म एक व्यक्तिमा कोरोना संक्रमणको आशंका गरिए पनि उनी उपचारपछि घर फर्किसकेका छन्, र नयाँ संक्रमित व्यक्ति भेटिएका छैनन् । रासस/एएफपी