प्रसुति गृह र वीर अस्पतालका भवन पुनर्निर्माण अन्तिम चरणमा
काठमाडौं । २०७२ साल वैशाखको भूकम्पबाट क्षति पुगेका थापाथलीस्थित परोपकार प्रसुति गृहको मुख्य भवन र वीर अस्पतालको एउटा भवनको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अस्पताल प्रशासनहरुका अनुसार एक महिनाभित्रमा दुवै भवन सञ्चालनमा ल्याइनेछ । पुनर्निर्माण कार्यक्रम अन्तर्गत जापान सरकारको आर्थिक सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत् पुनर्निर्माण गरिएको हो । प्रसुति गृहको अत्याधुनिक मुख्य भवनमा १९२ वटा शैया छन् । प्रसुति गृहको भवनमा इमरजेन्सी डेलिभरी रुम, बर्थिङ सेन्टर, पोष्ट अप्रेसन वार्ड लगायतका सेवा हुनेछन् । प्रसुति गृहका प्रशासक रानु थापाले भवन पुनर्निर्माण कार्य करिब सकिएको भन्दै आन्तरिक रुपमा संरचना मिलाउने कार्य भइरहेको बताए । यता, वीर अस्पतालको भवनमा भने ९४ शैया छन् । नयाँ भवनमा कार्डियोलोजी वार्ड, ग्याट्रोलोजी वार्ड, नेफ्रोलोजी वार्ड लगायत हुनेछन् । पुनर्निर्माण भइरहेका दुवै अस्पतालको निरीक्षणपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपछिको पुनर्निर्माणमा अबलम्वन गरिएको अझ राम्रो र बलियोको अवधारणा अनुसार स्वास्थ्य संस्थाहरुको पुनर्निर्माण भइरहेको बताए । उनले सुविधा सम्पन्न पूर्वाधार भएका संरचनाबाट स्वास्थ्य सेवा प्रदान गर्दा सरकारी अस्पतालप्रति जनताको विश्वास अझ बढ्ने धारणा व्यक्त गरे । वीर अस्पतालका निर्देशक डा. केदारप्रसाद सेन्चुरीले भवनको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको भन्दै उद्घाटनपछि सञ्चालनमा ल्याइने बताए । जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका)का पुनस्र्थापना तथा पुनर्लाभ कार्यक्रम सल्लाहकार नानाको स्युकाहाराका अनुसार प्रसुति गृह र वीर अस्पताल पुननिर्माणको लागत दुई अर्व १० करोड रुपैयाँ (२.४ बिलियन जापनी यन) छ ।
एनआईसी एशियाका ग्राहकलाई नोबेल हस्पिटलमा २५ प्रतिशतसम्म छुट
काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र नोबेल हस्पिटल, काठमाडौंबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्ग तथा उनका परिवार र आफन्तलाई नोबेल हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २५% सम्मको छुट पाउने छन् । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठी र नोबेल अस्पतालको तर्फबाट अस्पतालका निर्देशक सन्तोषमणि न्यौपानेले हस्ताक्षर गरेका छन् ।
मेडिकल कलेज खोल्ने सरकारको तयारी, कहाँ कहाँ खुल्छन् ?
काठमाडौँ । सरकारले बर्दिवास, बुटवल र सुर्खेतमा मेडिकल कलेज सञ्चालनका लागि प्रारम्भिक कार्य तीव्र गतिमा अगाडि बढाएको छ । यहि गतिमा काम भए आगामी दुइवर्षभित्र तीनसय शैयाको अस्पताल र पाँच वर्षभित्र मेडिकल कलेज पूर्ण रुपमा सञ्चालन गर्ने लक्ष्य लिएको छ । सरकारले सातवटै प्रदेशमा मेडिकल कलेज सञ्चालन गर्ने नीति अनुसार प्रदेश २ को बर्दिवास, प्रदेश ५ को बुटवल र कर्णाली प्रदेशको सुर्खेतमा मेडिकल कलेज सञ्चालन गर्न लागेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलका स्वकीय सचिव पुरन केसीले तीनवटै स्थानमा आगामी पाँच वर्षभित्र मेडिकल कलेज सञ्चालन गर्ने गरी काम अघि बढेको जानकारी दिए । बुटवल र बर्दिवासमा कलेज सञ्चालन गर्ने काम तीव्र गतिमा अघि बढेको छ, केसीले भने,“सुर्खेतमा पनि केही समयपछि द्रुत गतिमा काम अघि बढ्नेछ ।” बर्दिवास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाका प्रमुख देवी सुवेदीले हाल भइरहेको गतिमा काम अघि बढे तीन वर्षभित्र तीनसय शैयाको अस्पताल सञ्चालनमा ल्याउने जानकारी दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।