सातै प्रदेशमा कोरोना परीक्षण ल्याबको लागि विज्ञ र कर्मचारी खटाउन सुरु
काठमाडौं । सातै प्रदेशमा कोरोना परीक्षण ल्याब सुरु गर्न सरकारले विज्ञ र कर्मचारी खटाउन सुरु गरेको छ । कोभिड १९ सम्बन्धी नियमित ब्रिफिङमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले सातै प्रदेशमा कोरोना परीक्षण ल्याब सुरु गर्न कर्मचारी खटाउन सुरु गरिएकाे जानकारी दिएका हुन् । प्रदेश २ को परीक्षण ल्याब जनकपुरमा, गण्डकी प्रदेशको पोखरामा, बागमती प्रदेशको हेटौडा, कर्णली प्रदेशको सुर्खेत र सुदुरपश्चिमकाे धनगढीमा विज्ञ र कर्मचारी खटाईसकेको श्रेष्ठले जानकारी दिएका हुन् । ल्याब स्थापनाको लागि केही सामानहरु आईपुगेको श्रेष्ठले जानकारी दिए । हाल सम्म काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा र केही दिनअघिदेखि धरानको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण सुरु गरिएको छ ।
कोरोना संक्रमित चारै जनाको स्वास्थ्य अवस्था सामान्य- स्वास्थ्य मन्त्रालय
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाईरस संक्रमित चारै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताएकाे छ । काेराेना भाइरस (कोभिड १९) सम्बन्धी नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना भाईरस संक्रमित चारै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका हुन् । ‘सबैकाे स्वास्थ्य सामान्य छ, हामीले स्वास्थ्य सामाग्रीकाे व्यवस्था पनि गिररहेका छाैं, त्यस्तो कूनै आतिनु पर्ने अवस्था छैन,’ उनले भने । हालसम्म ९ सय १७ जनाको काेराेना परिक्षण भएको छ जसमा ९ सय १२ जना नेगेटिभ देखिएको छ भने ५ जनामा पोजेटिभ देखिएको छ । यसमा एक जना भने निको भएर घर फर्किसकेका छन् ।
अन्तर्राष्ट्रिय हवाई उडान बैशाख तीन गतेसम्म बन्द
काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई उडान बैशाख तीन गतेसम्म बन्द गर्ने भएको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकल सो निर्णय गरेको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दै चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तर्रा्ष्ट्रिय उडानमा रोक लगाउने घोषणा गरेका थिए ।