काे हुन् बाग्लुङमा भेटिएकी कोरोना संक्रमित ?
काठमाडौं । दैनिक नेपालमा पनि कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या बढ्न थालेसँगै आम नागरिकहरुमा पनि त्रास बढ्दै गइरहेको छ । आज बाग्लुङमा पनि थप एक जनामा कोरोना पोजेटिभ देखिएसँगै अहिले बाग्लुङका नागरिक झन त्रसित बनेका हुन् । उनी १९ वर्षकी नेपाली युवती हुन् । उनी बेल्जियमबाट कतारहुँदै नेपाल आएकी स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । उनी चैत ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन् । सोही विमानमा आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो । नेपालमा कोरोना भाइरस संक्रमण भएको दोस्रो र पाँचौ व्यक्ति एकै विमानमा आएको पाइएको छ । उनीहरु दुबै जना चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएको कतार एयरवेजको विमान चढेर आएका हुन् । यससँगै नेपालमा कारोनाको संक्रमित संख्या ५ पुगेको छ । जसमध्ये एक जनालाई निको भइसकेको छ ।
कोरोना अस्पताल सञ्चालनमा रहेको चितवनमा यस्ता छन् तयारी
काठमाडौं । दरिलो इच्छाशक्ति भएपछि काम गर्न सकिन्छ भन्ने उदाहरण भरतपुर महानगरपालिकाले प्रस्तुत गरेको छ । केही दिन यतादेखि देशमा सञ्चालनमा रहेको प्राणघातक कोरोना भाइरसको नियन्त्रणसम्बन्धी अभियानमा भरतपुर महानगरपालिकाले कोरोना अस्पताल नै निर्माण गरेर यस्तो उदाहरणीय बनेको हो । यहाँका महानगरबासी मात्र नभएर देशका झण्डै २१ जिल्लाका बासिन्दालाई स्वास्थ्य सेवा दिँदै आएको यस क्षेत्रमा कोरोना नियन्त्रणका लागि पनि महानगरले छुट्टै अस्पताल सञ्चालनमा ल्याएको छ । यसरी देशमा कोरोना नियन्त्रण तथा निदानका लागि भएका कार्यमा आफ्नै अस्पताल सञ्चालन गर्नेमा देशको एकमात्र महानगरपालिका भरतपुर महानगर भएको छ । महानगर आफ्नै नेतृत्वमा भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल सञ्चालनमा ल्याउन सफल भएको हो । यस अभियानमा जिल्लाका सबैको साथ र सहयोग पाएकाले पनि महानगरले ७० श्ययाको अस्पताल सञ्चालन गर्न सकेको हो । यस अस्पतालमा १० श्ययाको सघन उपचार कक्ष, १० श्ययाको एचडियू (उपचार कक्षमा राख्नुपूर्व बिरामी राख्ने ठाउँ) र ५० साधारण श्यया सञ्चालनमा आएका छन् । चितवन उद्योग सङ्घको चितवन प्रदर्शनी केन्द्रका तीनवटा हलमध्ये दुईवटा हललाई अस्पतालका रुपमा स्थापना गरी सञ्चालनमा ल्याइएको हो । भरतपुर महानगर प्रमुख रेनु दाहालको नेतृत्वमा यो कार्य सम्भव भएको छ । गत हप्तादेखि नै अस्पताल सञ्चालनमा आइसकेको छ । सो क्षेत्रमा अस्पताल बनाउने भनि महानगरपालिकाले निर्णय गरेको ७२ घण्टामा नै अस्पताल निर्माण गरेर सञ्चालनमा नै ल्याइएको छ, जुन कार्यको देशव्यापी रुपमा प्रशंसा पनि भएको छ । अस्पतालबाट शुक्रबारसम्म १ सय ५१ जनाभन्दा बढीले सेवा लिइसकेका छन् । अहिले अस्पतालमा १९ बिरामी रहेका छन् । महानगरप्रमुख दाहाल ‘मेडिकल सिटी’ भएकाले देशका विभिन्न जिल्लाबाट आउने बिरामीलाई समेत लक्षित गरेर अलग्गै अस्पताल सञ्चालनमा ल्याएको बताए । उनले भने, “हाम्रो यहाँ सुविधासम्पन्न अस्पतालहरु भएकाले देशका विभिन्न जिल्लाबाट बिरामी आउँछन् । उनीहरुलाई पनि सहयोग पुगोस् भन्ने उद्देश्यले यो आँट हामीले गरेका हौँ ।” दाहालको यस अभियानलाई प्रजिअ नारायण प्रसाद भट्टराईदेखि जिल्लाका सरकारी र निजी अस्पताल, मेडिकल कलेजका सञ्चालक एवं चिकित्सक, स्वास्थ्यकर्मीले साथ दिएका छन् । दाहालकै नेतृत्वमा कोरोना नियन्त्रण कार्यदल गठन गरी सोही कार्यदलले अस्पताल सञ्चालन गरेको हो । कार्यदलमा यहाँका निजी क्षेत्रमा सञ्चालनमा रहेका अस्पतालका सञ्चालक, सरकारी अस्पतालका प्रमुख, चितवन उद्योग वाणिज्य सङ्घ, चितवन उद्योग सङ्घ, नेपाल चिकित्सक सङ्घका केन्द्रीय प्रतिनिधिलगायत सदस्यमा रहेका छन् । कोरोना भित्रिहाल्यो भने तत्काल अस्पताल बनाउन नसकिने भएकाले समयमै सोच गरेर काम शुरु गरेको दाहाल बताए । उनका अनुसार स्थानीय मेडिकल कलेज, निजी अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र भरतपुर अस्पतालका जनशक्ति र उपकरणहरु अस्पतालमा राखिएका छन् । खरिद गर्नुपर्ने आवश्यक सामग्रीसँगै कर्मचारीको अतिरिक्त भत्ता, खानपानको व्यवस्थापन महानगरले गरेको छ । महानगरले विकासका कामलाई रोकेर आफ्ना सबै जनशक्ति अस्पतालमा केन्द्रित गराइएको जनाएको छ । छोटो अवधिमा काम गरेकाले कमी कमजोरीहरु पनि हुनसक्ने भन्दै प्रमुख दाहालले तर अस्पतालबाट सक्दो सेवा दिइरहेको बताए । “केही जटिलताका बाबजुत पनि सबैको साथ र सहयोगबाट यसलाई व्यवस्थित गर्दै अघि बढ्न सफल भएका छौँ ।” उनले भने, “यसले सिङ्गो देशलाई राम्रो सन्देश दिएको, इच्छाशक्ति भएपछि जस्तोसुकै काम पनि सम्भव हुन्छ भन्ने सन्देश प्रवाह गर्न खोजिएको छ ।” विकास बजेट कटौती गरेर भए पनि सम्भावित यो सङ्क्रमणमा पर्नसक्ने नागरिकलाई बचाउने काममा लाग्ने सङ्कल्प गरिएको उनले भने । स्थानीय तहदेखि सङ्घीय सरकारसम्म स्रोत साधन व्यवस्थापन गर्न सहयोग हुने विश्वास लिइएको बताए । अस्पतालको मेडिकल व्यवस्थापन क्षेत्र हेर्दै आउनुभएका वरिष्ठ फिजिसियन डा भोजराज अधिकारीका अनुसार सोही स्थानलाई विस्तार गरेर तीन सय श्ययासम्मको अस्पताल बनाउन सक्ने ठाउँ रहेको छ । पूर्वमा बिरगञ्जदेखि पश्चिममा धनगढीसम्मका विदेश गएर फर्किएका बिरामीलाई सेवा दिने काम अस्पतालले गरिरहेको छ । चितवनसहित आसपासका जिल्लामा रहेका अस्पतालहरुले कोरोनाको लक्ष्यण देखिएमा यहाँ पठाउने गरेको अधिकारीको भनाइ छ । देशका विभिन्न ठाउँमा तन्ना ओच्छाएर भुइँमा बिरामी सुताइरहेका बेला यहाँ विभिन्न समस्याका बाबजुत पनि सेवा दिन सकिएको अधिकारीको भनाइ छ । भर्खर शुरु गरिएकाले सबै सुविधा दिन नसकेको स्वीकार गर्दै उनले सङ्कटमा जे गरिएको छ त्यसले जनता र राज्यलाई सहयोग पुर्याएको बताए। यस अस्पतालमा आएका बिरामीको स्वाब लिएर नियमित रुपमा परीक्षणका लागि काठमाडौँ पठाइँदै आइएको छ । हालसम्म यस अस्पतालबाट पठाइएका आठवटा नमूनामध्ये दुईवटाको रिपोर्ट नेगेटिभ आएको छ भने छवटाको आउन बाँकी रहेको छ । नेपाल चिकित्सक सङ्घका केन्द्रीय उपाध्यक्ष डा अनिलबिक्रम कार्की भरतपुर महानगरले जुन साहस गर्यो र यसमा सरोकारवालाहरुको सहयोग भयो यो आफैमा निकै महत्वपूर्ण रहेको बताए । चिकित्सक स्वास्थ्यकर्मीका लागि सुरक्षित पोसाक (पिपिई) को चिन्ता पनि पूरा भएको भन्दै उनले सङ्घले एक ठाउँमा बिरामीको उपचार होस् भन्ने अपेक्षा गरेकोमा अस्पतालले पूरा गराएको बताए । उनले भने, “सबै स्थानीय तहहरुले भरतपुर महानगरको सिको गर्नुपर्छ ।” जसले जे जति मात्रामा सकिन्छ गरेर अहिलेको सङ्क्रमणमा साथ र सहयोग पुर्याउनुपर्ने कार्कीको भनाइ छ । प्रजिअ नारायणप्रसाद भट्टराई जिल्लाका बिरामीहरु उपचारमा आउने मुख्य ठाउँ भरतपुर भएको र यहाँ कोरोनाको विशेष अस्पताल भएकाले मानसिक रुपमा सबैलाई ढुक्क हुने अवस्था उत्पन्न भएको बताए । अहिलेको सङ्क्रमणमा महानगरको अगुवाइमा उदाहरणीय काम गर्न सकिएको भट्टराईको भनाइ छ । महानगरसँगै जिल्लाका पाँच नगरपालिका र एक गाउँपालिका यतिबेला आ–आफ्नो ढङ्गले सङ्क्रमणको रोकथाममा जुटेको उनले भने । रत्ननगरको गुञ्जमान अस्पताल र बकुलहर अस्पतालमा आइसोलेशन कक्षहरु निर्माण गरिएको छन् । भट्टराईले भने, “राज्यले गरेका निर्देशन मानेर सबै एक भएर रोग भित्रिन नदिन जुट्नुपर्ने समय आएको छ ।” जिल्लामा रहेका विभिन्न अस्पताल र सार्वजनिकस्थलमा गरी ५ सय ४६ श्ययाको क्वारेन्टाइन तथा आइसोलेशन स्थापना गरिएको छ । भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल ७० श्यया, भरतपुर अस्पताल ३० श्यया, कलेज अफ मेडिकल साइन्सेज र चितवन मेडिकल कलेज १०÷१० श्यया तयार गरिएको छ । त्यसैगरी रत्ननगर नगरपालिकाको गुञ्जमान अस्पताल र बकुलहर अस्पताल गरी २० श्यया, सामुदायिक अस्पताल बच्र्यैली १५ श्यया, होटल स्टार बैंकुइट रत्ननगरमा एक सय १५ श्यया, सौराहाको मारुनीमा ३० श्यया, रत्ननगर नगरपालिका–६ मा रहेको हेल्थपोष्टमा १० श्यया रहेका छन् । यस्तै खैरहनी नगरपालिकामा ६६ श्ययाको क्वारेन्टाइन स्थापना गरिएको छ । वडा नं ६ डिजने पार्टी प्यालेसमा २० श्यया, सैनिक आवासीय महाविद्यालय ३२ श्यया, रुरल रिकन्स्ट्रक्शन नेपालमा १४ श्यया र राप्ती नगरपालिकामा रहेको बुद्धशान्ति माविमा १५ श्यया रहेको छ । त्यसैगरी कालिका नगरपालिकाको स्वास्थ्य चौकी भवनमा १० श्यया, आधारभूत मावि जुटपानीमा १५ श्ययाको क्वारेन्टाइन सञ्चालन गरिएको छ । माडी नगरपालिकामा माडी मावि र माडी क्याम्पसमा गरी १ सय ५ श्यया, इच्छाकामना गाउँपालिकाको कुरिनटारमा १० श्यया र जिल्ला कारागार चितवनमा १५ श्ययाको क्वारेनटाइन स्थापना गरिएको छ । चितवन जिल्लालाई मेडिकल सिटीका रुपमा लिने गरिन्छ । यहाँ सरकारी सङ्घीय अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुईवटा मेडिकल कलेज, २४ भन्दा बढी साना अस्पताल, नेपाल नेत्रज्योति सङ्घको भरतपुर आँखा अस्पताल सञ्चालनमा रहेका छन् । राजधानीबाहिरका चितवन निकट जिल्लाका बिरामीहरुको उपचारको केन्द्र भरतपुर हो । यहाँको क्यान्सर अस्पतालमा भारतबाट पनि उपचारका लागि बिरामी आउँछन् । यस जिल्लामा ७६ जिल्लाका नागरिकको बसोबास भएकाले उनीहरुका सम्बन्ध राख्नेहरु उपचारका लागि यहाँ आउने हुँदा बिरामीको निकै चाप हुने गर्दछ । रासस
कोरोनाबाट इटालीमा एकैदिन ९ सय १९ को मृत्यु, अमेरिकामा सङ्क्रमित १ लाख नाघ्यो
जेनेभा । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना सङ्क्रमणबाट इटालीमा एकै दिन ९ सय १९ जना नागरिकको ज्यान गएको बताइएको छ । केही दिनयता यहाँ ज्यान जाने नागरिकको सङ्ख्या बढिरहेको देखिएको छ । यो सँगै इटालीमा ज्यान जानेको सङ्ख्या ९ हजार १ सय ३४ पुगेको छ । शनिबार बिहानसम्मको यो अवस्थालाई निकै भयावह मानिएको छ । इटाली विश्वमा नै यो सङ्क्रमणबाट सबैभन्दा धेरै नागरिकले ज्यान गुमाउने देश हो । यहाँ ज्यान जानेमा अधिकांश लोम्बार्डी क्षेत्रका नागरिक छन् । सो ठाउँमा इटालीमा सुरुदेखि नै सङ्क्रमण हुनेको संख्या धेरै नै रही आएको देखिएको छ । त्यसैगरी इटालीमा सङ्क्रमण हुनेहरु ८६ हजार ४ सय ९८ पुगेका छन् । त्यहाँ पनि प्रतिदिन निकै नै ठूलो संख्यामा नागरिकको ज्यान गइरहेको अवस्था देखिएको छ । त्यसैगरी हिजोमात्र स्पेनमा ७ सय ७७ जनाको ज्यान गएको छ । यो सँगै स्पेनमा ज्यान जाने नागरिकको संख्या ५ हजार १ सय ३८ जना पुगेको छ । त्यसैगरी इटालीमा सङ्क्रमण हुनेहरु ६५ हजार ४ सय ९८ पुगेका छन् । यहाँ ९ हजार ३ सय ९७ उपचारपछि घर फर्किएका छन् । यसरी स्पेन कोरोना सङ्क्रमणबाट बढी ज्यान जाने देशमा इटालीपछिको दोस्रो हो । यता अमेरिका यो सङ्क्रमणको सबैभन्दा धेरै नागरिक सङ्क्रमित हुने देशमा परेको छ । यहाँ अहिलेसम्म १ लाखभन्दा बढी नागरिक सङ्क्रमित भएका छन् । यस भाइरसबाट मृत्यु हुने संयुक्त राज्य अमेरिकामा मात्र १ हजार ७ सय ४ जनाको ज्यान गइसकेको छ । त्यहाँको सङ्क्रमण व्यक्तिको सङ्ख्या १ लाख ४ हजार २ सय ५६ जना पुगिसकेको छ । यो सङ्ख्या विशेषगरी पछिल्लो हप्तामा मात्र देखिएको हो । यसरी यहाँ निकै द्रूूत रुपमा यस सङ्क्रमणको विस्तार भइरहेको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संसारभरि ५ लाख ९७ हजार ४ सय ५८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिहरूमध्ये १ लाख ३३ हजार ३ सय ७३ जना उपचारपछि घर फर्किएका छन् । चीनको हुबेइ प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गरिरहेको छ । यद्यपि इटाली र स्पेनमा यस भाइरसका कारण भयावह स्थिति भएको छ । कोरोना भाइरस सङ्क्रमणबाट चीनमा ३ हजार २ सय ९५ जनाको मृत्यु भएको छ भने । त्यहाँ ८१ हजार ३ सय ९४ जना सङ्क्रमित रहेका छन् । यसैबीच ७४ हजार ९७१ व्यक्ति उपचारपछि घर फर्किएका छन् । इरानमा कोरोना भाइरसको सङ्क्रमणका कारण २ हजार ३ सय ७८ जनाको मृत्यु भएको छ । हाल ३२ हजार ३ सय ३२ जना सङ्क्रमित रहेका छन् । ११ हजार १ सय ३३ जना उपचारपछि घर फर्किएका बताइएको छ । जर्मनीमा कोरोना भाइरसको सङ्क्रमणको कारण ३ सय ५१ व्यक्तिको मृत्यु भएको छ । हाल त्यहाँ ५० हजार ९ सय ३८ जना सङक्रमित रहेका छन् । यहाँका ६ हजार ६ सय ५८ उपचारपछि निको भएर घर फर्किएका छन् । यसरी हेर्दा जर्मनीमा पनि कोरोनाको सङ्क्रमण बढ्दै गएको अवस्था देखिएको छ । उता फ्रान्समा कोरोना भाइरस सङ्क्रमणका कारण १ हजार ९ सय ९५ जनाको मृत्यु भएको छ । शनिबार प्राप्त समाचारअनुसार फ्रान्समा ३२ हजार ९ सय ६४ सङ्क्रमित रहेका छन् । एकैदिन ३ हजार जना सङ्क्रमित थपिएको जनाइएको छ । यहाँका ५ हजारभन्दा बढी नागरिक उपचारपछि घर फर्किएका छन् । बेलायतमा पनि पछिल्लो समयमा कोरोना भाइरस सङ्क्रमणको हुनेको संख्या बढ्दै गएको देखिएको छ । यहाँका ७ सय ५९ व्यक्तिको मृत्यु भएको छ । यहाँका १४ हजार ६ सय ५८ सङ्क्रमित भएका छन् । यहाँका करिब ५ सय जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । नेडरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण ५ सय ४६ व्यक्तिको मृत्यु भएको छ । ८ हजार ६ सय ३ सङ्क्रमित भएका छन् । यसैबीच ३ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमणको कारण १ सय ४४ व्यक्तिको मृत्यु भएको छ । ९ हजार ४ सय ७८ सङ्क्रमित भएका छन् । ४ हजार ८ सय ११ उपचारपछि निको भएर घर फर्किएका छन् । स्विट्जरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण २ सय ३१ व्यक्तिको मृत्यु भएको छ । १२ हजार ९ सय २८ सङ्क्रमित भएका छन् । यसैबीच १ सय ३१ जना भने उपचारपछि घर फर्किएका छन् । यसैगरी यस सङ्क्रमणबाट अष्ट्रिया, बेल्जियम, नर्वे, अष्ट्रेलिया, ब्राजिल, स्वेडेन, पोर्चुगल, क्यानाडा, डेनमार्क, मलेसिया, आयरल्याण्ड, पोल्याण्ड, ग्रीस, इन्डोनेसिया, फिलिपिन्स, हङकङ, इराक, अल्जेरिया, भारत, पाकिस्तान, थाईल्याण्ड, सिङ्गापुर, रुस, पेरुलगायतका देशमा पनि नागरिकको ज्यान गएको छ । रासस/एपी/सिन्ह्वा/एएफपी