कर्णाली स्वास्थ्य विज्ञान र सुष्मा कोइरालाबीच जलन उपचारसम्बन्धी सम्झदारी

जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुष्मा कोइराला स्मृति अस्पताल, इन्टरप्लाष्ट नेपालबीच जलन र त्यसपछिका जटिलताका बिरामीको गुणस्तरीय उपचार तथा स्वास्थ्यकर्मीको दक्षता अभिवृद्धिका लागि त्रिपक्षीय सम्झदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीअनुसार स्वास्थ्य विज्ञान प्रतिष्ठानले सिफारिस गरेका बिरामीलाई सुष्मा कोइराला स्मृति अस्पतालमा निःशुल्क उपचार प्रदान गरिनेछ । प्रतिष्ठानका चिकित्सक र स्वास्थ्यकर्मीलाई सैद्धान्तिक तथा व्यवहारिक तालिमसमेत दिइने छ । प्रतिष्ठानका निमित्त उपकुलपति डा. डबलबहादुर धामीले टेलिमेडिसिन, सर्जन आदानप्रदान, घुम्ती तालिमलगायत कार्यक्रमले कर्णालीका दुर्गम क्षेत्रका बासिन्दालाई जलन उपचारमा सहज पहुँच पुग्ने विश्वास व्यक्त गरे ।  इन्टरप्लाष्ट, नेपालले प्राविधिक र आर्थिक सहयोगमार्फत यो साझेदारीलाई थप सुदृढ गर्ने प्रतिबद्धता जनाएको छ । विशेषगरी सीमान्तकृत र विपन्न समुदायलाई लक्षित गरी सेवा प्रभावकारी बनाउने लक्ष्य राखिएको प्रतिष्ठानका निमित्त उपकुलपति धामीले बताए । सम्झदारीले जलन व्यवस्थापनसम्बन्धी तथ्याङ्क साझेदारी र अनुसन्धान परियोजनालाई समेत प्राथमिकता दिँदै अनुसन्धान र विकासमा संयुक्त सहकार्यको मार्ग सुनिश्चित गरेको छ । समझदारीपत्र हस्ताक्षर कार्यक्रममा सुष्मा कोइराला स्मृति अस्पतालका मेडिकल डाइरेक्टर डा. सन्तोषविक्रम भण्डारी, प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रसिंह साउद, प्रतिष्ठानका निमित्त उपकुलपति डा धामी, निर्देशक डा. पुजनकुमार रोकाया, इन्टरप्लाष्टका उपाध्यक्ष डा. खाकिन्द्रबहादुर भण्डारी, शल्यचिकित्सा विभागका प्रमुख डा. निमरल थापालगायतको सहभागिता थियो ।   

कामदारको उपचार खर्च रोजगारदाता राष्ट्रले बेहोर्नुपर्ने प्रस्ताव तयारीमा

काठमाडौं । नेपालले विदेशमा श्रम गर्न गएका कामदारहरूको सम्पूर्ण स्वास्थ्योपचारको जिम्मेवारी सम्बन्धित रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ताव विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) मा लैजाने तयारी गरेको छ ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वदेश फर्किएपछि जानकारी दिँदै भने, 'यो प्रस्ताव आगामी वर्ष हुने डब्ल्युएचओको विश्व स्वास्थ्य सम्मेलनमा प्रस्तुत गरिनेछ ।' सो प्रस्तावले कामदारको उपचार खर्च, स्वदेश फर्किएपछि रोग बोकेर आउनुपर्ने अवस्थाबाट छुटकारा दिलाउने विश्वास व्यक्त गरे । उनले भने, 'कामदार जानु अघि, गइसकेपछि र फर्किएपछि सम्बन्धित राष्ट्रले नै स्वास्थ्य परीक्षण, उपचार र जानकारी उपलब्ध गराउनुपर्ने प्रणाली निर्माण गर्नुपर्छ । धेरै कामदार उपचार नपाएर अकालमै फर्किन्छन् वा खर्चकै कारण जीवन गुमाउँछन्, यो अन्त्य हुनुपर्छ ।' यसपटकको सम्मेलनमा महामारीसँग सम्बन्धित प्रस्ताव सर्वसम्मतिले पारित भई डब्ल्युएचओले अब अनिवार्य रूपमा प्रभावित देशलाई सहायता गर्नुपर्ने व्यवस्था पनि बनेको छ । मन्त्री पौडेलका अनुसार प्रस्ताव पास भएमा नेपाल लगायत अन्य श्रमिक पठाउने देशहरूलाई ठूलो राहत हुनेछ । पौडेलले भारत, चीन, बेलायत, श्रीलंका, बंगलादेश, नर्वे र स्विट्जरल्याण्डका प्रतिनिधिहरूसँग स्वास्थ्यसम्बन्धी समझदारी र छलफल भएको बताए ।

सञ्चालकको बैठक भत्ता वृद्धि गर्न ओम मेगाश्री फर्माले डाक्यो साधारण सभा

काठमाडौं । सञ्चालकहरूको बैठक भत्ता वृद्धि गर्ने प्रस्तावसहित ओम मेगाश्री फर्मास्यूटिकल्सले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको जेठ ६ गते बसेको बैठकले असार ६ गते भरतपुर महानगरपालिका-२९ चितवनमा बिहान ११ बजे नवौं वार्षिक साधारण सभा बेलाएको हो । कम्पनीको सभाले सञ्चालकको पारिश्रमिक, बैठक भत्ता र अन्य सुविधा निर्धारण गर्ने, संशोधनको सम्बन्धमा नियामक निकायबाट कुनै संशोधन वा हेरफेर गर्न निर्देशन दिएको खण्डमा सो बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्नेछ ।  यस्तै, सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०८१/८२ को लागि बाह्य लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।