डा. रिजालको गीत ‘मेरो मृत्युपछि’ सार्वजनिक

काठमाडौं । स्त्रीरोग तथा निसन्तान विशेषज्ञ डा. भोला रिजालको अङ्गदान सम्बन्धी सन्देशमूलक गीत ‘मेरो मृत्युपछि’ सार्वजनिक भएको छ । जसमा न्यूह बज्राचार्यले सङ्गीत छ भने गायक प्रवीण बेडवालले स्वर रहको छ । गीतको सङ्गीत संयोजन गोपाल रसाइलीले गरेका छन् ।  भिडियोमा डा. रिजाल आफै र डा. भगवान कोइराला, डा. पुकारचन्द्र श्रेष्ठ, डा. रिता गुरुङलगायतले पनि अभिनय गरेका छन् । शनिबार एक कार्यक्रम गरी यो गीत सार्वजनिक गरिएको हो । डा. रिजालले मृत्यु पछि आफ्नो अंग अरुलाई दान गरे सबैभन्दा पुण्य मिल्ने बताए ।  उनले यो गीतले अङ्ग प्रत्यारोपणका क्षेत्रमा ठुलो सहयोग हुने बताए । गीतको भिडियो डा. रिजालले आफ्नै युट्यूब च्यानलबाट सार्वजनिक गरेका छन् ।  

मस्तिष्क मृत्यु भएका एकै व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो प्रत्यारोपण

काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मस्तिष्क मृत्यु (ब्रेनडेथ) भएको डोनरबाट एउटै बिरामीमा मिर्गौला र कलेजो प्रत्यारोपण गरेको छ । सडक दुर्घटनामा परी घाइते भएका धादिङका १८ वर्षका एक युवाको काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचार क्रममा मस्तिष्क मृत्यु भएपछि भएको थियो । परिवारले अङ्गदान गर्न सहमति जनाएपछि उनको कलेजो र मिर्गौला प्रत्यारोपण गरिएको हो । एक पुरुषलाई यी दुवै अङ्ग एकैसाथ प्रत्यारोपण गरिएको छ भने अर्का ४२ वर्षीय महिलामा मिर्गौला प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ । यो नेपालमा पहिलो पटक एकै व्यक्तिबाट दुई वटा महत्त्वपूर्ण अङ्ग (मिर्गौला र कलेजो) लिएर प्रत्यारोपण गरिएको छ ।  नौ दिनअघि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले यो प्रत्यारोपण नेपाली चिकित्सकहरूको ऐतिहासिक उपलब्धि भएको बताए । प्रत्यारोपण गरिएका दुवै बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको र चाँडै  डिस्चार्ज गरिने जनाइएको छ । प्रत्यारोपणमा कलेजतर्फ डा. रोशन घिमिरे र डा. प्रविण महर्जनले साथ दिएका थिए यस्तै मिर्गौला प्रत्यारोपणमा डा. दिपेश श्रेष्ठ, डा. रूपेशकुमार झा, डा. हरिप्रसाद बराल, डा. रोजन अधिकारीले सहयोग गरेका थिए । त्यस्तै प्रत्यारोपण टोलीमा डा. विकास खड्का नेफ्रोलोजी विभाग प्रमुख डा. कल्पनाकुमारी श्रेष्ठ, डा. लुसन सिंह, डा. सुमित आचार्यलगायत संलग्न थिए ।  

नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी सदस्यमा सर्वसम्मत

काठमाडौं । नेपाल विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को कार्यकारी सदस्यमा सर्वसम्मत निर्वाचित भएको छ । जेनेभामा जारी संगठनको ७८ औं महासभाका क्रममा नेपाल दक्षिणपूर्वी एसिया क्षेत्रबाट सदस्यमा सर्वसम्मत भएको हो ।  अब नेपाल तीन वर्ष संगठनको कार्यकारी समितिमा रहनेछ । निर्वाचित भएलगत्तै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले यो नेपालका लागि स्वास्थ्य सेवा सुधारमा आफ्ना असल स्वास्थ्य अभ्यासको प्रसार र विश्वका असल अभ्यासको अनुकरणको ठूलो अवसर भएको उल्लेख गरेका छन् ।  यो जिम्मेवारीले नेपाली श्रमिकको स्वास्थ्य रक्षाका मुद्दामा विश्वव्यापी समर्थन जुटाउन योगदान पुग्ने उनको विश्वास छ । नेपालले आगामी वर्ष आप्रवासी श्रमिकको स्वास्थ्यका लागि रोजगारदातालाई जिम्मेवार बनाउन संकल्प प्रस्ताव लैजाने तयारी गरेको मन्त्री पौडेलले बताए ।  यसले नेपाली श्रमिक तथा विश्वभरका श्रमिकको स्वास्थ्यका पक्षमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ । मन्त्री पौडेलले यसका लागि सबै नेपालीलाई बधाई समेत दिएका छन् ।