काभ्रेका किशोरीले ‘एचपिभी’ खोप लगाउन मानेनन्
काठमाडौं । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १० सम्म अध्यनरत ९५ प्रतिशत बालिकाले पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापीलोमा भाइरस) विरुद्धको खोप लगाएका छन् । यहाँका १६ हजार ९७ बालिकालाई खोप लगाइने लक्ष्य रहेकामा १५ हजार ३४४ अर्थात् ९५.३२ प्रतिशत बालिकालाई उक्त खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणका लागि गत माघ २२ देखि यही फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन गरिएको थियो । नेपाल सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट प्रमाणित उक्त खोप कक्षा ६-१० विद्यालय समूहका तथा विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेरका बालिकाका लागि उक्त खोप लगाइएको हो । अशिक्षा तथा चेतनाको कमीलगायत विविध कारण लक्ष्यअनुसार केही प्रतिशत खोप लगाउने बालिकाको सङ्ख्यामा कमी आएको कार्यालयले जनाएको छ । ‘केही बाललिकाले खोप लगाउनै नमानेको विद्यालयबाट जानकारी आयो, सायद अशिक्षा तथा चेतनाको कमी नै शतप्रतिशत खोप सम्पन्न गर्न नसकेको होला !,’ कार्यालय प्रमुख रागिश्री कक्षपति श्रेष्ठले भने । उनका अनुसार भौगोलिक विकटतालगायत समग्रमा खोप कार्यक्रम सफल भएको मानिएको छ । जिल्लाको २५२ सामुदायिक विद्यालय तथा ८४ निजी विद्यालयका छात्रालाई उक्त खोप लगाएको हो । जिल्लाको १३ स्थानीय तहमध्ये अधिकांश स्थानीय तहमा लक्ष्यको ९९ प्रतिशत खोप लगाएको देखिन्छ । कार्यालयको तथ्याङ्कानुसार सबैभन्दा कम चौँरीदेउराली गाउँपालिकामा ८१ प्रतिशत तथा धुलिखेल नगरमा ८५ प्रतिशत बालिकाले खोप लगाएका छन् । ४५० बालिकालाई खोप लगाउने लक्ष्य लिइएकामा चौँरीदेउरालीमा ३६४ ले मात्रै खोप लगाए । सदरमुकामस्थित धुलिखेल नगरमा भने एक हजार चार सय १६ बालिकामध्ये १ हजार २०४ बालिकाले मात्र खोप लगाएका छन् । यस्तै खानीखोला, नमोबद्ध, भुम्लु र तेमाल गाउँपालिकाका ९९ प्रतिशत बालिकाले खोप लगाएका छन् । बनेपा र पाँचखाल नगर तथा बेथान्चोक गाउँपालिकामा ९८ प्रतिशत बालिकालाई खोप दिइयो । रोशी गाउँपालिकाले ९५ प्रतिशत, मण्डनदेउपुर र पनौती नगरमा ९४ प्रतिशत, महाभारत गाउँपालिकामा ९३ प्रतिशत बालिकाले खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कानुसार नेपालमा हरेक वर्ष २ हजार २ सय महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । यसमध्ये १ हजार ३ सयको महिलाको निधन हुने गरेको जनाइएको छ ।
स्वास्थ्य मन्त्रालयले आजदेखि हरेक शुक्रबार नियमित रूपमा भिडियो ब्रिफिङ गर्ने
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबारदेखि नियमित रूपमा मन्त्रालयगत गतिविधिको भिडियो ब्रिफिङ गर्ने भएको छ । मन्त्रालयले हरेक साताको शुक्रबार दिउँसो एक बजेर ३० मिनेटमा साताभरका नीतिगत निर्णय, गतिविधि तथा स्वास्थ्य क्षेत्रका जानकारी समेटेर ब्रिफिङ गरिने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । आज मडिया ब्रिफिङका क्रममा उनले भने, ‘साताभरिका नीगितगत वा कार्यगत निर्णय, स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण सूचना र जानकारी सर्वसाधारण र सरोकारवालालाई सहज रूपमा प्राप्त होस् भन्ने उद्देश्यले सुरु गर्न लागेका हौं ।’ यसअघि कोभिडका समयमा मन्त्रालयले नियमित भिडियो ब्रिफिङ गर्दै आएको थियो । हाल मन्त्रालयले प्रेस विज्ञप्तिबाहेक सामाजिक सञ्जालमार्फतसमेत सूचना र जानकारीहरू दिँदै आएको छ । प्रवक्ता बुढाथोकीले बिहीबार बालबालिकाको क्यान्सरमा प्रयोग हुने अत्यावश्यक औषधि प्राप्त गरेको र ती औषधी भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर क्यान्सर अस्पताललाई हस्तान्तरण गरिएको बताए । मिडिया ब्रिफिङमा गत माघ २२ गतेदेखि फागुन ६ गतेसम्म चलेको पाठेघर क्यान्सरविरुद्धको एचपीभी खोप अभियानमा कूल लक्ष्यको ९२ प्रतिशतले खोप लगाएको प्रवक्ता डा बुढाथोकीले बताए । उनले कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका १४ लाख ३५ हजार ७ सय ८९ लाई खोप प्रदान गरिएको जानकारी दिए । हिमाली भेगका मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला जिल्लामा हाल हिमपात भएकाले खोप अभियानमा कठिनाइ भएको र फागुन अन्त्यमा उनीहरुलाई खोप लगाइने ब्रिफिङमा जानकारी गराइयो । अभियानमा छुटेकाले पछि पायक पर्ने स्वास्थ्य संस्थामा गएर खोप लगाउन सकिने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ । देशभरि ३० देखि ४९ वर्षसम्मका ९२ हजार दुई सय ७३ जना महिलाहरुले यो आर्थिक वर्षको मध्यसम्म पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गराएको मिडिया ब्रिफिङमा डा बुढाथोकीले जानकारी गराए । भिआइए विधिबाट ६० हजार ९३७ , एचपीभी डिएनए विधिबाट नौ हजार ९२७, प्याप स्मेयर विधिबाट २१ हजार ४०९ जनाले परीक्षण गराएका हुन् । प्रवक्ता डा बुढाथोकीले बाँकेमा हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान चलिरहेको बताए । यही फागुन ५ गतेदेखि नेपालगञ्ज उपमहानगरपालिका र फागुन ७ गते डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका र बैजनाथ गाउँपालिका–४ मा हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सञ्चालन भइरहेको र अभियान एक महिनासम्म चल्ने जानकारी गराए ।
पुष महिनासम्मको लक्ष्य प्रगतिका आधारमा स्वास्थ्य मन्त्रालय दोस्रो स्थानमा
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले सार्वजनिक गरेको मन्त्रालयगत प्रगतिको अर्धवार्षिक विश्लेषणमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दोस्रो स्थानमा परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री तथा स्वास्थ्य सचिव डा रोशन पोखरेलले मुख्य सचिवसँग कार्यसम्पादन सम्झौता गरेका थिए । हालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सार्वजनिक गरेको पुषसम्मको कार्य प्रगतिका आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मन्त्रालय तथा निकायगत आधारमा तेश्रो तथा मन्त्रालयहरूबीचको मूल्यांकनमा दोस्रो स्थानमा रहेको प्रवक्ता डा। प्रकाश बुढाथोकीले बताए । उनका अनुसार मन्त्रालयले कुल ५२ मध्ये पुष मसान्तसम्ममा सम्पन्न गर्नुपर्ने ११ काममा नौवटा सम्पन्न गरिसकेको छ । मन्त्रालयको सामाजिक क्षेत्रका माइलस्टोनको समीक्षामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार मन्त्रालयले ८१ दशमलव ८ प्रतिशत प्रगति हासिल गरेको छ । यसैगरी, सुरु भई निश्चित लक्ष्य हासिल हुनुपर्ने माइलस्टोनको प्रगति स्थितिमा समेत मन्त्रालयले ७० अंक प्राप्त गरेको छ । जुन सामाजिक क्षेत्रमा कार्यरत मन्त्रालयहरुमध्ये उच्च हो । यी प्रगतिका आधारमा कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलार्य ८१ दशमलव ८ अंक प्रदान गरेको मन्त्रालयका प्रवक्ता बुढाथोकीले जानकारी दिए ।