महिलाको सिजेरियन डेलिभरी बढ्दैछ, ग्रामीणभन्दा सहरमा बढी
एकताका नेपालमा यस्तो थियो कि गर्भवती महिलालाई अप्रेसन गर्नुपर्दा इथरको साहयता लिनुपर्थ्यो । स्त्री तथा प्रसूति रोग विशेषज्ञको संख्यामा पनि हातमै गन्न सकिने अवस्था थियो । थापाथली अस्पतालमै पनि अप्रेसन गर्नुपर्ने महिलाहरूको लागि दिनदिनै एनेस्थेटिस्ट अर्थात् शल्यक्रिया गर्ने व्यक्ति उपलब्ध हुँदैनथे । इमर्जेन्सीमा अप्रेसन गर्नुपर्यो भने न अहिले जस्तो उपकरणहरू थिए न चिकित्सक । अप्रेसन गर्नुपर्यो भने इथर खन्याएर महिलालाई बेहोस गरी अप्रेसन गरिन्थ्यो । यो भनेको कस्तो हुन्थ्यो भने बिरामी जसको अप्रेसन गर्नुपर्ने छ त्यसको मुखमा एउटा छान्ने राखेर इथर अर्थात् एउटा रसायन अलि–अलि खन्याउँदै गरेर बेहोस पारेर अप्रेसन गर्नुपर्थ्यो । समय फेरिँदै गयो । सन् १९९४ मा बल्ल अल्ट्रासाउण्ड मेसिन आयो । प्रसूति गृह नेपालभरिकै रिफर भएर आउने एकमात्र अस्पताल थियो । जुन बेला त्यो सिकाइ भयो जति केशहरू देखियो । किताबमा पढेको नपढेको सबै केश पार्नुपर्थ्यो । अहिले गाउँ गाउँमा स्वास्थ्य संस्था छन् भने प्रदेशमा अस्पताल पनि छन् । अहिले चिकित्सक, विज्ञहरू धेरै छन् । मिडवाइफ, नर्सहरूको संख्या पनि धेरै छ । गाउँगाउँमा तालिम प्राप्त नर्स, एएनएम धेरै छन् । प्रविधिको विकास पनि धेरै छ । भने सरकार कार्यक्रमहरू धेरै छन् । २०१ सम्म पनि अस्पतालमा १० प्रतिशत घरमै हुन्थे भने बाँकी घरमै बच्चा जन्माउँथे । त्यो बेला अस्पताल पनि टाढा थियो , स्वास्थ्य संस्था जानुपर्छ भन्ने पनि थाह थिएन । पछि सरकारले विभिन्न कार्यक्रम चलायो स्वास्थ्य संस्थामा गर्भ जाँच र सुत्केरी आउन महिलालाई भत्ताको व्यवस्था गर्यो । यस्ता विभिन्न कार्यक्रमले अस्पताल आउने महिलाको संख्या बढेको छ । हिमालमा १५ सय पहाडमा एक हजार र तराईमा पाँच सय दिइन्थ्यो । मेडिकल कलेजको संख्या बढ्दै गयो । अस्पताल बढे, अब काठमाडौं आउनुपर्ने बाध्यता हट्यो । अहिले मातृ तथा नवजातको स्वास्थ्यमा सुधार आएको छ । सन् १९९६ मा भएको अध्ययनअनुसार एक लाख महिलामा नेपालमा मातृ मृत्युदर ५ सय ४३ थियो । अहिले १ सय ५१ मा झरेको छ । डब्लूएचओको तथ्याङ्कले अझ कम देखाएको छ । दिगो विकास लक्ष्यअनुसार आगामी सन् २०३० मा ७० मा झर्नुपर्ने लक्ष्य छ । तर लक्ष्य अनुसार पुग्न अझै चुनौती छ । सिजेरियन गरेकामा देखिने समस्या अहिले ग्रामीण र सहरिया महिलाहरू जीवनमा बच्चा जन्माउने प्रक्रियामा फरक हुन थालेको छ । पढेलेखेका सहरिया महिलाहरू पेट चिरेर बच्चा जन्माउँछन् भने ग्रामीण स्तरका महिलाले अहिले पनि नर्मल डेलिभरी गराइरहेका छन् । सहरमा बसेका महिलाको विवाह गर्ने उमेर फेरिएको छ । अहिले ३०/३२ वर्षको उमेरमा उनीहरू विवाह गर्न थाले । बच्चा पाउने उमेर पनि ३५ को हाराहारीमा हुन थाल्यो । ढिलो उमेरमा विवाह गर्दा समयमै बच्चा बस्न पनि गाह्रो हुन्छ । एउटा त स्वास्थ्यमा नै गडबड हुने अर्को प्राकृतिकमा नभएर आईभीएफमार्फत बच्चा जन्माउनुपर्ने हुने भएकाले नर्मल बच्चा जन्माउने भन्ने मनसाय नै हुँदैन । अर्को कुरा देखासिकीका पनि अप्रेसन गर्नेहरूको संख्या बढ्दै गएको छ । एउटा महिलाले अप्रेसन गरी बच्चा जन्माउँदा दुखाइ नहुने कुरा सुनाउँदा अर्को महिलाले पनि अप्रेसन गरेर बच्चा जन्माउने योजना बनाइसक्छन् । ढिलो बिहे गर्नु त्यसमा पनि आईभीएफ मार्फत बच्चा राखेर सुत्केरी हुनु, एउटा अर्को महिलाले दुखाइ सहन नसक्नु लगायत विभिन्न कारण अहिले सहरिया महिलामा अप्रेसन गरेर बच्चा जन्माउने संख्या बढ्दै गइरहेको छ । कतिपय सरकारी ६०/४० कतिपयमा ५०/५० प्रतिशतमा नर्मल र सिजेरियन बच्चा जन्माउने संख्या देखिएपनि निजी अस्पतालमा भने अधिकांश महिलाले सिजेरियन गरेको पाइन्छ । निजी अस्पतालमा ९० प्रतिशत अप्रेसन सरकारी अस्पतालमा नर्मल र सिजेरियन डेलिभरीको संख्या केही तलमाथि भएपनि निजी अस्पतालमा भने ९० प्रतिशत महिलामा सिजेरियन गरेको पाइन्छ । यसमा पनि धेरै कारण छन् । पहिलो कुरा निजी अस्पतालका चिकित्सकले पनि अप्रेसन गरेर निकाल्न सजिलो ठान्छन्, दोस्रो कुरा यसो गरेमा पैसा पनि बढी कमाइन्छ भन्ने हुन्छ । तेस्रो कुरा महिला आफै अप्रेसन रोज्छन् । अर्को कुरा चिकित्सकले आफ्नो ड्युटी समयलाई पनि हेरेर अप्रेसन गर्छन् । महिलाले नर्मल डेलिभरी गर्दा रातभरि दिनभरी समय लाग्न सक्छ । यो अवस्थामा चिकित्सक, नर्स, मिडवाइफ अस्पतालमा भएका स्वास्थ्यकर्मीको ड्युटीको समय पनि बढ्छ भन्ने कारण पनि अप्रेसन गर्ने गरेको पाइन्छ । यसो भन्दा धेरै साथीहरूलाई दुःख लाग्न सक्छ । गाली पनि गर्नु होला । तर, व्यवहारि रुपमा यस्तो काम हामीले गरेका छौं । सहरका महिलाहरूमा यस्तो कारण हो भने गाउँका महिलाहरूले चाहेर पनि अप्रेसन गर्न सक्दैनन् । केटी भएर जन्मेपछि १३/१४ वर्षदेखि महिनावारी हुने, विवाह भएपछि गर्भ रहनु, सुत्केरी हुनु, प्रसव हुनु यो सबै प्राकृतिक हो । सय जना गर्भवती महिला हुँदा ८० प्रतिशत महिला नर्मल सुत्केरी हुन सक्छन् भने १५ देखि २० प्रतिशतलाई मात्र अप्रेसन गर्नुपर्ने हुन सक्छ । तर, यहाँ नर्मल भन्दा धेरै अप्रेसन हुने गरेको पाइन्छ । एउटा अर्को कारण चिकित्सकबाट केही गलत हुनेबित्तिकै कुटपिट हुने घटनाले पनि चिकित्सकहरू नर्मल भन्दा सिजेरियनमै बढी ध्यान दिन्छन् । शिक्षाको जरुरत सिजेरियन गर्ने क्रम स्त्रीरोग विशेषज्ञले तयारी नगर्दा पनि यो दर बढेको हो कि भन्न सकिन्छ । चिकित्सकहरू गर्भवती महिला अस्पताल आइसकेपछि रगत जाँच, भिडियो एक्स रे लगायतका विभिन्न जाँच गर्छौं । तर, कहिले पनि हामीले व्यथा भनेको यस्तो हुन्छ, यस्तो बेला के के गर्ने भन्ने विषय बुझाउने गरेको पाइँदैन । त्यसैले यो विषयमा धेरैलाई के गर्ने भन्ने पनि थाहा हुँदैन । सरकार अस्पतालकै कुरा गर्ने हो भने एकै दिनमा दुई/तीन सय गर्भवती महिलाहरू अस्पताल पुग्छन् । उहाँहरूसँग यस्तो कुरा गर्नै समय पनि मिल्दैन । ती महिलाहरूलाई ठूलो समूहमा राखेर खतराको लक्षणका कुरादेखि, खानपानका कुराबारे सिकाइन्छ । तर, यो सबै हुँदा पनि बच्चा जन्माउन अगाडि व्यथा लाग्दा के गर्ने कसरी पीडा कम गर्ने भन्ने विषयमा शिक्षा दिन अझै सकिएको छैन । नेपाल फर्टिलिटी हेल्थ सर्भेले ग्रामीण क्षेत्रमा गरेको एक अध्ययन अनुसार १९ प्रतिशत महिलाले एन्टिनेन्टल अर्थात् गर्भावस्थाको अवधिमा गरिने जाँच र हेरचाह गराए पनि तर खतराको लक्षण चाहिं २१ प्रतिशत महिलाले मात्र बुझेको देखाएको छ । तर, सहरमा बस्ने महिलाहरू उनीहरू पढेलेखेका पनि छन्, चिकित्सकको सल्लाह पनि लिन्छन् । त्यसैले पनि यस्ता कुरामा अहिले बढी जानकार छन् । अब यो विषयमा पनि शिक्षा दिन आवश्यक भइसकेको छ । पूर्वतयारी आवश्यक नेपाल सरकारले पनि गर्भवती महिलालाई पैसाको तयारी गर, लुगाफाटो तयारी गरेर बस्न सन्देश दिँदै आएको छ । जसरी खतराको समस्या देखिँदा तुरुन्तै स्वास्थ्य संस्था पुग्ने सचेत गरायो अब यो सँगै व्यथा लाग्दा हुने दुखाइका विषयमा पनि पूर्व तयारीका कार्यक्रम सञ्चालन गर्नुपर्छ । हामीले समस्या देखिनेबित्तिकै अस्पताल लैजाऊ, नियमित स्वास्थ्य जाँच गराऊँ भनेर सिकाएजस्तै अब दुखाइ कसरी कम गर्ने, श्रीमानले घरपरिवार कसरी सहयोग गर्ने कुन मसाज गर्ने कुन पोजिसनहरू के कसरी परिवर्तन गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ । यो कुरालाई स्थानीय, प्रदेश केन्द्र सरकारले विशेष ध्यानमा राख्दै सञ्चालन गर्न सक्नुपर्छ । सबैलाई सुताएर डेलिभरी गर्नुपर्छ भन्ने हुँदैन । उठेर बसेर, सुतेर फरक फरक तरिकाले पनि सुत्केरी गराउन सकिन्छ । दुखाइ सहनै सकिँदैन भन्नेहरूलाई पनि एपिड्युरल अथार्त् कम्मरमा सुई लगाएर दुखाइ कम गर्ने औषधी दिन सकिन्छ । हामीसँग अप्सनहरू धेरै छन् । अब सुत्केरी कसरी गराउने भन्नेतिर बहसर गर्न ढिला गर्न हुँदैन । यस्तो बेला कसरी योगा गर्ने, कसरी श्वासप्रश्वास लिने भन्ने कुराहरू सिकाउन आवश्यक छ । किनभन्दा गर्भवती हुँदा लिने श्वास प्रश्वास डेलिभरीको बेला अर्कै गर्नुपर्छ । यो सबै कुराहरू नसिकाएर उनीहरूले गर्न सक्दैनन् । कतिपय महिलाहरूले अनलाईनमा हेरेर भएपनि यस्तो प्रयास गरेको पाइन्छ । तर अझै व्यक्तिले प्रत्यक्ष सिकाएको धेरै राम्रो हुन्छ । यो शिक्षा आवश्यक छ र मिडवाइफ्री सोसाइटी नेपालले सुरु गरिसकेको छ । विभिन्न अस्पतालमा सिकाउने क्रम सुरु गरेका छौं । यो कुरामा अब ध्यान दिने होइन भने सिजेरियन गराउने दर अझै डरलाग्दो गरी बढ्ने छ । आजभन्दा करिब ४० वर्ष पहिले म प्रसूति अस्पताल हुँदा अप्रेशन गर्ने महिला १० देखि १५ प्रतिशतसम्म मात्र हुन्थे । त्यो पनि गर्नैपर्ने अवस्थाका मात्र । धेरै दिनसम्म व्यथा लाग्यो बच्चा जन्माउन सकेन, कसैको धेरै रक्तस्राव भयो, साल तल भयो, कोही अस्पताल आएका महिलामा धड्कन धेरै भयो या कम भयो या प्रेसर बढी आयो भने यस्तो अवसथमा मात्र अप्रसेन गर्नुपर्थ्यो । कसैको लामो समय प्रसव व्यथा भयो बच्चा जन्मिएन वा बच्चा टेढो भयो भने मेडिकल अवस्था हेरेर गरिन्थ्यो । राणा परिवारमा पनि पहिले अप्रेसन भन्ने अहिलेको जस्तो हुँदैनथियो । तर, त्यो बेला राणा परिवारका महिलाहरू भने त्यो बेला पनि अप्रेसन गर्थे । यो बच्चा यति बजे भित्र जन्मिसक्नुपर्छ अर्थात् यो साइत सुभ छ भन्ने हिसाबले महिलाहरूको पेट चिरेर बच्चा निकाल्नुपथ्र्यो । तर त्यो बेला अप्रेसन गर्ने साधनहरू थिएन । सलाइन चढाएर छिटो हुने व्यथा दिइन्थ्यो । यसमा म दुईवटा कुरा देख्छु । एउटा चिकित्सकले पूर्व तयारी नगराएको हो अर्को गर्भवती महिलाहरू आफै पनि मोटिभेसन नभएको पाइन्छ । नर्मल बच्चा जन्माउँदा कम्तिमा पनि १० १२ घण्टा व्यथामा जानैपर्छ । धेरै जस्तो महिलाहरू यो व्यथा सहन नसकेरै अप्रेसन रोज्ने गरेका छन् । यस्ता कारण शहरी क्षेत्रमा यो संख्या बढेको हो । र्नमल र सिजेरियन गरेका बच्चामा फरक नर्मल र सिजेरियन गरेका बच्चा र आमा स्वास्थ्यका हिसाबले धेरै फरक हुन्छ । बच्चाको कुरा गर्दा नर्मल जन्माएको बच्चा आमाको योनीबाट टाउको घुम्दै जीउ घुम्दै आउँछ । यसो हुँदा जुन योनीमा किटाणु हुन्छ त्यसमा एक्सपोज भएर आउँछ । यसरी आउँदा बच्चाको रोग प्रतिरोधात्मक क्षमता बढ्छ । रुने सबै प्रक्रिया नर्मल हुन्छ । यसले सबैभन्दा पहिले त बच्चा जन्मनेबित्तिकै आमाको छातीमा टाँसिन पाउँछ, लगत्तै बिगौते दूध चुस्न पाउँछ । यसो हुँदा पनि बच्चाको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढ्छ । अध्ययनले पनि सिजेरियन गरे जन्माएको बच्चामा भन्दा नर्मल बच्चा धेरै स्वस्थ हुने भनेको छ । यस्तै सिजेरियन गरेको बच्चा जन्मेपछि हत्तपत्त नरुने हुन्छ कतिपय बच्चाहरूलाई एनआइसीयूमा राख्नुपर्ने हुन्छ । यति गरेर स्वस्थ भएका बच्चाहरूमा पनि एलर्जी, डाइबिटिज टाइप वान लगायतका समस्या हुने गरेको पाइएको छ । यस्ता बच्चाहरूमा श्वासप्रश्वास प्रणालीमा देखिने एक प्रकारको पुरानो रोग, सिलिएक डिजिज पनि देखा परेको अध्ययनले देखाएको छ । आमामा देखिने जटिलता आमाहरुको हकमा पनि समस्या पर्छ । अप्रेसन गरिएका महिलाहरू हिँड्न गाह्रो हुन्छ, तुरुन्त दूध चुसाउन, गाह्रो हुन्छ भने खाना खान पनि गाह्रो हुन्छ । नर्मलमा समस्या देखिँदैन । नेपाली महिलाहरूले यो बुझ्न जरुरी छ कि अप्रेशनभन्दा नर्मल बच्चा जन्माउँदा निकै सजिलो हुन्छ । पहिलो बच्चा अप्रेसन गरेर जन्माएका महिलाहरूमा दोस्रो बच्चा जन्माउँदा जटिलता देखिने गरेको छ । दोस्रो बच्चाको पालोमा साल तल जाने, पाठेघरको मासुमा अड्किने समस्याहरू धेरै देखिएको छ । अब यसको अनुसन्धान गर्न जरुरी छ । आजभोलि महिलामा यस्तो समस्या धेरै देखिएको हुनाले अब यो केशमा अनुसन्धान गरिन आवश्यक छ । कति प्रतिशत पहिलो बच्चा अप्रेशन गरेका महिलामा यस्तो समस्या देखियो र कति नर्मल सुत्केर भएको महिलामा देखियो भनेर अनुसन्धान गर्दा यो तथ्यांक आउन सक्छ । यस्तो अवस्था अर्थात् साल तल जानेबित्तिकै अप्रेसन गर्दा रगत बग्ने, हुन्छ भने कहिले त पाठेघर नै निकाल्नुपर्ने अवस्था पनि आउँछ । यस्तो समस्या सबैमा हुने होइन तर अप्रेसन गरेको महिलामा धेरै देखिएको छ । मेरो सिद्धान्त म आफै पनि नर्मल डेलिभरी गराउने र महिलाहरूलाई पनि नर्मल डेलिभरी गराउनुपर्छ भन्ने हो । यसको लागि मैले तालिम प्राप्त नर्स, मिडवाइफको समूह नै छ । किन नर्मल गराउनुपर्छ भनेर सुरु गरे भने । जेन्टल बर्थ मेथड विश्वमा नर्मल डेलिभरीको संख्या बढाउन विभिन्न अभियान सुरु भइसकेका छन् । यसैक्रममा भारतको साउथकी एकजना चिकित्सक जो हाल अहिले इंग्ल्याण्डमा कार्यरत छिन् । उनले सुरु गरेको कार्यक्रम हो ‘जेन्टल बर्थ मेथड’ । जहाँ एलोप्याथिक, दुखाइको बेला त्यो सोचलाई कसरी पर लैजाने भन्ने बारेमा सेल्फ हिप्नोसिस कोर्स पनि छ भने एलोपेथिक, आयोवेर्दिक, रिफ्लेक्सोलोजी र योगाको प्याकेजहरू छन् । यो विषयमा थाहा भइसकेपछि हाम्रो समूहले पनि यो कोर्सका बारेमा अनलाइनमा धेरै कुराहरू सिकेर नेपालमा यो सेवा दिन सुरु गरेका छौं । हामीले कोरोनाको समयमा सिकेको कुरा निदान अस्पतालमा आएका जोडीहरूलाई सिकाउन सुरु गरेका थियौं । व्यथा लाग्दा के सोच्ने, कतिबेला अस्पताल जाने भन्ने कुरा सिकायौं । यसो गर्दा यसबाट महिलालाई पूर्व तयारी भयो । अर्को अप्रेसन नै गर्नुपर्यो भने म हिँड्नुपर्छ, बच्चालाई दूध खुवाउनुपर्छ भन्ने कुरा थाहा भयो । कोभिडको समयमा यस्ता धेरै महिलाहरुलाई सिकाउँदा गर्भवास्थाको विषयमा धेरै कुरा पनि सुत्केरी भइसकेपछिको काउन्सिलिङ आवश्यक रहेछ भन्ने थाह पाए । पछि हामीले यो कुरा पनि सिकाउन थाल्यौं । हामीले प्रत्यक्ष सहभागी भएर अनि अनलाइनमार्फत पनि यस्तो कोर्स सिकायौं । अहिले निरन्तर छ । अहिले पनि धेरै महिलाहरू हुनुहुन्छ । तर प्याकेज सिक्न भने कम महिला आउनुहुन्छ । किन भन्दा यसका लागि छुट्टै पैसा पनि तिर्नुपर्छ समय पनि चाहिन्छ । हामीले सबै कोर्स सुरु गर्ने तयारी गरेका छौं । अहिले एन्टिनेन्टल गर्ने धेरै विदेशी महिलाहरू छन् । दुई सय भन्दा धेरै जोडीलाई यो सेवा सुरु गरिसकेका छौ । यहाँ सहभागी धेरैजसो महिलाले नर्मल डेलिभरी गराएका छन् । योगा टिचर पनि छन् । यसमा डाक्टरमात्र भएर हुँदैन मिडवाइफ र नर्सहरू अनिवार्य हुनुपर्छ । खासमा भन्नु पर्दा नर्मल डेलिभरीको लागि चिकित्सकको भूमिका हुँदैन । यसमा नर्स र मिडवाइफको भूमिका धेरै हुन्छ । अब यो विषयमा तीनवटै सरकारले सोच्न आवश्यक छ । (स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. स्वराज राजभण्डारीसँग गरिएको कुराकानीमा आधारित)
नक्कली अकाउन्टले चिकित्सकको छवि बिगार्दै
काठमाडौं । ‘डाक्टरसाब तपाईंको फेसबुक अकाउन्टबाट पैसा माग्ने काम भइरहेको छ । मलाई यो काम तपाईंको होइन जस्तो लाग्यो र म्यासेज गरें,’ न्युरो सर्जन डा. प्रकाश काफ्लेलाई चिनेका साथीले केही दिनअघि म्यासेज गरे । काफ्ले साथीको यो म्यासेज देखेपछि झस्के । उनले तुरुन्तै कल गरे । त्यसपछि थाहा भयो– उनको नामबाट नक्कली अकाउण्ट बनाएर पैसा माग्ने काम भइरहेको रहेछ । प्रकाशलाई एकजना साथीले मात्र भनेनन् । थुप्रैले फेसबुक म्यासेन्जरमा साथी बनाउने त्यसपछि पैसाको बार्गेनिङ गर्ने गरेको पनि गुनासो गरे । आफूले गर्दै नगरेको काम साथीहरूले सुनाएपछि प्रकाशले अर्को फेसबुक अकाउन्ट कुन छ भनेर हेर्न खोजे । तर उनले भेटाएनन् । उनको नक्कली अकाउन्टबाट चिनेका करिब १२ जनालाई नै पैसा माग्नेदेखि अनेकन प्रलोभन देखाउने गरेको थाहा पाए । साथीहरूको कुरा सुनिसकेपछि उनले आफ्नो फेसबुकमा लामो स्टाटस नै लेखे । जहाँ उनले लेखेका छन्, ‘मेरो नामबाट नयाँ नक्कली फेसबुक अकाउन्ट खोलिएको जानकारी प्राप्त भएको छ, उक्त नक्कली अकाउन्टबाट फेसबुक मेसेन्जरमा पैसा माग्ने लगायत अनावश्यक कुरा गरिँदैछ । कृपया त्यो नक्कली अकाउन्टबाट आएको रिक्वेस्ट स्वीकार नगर्नुहोला र कुनै हालतमा पैसा नपठाउनुहोला ।’ प्रकाश काफ्ले विराटनगरको नोबेल मेडिकल कलेजको न्युरो सर्जरी विभाग प्रमुख हुन् । लामो समयदेखि न्युरो सर्जनको रूपमा काम गर्दै आएका उनी आफ्नै नामको नक्कली आइडीबाट आफन्त र चिनजानका साथीहरूलाई ठग्न खोज्नु साइबर अपराध भएको बताउँछन् । उनी भन्छन्, ‘मलाई त यो कुरा थाहै थिएन । चिनेकै साथीहरूलाई रिक्वेस्ट पठाएर पैसा माग्ने, अनावश्यक प्रलोभन देखाउने काम भइरहेको रहेछ, यो पक्कै पनि कुनै ठगको काम हुनुपर्छ ।’ प्रकाशले आफ्नै नामको दुई तीनवटा नक्कली आइडी बनाएर ठगी भइरहेको पाइएको बताए । नेपाली चिकित्सकहरू आफूलाई लक्षित गरी नक्कली अकाउण्ट बनाएर ठगी गर्ने प्रवृत्ति बढिरहेको बताउँछन् । चिकित्सकहरूको प्रोफाइल फोटो, नाम र काम गर्ने अस्पतालको विवरण प्रयोग गरेर नक्कली अकाउन्ट बनाउने गरिएको पाइन्छ । यस्ता अकाउन्टहरू विशेष गरी फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम जस्ता प्लेटफर्ममा सक्रिय हुन्छन् । कतिपयले आफ्ना नियमित सेवाग्राहीसँग पैसा मागेको पाइन्छ भने कतिपयले साथीभाइसँग मागेको पीडितहरू बताउँछन् । प्रकाशको नामबाट ठगी गर्ने ठगले हरेक व्यक्तिको मोबाइल नम्बरको कनेक्सन बैंक अकाउन्टसँग हुने भएकाले प्रायः सबैको मोबाइल नम्बर माग्ने गरेको छ । धेरैजसो व्यक्तिले प्रयोग गर्ने मोबाइल नम्बर सामाजिक सञ्जालदेखि बैंकसम्म जोडिएको पाइन्छ । ठगहरूले त्यही मौका पार्दै व्यक्तिहरूलाई ठगी रहेका छन् । डाक्टर सम्झेर क्युआरमै पैसा पठाउँदा प्रकाशजस्तै अर्को चिकित्सकको नामबाट क्युआरमा धमाधम पैसा लिइरहेको पाइएको छ । वरिष्ठ प्रसूति तथा स्त्री रोग एवं टेष्ट ट्युव बेबी विशेषज्ञ डा. नुतन शर्माले आफ्नो नक्कली आईडी बनाएर आफ्नै पेसेन्टबाट क्युआरमै पैसा लिरहेको बताउँछिन् । अहिलेसम्म एक जनाले १० हजार र अर्को एकजनाले ७ हजार पैसा क्युआर गरी पठाएको गुनासो आफूकहाँ आइपुगेको उनले बताइन् । नुतनसँग धेरैजसो दम्पतीहरू फोन गरिरहन्छन् । महिनावारी नियमित नभएकादेखि सन्तान हुन नसकेका दम्पती कोही भेटेर त कोही फोनबाट, सामाजिक सञ्जालबाटै सल्लाह लिन्छन् । उनी सकेसम्म फोन सामाजिक सञ्जाल भन्दा भेटेर कुरा गर्न सल्लाह दिन्छिन् । करिब एक साताअघि उनको मोवाइलमा एक पेसेन्टको फोन आयो । उनले फोन उठाइन् । हत्तपत्त उताबाट एकजना महिलाले भनिन्, ‘डाक्टर खोइ त औषधी अहिलेसम्म पनि आएन । ’ उनको कुरा सुन्दा नुतन अलमलमा परिन् । के को औषधी ? पुरा शब्द सकिन नपाउँदै उतैबाट भनियो, ‘घरमै पठाइदिन्छु भन्दै पैसा पनि लिनुभयो अहिले के को औषधी भन्नुहुन्छ ?’ बुझ्दै जाँदा नुतनको अर्को आइडी बनाइ पेसेन्टलाई सात हजार पैसा लिएर औषधी पठाइदिन्छु भनेको रहेछ । यसबारेमा नुतनलाई थाहै थिएन । उनले ती व्यक्तिसँग भेटेरै कुरा गर्न भनिन् त्यसपछि ती दम्पती बिएण्डबी अस्पतालमै आएपछि आफूहरू ठगिएको थाहा पाए । दिनहुँ अस्पतालमै पैसा पठाइदिएको तर औषधी नपाएको गुनासो बढेपछि नुतनले सामाजिक सञ्जाल टिकटकमै एउटा भिडियो बनाएर पोष्ट गरेकी छिन् । सन्देशमा उनले भनेकी छिन्, ‘मेरो नामको अकाउन्टबाट मेरा पेसेन्टसँग कुरा गरेर क्युआर पठाएर पैसा लिएको गुनासो आएको छ, अनलाई पेमेन्टको कुरा वा औषधीको कुरा गरेर म्यासेजको भरमा पैसा नपठाउनुहोला ।’ उनले कसैले यसरी पैसा मागेमा आफ्नो नम्बरमा फोन गर्न भन्दै सन्देशमा आफ्नो नम्बर पनि दिएकी छन् । चिकित्सकको आग्रह धेरैजसो सामाजिक सञ्जालका अकाउन्टहरू सक्कली, नक्कली कुन हुन् भन्ने छुट्याउन गाह्रो हुन्छ । त्यसमाथि चिकित्सकको फ्रेन्ड रिक्वेस्ट आएपछि धेरैजसोले हत्तपत्त स्वीकारी हाल्छन् । सामाजिक सञ्जालमा ठगी गर्नेहरू यतिसम्मको चतर हुन्छिन् कि उनीहरूले फेसबुकका साथी, र म्युचुअल फ्रेण्ड सबै सक्कलीको जस्तै देखाउन सक्छन् । यसले गर्दा पनि सर्वसाधारणलाई फेक आइडी छुट्याउन गाह्रो हुन्छ । चिकित्सक नुतन शर्मा कुनै पनि चिकित्सकसँग कुरा गर्न सामाजिक सञ्जालको प्रयोगभन्दा कि फोनमा कुरा गर्न र कि प्रत्यक्ष भेटेरैमात्र गर्न सल्लाह दिन्छिन् । भन्छिन्, ‘अहिले धेरै ठगीका घटनाहरू भइरहेका छन्, कसैले म डाक्टर हुँ भन्दै औषधी र काउन्सिलिङको कुरा गरेर आर्थिक लेनदेनको कुरा गर्न हुँदैन, कसैले यस्तो गर्छ भने कि एक पटक अस्पतालमै आएर भेट्दा ठगिने सम्भावना हुँदैन ।’ डा. प्रकाश पनि यस्तो ठगीबाट बच्न आग्रह गर्छन् । आजभोलि सामाजिक सञ्जालमा पाएको सूचनाले ठगहरूले सबै विवरण संकलन गर्नेसम्मको हैसियत राख्ने भएकाले सकेसम्म आफ्नो पुरै विवरण सामाजिक सञ्जालमा नराख्न सल्लाह दिन्छन् । १० महिनामा ७ हजार ठगीका उजुरी चिकित्सकहरूको फोटो र विवरण राखेर ठग्ने क्रम भइरहे पनि चिकित्सककै नामबाट ठगिएको यकिन उजुरीको तथ्यांक भने छैन । नेपाल साइबर ब्यूरोका प्रवक्ता एसपी दीपकराज अवस्थी समग्र रूपमा ठगीका घटनाको दर निकै बढेको भएपनि चिकित्सकहरूबाटै ठगिएको भनेर छुट्टै उजुरीको तथ्यांक नरहेको बताए । उनी भन्छन्, ‘ठगीका घटना दिनहुँ बढिरहेका छन्, सामान्य किनमेलदेखि सेयरसम्मको ठगी भइरहेको हुन्छ तर, छुट्टै यो क्षेत्र, ऊ क्षेत्र भनेर छुट्याएको छैन ।’ सामाजिक सञ्जाल ह्याक गर्ने, नक्कली आइडी बनाएर आफन्तसँग पैसा माग्न, विदेशमा रहेका आफन्तहरूलाई पैसा माग्नेक्रम बढिरहेको पनि अवस्थीले बताए । चालु आर्थिक वर्षको १० महिनामा साइबर ब्यूरोमा साढे १६ हजार उजुरी परेका छन् । जसमा ठगीका मात्र ७ हजार बढी उजुरी रहेका छन् । अवस्थी करिब ४० प्रतिशत उजुरी ठगीका आउने गरेको बताउँछन् । चिकित्सकको नक्कली आइडी बनाएर अनलाइन काउन्सिलिङको नाममा पनि ठगी हुने गरेको पाइएको छ ।
राप्ती प्रादेशिक अस्पताल : अनुमतिभन्दा बढी शय्या सञ्चालनले समस्या
तुलसीपुर । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालले ५० शय्याको अनुमति भए पनि १४४ शय्या सञ्चालन गरिरहेको छ । विक्रम संवत् २०६५ मा अस्पतालले ५० शय्याको अनुमति पाएको हो । तत्कालीन अवस्थामा बिरामीको चाप पनि न्यून हुने, सेवा पनि सीमित हुँदा त्यसले सेवा प्रवाहमा सहजता नै थियो । तर, बिरामीको चाप पनि बढेको र सेवा पनि थपिँदै जाँदा शय्या थप्नुपर्ने बाध्यता रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा पदमराज अधिकारीले बताए । 'हाम्रो दरबन्दी ५० शय्याकै छ', उनले भने, 'तर, हामीले १४४ शय्याको सञ्चालन गरेका छौँ, यसले हामीलाई निकै भार थपेको छ ।' अहिले अस्पतालमा कन्सलटेन्ट डाक्टरको दरबन्दी १४ जनाको हो तर, शय्या थपसँगै १८ जना चिकित्सकले काम गरिरहेको उनले बताए । स्थायी कन्सल्टेन्ट चिकित्सक ११ जना रहेको र बाँकी सातजना करारमा नियुक्त गरिएको डा अधिकारीले बताए । त्यस्तै मेडिकल अफिसर सात जनाको दरबन्दी हो । तर, अहिले स्थायी छ र १८ जना करारमा नियुक्त गरी २४ जना बनाइएको छ । जम्मा ७२ जना चिकित्सक, स्टाफ नर्स तथा कर्मचारीको दरबन्दी रहेकामा हाल अस्पताल विकास समितिको निर्णयअनुसार २३५ जना राखिएको उनले बताए । यसरी अस्पताल विकास समितिलाई पनि भार पर्ने अवस्थासमेत आएको र ५० शय्याको मात्रै संरचना तथा दरबन्दी हुँदा निकै आलोचना खेप्नु परेको डा अधिकारीको भनाइ छ । दुई सय शय्या बनाउनका लागि धेरै पहल भए पनि त्यसको काम अघि बढ्न नसकेको भन्दै यसलाई पूर्णता दिनतर्फ लाग्ने अस्पताल विकास समितिका अध्यक्ष महेन्द्रराज लामिछानेले बताए । 'अस्पतालमा बिरामीको चाप बढिरहेको छ, धेरैले रेफर अस्पताल भनेर गुनासो पनि गर्नुहुन्छ', उनले भने, 'यसलाई सुधार गर्न तर्फ म लागिरहेको छु ।' आगामी आर्थिक वर्षमा २०० शय्याको स्वीकृति हुने गरि बजेट पनि आउने कुरामा आफू ढुक्क रहेको अध्यक्ष लामिछानेले बताए । अस्पताललाई २०० शय्या बनाउनुपर्ने आवाज चौतर्फी उठिरहेको छ । रासस