धौलागिरि अस्पताल १५ वर्षपछि १ सय शय्यामा स्तरोन्नति
काठमाडौं । बागलुङको धौलागिरि अस्पताल १५ वर्षपछि स्तरोन्नति भएको छ । विसं २०६७ मा जिल्ला अस्पतालबाट धौलागिरि अञ्चल अस्पतालका रूपमा ५० शय्यामा सञ्चालित उक्त अस्पताललाई गण्डकी प्रदेश सरकारले १५ वर्षपछि १ सय शय्यामा स्तरोन्नति गरेको हो । जिल्ला अस्पतालबाट अञ्चल अस्पताल भएपछि विशेषज्ञ सेवा दिँदै आएको अस्पतालले स्तरोन्नतिसँगै विशिष्टिकृत सेवा दिन थालेको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा किरण तिवारीले जानकारी दिए । ५० श्ययाको अस्पतालबाट स्तरोन्नति नहुँदा अहिलेसम्म दरबन्दी थपिन नसकेको उनको भनाइ छ । गत वर्ष नर्सिङ पढाउने गण्डकी प्रदेश सरकारको घोषणा भए पनि अस्पताल स्तरोन्नति नहुँदा पठनपाठनमा समस्या भएको बताउँदै स्तरोन्नत्तिपश्चात् नर्सिङ पढाउन बाटो खुलेको डा तिवारीले जानकारी दिए । ‘अहिले पनि एक सय २६ शय्यामा बिरामीको उपचार गरिरहेका छौँ, तर नीतिगत रूपमा ५० शय्याको मात्रै हुँदा समस्या थियो, दरबन्दी बढ्दा सेवामा सहजता आउँछ,’ उनले भने, ‘एक सय शय्यामा स्तरवृद्धि गरेपछि अस्पतालमा दरबन्दी थपिनेछ भने स्वास्थ्य क्षेत्रमा गुणस्तर थपिनेछ, नर्सिङ पढाउन सहज हुनेछ ।’ तिवारीका अनुसार अहिले अस्पतालमा २२ विशेषज्ञ र १० जना मेडिकल अधिकृत कार्यरत छन् । विसं २०१५ मा धौलागिरि अस्पताल डिस्पेन्सरीका रूपमा स्थापना भई २०१६ सालमा स्वास्थ्य केन्द्रमा स्तरोन्नति गरिएको थियो । पछि २०३३ सालदेखि यो अस्पतालले बागलुङ जिल्ला अस्पतालका रूपमा सेवा सञ्चालन गरेको थियो । अस्पतालको स्तरवृद्धि गरेपछि नर्सिङ कक्षा चलाउन आगामी वर्षमा बजेट व्यवस्थापन गरिने गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले नौ अस्पतालको एकमुस्ट स्तरोन्नति गर्ने निर्णयअनुसार धौलागिरि अस्पताल स्तरोन्नति गरिएको हो । गण्डकी प्रदेशको यही जेठ १२ गते बसेको बैठकले नौ वटा अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको हो । सरकारले अस्पतालको कर्मचारी संरचना र शय्या सङ्ख्या निर्धारण गरेको छ । धौलागिरि अस्पतालमा कर्मचारी दरबन्दी ९९ पुगेको छ । यसअघि बागलुङकै धौलागिरि आयुर्वेद अस्पताल र गण्डकी आयुर्वेद अस्पताल २५ शय्यामा स्तरोन्नति गर्ने निर्णय भइसकेको छ । धौलागिरि आयुर्वेद अस्पताल स्तरोन्नतिपछिको सेवा दिने तयारीमा रहेको स्वास्थ्यमन्त्री पाठकले जानकारी दिए ।
संघीय अस्पतालहरूमा २ हजार बढी स्वास्थ्य जनशक्ति थप्ने स्वास्थ्यमन्त्रीको तयारी
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संघीय अस्पतालहरूमा दुई हजार बढी स्वास्थ्य जनशक्ति थप्ने तयारी अघि बढाएका छन् । बिरामीको चापअनुसार लामो समयदेखि थप हुन नसकेको स्वास्थ्य जनशक्तिका थप गर्ने गरी मन्त्री पौडेलले अर्थ मन्त्रालयसँगको सहमतिमा प्रक्रिया अघि बढाएका थिए । यसका लागि उनले प्रशासन सहसचिव ऋषि आचार्यको नेतृत्वमा गठन गरेको आन्तरिक कार्यदलले दुई हजार एक सय दुई जनशक्ति थप गर्न सकिने गरी संगठन तथा व्यवस्थापन सर्भेक्षण प्रतिवेदन दिएको छ । यसमा अस्पताल तहमा थप गर्न सकिने प्राविधिक जनशक्तिको संख्या अधिक छ । पाँच वर्षसम्म हरेक वर्ष गर्ने गरी तयार पारिएको यस पालिको संगठन संरचनामा देशको सबैभन्दा ठूलो वीर अस्पतालमा सात सय ७७ जनशक्ति थपिने छ । यसले देशको सबैभन्दा बढी बिरामीको चाप खेपिरहेको अस्पतालमा अब वीर अन्र्तगतकै ट्रमा सेन्टरमा ९० जनशक्ति थप्न सकिनेछ । संघीय राजधानी काठमाडौंकै कान्ति बाल अस्पतालमा ७८ जनशक्ति थप्ने गरी प्रतिवेदन तयार पारिएको छ । देशको संघीय परोपकार प्रसुती अस्पतालमा एक सय ७३ जनशक्ति थप हुनेछन् । यसैगरी, शुक्रराज ट्रक्रिकल तथा सरुवा रोग अस्पतालमा तीन सय १७ स्वास्थ्य जनशक्ति थपिनेछन् । कोशी अस्पतालमा एक सय ७२, नारायणी अस्पतालमा तीन सय १८ तथा भेरी अस्पतालमा एक सय ७९ जनशक्ति थप हुनेछन् । गजेन्द्रनारायण स्मृति अस्पताल राजविराजमा एक सय ४४ जनशक्ति थपिंदा चितवनको भरतपुर अस्पतालले चार सय ६५ जनशक्ति पाउनेछ । डडेलधुरा अस्पतालमा ५२ तथा औषधि व्यवस्था विभाग र प्रयोगशालामा गरी ४० जनशक्ति थप गर्ने गरी संगठन संरचना गरिएको छ । प्रतिवेदन ग्रहण गर्दै मन्त्री पौडेलले सरकारी स्वास्थ्य संस्थाहरुमा चाप अत्यधिक भए पनि जनशक्ति लामो समयसम्म थप नहुँदा सेवा दिन भैरहेको कठिनाइ केही हदसम्म हल हुने विश्वास व्यक्त गरे । 'सरकारी अस्पतालमा जनशक्ति व्यवस्थापनका लागि यो प्रतिवेदनले महत्वपूर्ण योगदान दिने अपेक्षा गरेको छु,' उनले भने, 'सम्बद्ध मन्त्रालयहरुसँग आवश्यक समन्वय गरेर यसको कार्यान्वयन गरिनेछ ।' मन्त्री पौडेलले यो वर्ष मात्र नभएर हरेक वर्ष सर्भेक्षण गरिने भएकाले दूरगामी रुपमा जनशक्ति अभावको समस्या सम्बोधन हुने विश्वास गरे । मन्त्री पौडेलले अधिकतम स्वास्थ्य प्राविधिक जनशक्तिको अभाव पूर्ति गर्ने गरी संरचना गर्न भने पछि प्रतिवेदनमा अधिकांश स्वास्थ्य जनशक्ति थप गर्ने गरी प्रतिवेदन तयार पारिएको छ । यसले विभिन्न अस्पतालहरुमा रहँदै आएका अस्थायी र करारको दरबन्दी घटेर स्थायित्व प्राप्त गर्न मद्दत पुग्ने ठानिएको छ । २०६६ मा केही जनशक्ति थप भए पनि त्यसयता विस्तृत रुपमा संगठन तथा व्यवस्थापन सर्भेक्षण हुन सकेको थिएन । यस प्रतिवेदनको कार्यान्वयनले बढ्दो चाप सामना गर्दै रिक्त जनशक्ति पूर्ति तथा रोजगारी सिर्जनामा समेत मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
७२ जिल्लामा फैलियो डेंगी, पूरा शरीर ढाक्ने कपडा लगाउन विज्ञको आग्रह
काठमाडौं । मनसुन लागेसँगै डेंगी सङ्क्रमण देखिन थालेको छ । जुनदेखि अगस्टसम्म (असार–भदौ) सम्मलाई डेंगी सङ्क्रमणको जोखिम कायम रहने समयका रुपमा लिइन्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्कअनुसार जनवरी १ देखि जुन ८ सम्म एक हजार दुई सय ५५ सङ्क्रमित भेटिएका छन् भने ७२ वटा जिल्लामा डेंगी सङ्क्रमण पुष्टि भइसकेको छ । सबैभन्दा धेरै सङ्क्रमितको सङ्ख्या काठमाडौंमा देखिएको छ । काठमाडौंमा १३२, कास्कीमा ९०, सुनसरीमा ८७, चितवनमा ६१, पाल्पामा ५१, रुपन्देहीमा ४७, कञ्चनपुरमा ३७, दाङमा ३२ र भक्तपुरमा ३० वटा सङ्क्रमित भेटिएका छन् । ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले डेंगीलाई शून्यमा नै ल्याउने र डेङ्गी गराउने लामखुट्टे सखाप नै पार्न भन्ने अवस्था सिर्जना गर्न नसकिए पनि नियन्त्रण भने गर्न सकिने बताए । उनले भने, 'डेंगीको सङ्क्रमण र मृत्युदर घटाउन सकिन्छ । यसका लागि सबै जनाको समन्वय आवश्यक हुन्छ । नागरिक, समुदाय, सरकारी–गैरसरकारी संस्था सबैले हातेमालो गर्नुपर्छ ।' डा दाहालले यो वर्ष मनसुन छिट्टै सुरु भएको र मौसमविद्ले पानी धेरै पर्न सक्ने आकलन गरेकाले सङ्क्रमण बढ्न सक्ने सम्भावना रहने सक्ने बताए । 'यो वर्ष डेंगी सङ्क्रमण बढ्छ वा स्थिर रहन्छ भनेर आकलन गर्न हामीसित भेक्टरको पर्याप्त तथ्यांक छैन । यद्यपि मनसुन केही अघि सुरु भएको र धेरै पानी पर्ने भनिएको हुनाले पानी जम्मा हुने र सञ्चित भएर बस्ने र लामखुट्टेको विकास हुने सम्भावनालाई नकार्न मिल्दैन', उनले भने । डा दाहालकाअनुसार सबैले डेंगी नियन्त्रणमा सबैले आआफ्नो ठाउँबाट बराबर सहभागिता जनाए तीनै तहले डेंगी नियन्त्रणसम्बन्धी आवश्यक कार्यक्रम डेंगी सङ्क्रमण र यसबाट मृत्यु हुने दर पनि कम गर्न सकिन्छ । डेंगी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो । डेंगीबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । यसबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्याङ्की पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्नाले पानी जम्मा गरी राखिएका पानीको ट्याङ्की, ड्रम, गाग्री, बाल्टिनलाई लामखुट्टे छिर्न नपाउने गरी राम्रोसँग छोपेर राख्ने, आफ्नो घर वरपर, कार्यस्थल र सार्वजनिक स्थानमा फाएिका काम नलाग्ने भाँडाकुँडा, सिसी, बोतल, टिका बट्टा, प्लास्टिकजन्य वस्तुहरु तथा पानी जन्म नसक्ने अन्य भाँडा तथा सामग्रीलाई पानी नजम्ने गरी व्यवस्थापन गर्न विज्ञको आग्रह छ ।