कोरोनाको बेला चर्चामा आएका डा. देवकोटा बने स्वास्थ्य सचिव, मन्त्री पौडेलको प्रयास सफल
काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा.विकास देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । स्वास्थ्यमन्त्री प्रदीप पौडेलको जोडबलमा उनी स्वास्थ्य सचिव बनेका हुन् । स्वास्थ्य सचिव सिफारिस समितिले डा. देवकोटासहित डा.संगीता कौशल मिश्र र डा. टंक बाराकोटीको नाम सिफारिस गरेको थियो । डा. देवकोटा कोरोनाको समयमा निकै चर्चामा आएका थिए । कोरोनाको संक्रमितको विषयमा दैनिक भिडियोमार्फत् सूचना दिएर उनी सर्वसाधारणका माझ परिचित बनेका थिए ।
आम्दानी बढाउँदै औषधी उद्योग, आईपीओबाट पब्लिक बनाउने उद्योगीको रणनीति
काठमाडौं । नेपाली औषधी उद्योगले बर्सेनि सन्तोषजनक आम्दानी गरेको देखिएको छ । विभिन्न सार्वजनिक प्लेटफर्महरूमा उद्योगीहरूले व्यवसाय नहुँदा आफूहरू समस्यामा परेको गुनासो गर्दै आइरहेको भए पनि तथ्यांकले भने प्रत्येक वर्ष आम्दानी बढ्दै गरेको देखिएको हो । हाल ६ दर्जन औषधी उद्योग सञ्चालन भएपनि हामीले १० वटा उद्योगको वित्तीय विवरणलाई नमुनाको रूपमा लिँदा सबैको आम्दानी बढेको देखिएको हो । सन् २०२४ मा दुईवटा औषधी उद्योगको वित्तीय विवरण सार्वजनिक नहुँदा २०२४ र २०२३ को आम्दानीको तुलना गर्दा ८ वटा उद्योगको आम्दानीलाई औसतमा गणना गरिएको छ । ८ वटा फर्मास्युटिकल्स उद्योगले २०२४ मा कुल ८ अर्ब ३८ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेका छन् । जुन २०२३ को तुलनामा ६.७९ प्रतिशत बढी हो । २०२३ मा ती उद्योगले कुल ७ अर्ब ८४ करोड ६० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेका थिए । ती उद्योगहरूले २०२२ मा कुल ७ अर्ब २५ करोड ३० लाख रुपैयाँ, २०२१ मा ६ अर्ब ४ करोड ९० लाख र २०२० मा ५ अर्ब ३९ करोड ५० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको तथ्यांकबाट देखिन्छ । २०२० को तुलनामा २०२४ मा ५५.३० प्रतिशतले आम्दानी बढेको देखिन्छ । देउराली फर्मास्युटिकल्स देउराली फर्मास्युटिकल्स नेपालको पुरानो औषधी उद्योग हो । १९९१ मा स्थापना भएको यस उद्योगले औषधी उत्पादनमा पृथक किसिमको पहिचान बनाएको छ । यस उद्योगले मुटु तथा उच्च रक्तचाप (कार्डियोभास्कुलर), मधुमेह (डायबेटिक), स्त्री तथा बाल स्वास्थ्य (गाइनोकोलोजी र चाइल्ड केयर), पेट तथा कलेजो सम्बन्धी (ग्यास्ट्रोलोजी र हेपाटोलोजी), छाला रोग (डर्माटोलोजी) लगायत विभिन्न रोगहरूका औषधिहरू उत्पादन गर्दै आएको छ । यो कम्पनीले अहिले विभिन्न वर्गका २५० भन्दा बढी उत्पादनहरू बजारमा पठाइरहोके छ । यो कम्पनीको अध्यक्ष हरिभक्त शर्मा हुन् । यो औषधी उद्योगले सन् २०२४ मा २ अर्ब २ करोडको सञ्चालन आम्दानी गरेको छ । उद्योगले सन् २०२३ मा १ अर्ब ८६ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यो एक वर्षको अवधिमा उद्योगको आम्दानी ८.४२ प्रतिशतले बढेको छ । यस उद्योगले सन् २०२२ मा १ अर्ब ७० करोड ५० लाख, सन् २०२१ मा १ अर्ब ४६ करोड ९० लाख र सन् २०२० मा १ एक अर्ब १९ करोड ६० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको थियो । यस उद्योगको आम्दानी प्रत्येक वर्ष बढेको देखिन्छ । यो पाँच वर्षको अवधिमा यस उद्योगको आम्दानी ६८.८८ प्रतिशतले बढेको तथ्यांकले देखाउँछ । एशियन फर्मास्युटिकल्स सन् १९९७ मा स्थापित एसियन फार्मास्युटिकल्सले पनि विभिन्न प्रकारका औषधिहरू उत्पादन गर्दै आएको छ । यस उद्योगले एन्टिबायोटिक्स, पेट तथा पाचन प्रणालीसम्बन्धी (एसिड स्राव रोक्ने औषधी), अर्टो (युरिक एसिडसम्बन्धी, दुखाइ कम गर्ने र सूजन निरोधक), दम (अस्थमा) सम्बन्धी, एन्टी-एलर्जिक, भिटामिन तथा पशुचिकित्सासम्बन्धी औषधीहरू उत्पादन गर्दै आएको छ । यो कम्पनीका अध्यक्ष तथा प्रवन्धक निर्देशक हुतानन्द खनाल हुन् भने शंकर घिमिरे कार्यकारी निर्देशक हुन् । यो कम्पनीको सबैभन्दा ठूलो सेयरधनी खगिसरा घिमिरे हुन् । जसको स्वामित्व करिब १०.३ प्रतिशत रहेको छ भने बाँकी स्वामित्व २१ जना अन्य व्यवसायीको छ । यस उद्योगले पनि पछिल्लो समय आम्दानी बढाउँदै लगेको छ । यो कम्पनीले २०२४ मा २ अर्ब १७ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । सन् २०२३ को तुलनामा यस उद्योगको आम्दानी ७ प्रतिशतले बढेको छ । यस उद्योगले २०२३ मा कुल १ अर्ब ८८ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यो उद्योगले २०२२ मा १ अर्ब ६७ लाख, २०२१ मा १ अर्ब ३५ करोड र २०२० मा १ अर्ब २४ करो १० लाख रुपैयाँको आम्दानी गरेको थियो । यो पाँच वर्षको अवधिमा ६२.५३ प्रतिशतले उद्योगको आम्दानी बढेको छ । यस उद्योगको सञ्चालन नाफा पनि प्रत्येक वर्ष बढेको तथ्यांकबाट देखिन्छ । २०२० मा ११.२ प्रतिशत सञ्चालन नाफा रहेको यस उद्योगको २०२४ मा १७.४ प्रतिशत नाफा देखिएको छ । क्वेस्ट फार्मास्युटिकल्स क्वेस्ट फार्मास्युटिकल्सले कार्डियोवास्कुलर, मधुमेह, छालाका रोग र हाइपोलिपिडेमिक रोगहरू सहित अन्य विभिन्न प्रकारका सामान्य र विशेष औषधीहरू उत्पादन गर्दै आइरहेको छ । हाल यो उद्योगले एक सयभन्दा बढी औषधीहरू उत्पादन गर्दै आएको छ । यो कम्पनीमा उमेश लाल श्रेष्ठ, पृथ्वीराज भण्डारी, उत्तम कुमार श्रेष्ठ र शैलेन्द्र प्रसाद वर्माले ४५ पतिशत लगानी गरेका छन् भने बाँकी हिस्सा उनीहरूको परिवारका सदस्यहरू र व्यापार साझेदारहरूको छ । श्रेष्ठले यो उद्योगको नेृत्व गर्दै आएका छन् । यो उद्योगले २०२४ मा २ अर्ब १० करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । जुन आम्दानी ०२३ को तुलनामा १७.२८ प्रतिशत कम हो । यस उद्योगले २०२३ मा २ अर्ब ५४ करोड ३० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको थियो । यो उद्योगले २०२२ मा २ अर्ब ३२ करोड २० लाख, २०२१ मा १ अर्ब ९५ करोड र २०२० मा १ अर्ब ८० करोड १० लाख रुपैयाँको सञ्चालन आम्दानी गरेको थियो । विगतका वर्षमा निरन्तर आम्दानी बढाउँदै गएको यो उद्योग २०२४ भने केही खस्किएको छ । यद्यपि, २०२० को तुलनामा २०२४ मा यस उद्योगको आम्दानी १६.७७ प्रतिशतले वृद्धि भएको छ । उसो त उमेशलाल श्रेष्ठका हरेक व्यवसाय पछिल्लो समय सुस्ताएका छन् । उनको व्यक्तिगत व्यावसायिक सुस्सताको प्रभाव यस उद्योगमा पनि परेको तथ्यांकले देखाउँछ । हुकुम फर्मास्युटिकल्स सन् १९९६ मा स्थापित यो औषधी उद्योगले ट्याब्लेट, क्याप्सूल, सिरप, सस्पेन्सन र ड्राई सिरपको रूपमा फार्मास्युटिकल डोजहरू उत्पादन गर्दै आएको छ । हाल यो उद्योगले २६ किसिमका औषधी उत्पादन गर्दै आइरहेको छ । एचसी दुगर ग्रुपको मुख्य लगानी रहेको यस उद्योगका मुख्य सेयरधनी विजयकुमार दुगर हुन् । यो उद्योगले २०२४ मा ७० करोड ८० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ । जुन २०२३ को तुलनामा ८८.२९ प्रतिशत बढी हो । यो उद्योगले २०२३ मा ३७ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यस्तै, २०२२ मा ३४ करोड ६० लाख, २०२१ मा ३९ करोड ९० लाख र २०२० मा ३९ करोड १० लाख रुपैयाँ बराबरको आम्दानी गरेको थियो । यो पाँच वर्षको अवधिमा यस उद्योगको सञ्चालन आम्दानी ८१ प्रतिशतले बढेको देखिएको छ । प्राइम फर्मास्युटिकल्स २०१६ स्थापना भएको प्राइम फर्मास्युटिकल्सको कार्यालय वीरगञ्ज पर्सामा रहेको छ । यो उद्योगले औषधी व्यवस्था विभागबाट १ सय १५ किसिमका विभिन्न औषधीहरूको उत्पादन तथा बिक्रीको लागि स्वीकृति लिएको छ । यस उद्योगमा अजय कुमार साहको ५९.३४ प्रतिशत सेयर स्वामित्व छ । उद्योगले २०२४ मा २ अर्ब ६१ करोडको आम्दानी गरेको छ । जुन २०२३ को तुलनामा ३१.८१ प्रतिशत बढी हो । यो उद्योगले २०२३ मा १ अर्ब ९८ करोड रकमको आम्दानी गरेको थियो । यस्तै, २०२२ मा ६ करोडको आम्दानी गरेको थियो भने २०२१ मा ९ करोड र २०२० मा ८ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यो पाँच वर्षको अवधिमा यस उद्योगको आम्दानी २२६ प्रतिशतले बढेको देखिन्छ । टाइम फर्मास्युटिकल्स यो औषधी उद्योग नेपालको पुरानो र स्थापित फर्मास्युटिकल कम्पनीहरूमध्ये एक हो । १९९४ मा स्थापना भई १९९७ देखि सञ्चालनमा आएको थियो । यो उद्योगले एण्टीकोल्ड एन्टिबायोटिक, सप्लिमेन्ट्स, एनाल्जेसिक र एन्टिडाइबेटिक लगायतका विभिन्न २०० औषधीहरु उत्पादन गर्दै आएको छ । यस उद्योगको अध्यक्ष नारायणबहादुर श्रेत्री हुन् । यस उद्योगको मुख्य लगानीकर्ता राजु कर्माचार्य, झंकानाथ भट्ट र नारायण बहादुर क्षेत्री हुन् । अन्य व्यक्तिको पनि यस उद्योगमा लगानी छ । २०२४ मा ९५ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको यस उद्योगले २०२३ मा ८२ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो । २०२३ को तुलनामा यस उद्योगको आम्दानी २०२४ मा १६.३० प्रतिशतले बढेको छ । यस उद्योगले २०२२ मा ९९ करोड, २०२१ मा ७९ हरोड १० लाख र २०२० मा ६८ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो । २०२० को तुलनामा यस उद्योगले २०२४ मा ३९.६९ प्रतिशत आम्दानी बढेको छ । टाइम फर्मास्युटिकल्सले बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासनका प्रक्रिया पनि अगाडि बढाएको छ । कम्पनीले नबिल इन्भेस्ष्टमेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । कान्तिपुर फर्मास्युटिकल्स कान्तिपुर फर्मास्युटिकल्स नेपालमा रहेको पशु औषधी कम्पनी हो । यो उद्योगले एलोपाथिक पशु चिकित्सा औषधीहरू, जनावरको पोषण, चारा थपकर्ताहरू, फाइटो चारा थपकर्ताहरू र अन्य जनावर लगातका लागि औषधी उत्पादन गर्दै आएको छ । नेपालमा २ दशकभन्दा बढी समयदेखि भेटरीनरी औषधी उत्पादन तथा बिक्री गर्दै आएको छ । यो उद्योगले काभ्रेको पाँचखाल- ७ मा स्थित एक प्लान्टमा पशु चिकित्सा औषधीहरू उत्पादन गर्दै आएको छ । यस उद्योगले २०२४ मा २२ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ । जबकि यो भन्दा अघिल्लो वर्ष यसको आम्दानी १६ करोड थियो । यो एक वर्षको अवधिमा यस उद्योगको आम्दानी ४१ प्रतिशतले बढेको छ । यस्तै, २०२२ मा यो कम्पनीले १५ करोडको आम्दानी गरेको थियो । यो तीन वर्षको अवधिमा भने उद्योगको आम्दानी ५१.३३ प्रतिशत बढेको छ । यस कम्पनीले कुल चुक्ता पूँजीको १४.८६ प्रतिशत सर्वसाधारणका लागि साधारण सेयर निष्काशन गर्ने तयारी पनि अगाडि बढाएको छ । कम्पनीले ११ लाख कित्ता साधारण सेयर सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो । ओम मेगा श्री फार्मास्युटिकल्स यो फर्मास्युटिकल चितवनको जुगेडीमा अवस्थित छ । विदेशबाट स्वदेश फर्किएर पर्वतका अर्जुन श्रेष्ठले यो आषधी उद्योग सञ्चालनमा ल्याएका हुन् । आयातित् औषधीको प्रयोगको गुणस्तर र चर्को मूल्यको मारमा नागरिक परेको भन्दै अर्जुनले आयात भइरहेका औषधी रोकी विदेशमा निर्यात गर्ने उद्देश्यले यो उद्योग सञ्चालनमा ल्याएको छन् । गत वर्षदेखि सञ्चालनमा आएको यो उद्योगले २०२४ मा करिब ९ करोड सञ्चालन आम्दानी गरेको छ । श्रेष्ठले देशविदेश घुमेको अनुभवले नेपालमा औषधी उत्पादन गरी निर्यात गर्ने लक्ष्य बनाएका छन् । ‘यो यो औषधी निर्यात गर्छौं भन्ने छैन तर त्यहाँको बजार त्यहाँका स्थानीय राज्यको, स्थानीय विभागको नीतहरू के के छन् भन्ने कुरामा हामी अध्ययन गरिरहेका छौँ, कुन राज्यमा कुन औषधी जान सक्छ भन्ने सन्दर्भमा केही समय लाग्न सक्छ,’ श्रेष्ठले प्रष्ट पारे । उनको उद्देश्य अधिकतम औषधी बाहिर जान सकोस् भन्ने रहेको छ । उनले यो फार्मा उद्योगमा बनाउँदाखेरि पनि युरोपियन स्ट्यान्डर्ड पनि मेन्टेन गर्ने तरिकाले गरेको बताए । उनले देशमा औषधी उद्योगको सम्भावना पनि राम्रो रहेको सुनाए । उनका अनुसार यो उद्योग पनि आईपीओ निष्कासनको प्रक्रियामा छ । सोपान फर्मास्युटिकल्स सोपान फर्मास्युटिकल्स अहिले पब्लिक कम्पनीका रुपमा काम गरिरहेको छ । २००९ मा स्थापना भएको यो कम्पनीले १०२ प्रकारका औषधि उत्पादन अनुमति पाएको छ भने ५१ प्रकारका औषधि बजार व्यवस्थापनको अनुमति लिएर काम गरिरहेको छ । यो उद्योगले पनि आईपीओको निश्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । यस उद्योगले २०२३ मा १४ करोड रुपैयाँ, २०२२ मा ४ करोड र २०२१ मा ६ करोड १० लाख रुपैयाँ सञ्चालन आमद्यानी गरेको थियो । यो तीन वर्षको अवधिमा उद्योगको आम्दानी बढ्दै गएको छ । यस उद्योगको अध्यक्ष डा. अनिल पोखरेल हुन् । अकर्ड फर्मास्युटिकल्स अकर्ड फर्मास्युटिकल्स नेपाली औषधी उद्योगमा नयाँ उद्योग हो । २०१३ मा स्थापना भएको यो उद्योगले २०२१ मा पब्लिक कम्पनीमा रूपान्तरण भएको थियो । अहिले यो उद्योग पनि आईपीओ निष्कासन गर्ने प्रक्रियामा छ । काठमाडौंको तीनकुनेमा कार्यालय रहेको यस उद्योगको कारखाना भने ललितपुरमा छ । डा. किरणराज पाण्डेले उद्योगको नेतृत्व गरिरहेका छन् । उनको यस उद्योगमा ०.६ प्रतिशत सेयर छ । बाँकी सेयर २१ जना व्यक्ति तथा संस्थाको रहेको छ । यस उद्योगले पनि २०२३ मा ११ करोड रुपैयाँ आम्दानी गरेको थियो भने २०२२ मा ५ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । एक वर्षको अवधिमा यस उद्योगको आम्दानी १०२ प्रतिशतले बढेको तथ्यांकले देखाउँछ । कुनै बेला विदेशी औषधको दबदबा रहेको नेपाली बजारमा अहिले ४० हिस्सा स्वदेशी उद्योगले ओगटेका छन् । ६० प्रतिशत हिस्सा अझै पनि आयातको छ । उद्योगीहरू आयातलाई प्रतिस्थापन गरेर निर्यात गर्ने योजनाका साथ काम गरिरहेका छन् । नेपाली उद्योगहरूले देशलाई आवश्यक पर्ने करिब ७० प्रतिशत औषधि उत्पादन गर्ने क्षमता राख्ने भए पनि सरकारले स्वदेशी उद्योगका उत्पादनलाई टेवा पुग्ने नीति अवलम्बन नगर्दा समस्या भइरहेको गुनासो उद्योगीहरूको छ । नेपालमा ६५ अर्बको औषधीको बजार रहेको उद्योगीहरू बताउँछन् । नेपालमा वार्षिक ४० अर्ब हाराहारीको औषधी आयात हुने गरेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि करिव ४ अर्ब रुपैयाँ थप निकासा
काठमाडौं । अर्थ मन्त्रालयले स्वास्थ्य बीमाको भुक्तानीसहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरुका लागि थप ३ अर्ब ८४ करोड रुपैयाँ निकासा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मागका आधारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त रकम निकासा निर्णय गरेका हुन् । जसमा स्वास्थ्य बीमा बोर्डलाई ३ अर्ब रुपैयाँ, ज्येष्ठ नागरिकहरुको उपचारलगायतका लागि ६० करोड रुपैयाँ र मुटु रोगका बिरामीलाई निशुल्क उपचारका लागि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई २४ करोड रुपैयाँ रहेको छ ।