जेनजी आन्दोलनका ३० घाइते अझै अस्पतालमा

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न अस्पतालबाट लिएको पछिल्लो विवरणअनुसार जेनजी आन्दोलनका क्रममा घाइते भएका ३० जनाको उपचार भइरहेको छ । सिभिल अस्पतालमा एक जना, राष्ट्रिय ट्रमा सेन्टरमा १० जना, काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा तीन जना, त्रिवि शिक्षण अस्पतालमा पाँच जना, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जना, नेपाल प्रहरी अस्पतालमा एक जना र कीर्तिपुर अस्पतालमा एक जना उपचाररत छन् । यसैगरी बी एन्ड बी अस्पतालमा तीन जना, विराट मेडिकल शिक्षण अस्पतालमा एक जना, नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा एक जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना गरी कुल ३० जना उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले विभिन्न स्वास्थ्य संस्था तथा प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रहरूसँग सम्पर्क एवं समन्वय गर्दा प्राप्त पछिल्लो विवरण सार्वजनिक गरेको हो । मन्त्रालयले सार्वजनिक गरेको जानकारीअनुसार उपचारका लागि आएका घाइतेहरूको सङ्ख्या दुई हजार ३१६ रहेको छ जसमा उपचारपश्चात् दुई हजार २३८ जना ‘डिस्चार्ज’ भइसकेका छन् ।  त्यसैगरी अस्पतालमा आएकारमृत्यु भएका कुल सङ्ख्या ४९ रहेको छ । अस्पतालहरूमा २०८२ असोज १२ गतेदेखि हालसम्म जेनजी क्लिनिकमार्फत सेवा प्राप्त गरेका घाइतेहरूको सङ्ख्या भने नौ जना रहेको छ ।   

ग्रामीण अस्पतालमै सम्भव भयो जटिल प्रसूति, आमा र शिशु सुरक्षित

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा रहेको आधारभूत अस्पतालमा गर्भमै उल्टो भएर निसास्सिदा जटिल अवस्थामा जन्मिएका नवजात शिशुको सफल प्रसूति गराइएको छ । मालिका गाउँपालिका–४ ओखरबोटकी १७ वर्षीया किशोरी सुत्केरी बेथा सुरु भएको सात घण्टापछि शुक्रबार बिहान १०ः३० मा मालिका गाउँपालिकाले सञ्चालन गरेको अस्पतालमा आएका थिए । ती किशोरी पहिलोपटक आमा बनेकी हुन् । अस्पतालका सूचना अधिकारी जनस्वास्थ्य निरीक्षक यमन नेपालीका अनुसार पहिलोपटक सुत्केरी भएकी किशोरीको ३७ हप्ता एक दिनको गर्भमा शिशु उल्टो अवस्थामा थियो । आमाको उमेर कम र गर्भ उल्टो भएकाले आमा र शिशुको जीवन जोखिममा रहेको थियो । गर्भ उल्टो हुँदा शिशु जन्मँदा टाउको अड्किएको र जन्मिँदा निसास्सिएर शरीर नीलो भएको थियो । 'शिशु उल्टो भएको र पूरै घर खुुलिसकेको रिफर गर्दा थप समस्या हुने देखेर जोखिम मोलेरै भए पनि सुत्केरी गराउन ढिलाइ गर्न नहुुने निर्णय लियौँ', उनले भने, 'निसास्सिएर शरीर नीलो, मुटुको घड्कनको गति १०० भन्दा कम, स्वासप्रस्वासको दर न्यून भएको र शरीर पनि नचल्ने अवस्थामा जन्मिएको शिशुलाई करिब दुई घण्टाको प्रयासमा सामान्य अवस्थामा फर्कायौँ ।' जनस्वास्थ्य निरीक्षक नेपाली र सिनियर अनमी दीपा परियारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ बालरोग विशेषज्ञ डा रामचन्द्र बास्तोला र बेनी अस्पतालका चिकित्सकहरूको परामर्श तथा निर्देशनमा प्रसूति गराएका हुन् । 'जटिल अवस्थामा जन्मिएको शिशुलाई डा बास्तोलाको अनलाइन परामर्शको आधारमा हरसम्भव उपचार प्रयास गरियो', नेपालीले भने, 'ब्याग एण्ड मास्क’को सहायताले करिब १२र१३ पटक हावा दिएपछि शिशुको ओठ पनि गुलाबी हुँदै रुन थालेपछि खुसीको सीमा रहेन ।' स्वास्थ्यकर्मी तथा चिकित्सकहरूका अनुसार गर्भमा उल्टो भएका र निसास्सिएर जन्मिएका शिशुलाई बचाउन कठिन हुन्छ । वीरलै मात्र नवजात शिशुलाई बचाउन सकिन्छ । सहरका सुविधा सम्पन्न अस्पतालमा यस्तो अवस्था शल्यक्रियामार्फत प्रसूति गराइन्छ । ग्रामीण क्षेत्रमा रहेको दरवाङ अस्पतालका स्वास्थ्यकर्मीहरूले सीमित स्रोत र साधनका बाबजुत जटिल किसिमको प्रसूति सेवा दिएका हुन् । शिशुको तौल दुई किलोग्राम ५०० ग्राम छ । हाल आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य छ । थप निगरानी तथा व्यवस्थापनको लागि बेनीमा रहेको प्रदेश अस्पतालमार्फत पोखरा पठाइएको जनस्वास्थ्य निरीक्षक नेपालीले बताए । रासस  

५ वर्षमा झण्डै १५ लाख व्यक्तिको आँखा उपचार

काठमाडौं । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित रुपन्देहीको भैरहवास्थित श्री रण अम्बिका शाह आँखा अस्पतालबाट पाँचवर्षको अवधिमा झण्डै १५ लाख बिरामीले उपचार सेवा लिएका छन् । आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्ममा १४ लाख ७७ हजार १७४ जनाको आँखाको उपचार भएको अस्पताले जनाएको छ । अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेयका अनुसार आव २०७७/७८ मा १ लाख ५३ हजार ५३३, २०७८/७९ मा २ लाख ८२ हजार २३७, २०७९/८० मा ३ लाख २८ हजार ८४०, २०८०/८१ मा ३ लाख २९ हजार ५११ र २०८१/८२ मा ३ लाख ८३ हजार ५३ जनाको उपचार गरिएको हो । अस्पतालको तथ्याङ्कअनुसार उपचारका लागि आउनेको सङ्ख्या क्रमशः वृद्धि हुँदै गएको देखिन्छ । त्यस्तै आर्थिक वर्ष २०८१/८२ मा २८ हजार ७६१ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको सो अस्पतालका सहव्यवस्थापक तुल्सीप्रसाद पराजुलीले जानकारी दिए । यसैगरी, आँखाको पर्दा फाटेका, आँसु आउने नली र आँखाको डेढोपनको समस्या झेलिरहेका १० हजार ६०६ जनाको शल्यक्रिया गरिएको सह-व्यवस्थापक पराजुलीले बताए । उनका अनुसार उल्लिखित सेवा लिन आउनेमा ५० प्रतिशतभन्दा बढी नेपाली रहेको छन् ।   सो अस्पतालले गत वर्षदेखि नाक, कान तथा घाँटीरोग (इएनटी) विशेषज्ञ सेवासमेत प्रदान गर्दै आएको पराजुलीले जानकारी दिए । उनका अनुसार हालसम्म आठ हजार बढीले यो सेवा लिइसकेका छन् । विसं २०४० सालदेखि सञ्चालनमा आएको यस अस्पतालले नेपालका विभिन्न जिल्लासँगै भारतीय बिरामीलाई समेत सेवा दिँदै आएको छ । यसैगरी सो अस्पतालले विभिन्न स्थानमा निःशुल्क आँखा परीक्षण शिविरसमेत सञ्चालन गर्दै आएको सूचना अधिकारी पाण्डेयले जानकारी दिए ।