लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने

सिरहा । लहान नगरपालिका–४ मा पाँच सय शय्याको मुटु र मधुमेह रोगको सुविधासम्पन्न अस्पताल बन्ने भएको छ । नेपाल हृदय रोग निवारण सङ्घद्वारा जर्मनीको ‘नेपाल मेड जर्मनी’ र ‘रोटरी क्लब कटुस’ नामक दुई अन्तरराष्ट्रिय गैरसरकारी संस्थाको दुई अर्ब रुपैयाँ आर्थिक सहयोगमा निर्माण प्रक्रिया सुरु गरिएको अस्पतालका ‘कन्सल्टेन्ट फिजीसियन’ डा सञ्जयप्रसाद साहले जानकारी दिए । डा साहका अनुसार लहान नगरपालिकाले उपलब्ध गराएको ११ बिघा जग्गामा अस्पताल बन्ने छभने यसको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । ‘आगामी पाँच वर्षभित्र अस्पताल निर्माण गरिसक्ने लक्ष्य छ,’ उनले भने । नगरपालिकाले उपलब्ध गराएको सार्वजनिक जग्गामा तत्काललाई दुईवटा भवन निर्माण गरी गत माघ ४ गतेबाट ओपिडी सेवा सञ्चालन गरिसकिएको छ, जसको सोमबार औपचारिक उद्घाटन भइसकेको छ । लहान नगरप्रमुख महेशप्रसाद चौधरी र विश्वप्रसिद्ध मुटु शल्यचिकित्सक डा कुमुद धितालले संयुक्त रूपमा उक्त नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा नगरप्रमुख चौधरीले लहानमा ‘कार्डियो र डाइवेटिक सेन्टर’ सञ्चालनमा आउनु लहानका लागि एउटा गौरवको आयोजना भएको बताए । अस्पताल बनिसकेपछि उपचारका लागि धरान, विराटनगर र काठमाडौं जानुपर्ने बाध्यताबाट मुक्ति मिल्ने उनले विश्वास व्यक्त गरे ।

नेपाल प्रहरी अस्पतालमा अब पीजी अध्ययन गर्ने चिकित्सकको कोटा थप्ने गरी न्याम्ससँग सम्झौता

काठमाडौं । नेपाल प्रहरी अस्पतालमा स्नातकोत्तर (पीजी) अध्ययन गर्ने चिकित्सक तथा नर्सको कोटा थपिएको छ । चिकित्सा अध्ययन प्रतिष्ठान न्याम्स र नेपाल प्रहरी अस्पतालबीच यससम्बन्धमा सम्झौता भएको छ । हाल एक सय २७ जनाले चिकित्सक तथा नर्सिङमा पीजी अध्ययन गर्दै आइरहेकामा आवश्यक फ्याकल्टी थप गर्न दुई पक्षबीच सम्झौता भए पछि अब यो संख्या दुई सय ५० पुग्ने भएको छ । सहकुलपति स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अध्यक्षताको न्याम्स कार्यकारी बैठकले हालै यससम्बन्धी निर्णय गरेको थियो । सोही आधारमा मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा यससम्बन्धी सम्झौता भएको हो । मन्त्री पौडेलले दक्ष चिकित्सा जनशक्ति उत्पादन वृद्धि गर्नका लागि स्नातकोत्तर कोटा बढ्ने गरी फ्याकल्टी थप गर्न भने पछि न्याम्सले थप गर्ने निर्णय गरेको थियो । अब सम्झौताअनुसार न्याम्सले नेपाल प्रहरी अस्पतालमा फ्याकल्टी थपको अनुमति दिएको छ । अस्पतालको विकासमा समेत सघाउने न्याम्सले सम्झौता गरेको छ । प्रहरी अस्पतालले भने रेजिडेन्टलाई चिकित्सा विद्यार्थीलाई सरकारी नियमानुसार भत्ता उपलब्ध गराउने सम्झौता गरेको छ । सम्झौतामा नेपाल प्रहरी अस्पतालका तर्फबाट मेडिकल निर्देशक एआइजी डा. सुन्दरप्रसाद ह्योजु तथा न्याम्सका तर्फबाट रेक्टर प्राडा लोचन कार्कीले हस्ताक्षर गरेका थिए । सम्झौताका लागि आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले देशमै दक्ष चिकित्सकको अभाव पूर्ति गर्न विद्यार्थी कोटा थप गर्ने गरी निर्णय भएकामा हालसम्म चार सय पीजी विद्यार्थी थप अध्ययन गर्ने वातावरण बनेको बताए। यस सम्झौताले थप दक्ष चिकित्सक उत्पादन हुने वातावरण तयार पार्ने उनले विश्वास व्यक्त गरे । कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर तथा न्याम्सका उपकुलपति प्राडा भुपेन्द्र बस्नेत समेतलगायत उपस्थित थिए ।

विभिन्न स्वास्थ्य संस्थाका विभाग प्रमुख हेरफेर

काठमाडौं । सरकारले स्वास्थ्यका विभिन्न विभागका प्रमुख हेरफेर गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले मन्त्री स्तरीय निर्णय गर्दै प्रमुख हेरफेर गरेका हुन् । जसमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को निर्देशकमा डा चन्द्रभाल झालाई नियुक्त गरिएको छ भने, यस अघिका निर्देशक यदुचन्द्र घिमिरेलाई हेटौडा स्थित किटजन्य रोग अनुसन्धान केन्द्रको प्रमुख बनाएर पठाइएको छ । डा. झा कोशी अस्पतालका पुर्व निर्देशक हुन् । परोपकार प्रसुती गृह थापाथलीको निर्देशकमा डा एन्जीला घिमिरेलाई नियुक्त गरिएको छ । यस्तै गजेन्द्रनारायण सिं स्वास्थ्य विज्ञान प्रतिष्ठानक प्रमुखमा डा किरण मणि पौडेललाई दिइएको छ । यस्तै मन्त्री पौडेलले ६ जना चिकित्सकलाई पनि पदस्थापन गरिएको छ ।