जसले आफ्नो कलेजोको टुक्रा काटेर बुवाको प्राण जोगाए

काठमाडौं । ‘बेलाबेला हातखुट्टा झमझम हुन्छ अनि एलर्जी जस्तै पनि हुँदो रहेछ, अरू त सबै नर्मल भइसक्यो, तर अझै बेडरेस्टमा छु,’ बिहीबार नेपाल मेडिसिटी अस्पतालमा भेटिएका आयुष कार्कीले भने ।  आयुष जसले आफ्नो कलेजाको टुक्रा काटेर बुवाको कलेजोमा जोडेका छन् । उनैको कलेजोले बुवाको प्राण जोगिएको छ । २४ दिन अगाडि बिना हिचकिचाहट आयुषले यो कदम नचालेका हुँदा हुन् सायद उनले बुवा गुमाइसक्नुपर्थ्यो । आफ्नै अङ्गले बुवाको प्राण जोगिँदा उनी निकै खुसी छन्।  भन्छन्, ‘बुवाले दिएको यो जीवन बुवाकै लागि चाहिन्छ भने हरेक अंग दिन तयार छु, जसले कलेजको टुक्रा भन्दै हुर्काए, त्यही टुक्राले आमाको सिन्दुर र बुवाको श्वास जोगाउन पाउनु मेरा लागि सबैभन्दा खुसी हो । सबै सन्तान यस्तै हुँदैनन्, कसैले चाहेर पनि गर्न सक्दैनन्, कसैको चाहना नै हुँदैन । धेरैमध्ये कमै सन्तान आयुषजस्तै भाग्यमानी बन्न सक्छन्, जो आफ्ना बाआमाको लागी शरीर चिरेर दिन तयार हुन्छन् ।  आयुषको घर पोखरा हो । उनी अहिले २६ वर्षका भए । आजभन्दा सात वर्षअघि उनका बुवा ५६ वर्षीय ईश्वर कार्कीको कलेजोमा समस्या देखिएपछि आयुषले आफ्नो अङ्ग दिने निर्णय गरेका थिए । ईश्वर अहिले मेडिसिटी अस्पतालमै आराम गरिरहेका छन् । व्यक्तिको शरीर यस्तो चतुर हुन्छ कि उसलाई आफ्ना र अरूको अंग मजाले छुट्याउन सक्छ । अरूको अंगलाई आफ्नो अंगसम्म मिसाउन समय लाग्छ । त्यो बेलासम्म प्रायः बिरामी चिकित्सकको निगरानीमा बस्नुपर्छ ।   आयुष बुवाआमा खुसी भएकोमा निकै हर्षित छन् । भन्छन्, ‘ ‘बुबाको आँखामा हेर्छु आँसु र हाँसो सम्मीश्रण पाउँछु, आमाको अनुहारमा हेर्छु उस्तै देख्छु, ७ वर्षको प्रयासपछि हाम्रो परिवारमा खुसी फर्किएको छ,’ उनले भने । उनी घरको जेठो सन्तान हुन् । उनका एक भाइ छन् । पोखरा विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेका उनले बुवाको उपचारका लागि पढाइ छोड्नुपर्‍यो ।  ७ वर्ष अगाडिको त्यो घटना ७ वर्ष अघि माघ २५ गते आयुषको परिवार चितवन घुम्न गयो । पोखराबाट चितवन जाँदा ईश्वरले नै गाडी चलाएका थिए । घुमेर फर्किने बेलामा ईश्वरलाई असहज महसुस भयो । पटकपटक  बान्ता हुन थाल्यो । गाडी आयुष आफैले चलाएर घर फर्के । त्यो दिन अस्पताल नगई घरमै आराम गरे । ईश्वरलाई विस्तारै फरक लक्षण देखापर्न थाल्यो । उनले मोबाइल हातमा हुँदा कता गयो भन्न थाले, गाडी पार्किङमै हुँदा पनि खोइ कता छ ? भनेर सोध्न थाले । उनका क्रियाकलापले सबैजना छक्क परे । त्यसपछि उनलाई पोखराको ग्यालेक्सी अस्पतालमा लगियो । त्यहाँ जाँच गर्दा उनलाई सिरोसिस रोग लागेको पत्ता लाग्यो जुन कलेजोको खराबीका कारण भएको हो ।  ईश्वरले समस्या निदान हुँदा रोग तेस्रो चरणमा पुगिसकेको थियो । त्यही भएर डाक्टरहरूले छिटै उपचार गर्न सल्लाह दिए । त्यसपछि आयुषले ढिलो नगरिकन बुवालाई ललितपुरको नक्खुमा रहेको अस्पतालमा ल्याए । आयुषलाई उपचार गर्दा ठिक भइहाल्छ होला भन्ने लाग्यो । अस्पताल ल्याएर उपचार गरी औषधी खाँदा ठीक भएजस्तै देखिन थाल्यो । यतिबेलासम्म पनि सामान्य नै लागेको थियो ।  एक–दुई महिना सञ्चो हुने फेरि समस्या हुनेक्रम बढ्दै गयो । यो क्रम लामै समसम्म चल्यो । काठमाडौं आऊजाऊ गरेको देख्दा धेरैजनाले आयुषलाई भारतमा गएर उपचार गर्न सल्लाह दिए । उनका आफन्तहरू भारतमा पनि थिए । अहिले पनि धेरैजसो नेपाली बिरामी हुँदा उपचारका लागि भारत नै जान्छन् । ईश्वरलाई पनि भारतमै लिएर उपचार गर्न गाउँ आफन्तहरूले सल्लाह दिए ।  ‘छिमेकी तथा आफन्तीको सल्लाहबमोजिम मैले बुवालाई लिएर बुवालाई  इण्डिया उपचार गर्न गएँ,’ उनले भने ।  आयुषले बुवालाई भारतको गंगाराम अस्पताल लगे । त्यहाँ जाँच गर्दा चिकित्सकले कलेजो प्रत्यारोपण गर्नुपर्ने उल्लेख गर्दै तत्कालै नगरे पनि हुने जानकारी दिए ।  नेपालमा गएर काजगपत्र बनाएर बिस्तारै आउनु भन्दै फर्काइदियो ।  नेपाल फर्किसकेपछि ६ महिनासम्म ईश्वर निको भयो । फेरि ६÷७ महिनापछि उस्तै समस्या सुरु भयो । आयुषले फेरि मेडिसिटी अस्पताल ल्याए । धेरै समय नेपाल अनि भारतका अस्पताल धाउने क्रम चलिरह्यो । फेरि आफन्तहरूले भारतको अपोलो अस्पताल पनि राम्रो भन्दै एक पटक त्यहाँ जान सल्लाह दिए । आयुषले फेरि बुवालाई बोकेर भारत गए ।  त्यहाँ जाँदा फेरि अर्को तनाव थपियो । चिकित्सकले कलेजोमात्र नभइ मिर्गौला  पनि प्रत्यारोपण गर्नुपर्ने बताए । ‘अपोलोमा अर्को पीडा थपियो अनि नेपाल आएर सोच्नुपर्छ भन्दै घर फर्कियौं,’आयुषले भने । अनि भयो प्रत्यारोपण कहिले काठमाडौं, कहिले पोखरा, कहिले भारतका अस्पताल धाउँदा आयुष र आमाको बेहाल भइसकेको थियो । मेडिसिटीका चिकित्सकहरूको सल्लाहमा कलेजो प्रत्यारोपण गर्ने निर्णय भयो । कागजात मिलाउनु पर्ने प्रक्रिया उत्तिकै झन्झटिलो हुन्छ । अंग प्रत्यारोपण गर्न भने जति सजिलो छैन । परिवारभित्रैको अंग दिन चाहनेहरूले पनि चाहाना राखेरमात्र हुँदैन, यसका लागि रगतदेखि हरेक कुराहरू मिल्नुपर्ने हुन्छ ।  वडाको सिफारिस, पालिकाको सिफारिस, नाता प्रमाणीकरणदेखि लिएर हरेक कागजात तयार पार्नुपर्छ ।  ‘कागजात, रगत जाँच गर्न समय लाग्यो यो बीचमा बाबा पनि बिरामी भइरहनु भयोे, एकातिर प्रत्यारोपणको तयारी चलेको थियो अर्कोतिर बुवालाई आईसीयुमै राखेका थियौं, सारै नै तनावको अवस्था थियो,’ उनले भोग्नुपरेको पीडा सुनाए ।   यो तयारी गरिसकेपछि आयुषले आफ्नो स्वास्थ्यको पनि उत्तिकै हेरचाह गरे । चिकित्सकको सल्लाहपछि बल्ल जेठ ८ गते मेडिसिटी अस्पतालमा आयुषले आफ्नो कलेजेको टुक्रा काटेर बुवाको कलेजोमा जोडिदिए । १३ घण्टा लामो अप्रसेनपछि बाउ–छोराको अप्रेसन सफल भएपछि आमा र भाइको मुहारमा खुसी फर्कियो ।  चिकित्सकहरूले अंग प्रत्यारोपण जोखिम हुन सक्ने पहिल्यै भनेका थिए । तर बुवाका लागि जस्तोसुकै जोखिम लिन आयुष तयार थिए । भन्छन्, ‘मेरो आँट, बुवाको धैर्यता, आमाको मिहिनेत र चिकित्सकको प्रयासले ७ वर्षपछि बुवालाई कलेजो झिकेर दिन सफल भएँ ।’  सबैलाई यस्तो अवसर मिल्दैन आयुष आफ्नो शरीरको अंग चिरेर आफ्नै जन्मदातालाई दिने अवसर सबैलाई नमिल्ने बताउँछन् । यो मानेमा आफूलाई निकै भाग्यमानी भन्छन् । बुवालाई कलेजो दिने निर्णयले उनलाई धेरैले धेरैथरिका कुरा सुनाए । धेरैले सानै उमेर छ, अहिले नै अंग दिए भोलि के होला, बिहे पनि भएको छैन भन्नसमेत भने । तर उनले कसैका कुरा सुनेनन् । आफ्नो निर्णयमा अडिग रहिरहे । र अन्ततः बुवाको प्राण पनि बचाए । किड्नीको समस्या आफै निको शरीरका एक अर्को अंगको सम्बन्ध कति हुँदो रहेछ भन्ने कुरा ईश्वरमा देखिएको स्वास्थ्य समस्याले पनि थाहा हुन्छ । कलेजोमा खराबी आउँदा मिर्गौलामा समेत समस्या भएको भन्दै मिर्गौलासमेत प्रत्यारोपण गर्नुपर्ने अवस्था थियो।  कलेजो प्रत्यारोपण गरेसँगै अहिले मिर्गौलाले पनि काम गर्न थालेको छ । जति स्वस्थ हुँदा काम गर्थ्यो त्यो मात्रामा नगरेपनि तत्काल प्रत्यारोपण गर्नुपर्ने अवस्था नरहेको चिकित्सकको भनाइ छ । 

मेडिसिटी अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण सफल

काठमाडौं । नेपाल मेडिसिटी अस्पतालले पहिलो पटक सफल कलेजो प्रत्यारोपण गरेको छ । जेठ ६ गते पोखराका ५६ वर्षका ईश्वर बहादुर कार्कीको कलेजो प्रत्यारोपण सफल भएपछि पहिलो पटक प्रत्यारोपण सफल भएको अस्पतालले जनाएको छ ।  कार्कीलाई  उनका २६ वर्षिय छोरा आयुष कार्कीले कलेजो दिएका हुन् । भारतको प्रसिद्ध परोपकारी अस्पताल अमृता अस्पतालसंग सहकार्य गरि नेपाल मेडिसिटीका चिकित्सकहरुको नेतृत्वमा सफलतापूर्वक प्रत्यारोपण गरिएको बिहीबार पत्रकार सम्मेलन मार्फत जनाइएको छ । ‘यो हाम्रो लामो प्रयास हो, निकै मिहिनेतपछि हामी सफल भएका छौं, अब कलेजो प्रत्यारोपणका लागि नेपालीहरूले विदेश गइरहनु पर्दैन,’ डा. उमिद कुमार श्रेष्ठले भने । ग्यास्ट्रोइन्टेरोलोजी, हेपाटोलोजी तथा इन्डोस्कोपी विभागका प्रमुख तथा वरिष्ठ कन्सल्ट्यान्ट प्रोफेसर डा. श्रेष्ठ ६ वर्ष अगाडिदेखिको मिहिनेतले सफलता पाएको बताउँदै नेपाली स्वास्थ्य क्षेत्रकै लागि कोशेढुंगा सावित भएको बताए । श्रेष्ठका अनुसार कार्कीको कलेजो तथा मिर्गौला दुबै बिग्रिसकेको थियो । निकै जटिल स्वास्थ्य अवस्थामा रहेका उनको सफल कलेजो प्रत्यारोपण गरिएको छ । ‘उनको पेटमा पानी जम्ने, बेला बेलामा होस हराएको जस्तो हुने, रगत वान्ता हुने तथा बेहोस हुने जस्ता समस्या थियो,’उनले भने,‘ कलेजोसँगै मिर्गौलाले पनि काम गर्न छड्दा समस्या आएको थियो, नको जटिल अवस्थाका कारण कलेजो तथा मिर्गौला प्रत्यारोपण दुबै गर्नुपर्ने भएकोले जोखिम उठाउन चाहेनन्, तर नेपाल मेडिसिटीमा भने उनको सफल कलेजो प्रत्यारोपण भएको छ ।’  कलेजोकै कारण मिर्गौला खराब भएकाले हाल बिरामीको मिर्गौलामा पनि सुधार देखिएको छ । कलेजो प्रत्यारोपण सर्जन डा. रामबाबु साहले अस्पतालका सबै कर्मचारीको सहयोगले ठूलो सफलता हात पार्न सकेको बताए । अस्पतालका अध्यक्ष डा। उपेन्द्र महत्तोले पहिलो प्रयास सफल भएकोमा खुसी व्यक्त गरे ।  उनले नेपाललाई अन्तराष्ट्रिय मेडिकल हब बनाउने आफ्नो मुख्य उदेश्य रहेको बताउँदै यो सफलता एक खुड्किलो थपेको बताए । नेपालमा हरेक वर्ष २०० देखि ३०० जनाको कलेजो प्रत्यारोपण गर्नुपर्ने आवश्यकता देखिन्छ ।  एम्बेसी अफ नेपाल, डिल्लीका अनुसार सन् २०२३ देखि २०२४ मा मात्र ७० जना भन्दा बढि नेपालीहरुले भारतमा गएर कलेजो प्रत्यारोपण गराएका छन् । कलेजो त्यारोपणसँगै यो अस्पतालले विभिन्न अंगको पनि प्रत्यारोपण गर्दै आइरहेको छ । अस्पतालमा लसम्म ४५ जनाको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भईसकेको छ भने ५०० ना भन्दा बढिको हिप तथा जोर्नी प्रत्यारोपण भइसकेको छ ।  

भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

चितवन । भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा गरिएको छ । यसअघि पूर्ण खोप घोषणा गरिएता पनि हरेक बर्ष बालबालिका जन्मने क्रम र खोपको आवश्यकता निरन्तर रहने भएकाले महानगरपालिकाले बिहीबार भरतपुर महानगर सभाहलमा एक कार्यक्रमको आयोजना गरी पूर्ण खोप दिगोपना सुनिश्चिताको घोषणा गरेको हो । तत्कालीन स्वास्थ्यमन्त्रीको उपस्थितिमा महानगरलाई २०७४ मा पूर्ण खोप घोषणा गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख रेनु दाहालले पूर्ण खोप घोषणा गर्ने कार्य भन्दा दिगोपन दिनु महत्त्वपूर्ण विषय भएको उल्लेख गरे । महानगरपालिकाले पूर्ण खोप अभियानलाई निरन्तरता दिन कुनै कसुर बाँकी नरहने प्रमुख दाहालले बताइन् । आधारभूत स्वास्थ्य सेवा स्थानीय जनताको घर दैलोमा पु¥याउने गरी यसअघि मेयर स्वास्थ्य कार्यक्रममार्फत १७ हजार ज्येष्ठ नागरिकको घरमै पुगी स्वास्थ्य जाँच गरिएको पनि उनले जानकारी दिइन् । गत वर्ष ६८ वर्षमाथिका ज्येष्ठ नागरिकको गरिएको र अब क्रमशः कम उमेरका नागरिकको स्वास्थ्य परीक्षण गरिने उल्लेख गरिन् । जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद अधिकारीले पूर्ण खोप दिगोपना सुनिश्चिता घोषणा गराउन काम गर्ने सम्पूर्ण सरोकारवाला पक्षलाई धन्यवाद ज्ञापन गरे । उनले पूर्ण खोप दिगोपना सुनिश्चिता घोषणा सम्पूर्ण महानगरवासीको लागि हर्ष र खुसीको विषय भएको उल्लेख गरे । चितवनभन्दा बाहिरा बालबालिकाहरू छोटो समयका लागि भरतपुर बसोबास गर्न आउने जाने भएका कारण बालबालिका एकिन गर्न कठिनाइ भएको महानगरका जनस्वास्थ्य अधिकृत केशव भट्टले जानकारी दिए। विशेष गरी भारत र तराई भेगका बालबालिकामा त्यस्तो समस्या पाइएको छ । यो हरेक वर्ष पूर्ण खोपलाई निरन्तरता दिन यो कार्य गर्ने गरिन्छ । भरतपुर महानगरपालिकामा ७६ वटा खोप केन्द्रहरूबाट हरेक महिनाको ९ गतेदेखि १३ गतेसम्म खोप सञ्चालन हुँदै आएको छ । जसमध्ये ४४ वटा खोप केन्द्रहरू समुदाय स्तरमा सञ्चालन हुँदै आएको छ । भरतपुर महानगरपालिकामा अन्तर्गत १ वटा प्राथमिक स्वास्थ्य केन्द्र, १३ स्वास्थ्य चौकी, १४ वटा आधारभूत स्वास्थ्य केन्द्र, ३ वटा नगर स्वास्थ्य केन्द्र, १ वटा स्वास्थ्य क्लिनिक, १ वटा मातृ शिशु क्लिनिक, ६ वटा आयुर्वेद औषधालय र १ वटा सामुदायिक स्वास्थ्य इकाई रहेका छन् । खोप वितरणका लागि ४ वटा कोल्ड चेन सहितको खोप वितरण केन्द्र रहेको छ । त्यसमध्ये एक वटा स्वास्थ्य शाखा, शारदानगर स्वास्थ्य चौकी, शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र मेघौली स्वास्थ्य चौकी रहेका छन् ।