कोभिड–१९ निर्देशिका : स्वास्थ्य संस्थाको सेवा व्यवस्थित

काठमाडौं । कोभिड–१९ को विश्वव्यापी महामारीका कारण प्रभावित भएको मुलुकको स्वास्थ्य सेवालाई सहज र प्रभावकारी बनाउँदै सङ्क्रमण फैलिन नदिन सरकारले स्वास्थ्य संस्थाको सेवालाई व्यवस्थित गरेको छ । स्थानीयदेखि बहुविज्ञ सेवा प्रदान गर्ने अस्पतालको सेवा प्रवाहलाई निश्चित गरी सेवा चुस्त बनाइएको हो । बिरामीको सङ्ख्यामा हुनसक्ने सम्भावित वृद्धि र त्यसपछिको उत्पन्न हुनेसक्ने असहज परिस्थितिलाई मध्यनजर गरी सरकारले कोभिड–१९ र अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अन्तरिम निर्देशिका जारी गर्दै तहगतरुपमा स्वास्थ्य संस्थाको जिम्मेवारी छुट्याएको छ । स्वास्थ्य सेवा सञ्चालनमा समुचित मार्ग निर्देश गर्न सरकारले जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ६४ ले दिएको अधिकार प्रयोग गरी उक्त निर्देशिकामार्फत तहगतरुपमा सेवा विभाजन गरेको हो । निर्देशिका जारी भएसँगै तोकिएको अस्पतालले निर्देशिकामा उल्लेख भएअनुसारको जिम्मेवारी निर्वाह गर्नुपर्नेछ । प्राथमिक र विशिष्टिकृत सेवा प्रवाह गर्ने स्वास्थ्य संस्थामा कोभिड–१९ का शङ्कास्पद, सम्भावित र पुष्टि भएका बिरामीको व्यवस्थापन सरल र सहज बनाउन सरकारले उक्त निर्देशिका जारी गरेको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । निर्देशिकामा कोभिडबाहेकका स्वास्थ्य सेवालाई निरन्तरता दिन र कोभिड–१९ को प्रभावकारी उपचार तथा व्यवस्थापनका लागि आवश्यक व्यवस्था गरेको छ । सेवाग्राहीलाई स्वास्थ्य संस्थासम्म सरल पहुँचका लागि स्थानीय तहले अवश्यक प्रबन्ध मिलाउने व्यवस्था गरिएको छ । कोभिड– १९ को शङ्कास्पद सम्भावित र पुष्टि भएका केसको व्यवस्थापनका लगि तहगत व्यवस्था गर्न भनिएको छ । महामारी अवधिभर कोभिड क्लिनिक सञ्चालन गरी शङ्कास्पद बिरामीलाई छुट्याइ सेवा सञ्चालन भइरहेको सरकारले जनाएको छ । मुलुकभरका अस्पताल र स्वास्थ्य संस्थालाई पाँच तहमा (लेबल)मा विभाजन गरिएको छ । कुन तहको स्वास्थ्य संस्थाले कस्तो सेवा उपलब्ध गराउने भन्ने स्पष्ट तोकिदिएको श्रेष्ठले बताए । निर्देशिका अनुसार कुनै अस्पतालले उपलब्ध गराएको स्वास्थ्य सेवाका क्रममा कोभिड–१९ पोजेटिभ पुष्टि नभएसम्म बिरामीलाई अन्य अस्पतालमा पठाउन पाउने छैन । पठाउँदा स्थानीय सरकारको आधिकारिक स्वास्थ्य संस्थाको स्वीकृति लिनुपर्नेछ । स्वास्थ्य सेवा सञ्चालनका लागि सरकारले निजी स्वास्थ्य संस्था तथा मेडिकल कलेजलाई समेटेर १ सय ११ वटा कोभिड क्लिनिक अस्पताल सञ्चालन गरेको छ । ती अस्पतालले आवश्यक क्लिनिक सेवा दिने छन् । जिल्लास्थित प्रादेशिक अस्पताल, मेडिकल कलेज, कोभिड क्लिनिक सञ्चालन गर्ने अस्पताल हुन् । मुख्य गरी आइसोलेसन, नमूना सङ्कलन तथा प्रेषणको सेवा उपलब्ध हुनेछ । यसलाई दोस्रो तहको अस्पतालको मान्यता छ । पहिलो तहका अस्पताल सरकारले जारी गरेको निर्देशिकामा सबै स्वास्थ्य चौकी, प्राथमिक उपचार केन्द्र र प्राथमिक अस्पताल पहिलो तहका अस्पताल तोकिएको छ । यसले आधारभूत परामर्श तथा प्रेषण सेवा उपलब्ध गराउनेछ । यस किसिमका अस्पतालले बिरामीलाई आवश्यक परामर्श दिइ शङ्कास्पद भएकालाई नजिकको कोभिड क्लिनिक अस्पताल वा तोकिएको कोभिड अस्पतालमा समन्वय गरी पठाउने छन् । दोस्रो तहको अस्पताल जिल्लास्थित प्रादेशिक अस्पताल, मेडिकल कलेज कोभिड क्लिनिक सञ्चालन गर्ने अस्पताल दोस्रो तहका अस्पताल हुन् । यस्ता अस्पताल मुलुकभर १ सय ११ वटा तोकिएको छ । उक्त अस्पतालमा आइसोलेसन वार्डसमेत छ । यहाँबाट नमूना सङ्कलन तथा प्रेषणको सेवा उपलब्ध हुनेछ । उक्त अस्पतालले पहिलो तहबाट आएका बिरामीको स्क्रिनिङ गरी शङ्कास्पद बिरामीको आइसोलेसनमा राखेर उपचार गर्न सक्छन् । नमूना सङ्कलन गरी तोकिएको प्रयोगशालामा पठाए । पोजेटिभ देखिएका सामान्य अवस्थाका बिरामीलाई ‘लेबल १ कोभिड’ अस्पतालमा र जटिल तथा अति जटिल अवस्थाका बिरामीलाई लेभल २ कोभिड अस्पतालमा सिधै पठाउनुपर्ने निर्देशिकामा उल्लेख छ । तेस्रो तहको अस्पताल सरकारले तेस्रो तहको अस्पताललाई ‘लेबल १ कोभिड’ अस्पताल भनेर तोकेको छ । यहाँ सामान्य किसिमका बिरामीको उपचार हुन्छ । कोभिड क्लिनिकबाट पठाइएका र यही अस्पतालमा पहिचान भएका बिरामीको आइसोलेसनमा राखेर उपचार गर्ने काम ‘लेबल १ कोभिड’ अस्पतालले गर्छ । वाग्मती प्रदेशमा आयुर्वेद रिसर्च एण्ड टे«निङ सेन्टर कीर्तिपुर, काठमाडौँ मेडिकल कलेज भक्तपुर, कोरोना अस्थायी अस्पताल भरतपुर रहेका छन् । प्रदेश १ मा कोभिड अस्थायी अस्पताल विराटनगर र प्रदेश २ मा जानकी अस्पताललाई तोकिएको छ । गण्डकी प्रदेशमा बाग्लुङ अस्पताल र पोखरास्थित पोखरा एकेडेमी अफ हेल्थ साइन्सलाई तोकिएको छ । यस्तै प्रदेश नं ५ मा राप्ती एकाडेमी अफ हेल्थ रिसर्च अस्पताल, राप्ती प्रादेशिक अस्पताल दाङ, लुम्बिनी अस्पताल बुटवल र भीम अस्पताल भैरहवालाई तथा, कर्णाली प्रदेशमा अस्थायी कोभिड अस्पताल ९सुर्खेत अस्पताल० र सुदूरपश्चिम प्रदेशमा अछाम अस्पताललाई ‘लेबल १ कोभिड’ अस्पतालका रुपमा तोकिएको छ । चौथो तहको अस्पताल चौथो तहको अस्पताललाई ‘लेबल २ कोभिड’ अस्पताल भनेर तोकिएको छ । यहाँ मध्यम र अति जटिल बिरामीको उपचार हुन्छ । अन्य अस्पतालबाट रिफर भएर आएका बिरामी तथा अति जटिल केस यसले हेर्छ । हाइडिपेन्डेन्सी र आइसियू केयर भएका तोकिएका कोभिड अपतालमा प्रोटोकलअनुसार उपचार गर्ने गरिन्छ । यस्ता अस्पताल वाग्मती प्रदेशमा शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, पाटन अस्पताल, नेपाल सशस्त्र प्रहरी अस्पताल र भरतपुर अस्पताल रहेको छ । प्रदेश १ मा कोशी अस्पताल, प्रदेश २ मा नारायणी र जनकपुर अस्पताल, गण्डकी प्रदेशमा पोखरा एकेडेमी अफ हेल्थ साइन्स अस्पताल, प्रदेश ५ मा लुम्बिनी अस्पताल बुटवल, कर्णाली प्रदेशमा कर्णाली एकेडेमी अफ हेल्थ साइन्स र सुर्खेत अस्पताल तथा सुदूरपश्चिमा प्रदेशमा सेती अस्पताल छन् । पाँचौं तहका अस्पताल ‘लेबल ३ कोभिड’ अस्पतालहरु पाँचौँ तहका अस्पताल हुन् । यसमा बहुविज्ञ सेवा उपलब्ध छ । पूर्वको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, त्रिवी शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौं, नेपालगञ्ज मेडिकल कजेल कोहलपुरलाई लेबल ३ मा राखिएको छ । तेस्रो तहको कोभिड अस्पतालमा भने शल्यक्रिया सेवासहित बहुविज्ञ सेवा प्राप्त हुने छ । एम्बुलेन्स सेवा सरकारले कोभिड–१९ का बिरामीलाई अस्पताल पुर्याउनका लागि तयार पारिएको निर्देशिकाबमोजिम कोभिड केसका लागि सङ्घ, प्रदेश र जिल्ला तहमा आवश्यक एम्बुलेन्सकोसमेत व्यवस्था गरेको छ । काठमाडौं उपत्यकाको हकमा एम्बुलेन्स सेन्टर (१०२) र कोभिड कल सेन्टर ११३३ मार्फत सेवा प्रदान भइरहेको छ । उपत्यका बाहिर नेपाल प्रहरीको १०० र एम्बुलेन्स कल सेन्टर १०२ मा फोन सम्पर्क गरेर सेवा लिन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोभिडबाहेकका अन्य आकस्मिक र जटिल अवस्थामा समेत एम्बुलेन्स सेवा नियमित रहेको सरकारले जनाएको छ । रासस

काठमाडाैंबाट विज्ञ टोली भेरी अस्पताल, आइतबारबाट नियमित परीक्षण शुरु 

नेपालगञ्ज । भेरी अस्पतालमा कोभिड—१९संक्रमणको परीक्षणका लागि आवश्यक चाँजोपाँजो मिलाउन काठमाडौंबाट विज्ञसहितको टोली आइपुगेको छ । शुक्रबार नेपालगञ्ज पुगेको टोलीले स्वाब परीक्षणको प्रक्रियागत विषयमा सो अस्पतालका माइक्रोबायोलोजिष्ट तथा ल्याब प्राविधिकसँग छलफल शुरु गरिसकेको छ । पोलिमरेज चेन रियाक्सन (पिसिआर) प्रविधिविज्ञ सुलभ आचार्यसहितको टोलीले ‘भ्यालिडेट’ दिएपछि मात्र स्वाब परीक्षण शुरु हुने अस्पताल प्रमुख डा.प्रकाशबहादुर थापाले बताए । टोलीले पिसिआर ल्याबको निरीक्षण, उपकरणको जाँच र अस्पतालका माइक्रोबायोलोजिष्टलाई आवश्यक तालिम दिने काम अहिले गरिरहेको छ । ‘आज साँझसम्म हामी एउटा स्वाब परीक्षण गर्छौ, उपकरणले दुरुस्त काम गर्यो भने सम्भवतः आइतबार बिहानैवाट नियमित परीक्षण शुरु हुनेछ’—डा.थापाले भने । भेरी अस्पतालमा पिसिआर उपकरण एक साताअघिनै जडान भइसके पनि सञ्चालन विज्ञ र आवश्यक किट्स केन्द्रबाट आउन ढिलाई भएकाले सुरु हुन ढिलाइ भएको हो । बाँकेमा आरटीडी र पीसीआर विधिबाट ४८३ जनाको कोरोना भाइरस नमूना जाँच गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय, बाँकेका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए । सीमा क्षेत्रमा थप निगरानी कोभिड–१९ को सङ्क्रमण रोकथामको लागि बाँकेमा भारतसँग जोडिएको सीमा जोडिएको क्षेत्रमा थप सुरक्षा चौकी स्थापना गरी निगरानी बढाईएको छ । विश्वमै महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबाट हुन सक्ने सम्भावित सङ्क्रमणलाई रोकथाम र नियन्त्रण गर्न र भारतीय सीमाबाट हुन सक्ने आवत–जावतलाई निस्तेज पार्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त सुरक्षा फौज परिचालन गरिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । उनका अनुसार, जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी निरीक्षकसहितको टोली र सीमा सुरक्षा पोष्ट (बीओपी) मा रहेका सशस्त्र प्रहरी सहितको संयुक्त सुरक्षा टोलीले सीमा नाकामा जाँच तथा निगरानी गर्नेछ । सीमा क्षेत्रमा जाँच तथा निगरानीका लागि भारतसँग जोडिएको नरैनापुर नेपाली सीमाक्षेत्र भगवानपुरस्थित हुलासपुरुवा, सुईयाको दश गजा नजिक, कालाफाँटाको कोटिया र नरैनापुरको घरधौरियामा सुरक्षा चौकी स्थापना गरिएको प्रहरी उपरीक्षक वलीले जानकारी दिए । कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेको पहलमा राप्तीसोनारी गाउँपालिकाको कुसुम बजार, बैजनाथ गाउँपालिकाको मानखोला नजिक सम्झना चोक, कोहलपुर नगरपालिकाको चौराहचोक र नेपालगञ्जको धम्बोझी चोकमा सहयाता कक्ष थप गरी सञ्चालनमा ल्याईएको पनि प्रहरी उपरीक्षक वलीले जानकारी दिए थर्मल गन : गाउँपालिका पुगे, वडामा पुगेनन् कोरोना संक्रमणको त्रास बढेपछि ज्वरो नाप्ने थर्मल गन र व्यक्तिगत सुरक्षा सामग्रीको अभाव हुँदा जोखिम मोलेर काम गर्नु परेको दाङका ग्रामिण क्षेत्रका स्वास्थ्यकर्मीले गुनासो गरेका छन् । ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य चौकी तथा वडा स्वास्थ्य केन्द्रमा थर्मल गन नहुँदा जोखिम मोलेर स्वास्थ्य जाँच गर्नुपरेको ज्वरो नाप्नु परेको प्राथमिक स्वास्थ्य केन्द्र श्रीगाउँका इञ्चार्ज रविन गौतमले गुनासो गरे । उपलब्ध गराईका थर्मल गनहरु सबै स्थानीयतहको स्वास्थ्य शाखाले परिचालन गरेका छन् । “हामीलाई तीनवटा आएको थियो”, तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य प्रवद्र्धन शाखा निरीक्षक बीमल केसीले भने, “तीमध्ये एउटा बिग्रिसकेको छ, एउटा मोबाइल टोलीसँग र एउटा क्वारेन्टाइनमा छ ।” दाङमा २३ वटा थर्मल गन ल्याइएको थियो । अहिले ज्वरो नाप्नका लागि थर्मोमिटर व्यक्तिको काखीमा च्याप्ने र हातले समाएर हेर्ने गर्दा संक्रमण हुन सक्ने स्वास्थ्यचौकी बाघमारेका इञ्चार्ज कमल भण्डारीले बताए । बजारमा पनि उक्त गन नभेटिएको समेत उनको भनाइ छ । ‘बजारमा पनि धेरै खोज्यौं, काठमाडौंमा पनि धेरै ठाउँ खोज्यौं”, उनले भने, “तर कतै भेटिएन् ।” आफू निर्वाचित दाङ क्षेत्र नं.३ का लागि आवश्यक थर्मल गन ल्याउने भनि स्वास्थ्य मन्त्रालयमा बुझ्दासमेत नपाइएको सांसद हिराचन्द्र केसीले बताए । थर्मल गनसँगै सुरक्षाका लागि पिपिईसमेत सीमित मात्रामा रहेकाले अपुग भएको स्वास्थ्यकर्मीको गुनासो छ । “हामीसँग अहिले पर्याप्त पिपिई छैन”, शान्तिनगर स्वास्थ्यचौकीका घनश्याम पाण्डेले भने, “त्यसले गर्दा सबै जनशक्ति समेत खटाउन सकिएको छैन् ।” अहिले स्थानीयतहले नै हेल्थ डेस्क स्थापना गरि थर्मल गनको प्रयोग गरेका कारण प्राथमिक चौकीमा अभाव भएको स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ सम्पकै व्यक्ति कमल चन्दले बताए । पाल्पामा गाउँमै स्वास्थ्य सेवा बन्दाबन्दीका समयमा मारमा परेका नागरिकलाई मध्यनजर गर्दै रामपुर नगरपालिकाले गाउँ गाउँमा पुगेर स्वास्थ्य सेवा दिन शुरु गरेको छ । नियमित औषधी सेवन गर्ने, दीर्घरोगी र ज्येष्ठ नागरिकलाई लक्षित गरी टोलमा गएर स्वास्थ्य परीक्षण, औषधी वितरण थालिएको हो । शुक्रबार पहिलो दिन वडा नं ३ बाट सेवा शुरु गरिएको नगरपालिकाले जनाएको छ । वडाको गैलुक, लामटाङ्, डाबरा क्षेत्रका ९५ नागरिकको स्वास्थ्य परीक्षण गरेर उनीहरुलाई औषधी वितरण गरिएको नगर प्रमुख रमणबहादुर थापाले बताए । नियमित औषधी सेवन गर्दै आएका उच्च रक्तचाप, मधुमेह, दमका बिरामीलाई आवश्यकताअनुसार औषधी प्रदान गरिएको र प्रेसर, ज्वरो जाँचसहित सामान्य उपचार सेवा दिइएको नगरपालिकाका स्वास्थ्यकर्मी कमला श्रेष्ठले जानकारी दिए । रासस

सबैले जान्नै पर्नेः कोरोना भाइरस निको हुन कति समय लाग्छ ?

काठमाडाैं । कोभिड-१९ रोग सन् २०१९ को अन्त्यतिर देखा परेको हो। तर कतिपय बिरामीहरूलाई यसबाट पूर्णतया निको हुन लामो समय लाग्ने देखिएको छ। निको हुने समय तपाईँ कति धेरै बिरामी हुनुभएको छ भन्नेमा निर्भर गर्छ। केही मानिसहरू चाँडै नै निको भइहाल्छन् भने अन्यलाई यसले दीर्घकालीन असर छाड्न सक्छ। उमेर, लिङ्ग तथा अन्य स्वास्थ्य समस्याजस्ता विषय जोखिम तत्व हुन् जसले कोभिड-१९ बाट को कति गम्भीर बिरामी हुन्छ भन्ने निर्क्योल गर्छ। सामान्य लक्षणमात्र देखा परेको खण्डमा के हुन्छ? अधिकांश कोभिड-१९ का बिरामीलाई केवल मुख्य लक्षण देखापर्छन् – खोकी र ज्वरो। उनीहरूलाई जीउ दुख्ने, थकाइ लाग्ने, घाँटी तथा टाउको दुख्ने हुन सक्छ। सुरुमा सुक्खा खोकी र पछि खकार सहितको खोकी लाग्न सक्छ। यी लक्षणलाई आराम, प्रशस्त पानी पिउने तथा दुखाइ कम गर्न प्यारासिटामोलको प्रयोग गर्ने गरे पुग्छ। यस्ता सामान्य लक्षण भएका बिरामीहरू छिटो र पूर्ण निको हुनसक्छन्। ज्वरो एक हप्तामा ठीक हुनसक्छ भने खोकी केही थप समय जारी रहन्छ। चिनियाँ आँकडाका आधारमा विश्व स्वास्थ्य सङ्गठन (डब्लु एच ओ)ले औसतमा दुई सातामा बिरामी निको हुने जनाएको छ। यदि गम्भीर लक्षण भएमा के हुन्छ ? कतिपयको निम्ति यो रोग निकै गम्भीर बन्न सक्छ। सङ्क्रमण भएको सातदेखि १० दिनमा यस्तो हुन सक्छ। यो परिवर्तन निकै तीव्र गतिमा हुनसक्छ। सास फेर्न गार्‍हो हुन थाल्छ अनि फोक्सो सुन्निन्छ। यस्तो किन हुन्छ भने शरीरको प्रतिरोध प्रणालीले भाइरससँग लड्न खोज्दा अत्यधिक प्रतिक्रिया जनाउँछ जसले गर्दा शरीरमा अन्य जटिलता उत्पन्न हुन्छ। केही मानिसलाई अक्सिजनका लागि अस्पतालमा राख्नुपर्ने हुनसक्छ। एकजना चिकित्सक सेरा जार्भिस भन्छिन्, “सास फेर्न गार्‍हो हुने अवस्था निको हुन निकै समय लाग्छ किनकी शरीरमा निकै सुजन भएका हुन्छन्।” यसबाट निको हुन दुईदेखि आठ हप्ता लाग्न सक्छ। लामो समयसम्म जीउमा थकान रहिरहन्छ। सघन उपचारको खाँचो परेमा चाहिँ के हुन्छ? डब्लुएचओको अनुमानमा प्रत्येक २० मध्ये एकजनालाई सघन उपचारको खाँचो पर्न सक्छ। त्यसमा भेन्टिलेटरमा राख्नपर्ने बिरामी पनि पर्छन्। सघन उपचार केन्द्र (आइसीयू) मा राखेपछि निको हुन थप समय लाग्छ। घर पठाउनु अघि सामान्य वार्डमा सारिन्छ। सघन उपचारमा रहनु परेको बिरामीलाई पूर्णत: तन्दुरुस्त हुन १२ देखि १८ महिना लाग्ने इन्टेन्सिभ केअर मेडिसिन विभागकी डिन डा. एलिसन पिटार्डले बताइन्। लामो समय अस्पतालमा बस्दा तौल घट्छ। मानिस कमजोर हुन्छ अनि मांसपेशीहरू तन्दुरुस्त हुन समय लाग्छ। कतिलाई हिँडडुल गर्न फिजियोथेरापी आवश्यक पर्न सक्छ। चीन र इटलीबाट प्राप्त विवरणहरूमा बिरामीहरूलाई कमजोरी अनुभव भएको, थोरै हलचल गर्दापनि स्वाँस्वाँ आउने भएको अनि खोकी लागिरहेको उल्लेख छ। धेरै निद्राको आवश्यकता परेको पनि देखिएको छ। “हामीलाई थाहा छ बिरामीहरूलाई लामो समय, कतिपयलाई महिनौँ, लाग्न सक्छ,” कार्डिफ तथा भेल विश्वविद्यालयको स्वास्थ्य बोर्डका फिजियोथेरापिस्ट पाउल टोजले बताए। तर यसलाई सामान्यीकरण गर्न कठिन हुन्छ। कुनै मानिस सघन उपचार कक्षमा थोरै समयमात्र रहन्छन् भने कसैलाई हप्तौँसम्म भेन्टिलेटरमा राख्नुपर्छ। के कोरोनाभाइरसले दीर्घकालीन असर पार्छ? लामो समयसम्मका आँकडाहरू उपलब्ध नभएकाले यसबारे भन्न सकिँदैन। तर मिल्दाजुल्दा अन्य अवस्थासँग दाँज्न भने सकिन्छ। शरीरको प्रतिरोधी प्रणाली अधिक सक्रिय भएर फोक्सोमा खराबी उत्पन्न भएका बिरामीहरूमा स्वासप्रस्वाससम्बन्धी एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रम वा आर्ड्स भन्ने अवस्थाको विकास हुन्छ। “त्यस्ता मानिसलाई पाँच वर्षपश्चात् पनि शारीरिक वा मनोवैज्ञानिक कठिनाइ उत्पन्न हुने गरेको आँकडाहरू उपलब्ध छन्,” टोजले भने। भेन्टिलेटरमा राख्नुपर्ने बिरामीहरूलाई निको भएपछि पनि गहिरो मानसिक आघात परेको हुनसक्छ। सामान्य समस्यामात्र बेहोरेका बिरामीलाई पनि लामै समयसम्म थकान भइरहन सक्छ। कति मानिस निको भइसके? यकिन आँकडा मिल्न गार्‍हो छ। जोन्स हप्किन्स विश्वविद्यालयको विवरण अनुसार एप्रिल १५ सम्ममा २० लाख सङ्क्रमितमध्ये करिब पाँच लाख मानिस निको भइसकेका छन्। तर विभिन्न देशहरूले विभिन्न किसिमको रेकर्ड राख्ने प्रणाली अपनाएका हुन्छन्। कतिपयले निको भएका आँकडा प्रकाशित गर्दैनन् अनि कैयन् सामान्य सङ्क्रमणका विवरण उल्लेख गरिँदैनन्। गणितको प्रयोग गरेर निर्मित मोडेलहरूअनुसार ९९ देखि ९९.५% मानिस निको हुने अनुमान छ। के दोहोर्‍याएर कोभिड-१९ हुन्छ? यसबारे पनि चर्चा धेरै तर प्रमाण कम छ। कोही मानिस सङ्क्रमित भए उसको शरीरमा विकास हुने प्रतिरोधी क्षमता कत्तिको दिगो हुन्छ भन्ने यकीन छैन। यदि कसैले सफलतापूर्वक भाइरसलाई हराएको छ भने उसको शरीरमा पक्कै पनि त्यसको प्रतिरोधी क्षमता विकास भएको हुनुपर्छ। एउटै बिरामी दोहोर्‍याएर सङ्क्रमित भएका भन्ने जस्ता विवरणको मूल कारण अघिल्ला परीक्षणमा गल्तीले सङ्क्रमणमुक्त भएको देखिएको हुनसक्छ। प्रतिरोधी क्षमताको विषयले नै कतै मानिस पुन:सङ्क्रमित हुनसक्छन् वा यसविरुद्धको खोप कत्तिको प्रभावकारी हुनसक्छ भन्ने निर्क्योल गर्न सघाउनेछ। बीबीसी