पाटन अस्पतालमा पनि पिसिआरबाट कोरोना परीक्षण सुरु

काठमाडौं । पाटन अस्पतालमा पनि रियल टाईम  पिसिआरबाट कोरोना परीक्षण सुरु भएको छ । कोभिड १९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पाटन अस्पतालमा  पिसिआरबाट कोरोना परीक्षण सुरु भएको बताएका हुन् । यहीसँगै रियल टाईम पिसिआरबाट नेपालमा कोरोना परीक्षण गर्न स्थानको संख्या १४ भएको छ ।

सवारीसाधनमा कीटनाशक औषधि छर्किदै स्वयमसेवक

काठमाडाैं । नेपाल रेडक्रस साेसाइटीका स्वयमसेवकले सवारीसाधनमा कीटनाशक औषधि छर्किएका छन् । उनीहरूले काठमाडौंको जडिबुटीबाट भक्तपुर गइरहेको सवारीसाधनमा उक्त औषधि छर्किएका हुन् । हाल बढिरहेकाे काेराेना भाइरसकाे प्रकाेप थप फैलिन नदिनका साथै यस विपद् समयमा सरकारलाई केहि राहत हाेस् भन्ने उद्देश्यले उक्त कदम अघि सारेकाे हाे । तस्बिरः प्रदीपराज वन्त/रासस

हुम्लामा बाहिरी जिल्लाबाट आएका सबैको रिपोर्ट नेगेटिभ

काठमाडाैं । हुम्लाका चार गाउँपालिकामा जिल्ला बाहिरबाट आएका व्यक्तिको हालसम्म ६८ को द्रुत परीक्षण (र्यापिड डायग्नोष्टिक टेस्ट) गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले जम्मा ६१ पुरुष र सात महिला रहेको जनाउँदै सिमकोट २९, नाम्खामा २५, ताजाकोटमा आठ र अदानचुलीमा छ गरी ६८ जनाको द्रुत परीक्षण बताए । यसपछि सदरमुकाम सिमकोटबाट दक्षिणतिर पर्ने ताँजाकोट, सर्केगाड, खार्पुनाथ, अदानचुली र चङ्खेली गाउँपालिकामा जिल्ला बाहिर भारतलगायत अन्य तेस्रो मुलुकबाट आएका र क्वारेन्टाइनमा बसेका व्यक्तिको र्यापिड टेस्ट गरिने जनाइएको छ । सो लागि स्वास्थ्य सेवा कार्यालयबाट ल्याब टेक्निसियन बलिराज भण्डारी, भक्ति फडेरा तथा कार्यालय सहयोगी विनोद रोकाया खटिएका छन् ।