कोरोना संक्रमणले सिकाएको सबकः स्वास्थ्य सेवामा सरकारी उपस्थिति बढाउ
काठमाडौं । कोरोना संकटपछि नेपालको स्वास्थ्य सेवाको अवधारणा परिवर्तन हुने देखिएको छ । कोरोना संक्रमण रोकथामका लागि सरकारले देशभर लागू गरेको लकडाउनको समयमा सर्वसाधारणलाई स्वास्थ्य सेवा प्रदान गर्न सरकारी अस्पतालको सेवा नै प्रभावकारी देखिएपछि यो क्षेत्रमा सरकारको उपस्थिति बढ्ने देखिएको हो । स्वास्थ्य क्षेत्रमा रहेका कमी कमजोरीलाई कोरोना भाईरस संक्रमण रोकथामको क्रममा स्पष्ट देखिएको हो । यस्तो कमजोरीमध्येमा स्वास्थ्य सेवा क्षेत्रमा सरकारको उपस्थिति कम भएको महसुस सरोकारवालाले गरेका छन् । २०७७ सालको सुरुवात पक्कै पनि राम्रो भएको छैन तर यो संकटले अब सरकारलाई स्वास्थ्य क्षेत्रमा आफ्नो उपस्थिति बढाउन दबाब दिएको महसुस गरिएको छ । सरकारले स्वास्थ्य क्षेत्रको लागि लगानी बढाउनु पर्ने पूर्व स्वास्थ सचिव दीर्घसिंह बमको भनाइ छ । सरकारले चालु आवको लागि ६८ अर्ब ७८ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । ‘सरकारले अब स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्छ, कुल बजेटको १० प्रतिशत स्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्दछ,’ पूर्वसचिव बमले भने । सरकारले चालु आर्थिक वर्षमा कूल बजेटको ४ दशमलब ४८ प्रतिशत बजेट स्वास्थ्य क्षेत्रको लागि छुट्टयाएको थियो । सरकारी अस्पतालहरुमा भौतिक संरचनाहरु तयारी अवस्था रहनुपर्ने र सामान्य भन्दा सामान्य विषयहरुमा जनचेतना अभिबृद्धिका कार्यक्रमहरु संचालन गरिरहनुपर्ने बम बताउँछन् । सरकारले स्वास्थ्य सेवा क्षेत्रमा आवश्यकता अनुसार ध्यान नदिएको उनको भनाइ छ । ‘देश संघीय संरचनामा गएको छ तर प्रदेशमा स्वास्थ्य मन्त्रालय छैन । त्योभन्दा तलको स्थानीय तहमा राम्रोसँग काम गर्न सक्ने टोली छैन । त्यसैले सरकारले आगामी आर्थिक वर्षलाई स्वास्थ्य सेवाको गुणस्तर अभिबृद्धि गर्ने वर्षका रुपमा लिएर काम गर्नुपर्छ,’ पूर्वसचिव बमले भने । अहिले देखिएको कोरोना भाइरस जस्ता संक्रमण फेरि दोहोरिन सक्ने भएकोले सरकारले आवश्यक तयारी गर्न जरुरी भएको उनको भनाइ छ । उनले नेपालको भौगोलिक र वातावरणीय अवस्था अनुसार कुन क्षेत्रमा के कस्तो प्रकारको रोग वा संक्रमणको खतरा बढी छ, त्यस्तो क्षेत्रमा सोही प्रकारको विशेष जनशक्ति तयारी अवस्थामा राख्नुपर्ने सुझाव दिए । देशभरका सबै अस्पतालहरुमा एक वर्षको लागि पुग्ने लजिष्टिक सरसामान तयारी अवस्थामा राखिनुपर्ने पनि उनको भनाइ छ । सरकारी अस्पतालहरुको स्तरोन्नति अति आवश्यक रहेकोले सोही अनुसारको तयारी आवश्यक रहेको परोपकार प्रसुती गृह तथा स्त्री रोग अस्पतालका निर्देशक डा. जागेश्वर गौतम बताउँछन् । सरकारी अस्पतालहरु अब बाहिरबाट हेर्दा मात्र चिटिक्क र सफा होईन, भित्र पनि उत्तिक्कै सफा हुनुपर्छ । अस्पतालको क्यानिटन, बेड, ल्याब, शौचालय सबै उत्तिकै सफा हुन आवश्यक छ,’ उनले भने । उनले सर्वसाधारणको समय बरबाद हुने गरी लाग्ने गरेको लामो लाईन, दिउँसो मात्रै दिने सेवा र एउटा अप्रेसन गर्नको लागि महिनौं कुर्नपर्न बाध्यतालाई हटाई २०७७ लाई सरकारी अस्पतालहरुको स्तरोन्नति वर्षको रुपमा मनाउन आवश्यक रहेको बताए । आपत परेको बेला मात्र डाक्टर र हस्पिटललाई सम्झनुभन्दा अहिलेबाट नै स्वास्थ्य क्षेत्रमा लगानी बढाई, सुविधासम्पन्न अस्पतालहरु निमार्ण गरी जनशक्तिहरुलाई सही व्यवस्थापन गर्न आवश्यक रहेको गौतमले बताए । विश्व स्वास्थ्य संगठनले पनि कुल ग्राहस्र्थ उत्पादनको १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा लगानी गरेपछि मात्र स्वास्थ्य क्षेत्रमा सुधार आउने सुझाव दिएको गौतम बताउँछन् । २०७७ सालमा सरकारले स्वास्थ्य क्षेत्रमा कोरोनाले गर्दा रोकिएका विगतका लक्ष्यहरुलाई अगाडी बढाउनुपर्ने पूर्व स्वास्थ्य सचिव खगराज बरालले बताए । ‘विगतमा हेर्दा माघ–फागुनमा बजेट रफ्तारको साथ कार्यनयन हुन्थ्यो तर अहिले सबै ठप्प छ । त्यसैले यो महामारी अन्त्य हुने बित्तिकै त्यसतर्फ सरकारले ध्यान दिनुपर्छ’, उनले भने । सरकारले विगतमा हामीसँग सबै आवश्यक सामाग्री पर्याप्त छन्, हामीसँग अस्पतालहरु व्यवस्थित छन् भनेको सबै गलत साबित भएको बराल बताउँछन् । स्वास्थ्य क्षेत्रमा धेरै कुराको अभाव भएको कोरोनाले देखाएको छ । आफ्नो संयन्त्र कति बलियो बनाउनु पर्छ भनेर सरकारले अब महसुस गर्नुपर्ने उनले बताए । ‘२०७७ साल सरकारी अस्पताल र त्यसका संयन्त्र बलियो बनाउनतर्फ लाग्नुपर्छ । अन्त्यमा संकटमा काम लाग्ने सरकारी निकाय नै रहेछ भन्ने फेरि पुष्टी भएको छ, सरकारी चिकित्सक र स्वास्थ्यकर्मी, सरकारी सुरक्षाकर्मी, सरकारी कर्मचारी, सरकारी विद्यालय, सरकारी कार्यलयहरु अहिले अवस्थामा प्रयोग भएका छन् । यसको मतलब यो क्षेत्रहरु बलियो हुन कति आवश्यक रहेछ भन्ने सरकारले बुझ्नुपर्छ । निजी क्षेत्रले केही सहयोग गर्ने तर अहिलेको अवस्थामा त्यस्तो नदेखिएको हुँदा सरकारले अब स्वास्थ्य क्षेत्रमा आफ्नो लगानी बढाउनुपर्ने उनले बताए । यस्तै, मानिसहरुमा संक्रमण फैलन सक्ने हुनाले सरकारले सरुवा रोग अस्पताललाई बस्तीभन्दा केही टाढा बनाई सेवा विस्तार गनुपर्न आवश्यक रहेको उनले बताए । विशेष गरेर अस्पताल निर्माण र आईसियु बेडहरुमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । २०७७ सालमा मात्र नभएर हरेक वर्ष सरकार कुनै पनि महामारी, विपदहरुको लागि हरदम तयारी अवस्थामा बस्नुपर्ने पाटन अस्पतालका निर्देशक डा. विष्णु प्रसाद शर्मा बताउँछन् । ‘हाम्रो यहाँ पाटन अस्पतालमा ३ वर्षयता संक्रामक रोगहरुको लागि कसरी काम गर्ने भनेर अभ्यास गर्दै आएका थियौं, जसले हामीलाई यो रोग आईपुग्दा केही हिम्मत दिएको थियो । यो हरेक अस्पतालहरुले प्रयोगमा ल्याउनपर्छ । सरकारले पनि यसमा ध्यान दिनुपर्छ,’ उनी भन्छन् । संक्रमित बिरामीलाई जाँच्नको लागि स्वास्थ्यकर्मीलाई चाहिने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), मास्क जस्ता अत्यावश्यक बस्तुको उत्पादनमा नेपाली उत्पादकको ध्यान भर्खर मात्रै गएको छ । स्यानिटाईजरको उत्पादन नेपालमै सुरु गर्नको लागि २० वटा कम्पनी उद्योग विभागमा हालै मात्र दर्ता भएका छन् ।
काेराेनाकाे समयमा के गर्नु हुँदैन ? डा. रवीन्द्र पाण्डे सुझाव यस्ताे छ
काठमाडाैं । डा. रवीन्द्र पाण्डेले जनस्वास्थ्यविज्ञ हुन् । उनी अहिले विश्वभर फैलिरहेकाे काेराेना भाइरसकाे राेकथाम तथा न्युनिकरणका लागि विभिन्न सुझाव सल्लाह पनि दिदै आएका छन् । उनले काेराेनाकाे असर रहँदासम्म निम्नलिखित कूराहरू नगर्न सुझाव दिएका छन् । – कोरोना संक्रमणले गर्दा अर्थतन्त्र टाट पल्टिने भयो, पैसा अबमुल्यन हुने भयो, सेयर बजार डुब्ने भयो, आर्थिक मन्दी आउने भयो । जस्ता तनाब दिने कुरा नगरौं | यस्ता कुरा भूकम्पको बेला पनि भएका थिए । नाकाबन्दीको बेला पनि भएका थिए | भोलि कोरोना संक्रमण नियन्त्रणमा आएपछि घाउहरु निको हुँदै जान्छन | नेपाल औद्योगिक देश हैन तसर्थ अर्थतन्त्र हामीले सोंचेजस्तो डुब्ने छैन । – भारतले सामान पठाउन बन्द गर्यो भने इन्धन, खाना र औषधि नपाएर मरिन्छ भन्ने जस्ता कुरा पनि नगरौं | नाकाबन्दीमा बाँचेका थियौं । औषधिको केमिकल चीनबाट ल्याउने हो भारतले पनि । हामीले सिधै चीनबाट ल्याउन सकिन्छ । नेपालमा सयौं औषधि कम्पनी छन्, उनीहरुले आफ्नो ब्यबसाय गर्नेछन | त्यस्तै हामीले ग्यास नपाए बिजुली, दाउरा, गुंइठा बालेर पनि काम चलाउन सक्छौं । बिद्युत उत्पादन र वितरणमा काम गर्यौं भने हामीलाई ग्यास सिलिन्डर नभएपनि काम चल्छ | नेपाल कृषिप्रधान देश हो । गाउँ पुरै बाँझो छ, गाह्रो पर्यो भने हामीहरु खेतीपाती गरेर, अर्गानिक खाना खाएर तथा गाउँ आवाद गरेर झन् आत्मनिर्भर हुनेछौं । – लाखौंको रोजगारी जाने भयो भनेर चिन्ता नगरौं | खेतीपाती, बाख्रापालन, कुखुरापालन, गाईभैंसी पालन आदि गरेर हाम्रा फार्ममा अरुलाई रोजगार दिने हैसियत हाम्रो बन्नेछ । – कोरोना फैलियो भने बिकसित देशमा लाख भन्दा धेरै मान्छेको मृत्यु भयो भने हाम्रो के गति होला भनेर चिन्ता नगरौं | मर्न त्यति सजिलो छैन । संसार कोरोनाले पीडित हुँदा हामी सुरक्षित हुनु संयोग मात्र हैन । हाम्रो हावापानी, खानपिन, रहनसहन कोरोना प्रतिरोधी छ | हामीकहाँ ४ – ६ हप्ता कोरोना लागेका मान्छे भन्दैछन – हामीलाई केहि पनि भएको छैन, एउटा लक्षण पनि देखिएको छैन | लाखौँ मान्छेको कोरोनाबाट मृत्यु हुँदा अहिलेसम्म पोजिटिभ देखिएका १ जना पनि आइसीयु / भेन्टिलेटरमा बस्नुपरेको छैन | उनीहरु दालभात, तरकारी खाएर तथा आफन्तसंग फोनमा कुरा गरेर अस्पतालमा बसेका छन् । – सरकारले केहि गर्दैन, भ्रस्ट्राचार मात्र गर्छ भनेर निरासाको व्यापार नगरौं | सरकारले लकडाउन नगरेको भए स्थिति अर्कै हुनसक्थ्यो | देशभर क्वारेन्टाइन, आइसोलेसन केन्द्र, अस्पतालमा बेडको क्षमता, PPE जस्ता अत्याबश्यक कुरामा प्रगति भएको छ | प्रहरी प्रशासन रातदिन खटेको छ | स्वास्थ्यकर्मीहरु ज्यानको बाजी राखेर काम गरिरहेका छन् | जटिल परिस्थिति आयो भने सरकारले तदनुसार काम गर्नेछ | यस्तो बेलामा कात्रोमा खल्ती सिलाउनेलाई अख्तियार, सिआइबि, चुनाब आदिले तह लगाउनेछन् | उनीहरुलाई पापले भतभती पोल्नेछ | नराम्रो गर्नेको कहिल्यै राम्रो भएको छैन । – सहरमा खान नपाएर तथा उपचार नपाएर धेरैजना मर्ने भए भएर निरुत्साहित गर्ने कुरा नगरौं | कोहि भोको र बिरामी भयो भने प्रहरी कार्यालय वा वडा कार्यालय जानु भयो भने भोक र ज्वरोले मरिने छैन | गाउँगाउँमा सरकारी स्वास्थ्य संस्था छन्, स्वास्थ्यकर्मीले हप्तामा सातै दिन काम गरिरहेका छन् । – भारतमा कोरोना धेरै फैलियो भने इन्डियनहरु नेपाल आएर बर्बाद गर्छन भनेर पनि चिन्ता नगरौं | त्यो परिस्थिति देखियो भने सरकारले बोर्डर शिल गर्छ, मेचीदेखि महाकालीसम्म सुरक्षाकर्मी र स्थानीय जनताको गस्ती हुनेछ | आबश्यक परे सिमानामा कर्फ्यु लागु हुनेछ | हामी लाखौँ स्वयंसेवी जनताको स्वास्थ्य रक्षा गर्न सिमानामा उभिनेछौं । चिन्ता, तनाब, असुरक्षा अनुभूति आदिले रोगसँग लड्ने शारीरिक, मानसिक तथा इम्युनिटी प्रणालीमा नकारात्मक असर गर्दछ । तसर्थ घरमै बसौं, स्वस्थ रहौं, मस्त रहौं । सकिन्छ आशाका किरण वितरण नगरौं, सकिदैन, निराशाको मन्दबिष वितरण नगरौं । पाण्डेकाे फेसबुकवालबाट
कोरोना संक्रमितको पहिचान नखुलाईदिन आग्रह
काठमाडौं । कोरोना संक्रमितहरुको पहिचान नखुलाईदिन सरकारले आग्रह गरिएको छ । कोभिड १९ सम्बन्धि नियमित ब्रिफिङमा बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना संक्रमितको पहिचान गोप्य राखिदिन आग्रह गरेका हुन् । विभिन्न संचारमाध्यममा कोभिड १९ का बिरामीहरुको वस्तृत व्यक्तिगत विवरणहरु प्रसारण गरिएकोले यस्तो नर्गन देवकोटाले आग्रह गरेका छन् । निजको अनुमती बिना उनको व्यक्तिगत विवरण सार्वजनिक गर्न नपाउने उनले बताए । जनस्वास्थ्यको दृष्टिकोणबाट मन्त्रालयले आवश्यक विवरण आफै दिने उनले बताए ।