गल्ली गल्लीमा पनि कोरोनाविरुद्ध डिस्इन्फेक्सन छर्दै स्वयमसेवक

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणविरुद्ध अहिलेसम्म मुख्यमुख्य सडकहरुमा मात्रै डिस्इन्फेक्सन (महामारी न्युनीकरणविरुद्ध औषधि छर्ने) काम भएकोमा अब यस्तो औषधि छर्ने काम भएको गल्लीगल्ली अनि घरघरको कम्पाउण्डमा पनि हुन थालेका छन् । आइतबार काठमाडौंको चन्द्रागिरी नगरपालिकामा डिस्इन्फेक्सनको काम भएको छ । चन्द्रागिरी नगरपालिकाको वडा नं १५ का वडाअध्यक्ष उतमबहादुर राउतको अगुवाईमा १५ जना स्वयमसेवकहरुको समूहले डिस्इन्फेक्सन गरेका हुन् । वडाअध्यक्ष राउत नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनायण भक्तपुरका पूर्व विद्याथी हुन् । अध्ययन सम्पन्न गरेका इन्जिनियर (आर्किटेक्ट) वडाअध्यक्ष राउतले सुरक्षाको प्रबन्ध मिलाई काम गरेको बताए । प्रत्येकले पीपीई लगाई वडाबासीको सुरक्षाका लागि यस्तो काम गरेको उनले जनाए । वडाबासीलाई विश्वव्यापी संकटको रुपमा आइरहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट जोगाउन सहज होस् भनी यस्तो काम गरेको उनले जनाए । यसले वडाबासीहरुमा रोगविरुद्ध लड्न शक्ति (इमयुनिटी पावर) पनि वढ्ने विश्वासले यस्तो काम गरेको उनले जनाए । निलो टोपी र खैरो मास्कले अनुहार पूरै छोपी उनीहरुले डिस्इन्फेक्सन गरेका थिए ।

कोरोना भाइरस: विदेशमा कार्यरत लाखौँ नेपाली कामदारको रोजगारी गुम्ने चिन्ता

काठमाडौं । कोरोनाभारइस सङ्क्रमणको विश्वव्यापी महामारी रोकथाम तथा नियन्त्रण गर्न विभिन्न देशले लकडाउनजस्ता उपाय अवलम्बन गरेका छन्। त्यसले विश्वभरि अर्थतन्त्रमा प्रत्यक्ष तथा परोक्ष नकारात्मक प्रभाव पारेको छ। आफू कार्यरत देशको अर्थतन्त्र प्रभावित भएकाले वैदेशिक श्रममा रहेका लाखौँ नेपालीहरूको रोजगारी गुम्ने अवस्था देखिएको भन्दै अधिकारी एवं विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। लाखौँ सङ्ख्यामा नेपालीहरू रहेका कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई) जस्ता देश र दक्षिणपूर्वी एशियाको मलेशिया पनि अहिले लकडाउनमा छन्। त्यहाँ करार सम्झौता नवीकरण हुने अवस्थामा भएका तथा गैरकानुनी रूपमा रहेका धेरे नेपाली कामदारले अहिले नै आफूहरू समस्यामा परिसकेको गुनासो गर्न थालेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले बीबीसीलाई बताए। खाडी र मलेशियामा १५ लाखजति नेपाली कामदारहरू रहेको श्रम मन्त्रालयले जनाएको छ। त्यहाँ अहिलेसम्म झन्डै १०० को हाराहारीमा नेपालीहरू पनि सङ्क्रमित भएको विवरण सरकारसँग छ। असर यूएईमा भएका नेपाली श्रमिकहरू अहिले जतिखेर पनि आफ्नो जागिर सङ्कटमा पर्न सक्ने त्रासमा रहेको दुबईको एक निर्माण कम्पनीमा काम गर्ने कृष्ण पाण्डेले बताए। पाण्डेले भने, “यहाँको सरकारले आफ्ना कम्पनीहरूलाई बचाउनका लागि आवश्यक परेको खण्डमा तलब घटाउने, बेतलबी बिदा दिने र कर्मचारी कटौतीसम्म गर्न सक्ने भनेको छ।” “जसले गर्दा यहाँ तत्काललाई सुरक्षित रहेकाहरू समेत जतिखेर जो पनि मर्कामा पर्न सक्ने त्रासमा राखेको छ। जागिर सङ्कटमा नपरेकाहरू पनि यतिखेर मिलेसम्म नेपाल फर्किन खोजिरहेका छन्।” त्यसैगरी कुवेतले पहिलो चरणमा गैरकानुनी कामदारको सङ्ख्या घटाउने उद्देश्यले आममाफीको योजना अगाडि सारेको छ । उसले गैरकानुनी रूपमा बसेका विदेशी कामदारलाई एप्रिल महिनाभरि स्वदेश फर्किन दिने घोषणा गरेको भए पनि नेपालजस्ता देशमा अहिले अन्तर्राष्ट्रिय उडान रोकिएकाले उक्त कामलाई वैशाख १८ गतेपछि त्यसलाई निरन्तरता दिइनेगरी छलफल भइरहेको कुवेतस्थित नेपाली दूतावासका एक अधिकारी बताउँछन्। श्रम मन्त्रालयका प्रवक्ता घिमिरेले परिस्थितिको प्रारम्भिक मूल्याङ्कनले नेपाली श्रमिकहरूलाई ‘गम्भीर असर’ पर्ने देखिएको बताउँछन्। उनले भने, “भिसा र सम्झौता बाँकी रहे पनि कामबाट हटाइएका र भिसा र सम्झौता सकिएका एवम् गैरकानुनी बाटोबाट गएकाहरू सबै खालका नेपालीहरूले घर फर्किने परिस्थिति बनाउन आग्रह गरेका छन्।” तर लाखौँलाई उद्धार गर्नुपर्ने अवस्थाबारे तत्काल नसोचिएको भन्दै आउँदा केही सातामा परिस्थितिको मूल्याङ्कन गरिने अधिकारीहरूको भनाइ छ। प्रवक्ता घिमिरे भन्छन्, “यो विश्वव्यापी महामारी भएकाले अन्तर्राष्ट्रिय मानव अधिकारका आधारभूत सिद्धान्तले समेत सुरक्षित पार्ने र सरकारले कूटनीतिक पहल समेत गरिरहेकोले आत्तिहाल्नुपर्दैन।” बीबीसी

अब नेपालका यी तीन ठाउँमा हुनेछ काेराेनाकाे अन्तिम परीक्षण

काठमाडौं । कोरोनाको अन्तिम परीक्षण अब तीन ठाउँबाट हुने भएकाे छ । यसअघि कोरोना पुष्टि भएका केसको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्रै अन्तिम परीक्षण हुँदै आएकोमा अब भने तीन ठाउँबाट हुने भएकाे छ । पश्चिममा भेरी अस्पताल र पूर्वमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई ‘क्रस भेरिसिफेसन’ गर्न दिइने भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । हालसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र ‘क्रस भेरिसिफेसन’ हुने गरेको थियो । अरु ल्याबमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिए टेकुमा भेरिफिकेसन गरिन्थ्यो । साथै भेरी अस्पताल नेपालगञ्जमा पनि पीसीआर विधिबाट कोरोना भाइरसको नमुना परीक्षण शुरू भएको छ । पीसीआर मेशिन जडान गरिएसँगै आजैबाट नमुना परिक्षण गर्न थालिएको छ । योसँगै नेपालभरी पीसीआर विधिबाट कोरोना नमुना परीक्षण १५ स्थानबाट हुनेछ । हालसम्म नेपालमा काेराेनाका बिरामीकाे संख्या ३१ रहेको छ । जसमध्ये ४ जना निको भएर घर फर्किसकेका छन् ।