भारतले लगायो र्यापिड टेस्टमा रोक
काठमाडौं । भारतमा र्यापिड डायग्नोस्टिक टेस्टको माध्यमबाट कोरोना भाइरसको परीक्षणमा रोक लगाएको छ । भारतको केन्द्रीय गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय र आईसीएमआरको तर्फबाट संयुक्त रुपमा भएको पत्रकार सम्मेलनमा आगामी दुई दिनका लागि र्यापिड टेस्टबाट कोरोना परीक्षणमा रोक लगाइने निर्णय गरेको हो । आईसीएमआरका डा. रमन गंगाखेडकरले विभिन्न राज्यमा र्यापिड टेस्ट किटबाट लिएको परीक्षणको नतिजा फरक आएसँगै विश्वसनीयतामा प्रश्न उठेको भन्दै अगामी दुई दिन र्यापिड टेस्ट नगर्ने जानकारी दिए । आईसीएमआरले गहन छानबिन पछि परीक्षणका लागि निर्देशन जारी गर्ने जानकारी दिँदै सो राज्यमा आफ्नो टोली पठाउन लागेको जनाएको छ । पछिल्लो २४ घण्टा यता भारतमा १ हजार १ सय ९३ कोरोना संक्रमित फेलापरेसँगै हालसम्म २० हजार १ सय ७८ जना भारतिय नागरिकमा कोरोना संक्रमित छन् भने ६ सय ४५ जनाको मृत्यु भईसकेको छ ।
र्यापिड टेस्टमा पोजेटिभ देखिएको दुई नर्सको पिसिआर नजिता नेगेटिभ
काठमाडौं । काठमाडौंमा र्यापिड टेस्ट गर्दा दुई जना नर्समा पोजेटिभ देखिएपछि पिसिआर परीक्षणमा भने नेगेटिभ देखिएको छ । शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालले दुवै नर्सको पिसिआर परीक्षणमा कोरोनाको संक्रमण नदेखिएको जानकारी दिएको छ। आइसोलेसनमा भर्ना गरिएका नर्सलाई अस्पतालले आजै डिस्चार्ज गर्ने जनाएकाे छ । त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारको अस्पतालमा कार्यरत दुई नर्सलाई सोमबार र्यापिड टेस्ट गर्दा पोजेटिभ देखिएकाले टेकु अस्पतालमा भर्ना गरिएको थियो ।
कोरोना अपडेटः संसारभर निको हुने संक्रमितको संख्या करिब ७ लाख
काठमाडौं । नेपाली समय अनुसार आज विहान ७ः३० बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या २५ लाख ५६ हजार ७ सय ४५ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म १ लाख ७७ हजार ६ सय १९ जनाको मृत्यु भइसकेको छ भने ६ लाख ९० हजार ३ सय ९३ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढी शिकार अमेरिकाकी जनता भएका छन् । जहाँ ४५ हजार ३ सय १८ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने ८ लाख १८ हजार ७ सय ४४ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या २० हजार ८० पुगेको छ भने अहिलेसम्म ६४५ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ४२ जना संक्रमित भएका छन् भने ४ जना निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभारः वल्डोमिटर)