सुदूरपश्चिममा चौथो संक्रमित महिलाले पनि जितिन् काेराेना

काठमाडाैं । सुदूरपश्चिममा चौथो कोरोना संक्रमित पनि कोरोनालाई जितेर घर फर्किएकी छन् । कैलालीको लम्की चुहा नगरपालिका वडा नम्वर १ कि महिला आज सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी हुन्। उनको पनि लगातार दुई पटक रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालले बताएकाे छ । उनी विरगञ्जबाट आएर १२ दिन क्वारेन्टाईनमा बसेकी थिईन् भने बैशाख १ गते कोरोना पुष्टि भएको थियो। योसंगै सुदूरपश्चिम प्रदेशमा चार जना कोरोनालाई जितेर घर फर्किएका छन्। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुष, लम्कीका २१ बर्षीय युवक र कञ्चनपुर बेदकोटका ४१ बर्षीय पुरुष यसअघि नै घर फर्किसकेका छन्। अव धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिला मात्रै सेती अस्पतालको आईसोलेसनमा उपचाररत छिन्।

काेराेना संक्रमितमुक्त बन्याे काठमाडाैं

काठमाडौं । आजदेखि काठमाडौंमा उपचारको क्रममा रहेका कोरोना संक्रमितको संख्या शुन्य भएकाे छ ।  आज पाटन अस्पतालमा उपचाररत बिरामी डिस्चार्ज भएपछि काठमाडाैंमा काेराेना संक्रमितकाे संख्या शुन्य भएकाे हाे । शुक्रराज ट्रपिकल अस्पतालका निर्देशक सागर राज भण्डारीले आज देखि काठमाडौंमा कोरोना संक्रिमतकाे संख्या शुन्य पुगेको बताएका छन् ।  ‘पाटन अस्पतालमा उपचाररत दुई जना निको भएर गईसकेका छन्,  काठमाडौंमा कोरोना संक्रमितको संख्या शुन्य पुगेकाे छ,’ उनले भने । काठमाडौंमा ५ जना कोरोना संक्रमितको उपचार भएको थियो । टेकु अस्पतालमा तीन जना र पाटन अस्पतालमा दुई जना संक्रिमतको उपचार भईरहेको भए पनि उनीहरू निकाे भएर घर फर्किसकेकाे टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा.अनुप बास्तोलाले बताए । सबै संक्रमित निको भएर घर फर्किसकेको अवस्थामा एक प्रकारको आनन्द महसुुस भएको बास्तोला बताउँछन् । आफुहरु थप आउन सक्ने चरणको लागि तयारी गरिरहेको उनले जानकारी दिए । हालसम्म नेपालमा ४७ जना काेराेना संक्रिमत  पुष्टि भएका छन् । जसमा ९ जना निकाे भएर घर फर्किसकेका छन् । आज मात्रै थप दुई जनामा काेराेना देखिएकाे छ । काठमाडाैंमा नयाँ काेराेनाका बिरामी नदेखिए पनि काठमाडाैं बाहिर भने दैनिक बढ्दै गएका छन् ।

सनसिटी अपार्टमेन्टका दुई कोरोना संक्रमित निको भएर घर फर्किए

काठमाडौं । पाटन अस्पतालमा उपचाररत दुई कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । कोभिड–१९ सम्बन्धि नियमित प्रेस ब्रिफिङमा बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दुई कोरोना संक्रमित निको भएर घर फर्किएका बताएका हुन् । पेप्सिकोला सनसिटी अपार्टमेन्टमा फेला परेका संक्रमित दुई आमा (८१ वर्षीय)–छोरा (५८ वर्षीय) निको भएर घर फर्किएका हुन् । यहीसँगै नेपालमा निकाे भएर ९ जना घर फर्किएका छन् ।