कन्ट्याक्ट ट्रेसिङ गर्न थप टोली परिचालन, उपत्यकामा बढी निगरानी गरिने

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमितसँग नजिक रहेकामा गरिने ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्नका लागि मुलुकभर एक हजार १०७ टोली परिचालन गरिएको छ । सङ्घ, प्रदेश र स्थानीय तहमा एक हजार १०७ टोली परिचालन गरेर कन्ट्याक्ट ट्रेसिङ गर्दै आएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए । प्रदेश तहमा सामाजिक विकास मन्त्रालय र स्थानीय तहमा रहेका अस्पताल र स्वास्थ्यचौकीले ट्रेसिङको काम गर्दै आइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई हजार ६३४ जनामा कोरोना सङ्क्रमित भएको पृष्टि भएको छ । ट्राभल हिस्टीका आधारमा सङ्क्रमितसँग नजिक रहेका आफन्त, साथीभाइको पहिचान गरी कन्ट्याक्ट ट्रेसिङ गर्ने गरिन्छ । इपिडिमियोलोजी र प्रदेशको मन्त्रालयले पाँचजनाका चिकित्सकको टोली कन्ट्याक्ट ट्रेसिङका लागि खटाएका छन् । पहिले कन्ट्याक्ट ट्रेसिङका लागि आफैँ पुग्ने गरेको इपिडिमियोलोजीले अहिले भने प्रदेशमा रहेका चिकित्सकलाई नै केन्द्रबाट भर्चुअल तालिम दिएर कन्ट्याक्ट ट्रेसिङ गर्नका लागि खटाइरहेको छ । अहिले पनि केन्द्रबाट आवश्यकताअनुसार बढी सङ्क्रमित ठाउँमा कन्ट्याक्ट ट्रेसिङका लागि टोली जाने गरेको इपिडिमियोलोजी महाशाखाका निर्देशक डा पाण्डेले बताए । ‘पहिले हामी १०० जनासम्म सङ्क्रमित भएको अवस्थामा हामी आफैँ नै जाने गथ्र्यौं । उदयपुर, कपिलवस्तु, बाँके, धनगढीमा हामी आफैँ गयौँ’, उनले भने, ‘अहिले सङ्क्रमित बढेकाले हामीबाट मात्र कन्ट्याक्ट ट्रेसिङ गर्न सम्भव भएन । हामीले प्रदेश र स्थानीय तहका चिकित्सलाई तालिम दिएर खटाइरहेका छौँ ।’ स्थानीय तहमा प्रत्येक गाउँपालिकामा एकवटा समूहको दरले, नगरपालिकामा दुई टोलीको दरले उपमहानगरपालिकामा तीन टोलीको दरले र महानगरपालिकामा पाँच टोलीको दरले कन्ट्याक्ट ट्रेसिङका लागि परिचालन गरिएको छ । ती टोलीमा तीनजना रहनेछन् । जसमा जनस्वास्थ्य अधिकृतसहित, नर्स र ल्याब टेक्निसियन रहने गर्छन् । चार सय ६० गाउँपालिकामा ४६० टोली, २७६ नगरपालिकामा ५५२ टोली, ११ उपमहानगरपालिकामा ३३ टोली र ६ महानगरपालिकामा ३० टोली परिचालन छन् । सङ्क्रमित पृष्टि भएपछि ती सङ्क्रमितको ट्राभल हिस्ट्रीका आधारमा नजिकका आफन्त, घरपरिवार सबैको कन्ट्याक्ट ट्रेसिङ गर्दै आइरहेको छ । तीनदेखि ११० जनामा ट्रेसिङ कोभिड-१९ सङ्क्रमितसँग नजिक रहेकासँग गरिने कन्ट्याक्ट ट्रेसिङ तीनजनादेखि ११० जनासम्म गरिएको छ । कोभिड-१९ को सङ्क्रमण फैलिन नदिई रोकथाम र नियन्त्रण गर्नका लागि सङ्क्रमित भएका व्यक्तिका नजिक रहेका तीनदेखि ११० जनासम्ममा कन्ट्याक्ट ट्रेसिङ गरिएको महाशाखाको सर्भेलेन्स तथा अनुसन्धान शाखाका प्रमुख महेन्द्रध्वज अधिकारीले बताए । महाशाखाले एकजना सङ्क्रमितमा रहेका नजिकका व्यक्ति थोरैमा तीन र धेरैमा ११० जनासम्म कन्ट्याक्ट ट्रेसिङ गरेको छ । सर्भेलेन्स शाखा प्रमुख अधिकारीले सङ्क्रमित व्यक्तिलाई प्रत्यक्ष भेटेर, फोनबाट उसको नजिकको रहेका व्यक्तिलाई कन्ट्याक्ट ट्रेसिङ गरिरहेको जानकारी दिए । कन्ट्याक्ट ट्रेसिङ सङ्क्रमितलाई सङ्क्रमण हुनुभन्दा १४ दिन अगाडि र सङ्क्रमितको लक्षण नदेखिएमा ६ हप्तासम्म अगाडि व्यक्तिमा नजिक रहेका गरिन्छ । ‘रोगको पहिचान भएको लक्षण देखिएको मान्छेको भने सङ्क्रमण देखिएको दिनदेखि १४ दिन पछाडि गएर कन्ट्याक्ट ट्रेसिङ गर्छौं’, उनले भने, ‘त्यो अवधिमा सङ्क्रमितले कहाँ गयो, कसकसलाई भेट्यो । कुन गाडी चढ्यो । सबै कुराको सूचना लिएर उसँग आएका मानिसलाई पहिचान गर्छौं ।’ कन्ट्याक्ट ट्रेसिङ गरिएका व्यक्तिलाई पनि छुट्याएर क्याजुअल कन्ट्याक्टमा रहेका १५ मिनेटभन्दा कम समय भेटेको, टाढाबाट भेटेको व्यक्तिलाई रोग सर्ने सम्भावना धेरै नहुने उनको भनाइ रहेको छ । सङ्क्रमितसँगै घरमा बसेका व्यक्ति भने उच्च जोखिममा रहने भएकाले विशेष निगरानीमा राखिन्छ । त्यस्ता व्यक्ति बिरामीसँग सम्पर्क भएको दिनदेखि १४ दिनसम्म घरमै बस्न भनेर अनुगमन गरिने उनले बताए । सङ्क्रमितसँगै पाँचदेखि १० दिनसम्म क्लोज कन्ट्याक्टमा रहेका व्यक्तिलाई आरडिटी वा पिसिआर परीक्षण गरेको शाखा प्रमुख अधिकारीले बताए । उपत्यकामा बढी निगरानी उपत्यकामा कन्ट्याक्ट ट्रेसिङको काम इपिडिमियोलोजी आफैँले गर्ने गरेको छ । इपिडिमियोलोजीले स्थानीय तहसँगैको सहकार्यमा कन्ट्याक्ट ट्रेसिङ गर्दै आइरहेको छ । ‘देशभित्रका मानिस यहाँ आउने भएकाले कन्ट्याक्ट ट्रेसिङका लागि तयारी अवस्थामा राखिएको छ’, शाखा प्रमुख अधिकारीले भने, ‘यहाँ सङ्क्रमित भएपछि हामी आफैँ जाने गरेका छाैं ।’ रासस

निजी प्रयोगशालालाई पनि कोरोना परीक्षण गर्न दिने सरकारको निर्णय

काठमाडौं । सरकारले निजी क्षेत्रका प्रयोगशालाहरूलाई पनि कोरोना भाइरसको परीक्षण गर्न दिने भएको छ। सरकारी प्रयोगशालाले परीक्षणको चाप धान्न नसकेपछि सरकारले निजी प्रयोगशालालाई पनि परीक्षण गर्न दिने निर्णय गरेको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले इच्छुक निजी क्षेत्रका प्रयोगशालाहरूलाई आफ्नो परीक्षण क्षमतासहितको विवरण पेस गर्न आव्हान गरेको प्रयोगशालाकी निर्देशक डा. रूना झाले बताइन् । ‘हामीले निजीलाई पनि दिने निर्णय गरेका हौं । ईच्छुकहरुलाई उहाँहरूको क्षमता, जनशक्ति र मूल्य निर्धारणको विवरण पेस छौं । त्यसपछी उहाँहरुको सबैकुरा बुझेर हामी अगाडि बढ्नेछौं । उहाँहरुले त्यति धेरै त गर्न सक्नुहुन्न तर केही हदसम्म सहयोग हुने हुनाले हामीले यो निर्णय गरेका हौं ।’ – उनले विकासन्युजसँग भनिन् । यस बारेमा हिजोबाट छलफल सुरु भएकाे र अब आईतबारसम्ममा निश्कर्ष निस्कने स्वास्थ्य मन्त्रालयका स्वास्थ्य विज्ञ खेम कार्कीले बताए । त्यसपछि कस्तो अस्पताललाई दिने भन्ने निणर्य हुने उनले बताए । अहिले देशभर रहेका २० वटा प्रयोगशालाहरूले परीक्षण गरिरहेका छन् । उनीहरूले पछिल्लाे समय परीक्षण धान्न नसक्दा प्रयोगशालाहरूमा नमूनाको चाङ लागेको छ।

क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना सङ्क्रमण पुष्टि

काठमाडाैं । क्वारेन्टिनबाट घर फर्केपछि मृत्यु भएका पश्चिम सुर्खेतका युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बिहीबार बिहान होम क्वारेन्टिनमा मृत्यु भएका पञ्चपुरी नगरपालिका-१ का २० वर्षीय युवकको मृत्युपछि पिसीआर परीक्षण गरिएको थियो । प्रदेश अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशाला वीरेन्द्रनगरमा मृतकको स्वाबको पिसीआर परीक्षण गरिएको हो । यससँगै कर्णालीमा कोरोना सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ भने नेपालमा ११ पुगेको छ । यसअघि शनिबार दैलेख दुल्लुका ३५ वर्षीय युवकको क्वारेन्टिनमै मृत्यु भएको थियो । पञ्चपुरी नगरपालिका-१ का वडाध्यक्ष धनबहादुर थापाका अनुसार यही जेठ ९ गते भारतको मुम्बइबाट आएका उनलाई अन्य ५४ जनासँगै विद्यापुरस्थित जनता मावि क्वारेन्टिनमा राखिएको थियो । बुधबार साढे ४ बजे आरडिटी गर्दा नतिजा नेगेटिभ आएपछि उनलाई होम क्वारेन्टिन बस्ने शर्तमा पठाइएको थियो । सोही राति साढे १२ बजे घर पुगेका ती युवक नजिकैको मौरीपालन स्रोत केन्द्रको भवनमा बसेका थिए । वडाध्यक्ष थापाले कोरोना पुष्टि भएपछि उनीसँगै आएका अन्य युवा र क्वारेन्टिनमा बसेका व्यक्तिको स्वाब सङ्कलन गरी परीक्षण गर्ने तयारी भइरहेको बताए । नगरप्रमुख उपेन्द्रबहादुर थापाले शवलाई प्रहरीले सुरक्षा दिइरहेको र वीरेन्द्रनगरबाट सेनाको टोली आइपुगेपछि व्यवस्थापन गरिने जानकारी दिए । सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले शव व्यवस्थापनका लागि वीरेन्द्रनगरबाट नेपाली सेनाको टोली खटिएको बताए । रासस