डाेटीकाे क्वारेनटाइनमा १९ वर्षिय युवककाे मृत्यु

डाेटी । डाेटी जिल्लाकाे केआइसिंह गाउँपालिका–३ स्थित क्वारेनटाइनमा १९ वर्षीय एक युवकको मृत्यु भएको छ । वडा नं ३ का १९ वर्षीय युवकको बिहान ३ बजे मृत्यु भएको हो । उनी लामो समयदेखि मुटुका बिरामी थिए । बेलाबेला मुखबाट रगत निकाल्ने, काँप्ने लक्षण देखिँदै आएको थियाे । भारतबाट गत जेठ २० गते आइपुगेपछि सीताराम आधारभूत विद्यालयमा बनाइएको क्वारेनटाइनमा राखिएको थिए । ‘१२/१३ वर्षदेखि छोरा रोगी थियो, खेत बेचेरसमेत भारतका विभिन्न अस्पतालमा उपचार गरेको थिएँ, क्वारेन्टिनमा छोरालाई बिसञ्चो भएपछि भेट्न पुगेँ, म पुग्ने बित्तिकै छोरो बेहोस भई ढल्यो’ मृतककाे बाबुले बताए । छोरा ढलेपछि स्याहार गर्न बुबा आफैं क्वारेन्टिन बस्ने शर्तमा भित्र पसेका थिए । उनले भने, ‘रातिको समय भएकाले स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिलाई खबर गरेनौँ तर  बिहान ३ बजे प्राण त्याग्यो ।’ हाल मृतकका बुबा क्वारेनटाइन मै बसिरहेका छन् । रासस

गण्डकी प्रदेशमा ३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ सय १३

काठमाडौं । आइतबार विहानै गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा ४ जिल्लाका ३८ जना पुरुषमा कोरोना पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । याेसँगै गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १ सय १३ पुगेकाे छ । संक्रमित हुनेहरुमा स्याङ्जा वालिङ नगरपालिका निवासी १३ जना र भिरकोट नगरपालिका निवासी १ जना पुरुषमा कोरोना पुष्टि भएको छ । त्यस्तै बाग्लुङ बडिगाड गाँउपालिका ९ जना पुरुष र ढोरपाटन गाँउपालिका निवासी १ जना पुरुष सहित बाग्लुङ्मा एकैचोटी १० जनामा कोरोना पुष्टि भएको छ । यता गोरखा जिल्लाको पालुङटार नगरपालिकामा १ र गण्डकी नगरपालिका ९ जनामा कोरोना देखिएको छ । भने नवलपरासी वर्दघाट सुस पूर्वको हुप्सेकोट गाँउपालिका ४ जनामा कोरोना पुष्टि भएको निर्देशक डा. शर्माले जानकारी दिए । हाल सबै संक्रमितहरुलाई सम्बन्धित जिल्ला अस्पतालको आईसोलेसनमा लैजाने तयारी भइरहेको जनाएका छन् ।

कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ६९ लाख ६६ हजार ४ सय १२ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख १ हजार ६ सय ७ जनाको मृत्यु भइसकेको छ भने ३४ लाख ४ हजार ४ सय १५ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख १२ हजार ९६ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १९ लाख ८८ हजार ४ सय ६१ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या २ लाख ४६ हजार ६ सय २२ पुगेको छ भने अहिलेसम्म ६ हजार ९ सय ४६ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ३ हजार २ सय ३५ जना संक्रमित भएका छन् भने १३ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ३६५ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार: वल्डोमिटर)