विरामीमा कोरोना देखिएपछि कोहलपुर शिक्षण अस्पताल बन्द

कोहलपुर । बाँकेको कोहलपुुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल आजदेखि पूर्णरुपले बन्द गरिएको छ । शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका अछाम जिल्लाका दुई बिरामीमा कोरोनाको सङ्क्रमण देखिएपछि अस्पताल बन्द गरिएको हो । अछाम जिल्लास्थित बयलपाटा अस्पतालले गर्भवती र आन्द्रामा समस्या भएका बिरामी कोहलपुर सिफारिश गरेको पाइएको छ । शिक्षण अस्पताल कोहलपुरमा ती बिरामीको जाँच गर्दा कोरोना सङ्क्रमण देखिएको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका उपनिर्देशक दिनेश श्रेष्ठले जानकारी दिए । ती बिरामीको शल्यक्रिया गर्ने तयारी गरिए पनि कोरोना सङ्क्रमण देखिएपछि रोकिएको छ ।  रासस

चितवनमा एक जना कोरोना सङ्क्रमितको मृत्यु

चितवन । नारायणी सामुदायिक अस्पताल भरतपुरमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सोमबार साँझ भरतपुर अस्पतालमा सारिएका एक बिरामीको मृत्यु भएको छ । उनको बिहान ७ः०५ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । याेसँगै नेपालमा काेराेनाबाट १५ जनाकाे मृत्यु भइसकेकाे छ । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार बिहान उनको मृत्यु भएको हो । चिकित्सकका अनुसार कोभिड–१९ निमोनियाका कारण उनको निधन भएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार उनी नारायणी सामुदायिक अस्पतालको सघन उपचारकक्षमा भेन्टिलेटरमा रहेका थिए । बिरामी गम्भीर भएकाले अस्पताल सार्ने/नसार्ने भन्दाभन्दै साँझ बिरामी सारिएको उनले जानकारी दिए । शुक्रबार स्वाब परीक्षणका लागि पठाइएकामा सोमबार नतिजा आएको हो । जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु भएका ती व्यक्ति पहिलो हुन् । भरतपुर महानगरपालिका–११ सामनाटोलका गुरुङ समुदायका ती व्यक्ति ६८ वर्षका हुन् । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले शवको व्यवस्थापन नेपाली सेनाले गर्ने बताए । परिवारको परामर्शमा धार्मिक विधिअनुसार शव व्यवस्थापन गरिने उनले जानकारी दिए । सोमबार मात्र यहाँको प्रयोगशालामा स्वाब परीक्षण गरिएका ३ सय १० मध्ये ३० जनामा कोरोना सङ्क्रमण देखिएको थियो । तीमध्ये २४ जनाले चितवनका विभिन्न ठाउँबाट स्वाब सङ्कलन गराएका थिए ।  रासस

गण्डकी प्रदेशमा थप २४ जनामा काेराेना पुष्टि, संक्रमितको संख्या १ सय ४४

काठमाडाैं । गण्डकी प्रदेशकाे ३जिल्लामा थप २४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याेसँगै गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १ सय ४४ पुगेकाे  छ । पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरेकाे काेराेना परीक्षणमा नवलपरासी बौदीकाली गाँउपालिका निवासी १२ जना  रहेकाे गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रममा प्रवक्ता डा. विनोद बिन्दु शर्माले बताए । म्याग्दी जिल्ला बेनी नगरपालिका निवासी १ जना र बाग्लुङ निसीखोला गाँउपालिकाका ३ जना र सोही जिल्लाको बरेङ गाँउपालिका निवासी ८ जनामा कोरोना संक्रमण पुष्टि भएको डा. शर्माले जानकारी दिए ।