कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ७३ लाख ११ हजार ६ सय ३१ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख १२ हजार ९ सय ९७ जनाको मृत्यु भइसकेको छ भने ३५ लाख ९४ हजार ९ सय ६० जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख १४ हजार १ सय ४८ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २० लाख ४५ हजार ५ सय २० रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या २ लाख ७६ हजार १ सय ४६ पुगेको छ भने अहिलेसम्म ७ हजार ७ सय ५० जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ४ हजार ८६ जना संक्रमित भएका छन् भने १५ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ५८४ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार : वल्डोमिटर)

काठमाडाैंका दुई औषधि पसललाई कारवाही, प्रतिपसल दुई लाख रूपैयाँ जरिवाना

काठमाडाैं । बिलबिजक जारी नगर्ने दुई औषधि पसललाई मंगलबार कारवाही गरिएको छ । बजार अनुगमनका क्रममा नयाँ बानेश्वरस्थित साया फार्मेसी र वीर अस्पताल अगाडिको आरफ फार्मेसीलाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार अनुगमनका क्रममा बिलबिजक जारी नगरी फार्मेसी सञ्चालन गरेको भेटिएपछि प्रतिपसल दुई/दुई लाख रूपैयाँ जरिवाना गरिएको हो । उपभोक्ताको गुनासोलाई आधार बनाएर बन्दाबन्दी अवधिमा खाद्य, सर्जिकल सामग्रीलगायत सामग्रीमा बढी मूल्य लिने पसललाई दैनिक बजार अनुगमन गरी कारवाही गरिँदै आएको छ ।

३० हजारलाई लक्ष्य गरेर स्वास्थ्य सामग्री व्यवस्थापन गर्दै सरकार

काठमाडाैं । सरकार ३० हजार कोराना भाइरस सङ्क्रमितलाई लक्ष्य गरेर स्वास्थ्य सामग्री व्यवस्थापनमा लागेको छ । कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दैनिक रुपमा सोचेभन्दा बढ्न थालेपछि स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले मुलुकमा १५ हजारदेखि ३० हजारसम्म सङ्क्रमित हुन सक्ने अनुमान गरी स्वास्थ्य सामग्रीको व्यवस्थापनमा लागिएको महाशाखाका आपूर्ति व्यवस्था शाखाप्रमुख चुडामणि भण्डारीले जानकारी दिए । ‘दैनिक रुपमा सङ्क्रमित बढ्न थालेपछि हामीले सोचेभन्दा बढी नै सङ्क्रमित हुने अनुमान गरेका छौँ’, उनले भने, ‘त्यही भएर सङ्क्रमित बढ्ने अनुमानले स्वास्थ्य सामग्री खरिदको प्रक्रिया पनि अगाडि बढाएका छाैं ।’ पहिले एक हजार ५०० सङ्क्रमित हुने अनुमान गरिएको थियो भने पछिल्लोपटक भारतबाट सङ्क्रमित आउन थालेपछि यो सङ्ख्या पाँच हजार पुग्ने अनुमान सरकारको छ । केही दिनअघि पाँच हजार सङ्क्रमित हुने अनुमान गरेको भएपनि अहिलेको अवस्था हेर्दा त्योभन्दा बढी हुने अनुमान गरेर सामग्री व्यवस्थापनतिर लागेको हो । अहिले नै सङ्क्रमितको सङ्ख्या तीन हजार ७६२ पुगिसकेका छन् । दैनिक दुई-तीन सयको सङ्ख्यामा सङ्क्रमित बढिरहेका छन् । सङ्क्रमणबाट अहिलेसम्म १४ को मृत्यु भइसकेको छ । यस्तै अहिलेसम्म ४८८ जना निको भएर घर फर्किसकेका छन् । नेपालमा पहिलोपटक माघ ९ गते चीनको वुहानबाट आएका आएका एक विद्यार्थीमा सङ्क्रमण देखिएको थियो । पछिल्लोपटक भारतबाट स्वदेश फर्किरहेका मानिसमा परीक्षण गर्दा सङ्क्रमण देखिएको छ । उनका अनुसार व्यवस्थापन महाशाखामार्फत अहिलेसम्म करिब ९४ करोड रूपैयाँको स्वास्थ्य सामग्री खरिद गरिसकेको छ । तीमध्ये ४० करोड रूपैयाँ भुक्तानी भइसकेको र अरु भुक्तानीको प्रक्रियामा रहेको छ । उनले प्रदेश र जिल्लालाई जेठको पहिलो हप्ता पर्याप्त मात्रामा सामग्री पठाएकाले अहिले कहीँ पनि अपुग नरहेको जानकारी दिए । महाशाखाले पहिले उदयपुर, रौतहट, पर्सा र बाँकेमा केन्द्रबाट नै सिधै सामग्री पठाउने व्यवस्था गरेको थियो । तर अहिले सातवटै प्रदेश र कोभिड-१९ अस्पतालमा आवश्यक सामग्री पठाउने व्यवस्था गरिएको उनले बताए । उनका अनुसार व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) सेट पाँच हजार ८३५, पिपिइ गाउन ६७ हजार, सर्जिकल मास्क १९ लाख ८९ हजार, एन-९५ मास्क ६९ लाख वितरण गरिएको छ । यस्तै पिपिइ सेट पाँच हजार, पिपिइ गाउन एक लाख ७२ हजार, मास्क १४ लाख ७४ हजार र एन–९५ एक लाख ८१ मौज्दात रहेको छ । ती सामग्रीलाई आवश्यकअनुसार प्रदेश र कोभिड-१९ अस्पताललाई पठाइने छ । उनले मापदण्ड वितरित सामग्री प्रयोग गर्नाले चाँडै सकिएको समेत बताए । अहिलेसम्म पिसीआरबाट एक लाख ९७१ र आरडिटीबाट एक लाख ५६ हजार ९९१ जनाको परीक्षण गरिएको छ । अहिलेसम्म एक लाख ६६ हजार ६६८ जना क्यारेन्टिनमा रहेका छन् । रासस