सेनामार्फत खरिद गरिएको स्वास्थ्य सामग्रीमा अनियमितता भएको छैन– उपप्रधानमन्त्री पोखरेल
काठमाडाैं । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले सैनिक सेवा नियमावलीमै नेपाली सेनाको सङ्गठनलाई समावेशी बनाउने कानूनी प्रबन्ध गरिएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत रक्षा मन्त्रालयमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले नियमावलीले विभिन्न जाति समुदायको आरक्षणसम्बन्धी कोटा निर्धारण गरेको स्पष्ट गरे । मन्त्री पोखरेलले भने, “एउटा कुरामा हामी प्रष्ट हुनुपर्छ, समूहगत बटालियन नेपाली सेनामा बन्दैन, जातिगत समूहको आधारमा क्लष्ट–क्लष्टर बन्दैन, तय गरेको योग्यतालाई मिट गर्ने र भर्ना हुन चाहने भर्ती हुन सक्छन् ।” कोभिड– १९ को जोखिम रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि सेनाको व्यवस्थापनमा चीनबाट ल्याइनुपर्ने सबै स्वास्थ्य सामग्री र उपकरण स्वदेश आइसकेको जानकारी दिँदै उनले भारतबाट पनि आवश्यक प्रक्रिया पु¥याएर सामग्री ल्याउने प्रयास र तयारी भइरहेको बताए । मन्त्री पोखरेलले वर्तमान अवस्था र गाम्भिर्यतालाई मनन गरी संसारका अन्य राष्ट्रले पनि कोभिडविरुद्धको प्रतिकार्यमा खरिद गर्न चाहेको परिमाणमा सामग्री आपूर्ति नभइरहेका अवस्थामा सेनासँग भएको जनशक्ति र औपचारिक जनसम्पर्क तथा कूटनीतिक माध्यमलाई प्रयोग गर्दै पारदर्शीता, प्रभावकारिता र छरितो ढङ्गबाट आपूर्ति गरी आम जनताको स्वास्थ्य अवस्थालाई दृष्टिगत गरेर सरकारसरकारबीच सेनामार्फत सामग्री खरिद गरिएको र यसमा कुनै अनियमितता नभएको स्पष्ट गरे । सांसदको एक प्रश्नको जवाफमा उहाँले कोभिडलगायत महामारी नियन्त्रणका लागि पृथक ऐनको आवश्यकता महसुस भए पनि अहिले पुरानै महामारीसम्बन्धी ऐनलाई टेकेर काम गरिएको बताए । राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोग सचिवालयका विभिन्न शीर्षकमा विनियोजित बजेटका सम्बन्धमा उठेको प्रश्नको सम्बन्धित मन्त्रीले भोलिको बैठकमा जवाफ दिने अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । राष्ट्रियसभाको अर्काे बैठक भोलि बिहीबार बिहान ११ बजे बस्नेछ । रासस
पिसिआर परीक्षण दायरा छिमेकी मुलुकभन्दा माथि: मन्त्री ढकाल
काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ को पिसिआर परीक्षण गर्नेमा छिमेकी मुलुकमा नेपालको दायरा बढी नै रहेको बताएका छन् । आज राष्ट्रियसभाका सांसदले सोधेकाे प्रश्नको जवाफ दिँदै उनले प्रति १० लाखमा पाँच हजार १४६ जनामा परीक्षण गरिएको बताए । उनले भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र जापानजस्ता देशमा भन्दा नेपालमा परीक्षणको दायरा माथि रहेको बताए । उनका अनुसार १० लाखमा भारतले चार हजार ४११, पाकिस्तानमा चार हजार ३०८, श्रीलङ्का चार हजार २०४ र जापानमा दुई हजार ७२४ जनामा परीक्षण गरिएको छ । ख्मन्त्री ढकालले यही असार १५ गतेदेखि सातवटै प्रदेशमा ठूलो मेसिन ल्याएर दैनिक १० हजार परीक्षण गर्ने तयारीसमेत भइरहेको जानकारी दिए । नेपालमा हाल २२ प्रयोगशालाबाट पिसिआर परीक्षण भइरहेको छ । अहिलेसम्म एक लाख ४९ हजार ७७२ परीक्षण गरिएको छ । आज मात्र छ हजार ३७ जनामा परीक्षण गरिएको उनले जानकारी दिए । मन्त्री ढकालले कोभिड–१९ का सङ्क्रमित सबैलाई परीक्षण गरिने भन्दै कुनै एक परिवारका सबैमा सङ्क्रमण भए सबैको परीक्षण गरिने बताए । उनले स्वास्थ्य सामग्री खरिदमा कुनै अनियमिता नभएकोसमेत बताए । उनले कोभिड–१९ का लागि किनिएका स्वास्थ्य सामग्रीमा अनियमिता भए संसद्मा रहेको समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने बताए । मन्त्री ढकालले हिमोफेलिया रोगको चार महिनाका लागि औषधि मौज्दात राखिएकोसमेत बताए । उनले लम्की चुहा नगरपालिका१ मा रहेको क्वारेन्टिनमा एक महिलामाथि भएको बलात्कारको घटनामा संलग्नलाई हदैसम्मको कारवाहीसमेत हुने बताए । उनले कोभिड–१९ महामारीका रुपमा फैलिए अन्य मन्त्रालयबाट बजेट कटौती गरेर महामारी रोकथाम र नियन्त्रणमा खर्चिने बताए। सरकारले आगामी आर्थिक वर्षमा केन्द्रमा ३०० र सातवटै प्रदेशमा ५० श्ययाका सरुवा रोग अस्पताल बनाउने योजना रहेको उनको भनाइ थियो ।
कालीकोटमा थप १४ जनामा कोरोना संक्रमित
कालीकोट । कालीकोटमा थप कोरोनाका १४ संक्रमित फेला परेका छन् । स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा १४ जनामा कोरोना संक्रमण फेला परेको हो । जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका वडा नंं २ का १९, २१, २१, २४, ३८ र ६० वर्षीय पुरुष तथा वडा नं ३ का २३, ४२ र ५० वर्षीय पुरुष र १८, २२, ५१ वर्षीया महिलामा कोरोना संक्रमण फेला परेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटकबहादुर महतले बताए । कोराना संक्रमित आइसोलेशनमा छन् । ‘संक्रमितको संख्या ४३ छ जसमध्ये १ जना बाजुराका छन् ’, उनले भने, ‘२५ जना निको भएर घर गइसक्नुभएको छ । हाल आइसोलेशनमा १८ भर्ना हुनुभएको छ ।’ रासस