नेपालमा काेरानाकै कारण २० जनाकाे हाेइन २/३ जनाकाे मात्र मृत्यु भएकाे छ: प्रधानमन्त्री
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा काेराेनाकाे कारण मृत्यु हुनेकाे संख्या २० जना नभएकाे बताएका छन् । उनले विश्व स्वास्थ्य संगठनको निर्देशन मान्नु परेकाले मात्र नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ठूलो रहेको तर काेराेनाकै कारण २० जनाकाे मृत्यु नभएकाे बताएका हुन् । बिहीबार राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीले अहिलेसम्म मृत्यु भएका २० जनाको कोरोनाकै कारण मृत्यु नभएको दाबी गरे। उनले तीमध्ये दुई तीन जनाको मात्र कोरोनाबाट मृत्यु भएको बताए। ‘कोरोनाबाटै मृत्यु भएको दुई तीन वटा केस हुनसक्छ, बाँकीको भने अन्य कारणले मृत्यु भएको हो तर पछि कोरोनाले छोएको अवस्था हो,’ उनले भने। प्रधानमन्त्री ओलीले उपचार विधि र नेपालीहरूको प्रतिरोधात्मक क्षमताका कारण निधन हुनेको संख्या धेरै कम रहेको जिकिर गरे।
दैलेखमा कोरोना निको हुने र थपिने क्रम जारी
दैलेख । कर्णाली प्रदेशमा पहिलो कोरोना सङ्क्रमित पुष्टि भएको दैलेखमा कोरोना निको भएर घर जाने र सङ्क्रमित भइ भर्ना हुने अहिले दैनिकी जस्तै हुन थालेको छ । पछिल्लो सयम यहाँ सङ्क्रमित सङ्ख्या बढी देखिएको छ । गत मङ्गलबार मात्रै १८४ ले कोरोना जितेर खुशी हुँदै आफ्ना घर फर्किएका छन् भने ९४ जना कोरोना पुष्टि भई उपचारका लागि भर्ना भएका थिए । “निको भएर घर जाने र सङ्क्रमित भएर उपचारका लागि भर्ना हुनेको सङ्ख्या उस्तै दरमा देखिएको छ”, जिल्ला अस्पतालका कोरोना फोकल पर्सन थीरप्रसाद रेग्मीले भन्छन्’ “जिल्लामा ६३३ कोरोना पुष्टि भएका उपचारका लागि भर्ना छन्, दैनिक थपिने र निको भएर जाने क्रम जारी छ ।” गत सोमबारमात्रै ९१ मा कोरोना पुष्टि भएको थियो । सङ्क्रमित थपिए पनि निको हुने दर उत्तिकै देख्दा निकै खुशी तुल्याएको र विषेशगरी आयुर्वेदिक उपचार विधिद्वारा उपचार गर्दा बिरामीको स्वास्थ्यमा सुधार आएको उनी जानकारी दिन्छन् । जिल्ला अस्पतालका अनुसार जिल्लामा गत मङ्गलबारसम्म १८४ जनाले कोरोना जितेर घरमा फर्किसकेका छन् । सबैभन्दा धेरै घर फर्किनेहरुमा नारायण नगरपालिकाका १४५ र दुल्लु नगरपालिकाका ३४ रहेका छन् । त्यस्तै डुङ्गेश्वर गाउँपालिकाका तीन र गुराँस गाउँपालिकाका दुई जनाले कोरोना जितेर घर फर्किँदा जिल्लामा कोरोना जितेर घरमा फर्किनेको सङ्ख्या १८४ पुगेको छ । जिल्लाभरि ६३३ कोरोना सङ्क्रमितमध्य १८४ कोरोना जितेर घरमा फर्किसकेका छन् भने बाँकी ४४९ को उपचार भइरहेको जनाइएको छ । सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्दै गएकाले निषेधाज्ञा जारी राखिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए । एघार स्थानीय तह रहेको जिल्ला हालसम्म ६३३ कोरोना पुष्टि भएका छन् भने सयौँको स्वाब सङ्कलन गरी परीक्षणका लागि सुर्खेत र जुम्लामा पठाइएको छ ।
गण्डकी प्रदेशमा थप ७७ जनामा कोरोना पुष्टि, संक्रमितकाे संख्या ३ सय २४
काठमाडौं । विहीबार गण्डकी प्रदेशमा हालसम्म कै सबैभन्दा धेरै कोरोना ७७ जना संक्रमित भेटिएका छन् । गण्डकी स्वास्थ्य निर्देशनालयले बिहान ५:४५ बजे, ८ बजे र ९ बजे गरी तीन पटक जारी गरेको प्रेस विज्ञप्तीमा ७७ जना नयाँ संक्रमित भेटिएका जनाएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयको पछिल्लो सूचनाअनुसार स्याङजामा ९ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । संक्रमित पुष्टि हुनेमा आँधिखोला गाउँपालिकामा ७२ र ३४ वर्षीया २ जना महिला तथा १३ र १९ वर्षका २ पुरुष छन् । यसैगरी कालिगण्डकी गाउँपालिकाका १८, २१, २६, ३० र ३३ वर्षीय ५ जना पुरुषमा कोरोना पुष्टि भएको छ । त्यस्तै पर्वतमा ४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । कुश्मा नगरपालिका २० वर्षीय पुरुष, फलेबास नगरपालिकाका १९ र २२ वर्षीय २ पुरुष, जलजला गाउँपालिकाका १६ वर्षीय पुरुष रहेका छन् । बागलुङ गल्कोट नगरपालिकाका ३३ वर्षीय एक पुरुषम पनि कोरोना पुष्टि भएको हो । तनहुँको ब्यास नगरपालिकाका ३ जनामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । उनीहरु २९, २५ र ४५ वर्षीय पुरुष हुन् । पूर्वी नवलपरासीका १३ जनामा कोरोना पुष्टि भएको छ । १९ देखि ३९ वर्ष समूहका उनीहरु हुप्सेकोट गाउँपालिका र विनयत्रिवेणी गाउँपालिकाका हुन् । संक्रमित सबै भारतबाट आएर सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा रहेको निर्देशनालय निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन् । संक्रमित सबै क्वरेन्टाइनमा नै रहेको र सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ जनाएकाे छ । विहीबार विहान नै गोरखामा ११ जना, तनहुँमा १२ जना, नवलपरासीमा १८ जना र मनाङमा १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । हिमाली जिल्ला मनाङमा पहिलो पटक कोरोना देखिएको हो । गण्डकी प्रदेशमा योसँगै कोरोना संक्रमितको संख्या ३ सय २४ पुगेको छ । जसमध्ये २२ जना निको भइ घर फर्किसकेका छन् भने १ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।