होम क्वारेन्टाइन बसेकी बालिकाको मृत्यु
प्युठान । प्युठानमा आरडिटी नेगेटिभ भएर पनि होम क्वारेन्टाइनमा बसेकी बालिकाको मुत्यु भएको छ । झिमरुक गाउँपालिका वडा नं २ की ११ वर्षीया बालिकाको अपराह्न घरमै निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए । गत जेठ २१ गते भारतबाट आएकी वडा नं २ स्थित सर्वोदय माध्यमिक विद्यालयको क्वारेन्टिनमा १४ दिन बसेपछि यही असार ३ गते उनको कोरोना आरडिटी गरिएको थियो । आरडिटी रिपोर्ट नेगेटिभ आएपछि उनी होम क्वारेन्टिनमै बस्दै आएको जनाइएको छ । मृतक बालिका मिर्गौला र ब्लड क्यान्सरको बिरामी रहेको जानकारी आएको सूचना अधिकारी पौडेलले बताएका छन्। बालिकाको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गर्न स्वास्थ्यकर्मी घटनास्थल जाँदै गरेको जनाइएको छ । मृत्यु भएकाको रिपोर्ट पोजेटिभ गुल्मी– जिल्लामा होम क्वारेन्टाइनमा मृत्यु भएका पुरुषको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । छत्रकोट गाउँपालिका –५ अन्र्तगत मैनडाँडाका ६९ वर्षीय पुरुषको बिहीबार राति होम क्वारेन्टाइनमा मृत्यु भएको थियो । गत जेठ २५ गते भारतको मुम्बईबाट घर फर्केका उनको आरडिटी गर्दा रिपोर्ट पोजेटिभ आएपछि होम क्वारेन्टाइनमा बस्दै आएका थिए । क्वारेन्टिनमा मृत्यु भएपछि उनको स्वाब निकालेर परीक्षणका लागि शुक्रबार लुम्बिनी प्रादेशिक अस्पताल भैरहवा पठाइएको थियो । लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको स्वाब परीक्षणमा मृतकको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । रासस
संक्रमित महिलाको सफल शल्यक्रिया
राँझा । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा कोरोना संक्रमित महिलाको सफल शल्यक्रिया गरिएको छ । भीम अस्पताल भैरहवाबाट सिफारिश भएर आएकी जटिल प्रसव समस्याले ग्रसित महिलाको शल्यक्रियामार्फत छोरी जन्मिएको अस्पतालका सहनिर्देशक डा नितेश कनोडियाले जानकारी दिए । उनका अनुसार कृष्णनगर कपिलवस्तुकी २७ वर्षीया सङ्क्रमित गर्भवतीको आकस्मिक शल्यक्रिया गरिएको हो । अहिले आमा र नवजात शिशुको सामान्यावस्था छ । जटिल अवस्थामा रहेकी महिलालाई डा कविता सिन्हा, डा रवीन श्रेष्ठ, डा राजेश केसी, डा अमरेन्द्र कुशवाह र नर्सिङ्ग स्टाफ सङ्गीता गिरी, सरस्वती श्रेष्ठ र पवित्रा विष्टको टोलीले सफल शल्यक्रिया सम्पन्न गरेको जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तेस्रोस्तरको कोरोना अस्पताल तोकेर जिम्मेवारी दिएपछि शिक्षण अस्पताल कोहलपुरले अछामकी २५ वर्षीया कोरोना सङ्क्रमित १८ हप्ताकी गर्भवतीको ठूलो आन्द्राको शल्यक्रिया गरेर कोरोना अस्पतालको काम शुरु गरेको थियो । अस्पतालमा कोरोना सङ्क्रमित तीन जनाको उपचार भइरहेको अस्पतालका सहनिर्देशक डा कनोडियाले बताए । रासस
थप ३ सय ३१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८ हजार ६ सय नाघ्यो
काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ३ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको बताएका छन् । नेपालमा काेराेनाबाट २२ जनाको मृत्यु भइसकेकाे छ भने १ हजार ५ सय ७८ जना उपचार पछि निकाे भइ डिस्चार्ज भएका छन् ।