भारतमा एकैदिनमा १३ हजारभन्दा बढी सङ्क्रमित, दुई लाख बढीले जिते काेराेना
भारत । भारतमा शुक्रबार एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएको विवरण सार्वजनिक भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट १३ हजार ५८६ जना सङ्क्रमित भएका छन् । त्यसैगरी सोही अवधिमा कोरोना भाइरसका कारण ३३६ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । देशभरी अहिलेसम्म कोरोनाभाइरसबाट कुल सङ्क्रमितको संख्या ३ लाख ८० हजार ५३२ पुगेको मन्त्रालयको तथ्यांक छ । ती कुल सङ्क्रमित मध्ये एक लाख ६३ हजार २४८ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु दुई लाख चार हजार ७११ जना सङ्क्रमणमुक्त भएका छन् । प्रदेशअनुसार हेर्दा भारतमा सवैभन्दा धेरै सङ्क्रमित महाराष्ट्र प्रदेशमा रहेका छन् । महाराष्ट्रमा अहिलेसम्म कुल एक लाख २० हजार ५०४ जना सङ्क्रमित भएका छन् । त्यसैगरी दोस्रो धेरै सङ्क्रमित रहेको तमिलनाडु प्रदेशमा ५२ हजार ३३४ जना र दिल्ली प्रदेशमा ४९ हजार ९७९ जना सङ्क्रमित भएका छन् । रासस/एएनआई
कोरोनाबाट हालसम्म ४ लाख ५५ हजारभन्दा बढिको मृत्यु, संक्रमितको संख्या भने ८५ लाख नाघ्यो
काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ८५ लाख ६७ हजार ७ सय ६१ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख ५५ हजार ५ सय ५३ जनाको मृत्यु भइसकेको छ भने ४५ लाख ८ हजार ३ सय ४ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख २० हजार ६ सय ८२ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २२ लाख ६३ हजार ८३ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ३ लाख ८१ हजार ९१ पुगेको छ भने अहिलेसम्म १२ हजार ६ सय ४ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ७ हजार ८ सय ४८ जना संक्रमित भएका छन् भने २२ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी १ हजार १ सय ८६ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभारः वल्डोमिटर)
बाजुरामा सङ्क्रमितसँगै रहेका ६२ जनाको पिसीआर रिपोर्ट नआउँदै घर पठाइयो
बाजुरा । जिल्लाको बूढीगङ्गा नगरपालिका–१ धुरालसैन मावि क्वारेन्टिनमा बसेका ६२ जनालाई पिसीआर रिपोर्ट नआउँदै घर पठाइएपछि सर्वसाधारण त्रसित बनेका छन् । कोरोनाकै कारण ज्यान गुमाएकी बालिकासँगै क्वारेन्टिनमा बसेका ६२ जनाको पिसीआर रिपोर्ट नआउँदै बुधबार नगरपालिकाले घर पठाएपछि स्थानीयवासी आक्रोशित बनेका हुन् । धुरालसैन माविको क्वारेन्टिनमा बस्ने करिब १८७ जनाको पिसीआर जाँचका लागि धनगढी पठाइएको थियो । रिपोर्ट आउनमा ढिलाइ भएपछि ६२ जनाको रिपोर्ट नआउँदै उनीहरुलाई घर पठाइएको हो । रिपोर्ट नआएकाहरु धरै दिनसम्म बस्नुपरेको भन्दै आक्रोशित हुन थालेपछि नगरपालिकाले घर पठाइदिएको आरोप स्थानीयवासीको छ । त्यस्तै बुधबार नै सदरमुकाम मार्तडीको बाजुरा क्याम्पस र मालिका माविको क्वारेन्टिनमा रहेकालाई पनि २३ दिनसम्म पिसीआर रिपोर्ट नआएपछि घर पठाइएको छ ।