कोरोना जाँचमा पहिलो काठमाडौं, दोस्रो जुम्ला

काठमाडाैं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण भए/नभएको पत्ता लगाउन पिसिआर परीक्षणको दायरा बढाउँदै गएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाडौंपछि सबैभन्दा बढी कोरोना परीक्षण जुम्लामा भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गत वैशाख २२ गतेदेखि कोरोना पिसिआर उपकरण सञ्चालनमा आएको प्रतिष्ठानका अस्पताल निर्देशक डा मङ्गल रावलले बताए । मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ४६ हजार २२३ को पिसिआर भएको छ । त्यसपछि दोस्रो जुम्लामा सात हजार ४६५ को पिसिआर परीक्षणको तथ्याङ्क सार्वजनिक भएको उनले बताए । यसअघि मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा प्रतिष्ठान दोस्रो स्थानमै थियो । अहिले पनि दोस्रो स्थानमै रहेको छ । तेस्रो स्थानमा सुर्खेत प्रादेशिक अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा सात हजार २९७ को पिसिआर परीक्षण भएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ । भेरी अञ्चल अस्पताल नेपालगञ्जमा छ हजार ५०० को पिसिआर भएको छ । त्यसैगरी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले छ हजार ४५१ जना, कोशी अस्पताल विराटनगरले सात हजार ३९९ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले छ हजार ३६१ जना पिसिआर परीक्षण गरेको मन्त्रालयले जनाएको छ । देशभर २१ प्रयोगशालाबाट एक लाख ३३ हजार ३७७ को कोरोना जाँच भएको मन्त्रालले विवरण सार्वजनिक गरेको छ । प्रतिष्ठानले माथिल्लो कर्णालीका पाँच जिल्ला जुम्ला, हुम्ला, डोल्पा, मुगु र कालीकोटमा परीक्षण गर्दै आए पनि पछिल्लो समयमा सुर्खेत, दैलेख, रुकुमपश्चिम जिल्लाका समेत परीक्षण गर्ने गरेको छ । प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले भारतबाट आएका र शङ्कास्पद व्यक्तिको पिसिआर परीक्षण गरिएको बताए । उनका अनुसार आइतबारसम्म सात हजार ४६५ को परीक्षण भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कोरोना भाइरस परीक्षणका लागि पिसिआर मेशिनमा काम गर्ने दक्ष जनशक्तिका कारण परीक्षणमा सहज भएको छ । प्रतिष्ठानमा कार्यरत औषधि विज्ञानका चिकित्सक डा विजय अर्यालयले पिसिआर मेशिनको बारेमा पहिल्यै अध्ययन गरेको र प्रतिष्ठानका शिक्षाध्यक्ष डा निरेश थापाले चीनमा यसअघि नै उक्त मेशिनमा काम गरिरहेको हुनाले पनि परीक्षणमा सहज भएको रजिष्ट्रार काफ्लेले बताए । जुम्लामा अहिले कोरोना भाइरसको परीक्षणका लागि अत्याधुनिक ल्याबमा दुई चिकित्सकसहित प्रयोगशालाका चार प्राविधिक छन् । प्रयोगशालामा पिसिआर सञ्चालन हुनुअघि प्रयोगशाला प्रमुख विवेक पुनमगरले सुर्खेत प्रादेशिक अस्पतालमा गएर मेशिन सञ्चालनका लागि तालीमसमेत लिएका हुन् । रजिष्ट्रार काफ्लेले माथिल्लो कर्णालीमा परीक्षणको दायरा अझै बढाउने बताए । उनका अनुसार प्रतिष्ठान आफैँले भिटीएम कीट खरिद गरिसकेको छ । प्रतिष्ठानले कर्णाली प्रदेश सरकारको सहयोगमा हेलिकप्टर प्रयोग गरी हुम्ला, डोल्पा र मुगुमा स्वाब सङ्कलन कार्य गर्ने गरेको छ । मेडिकल मार्चअन्तर्गत चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली पनि ग्रामीण क्षेत्रमा खटिएको रजिष्ट्रार काफ्लेले बताए । जुम्लाका आठै स्थानीय तहमा एक महिनाका लागि १५ जना चिकित्सक परिचालन गरिएको छ । रासस

एउटै गाँउपालिका ५ जनामा काेराेना, गण्डकी प्रदेशमा संक्रमितकाे संख्या २ सय ४

काठमाडाैं । तनहुँ जिल्लाकाे घिरिङ गाउँपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उक्त गाउँपालिका स्थायी ठेगाना भई सोही गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ४५, २२, २७, २७, र ४६ वर्षिय ५ जना पुरुषहरूमा कोरोना पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले बताएका छन् । याेसँगै गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या २ सय ४ पुगेकाे छ । उनीहरूलाई शुक्लागण्डकी नगरपालिकामा रहेको जी.पी.कोइराला श्वासप्रश्वास केन्द्रको आइसोलेसन कक्षमा ल्याइएको छ ।  

‘कर्णालीमा नियन्त्रणमा आएन कोरोना सङ्क्रमण’

कर्णाली । कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम रोकिएको छैन । नेपाल सरकारले चैत्र ११ गतेबाट लकडाउन गरेदेखि यही जेठ ४ गतेसम्म ‘हरित जोन’का रुपमा परिचित कर्णाली ‘रेड जोन’मा परिणत भएको छ । यसमा दैलेख नै कोरोना सङ्क्रमणको ‘इपिसेन्टर’ बनेको छ । जेठ ५ गते दैलेख आठबीस नगरपालिकाका ३५ वर्षीय युवा कोरोना सङ्क्रमण देखिएयता यो सङ्क्रमण अङ्कगणितीय अनुपातमा बढिरहेको छ । आजको दिनसम्म कर्णालीमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या ९६७ पुगेको छ । एक्काइस दिनमा ९६७ जनामा फैलिएको कोरोना सङ्क्रमण औसतमा दैनिक ४६ जना सङ्क्रमित भएको पाइन्छ । त्यसमा दैलेखमा मात्र ५३८ जना कूल सङ्क्रमित सङ्ख्याको (५६ प्रतिशत) मा यो रोगको सङ्क्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए । महाशाखा प्रमुख तिवारीका अनुसार सुर्खेतमा २१२, सल्यानमा १३७, कालीकोटमा २८, जुम्लामा २४, जाजरकोटमा आठ, मुगुमा दुई, डोल्पामा एकजनामा कोरोना पुष्टि भएको छ । रुकुमपश्चिमबाहेक कर्णालीका सबै जिल्लामा कोरोना सङ्क्रमण फैलिएको छ । यसबाट कर्णालीमा डोल्पा, दैलेख र सुर्खेतका तीनजनाको ज्यान गएको छ । यो सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित दैलेखमा दिनहुँ ३०–५० को सङ्ख्यामा सङ्क्रमित थपिने गरेको उनले बताए । भारतबाट शनिबारसम्म ४२ हजार ४३२ नागरिक कर्णाली भित्रिएका छन् । त्यसमा १४ हजार १८ नागरिक दैलेखका मात्रै भएको कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायले जानकारी दिए । उनका अनुसार सुर्खेतका ११ हजार ५३०, कालीकोटका पाँच हजार १५८, जाजरकोटका तीन हजार ७७१, सल्यानका तीन हजार २८२, रुकुमपश्चिमका एक ६४३, मुगुका एक हजार ३९७, जुम्लाका एक हजार ३५७ र हुम्लाका २७५ नागरिकले कर्णाली प्रवेश गरेका छन् । जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले दैलेख भित्रिने नागरिकहरुको अत्यधिक चाप र नमूना स्वाब सङ्कलन गरी पठाएकाको आरटी पिसिआर रिपोर्ट निकै ढिलो आएका कारण दैलेखमा तीव्र रुपमा सङ्क्रमण फैलिएको बताए । पछिल्लो समयमा सङ्घ, प्रदेश र स्थानीय सरकारहरु पनि दैलेखको समस्यामा केन्द्रित भएर लागेको प्रजिअ कट्टेलको भनाइ छ । कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रीता जोशी (भण्डारी)ले प्रदेश सरकारबाट दैलेखका लागि स्वास्थ्य जनशक्ति, स्वास्थ्य सुरक्षा सामग्री थप गरिएको बताए । “कर्णालीभरिका जिल्लाहरु मध्य दैलेखमा नै स्वास्थ्य सेवा केन्द्रित गरिएका छ”, निर्देशक जोशीले भने, “अब त्यहाँ जतिसक्दो चाँडै आरटी मेशिन सञ्चालनमा ल्याउने तयारी पनि भइरहेको छ ।” दैलख क्षेत्र १ (क) बाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मीले भारतबाट आउने कर्णालीका नागरिकहरुको यकिन र त्यही अनुसारको व्यवस्थापनको पूर्वतयारी गर्न नसक्दा प्रदेशले अनपेक्षितरुपमा सङ्क्रमण फैलिएको बताए । “नागरिकहरु भारतबाट आउने क्रम रोकिएको छैन,” सदस्य रेग्मीले भने, “यो व्यवस्थापनमा सरकार गम्भीर भएर लाग्नुपर्दछ, अन्यथा त्यसले विकराल रुप लिन सक्छ ।” सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार आज पनि दैलेखमा ३७ जना व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ । त्यस्तै, सुर्खेतका १५ जनामा कोरोना पुष्टि भएको छ । कर्णालीमा तीनजनाबाहेक सबै भारतबाट आएका व्यक्तिहरुमा मात्र कोरोना सङ्क्रमण भएको पाइएको छ । यसरी दैनिक सङ्क्रमितहरुको सङ्ख्या वृद्धि हुँदै जाँदा प्रदेश तथा स्थानीय सरकारलाई कोरोना सङ्क्रमण नियन्त्रण ल्याउन निकै सकस हुँदै गएको छ । यता कर्णाली प्रदेश अस्पताल सुर्खेतका कोरोना सम्पर्क व्यक्ति डा के.एन पौडेलले अधिकांश सङ्क्रमतिहरुमा कोरोना सङ्क्रमण नदेखिएको बताए । उच्च मनोबल राख्न, खानपिन, सरसफाइ र व्यायाममा ध्यान दिन सके कोरोनालाई जोसुकैले सजिलै जित्न सक्ने भन्दै सम्पर्क व्यक्ति डा पौडेलले यसबाट कसैलाई नआत्तिन सुझाए ।