परीक्षणको दायरा बढाउन २५ थान पिसिआर मेसिन ल्याइँदै
काठमाडाैं । दैनिक १२ हजारबराबरको पिसिआर परीक्षण गर्ने लक्ष्यसहित मेडिकल सामग्री आयात गर्दै आएको विद म्यानेजमेन्टले २५ थान पिसिआर मेसिन आयात गर्ने तयारी थालेको छ । पिसिआर मेसिन तथा अत्यावश्यक सामग्रीको अभावमा कोरोना परीक्षणमा लामो समय लागेको पाइएपछि सरकारसँग सहकार्यका लागि निजी क्षेत्रले १५ थान पिसिआर मेसिन र १० थान पोर्टेवल पिसिआर मेसिन आयात गर्न लागेको हो । चीनबाट ती सामान आयात गर्न लागिएको र सात दिनभित्रै काठमाडौं आइपुग्ने विद म्यानेजमेन्टका प्रमुख विके भण्डारीले जानकारी दिनुभयो । उक्त मेसिनले एकपटकमा ९६ जनाको स्वाब परीक्षण गर्ने र एक घण्टाभित्रै रिपोर्ट दिन सक्नेछ । झण्डै ३० करोड रूपैयाँ बराबरको मेडिकल सामग्री आयात गर्न लागिएको जानकारी दिँदै प्रमुख भण्डारीले एक लाख थान आरएनए किट, एक लाख थान पिसिआर किट र तीन लाख थान भिटिएमसमेत आयात गर्न लागिएको बताए । भिटिएमको अभावमा स्वाब सङ्कलन गर्नसमेत समस्या भएको पाइएपछि छोटो प्रक्रियामार्फत सामान आयात गर्न लागिएको हो । यस्तै सो कम्पनीले नौ थान अटोमेटिक आरएनए मेसिन तथा दुई लाख थान आरटिडी किटसमेत ल्याउने तयारी गरेको छ । पिसिआर किटको अभावमा केही स्थानमा स्वाब सङ्कलन कार्यसमेत प्रभावित भएको र केही स्थानमा सङ्कलन भएको स्वाबसमेत परीक्षणमा लामो समय लागेको छ । पिसिआर परीक्षणको दायरा बढाउनका लागि ती मेडिकल सामग्री आयात गर्न लागिएको बताइएको छ । ती सबै सामग्री आयात भएपछि दैनिक १२ हजारजनाको स्वाब परीक्षण गर्न सकिने र कोरोना नियन्त्रणमा सहयोग पुग्ने विश्वास लिइएको छ । सरकारले समेत पिसिआर परीक्षणको दायरा बढाउने तयारी थालेको छ । सरकारले आगामी असार १५ गतेदेखि दैनिक १५ हजारजनाको पिसिआर परीक्षण गर्ने तयारी गरेको सङ्घीय संसद्मा समेत यसअघि नै जानकारी गराइसकिएको छ । लकडाउनलाई क्रमशः खुकुलो बनाउने र परीक्षणको दायरासमेत बढाउने तयारीका बीच निजी क्षेत्रले समेत त्यसमा आडभरोसा प्रदान गर्न लागेको हो । ती सामानको आयातपछि देशभर क्वारेन्टिनमा रहेकाको परीक्षणमा समेत थप सहज हुने जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म १ लाख २१ हजार ८६२ जनाको पिसिआर परीक्षण भएको छ भने आरटिडी परीक्षण १ लाख ८८ हजारको भएको छ । देशभर १ लाख ५८ हजार ५० जना क्वारेन्टिनमा रहेका छन् । यसअघि पनि विद म्यानेजमेन्टले दुईपटक गरी पाँच लाख थान आरटिडी, मास्क तथा अन्य मेडिकल सामग्री आयात गरेको थियो । रासस
कर्णालीमा स्वास्थ्य जनशक्ति न्यून
सुर्खेत । काेरोना सङ्क्रमित बढिरहेका बेला कर्णाली प्रदेशमा स्वास्थ्य जनशक्तिको अभाव देखिएको छ । दरबन्दीअनुसार स्वास्थ्यकर्मी नहुँदा महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसको उपचार तथा नियन्त्रणमा समस्या देखिएको हो । प्रदेशमा हाल ५० विशेषज्ञ चिकित्सक रहेकामध्ये प्रदेश मातहतमा ३३ जना मात्र छन् । प्रदेश मातहतका २५ लाई प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षमै करारमा नियुक्त गरेको हो । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार यहाँ ५९ विशेषज्ञ चिकित्सकमध्ये ५१ जनाको दरबन्दी रिक्त छ । प्रदेश स्वास्थ्य निर्देशक डा रीता भण्डारी जोशीले चिकित्सकसहितका स्वास्थ्यकर्मीको अभावले कोरोना सङ्क्रमितको उपचारमा चुनौती थपिएको बताइन् । “सङ्क्रमित दिन प्रतिदिन बढिरहेकाले स्थानीयस्तरमै आइसोलेशन कक्ष स्थापना गरी उपचार गर्नुपर्ने अवस्था छ”, उनले भनिन्, “स्थानीय तहमा पाँचाैं र छैटाैं तहका स्वास्थ्यकर्मी मात्रै हुनुहुन्छ, अधिकांश स्थानीय तहमा अनमी, अहेब र एचए खटिनुपरेको छ ।” कर्णालीमा सङ्क्रमितको सङ्ख्या ८ सय ४६ पुगिसकेको छ भने कोरोना सङ्क्रमणबाट ३ जनाको मृत्यु भइसकेको छ । कर्णालीमा २५ अस्पताल, १४ प्राथमिक स्वास्थ्य केन्द्र र ३ सय ३३ स्वास्थ्यचौकी छन् । जिल्ला अस्पतालमा तीन विशेषज्ञ चिकित्सकको दरबन्दी छ । अधिकांश करारमा नियुक्त गरिएका एक–एक विशेषज्ञ चिकित्सकबाट सेवा सञ्चालन गरिएको छ भने मेडिकल अधिकृत, नर्सिङ स्टाफको सङ्ख्या पनि न्यून छ । रासस
कोरोना अस्पतालका सङ्क्रमित भरतपुर अस्पताल सारिने
चितवन । भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको मर्मतसम्भार गर्नुपर्ने भएपछि त्यहाँका सङ्क्रमितलाई भरतपुर अस्पताल सारिने भएको छ । भरतपुर महानगरपालिकाले स्थापना गरको कोरोना अस्पतालको व्यवस्थापन वैशाख १ गतेबाट भरतपुर अस्पतालले हेर्दै आएको छ । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार त्यहाँ रहेका सङ्क्रमितलाई आजै भरतपुर अस्पताल सारिने छ । कोरोना अस्पतालको शौचालयमा समस्या देखिएको छ भने पङ्खालगायतको मर्मतसम्भार गर्नुपर्ने भएको छ । सङ्क्रमित भएको ठाउँमा मर्मतसम्भारको काम गर्न नमिल्ने भएकाले सङ्क्रमित सार्न लागिएको हो । सो ठाउँलाई निर्मलीकरण गरेर मर्मतसम्भारपछि सङ्क्रमित राखिने छ । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार भरतपुर अस्पतालको हाडजोर्नी र सर्जरी विभागका सङ्क्रमितलाई स्थानान्तरण गरिँदैछ । हाडजोर्नीकालाई स्पाइनल र सर्जिकललाई मेडिकल वार्डमा सारेर ठाउँ खाली गरिएको छ । ती दुई वार्ड र क्याविनमा ६५ सङ्क्रमित राख्न सकिने तिवारीले जानकारी दिए । अस्पतालले कोभिड–१९ का लागि १० श्ययाको सघन उपचारकक्ष तयारी अवस्थामा राखेको छ । सङ्क्रमित अरु थप भएमा विभाग खाली गर्दै लगिने उनले भने । हाल भरतपुर अस्पतालमा रहेका नौमध्ये आज दुई घर फर्किँदैछन् । यस्तै कोरोना अस्पतालका २२ मध्ये चार डिस्चार्ज भई १८ जना भरतपुर अस्पतालमा सारिने बताए । माडीमा शुक्रबार सङ्क्रमण पुष्टि भएकामध्ये ज्वरो आएका एक जनालाई भरतपुर अस्पताल ल्याइएको छ भने अन्यलाई माडीकै बघौडा अस्पतालको आइसोलेसनमा राखिएको छ । पिसीआर नगरी छ सङ्क्रमितलाई घर पठाइँदै कोरोनाको सङ्क्रमण देखिएपछि भरतपुर अस्पताल र भरतपुर कोरोना विशेष अस्पतालमा राखिएका पाँच जनालाई अस्पतालले डिस्चार्ज गरेको छ । उनीहरुको डिस्चार्ज शुक्रबार भएको भए पनि आज घर जाँदैछन् । डिस्चार्ज हुनेमा नवलपुर देवचुली वडा नं १ र १२ का दुई, विनयत्रिवेणी–६ नवलपुरका एक र भरतपुर महानगरपालिका–६ का तीन छन् । भारतमा क्यान्सरको उपचार गराएर फर्किएका भरतपुर–६ केशरवागका एक वृद्ध, उनकी श्रीमती र छोरासमेतलाई डिस्चार्ज गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले जानकारी दिए । उनी भरतपुर अस्पतालमा २१ दिनदेखि बसिरहेका छन् । यस्तै देवचुली–१२ का ४९ वर्षीय सङ्क्रमित ३१ दिन र देवचुली नगरपालिका–१ का सङ्क्रमित १५ दिन र विनयत्रिवेणी नगरपालिका– ६ का सङ्क्रमित २० दिनदेखि अस्पतालमा बसिरहेका छन् । सरकारले गत जेठ २० गते जारी गरेको राष्ट्रिय जाँच परीक्षण निर्देशिकाअनुसार कोरोना सङ्क्रमित व्यक्तिमा सङ्क्रमण लक्षणमुक्त भएको तीन दिन र जम्मा भर्ना भएको १४ दिनपछि परीक्षण नगरी डिस्चार्ज गर्न निर्देशन दिएसँगै उनीहरुलाई डिस्चार्ज गरिएको तिवारीले बताए । यस्ता बिरामीबाट कोरोना सङ्क्रमण अरुमा सर्ने सम्भावना न्यून भएको हुँदा परीक्षण नगरी घर पठाइने उनले भने । तिवारीले कुनै पनि सङ्क्रमण पुष्टि भएका बिरामीलाई दोहोर्याएर परीक्षण नगरिने बताएका छन् । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले डिस्चार्ज भएका सबै जनालाई घरमा गएर थप १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने, सबै नियमको पालना गर्न सुझाव दिइएको बताए । सङ्क्रमितलाई एक मिटरको दूरी कायम गरेर बस्न, साबुनपानीले पटकपटक हात धुन, पौष्टिक र सन्तुलित खानपान गर्न भनिएको छ । रासस