काठमाडौं मेडिकल कलेज र दुई श्रमिक आपूर्ति कम्पनीलाई विभागले तिरायो २-२ लाख जरिवाना
काठमाडौं । इजाजत नलिई श्रमिक आपूर्ति गर्ने दुई कम्पनी र उक्त कम्पनीबाट कामदार राख्ने काठमाडौं मेडिकल कलेजलाई जरिवाना तिराइएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार यी तीन कम्पनीलाई २/२ लाख जरिवाना तिराइएको छ । श्रम ऐन २०७४ अनुसार श्रमिक आपूर्ति गर्न चाहने कम्पनीले इजाजतपत्र लिनुपर्छ । तर, फाल्कन सर्भिसेस प्रालि र कमलपोखरी सर्पोट सर्भिस प्रालिले इजाजत नै नलिई श्रमिक आपूर्ति गर्ने गरेको अनुगमनबाट खुलेको हो । साथै, सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले यी कम्पनीसँग सम्झौता गरी श्रमिक आपूर्ति गर्ने गरेको समेत अनुगमनमा देखिएको छ । यी तीन कम्पनीलाई जनही २/२ लाखका दरले जरिवाना तिराइएको विभागका प्रवक्ता मणिनाथ गोपले जारी गरेको विज्ञप्तिमा छ ।
क्षयरोगको न्यूनीकरण गर्न प्रभावकारी ढंगबाट काम गर्नुपर्नेछः स्वास्थ्यमन्त्री पौडेल
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्षयरोगको न्यूनीकरण गर्न सरकारले प्राथमिकताहरू बदलेर प्रभावकारी ढंगले अघि बढ्नुपर्नेमा जोड दिएका छन् । सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले यसको न्यूनीकरणका लागि आफ्ना अहिलेसम्मका प्राथमिकताहरू बदलेर नयाँ र प्रभावकारी ढंगले अघि बढ्नुपर्ने जरुरी देखिएको बताए । मन्त्री पौडेलले यसको निदानका लागि मित्रराष्ट्रसँग सहकार्य गर्ने साझा नीति अवलम्वन गर्न जरुरी रहेको बताए । खर्च गर्ने थर शतप्रतिशत उपलब्धि हासिल नभइरहेको अवस्था रहेको भन्दै शतप्रतिशत उपलब्धि हासिल गर्नेगरी नीतिगत व्यवस्था गर्न आवश्यक रहेको उनले औंल्याए । उनले क्षयरोग केन्द्रमा पनि सम्पूर्ण सेवा उपलब्ध हुने अस्पताल सञ्चालन गर्न जरुरी रहेको र त्यसका लागि आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गरिने प्रतिवद्धता जनाए । मन्त्री पौडेलले क्षयरोगको बिरामी मन्त्रालय, चिकित्सकले खोजेर नभेटिने भन्दै पालिकाले क्षयरोगको बिरामी खोज्नुपर्ने बताए ।
प्रहरी चौकी खार्पाको बाह्र वर्षपछि आफ्नै भवन, ३ करोडमा निर्माण सम्पन्न
खोटाङ । स्थापनाको १२ वर्षपछि रावाबेँसी गाउँपालिका–२ खार्पास्थित प्रहरी चौकी खार्पाले आफ्नै भवन निर्माण गरिएको छ । दुई करोड ९५ लाख ३२ हजार रुपैयाँको लागतमा उक्त भवन निर्माण गरिएको हो । विसं २०६९ मा स्थापना भएको खार्पा प्रहरी चौकीले अघि साविक खार्पा गाउँ विकास समिति (गाविस) कै पुरानो भवनबाट सेवा प्रदान गर्दै आएको थियो । स्थापना भएको १२ वर्षसम्म साँघुरो तथा कच्ची भवनबाट सेवा प्रवाह गर्दै आएको थियो । नवनिर्मित भवनमा साना ठूलो गरी ११ कोठा छन् । साढे दुईतले सो भवनमा कार्यालय प्रमुख कक्ष, सञ्चार कक्ष, महिला तथा पुरुष हिरासत कक्ष, महिला र पुरुष ब्यारेक, प्रमुख आवाश तथा मरोजञ्जन हल निर्माण गरिएको छ । कोशी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक राजन अधिकारीले आइतबार सो भवनको उद्घाटन गरेका हुन् । सुविधासम्पन्न भौतिक संरचनाले प्रहरीलाई सेवा प्रवाह गर्न मनोबल बढ्ने उनको भनाइ थियो ।