प्रधानमन्त्री ओलीले गरे भागीरथा अस्पताल उद्घाटन
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक समारोहबिच भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन गरेका छन् । बुद्धशान्ति गाउँपालिका–३ मा दाताले दिएको १५ कठ्ठा जग्गामा रु छ करोड ५० लाखको लागतमा १० शय्या रहेको अस्पताल निर्माण भएको हो । नेपालकै पहिलो महिला प्रधानपञ्च भागीरथा न्यौपानेको स्मृतिमा उनको छोराछोरीले प्रदान गरेको उक्त जग्गामा अस्पताल निर्माण गरिएको बुद्धशान्ति गाउँपालिका एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मनोज प्रसाईंले बताए । स्व. भागीरथा न्यौपाने तत्कालीन बुधवारे गाउँ पञ्चायतको प्रधानपञ्च थिए। उनकै स्मृतिमा अस्पतालको नामकरण गरिएको हो। अस्पतालमा एक जना एमडी, चार जना एमबीबीएस र एक जना रेडियोलोजिस्टसहित छ जना चिकित्सकले उपचार सेवा प्रदान गरिरहेका छ न्। जसमध्ये पालिकाले आफ्नो स्रोतबाट तीन जना एमबीबीएस डाक्टर नियुक्त गरेको छ। बाहिर र भित्र चिकित्सकीय सेवाअन्तर्गत अस्पतालमा सामान्य चिकित्सा, सामान्य शल्यक्रिया, स्त्री तथा प्रसूति उपचार, शिशु तथा बाल स्वास्थ्य उपचार, सामान्य दन्त सेवा, प्राथमिक आँखा उपचार, प्रयोगशाला सुविधा, फार्मेसी सुविधा, एक्स रे सुविधा र मुटुको इको सेवा सञ्चालन भइरहेको छ। आगामी साउन १ गतेदेखि अस्पतालमा २४ घण्टा उपचार र बर्थिङ सेवा प्रदान गरिने अध्यक्ष प्रसाईंले बताए। पालिकाले गत जेठ २६ गते भागीरथा न्यौपाने बुद्धशान्ति अस्पताल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०८२ लाई बुद्धशान्ति राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याएको उनले जानकारी दिए । कार्यविधिअनुसार पालिकाको अध्यक्ष नै अस्पताल व्यवस्थापन समितिको पदेन अध्यक्ष रहने व्यवस्था छ। अस्पताल सञ्चालनका लागि कार्यविधिले छुट्टै कोषको समेत व्यवस्था गरेको छ । इलाम जिल्लासँग सिमा जोडिएको बुद्धशान्ति गाउँपालिकाको एक मात्र सरकारी अस्पतालको रूपमा रहेको यो भागीरथा अस्पतालले बुद्धशान्तिको ५३ हजार जनसङ्ख्यालाई स्वास्थ्य उपचार सेवा प्रदान गर्नेछ भने दक्षिणी इलामबाट आउने सेवाग्राहीले उपचार पाउनेछन् ।
नर्सिङ : सेवा, सम्मान र सम्भावनाको पेशा
माध्यमिक शिक्षा परीक्षा (एसईई) पास भएका विद्यार्थीलाई अहिले भ्याइ नभ्याई छ । कुन विषय रोज्ने, कस्तो कलेज पढ्ने भन्ने विषयमा अनिश्चतता पनि भएको हुन सक्छ । के तपाइले एसईई दिएर नर्सिङ क्षेत्र रोज्ने रुचि राख्नु भएको छ ? नर्सिङ क्षेत्र किन पढ्ने र नेपालमा यसको अवस्था कस्तो छ भन्ने विषयमा यो लेखमा चर्चा गरिएको छ । नर्सिङ एउटा पेशा हो । यसमा पनि स्पेसलाइज्ड शिक्षा नै हुन्छ । यसमा आर्ट र साइन्स दुवै विषय हुन्छन । साइन्समा सिद्धान्त पढ्नुपर्छ भने आर्ट पनि चाहिन्छ । नर्सहरूको प्रत्यक्ष सम्बन्ध समुदायसँग हुन्छ । रोग रोकथामको लागि, रोग लागिसकेपछि निको कसरी पार्ने भन्नेदेखि विभिन्न आयाममा नर्सहरूले काम गर्नुपर्ने हुन्छ । अझ विस्तृत रुपमा भन्दा बिरामीदेखि स्वस्थ मान्छेसँग नर्सले सहकार्य गर्नुपर्ने हुन्छ । नेपालमा नर्सिङ क्षेत्रमा काम गर्ने र पढ्ने भनेको प्रायः केटी अर्थात् महिलाले मात्र हो भन्ने चलन अझै छ । पहिले यस्तै थियो पनि । तर, आजभोलि पुरुषले पनि यो कोर्स पढ्दै आएका छन् । पहिले ४० जना विद्यार्थीमा १० प्रतिशत अर्थात ४ जना पुरुषलाई मात्र भर्ना गर्ने गरिन्थ्यो भने केही समय कानुनले नै पुरुषलाई रोक लगाएको थियो । फेरि २०१८ सालदेखि पुरै सिट मध्ये १५ प्रतिशत पुरुषका लागि भनेर छुट्याइने गरिएको छ । तर, पनि यो पुरुषका लागि छुट्याइएको सिट फुलफिल अझै हुन सकिरहेको छैन । नर्सिङ शिक्षा महिलाको लागि मात्र नभई पुरुषहरूको लागि पनि हो । एसईई पास भएका विद्यार्थी जोसुकैले पनि नर्सिङ शिक्षा पढ्न पाइन्छ । नर्सिङ किन पढ्ने ? नर्सिङ स्थापित प्रोफेसन शिक्षा हो । स्वदेश लगायत विदेशमा पनि ठूलो स्कोप छ । नेपालमा पढेको नर्सिङ शिक्षाको स्कोप अझ राम्रो छ । विदेश जाँदा पनि नेपालमा पढेका नर्सिङलाई बढी प्राथमिकता दिइन्छ भने स्वदेशमै पनि नेपाली जनताको सेवा गर्छु भन्ने भावना जसको छ उसका लागि नेपालमै पनि राम्रो छ । प्रत्यक्ष कसैको जीवनसँग जोडिएर सेवा दिने भनेको नर्सिङ नै हो । नर्स बिरामीसँग २४ घण्टा रहेर काम गर्छ । त्यसैले यो पढ्ने इच्छा भएका बालबालिकाका लागि अत्यन्तै राम्रो हो । नेपालमा अलिकति समस्या भनेको रोजगार सुरक्षाको हो । यो यस्तो प्राविधिक शिक्षा हो राम्रो मिहिनेत गरेर राम्रो नम्बर ल्यायो भने काम पाउने सम्भावना उत्तिकै हुन्छ । अहिले विभिन्न किसिमका रोगहरू बढिरहेका छन्, अस्पतालको संख्या बढिरहेको छ । अस्पतालमा सिट संख्या बढिरहेको छ । यही अनुसारको नर्सिङ दरबन्दी थप्नुपर्ने विषयहरू उठिरहेका छन् भने सरकारले पनि ११÷१२ सय नर्सका लागि दरबन्दी दिने तयारी गरिरहेको छ । यसकारण पनि नर्सिङ पढ्ने रुचि राखेकाहरूलाई राम्रो अवसर छ । नर्सिङले सेवा दिने भनेको केवल अस्पतालमा मात्र होइन । विद्यालयमा पनि नर्सहरूले काम गरिरहेका छन् । एक विद्यालय एक नर्स अभियान सुरु छ । नेपाल नर्सिङ संघले औद्योगिक नर्सको अवधारणा पनि ल्याएको छ । जहाँ ५० भन्दा बढी कामदार छन् त्यहाँ नर्स राख्ने, भन्ने कुरा छ एनजी, आइएनजीमा पनि नर्सहरू काम गरिरहेका छन् । विदेशमा गएका नर्सहरूले राम्रो पैसा कमाउन सक्छन् । मिहिनेत आवश्यक हरेक शिक्षा सिक्न मिहिनेत निकै आवश्यक हुन्छ । मिहिनेत गर्ने व्यक्तिले कहिल्यै पछाडी फर्कन पर्दैन । नर्सिङ शिक्षाका लागि पनि निकै मिहिनेत आवश्यक हुन्छ । पढ्दा पनि कक्षामा धेरै अनुपस्थित हुन पाइँदैन कम्तीमा ७५ देखि ८० प्रतिशत कक्षामा उपस्थित् हुनैपर्ने व्यवस्था करिकुलममा छ भने प्रयाक्टिकलमा ९० प्रतिशत उपस्थित् हुनैपर्छ । अझ प्रयाक्टिकलमा सय प्रतिशत नै उपस्थित् हुनुपर्छ । उदाहरणका लागि पीसिएल नर्सिङमा बर्षमा २० हप्ता कुनै विद्यार्थीले ड्युटी गर्नुपर्ने छ भने यसमा कुनै कम्परमाइज गर्न मिल्दैन । यसो हुँदामात्र विद्यार्थीले सिक्नुपर्ने सबै सीप सिक्न सकिन्छ । यो शिक्षा मानिसको प्रत्यक्ष जीवनसँग जोडिने भएकाले पनि अझ महत्वपूर्ण ढंगले लिइन्छ । मिहिनेत चाहिन्छ । कस्तो विद्यार्थीले नर्सिङ पढ्न पाइन्छ ? पीसिएल नर्सिङ सिटीइभिटी अन्तर्गतका कलेजहरूमा पढाइ हुन्छ । यो वर्षदेखि एसईईमा २ जीपीए ल्याएर ग्रेड भएका जो सुकै विद्यार्थीले पढ्न पाउने नयाँ प्राबधान लागू भएको छ । यो भन्दा अगाडिका वर्षसम्म एसईईमा ल्याएको ग्रेडप्वाइन्टलाई ३० प्रतिशत मार्केट लोकेट गर्ने र ७० प्रतिशत इन्ट्रान्स परीक्षाबाट गरी जसले उच्च नम्बर ल्यायो उसैलाई भर्ना गर्ने नियम थियो । तर यो वर्षदेखि इन्ट्रान्स परीक्षा लिनेप्रचलन अन्त्य भएको छ । अब एसईईमा २ जीपीय प्राप्त गरेका विद्यार्थीले अनलाइन मार्फत फम भर्ना पाउने छन् । यसमा विद्यार्थीले पाएको जीपीमा सिटीइभिटीले सरकारी विद्यालयबाट पढेकालाई प्लस १ अंक र निजी स्कुलबाट अध्ययन गरी पास भएकाहरूलाई ०.८५ अंक दिदा जसले बढी अंक ल्याउँछ त्यो अंकका आधारमा पिसिएल नर्सिङ पढ्न पाउने व्यवस्था गरेका छ । सिटिइभीटी अन्तर्गका कलेजहरूले पसिएल नर्सिङ पढाइरहेका छन् । नर्सिङ पढ्न लाग्ने खर्च पिसिएल नर्सिङ कोर्ष तीन वर्षको हुन्छ । यसका लागि शुल्क पनि सिटिइभिटीले तोकिदिएको हुन्छ । शुल्क ४ लाख ७५ हजार तिर्नुपर्छ । अन्य शुल्क कलेज अनुसार केही तलमाथी हुन सक्छ । यसमा किताब, पढ्ने सामाग्रीहरू पनि अलि महंगो हुन्छन् । अन्य खर्च व्यक्ति अनुसार भर पर्छ । पढाइका सामग्री, कलेज आउन जान, खाजालगायतका अन्य खर्च व्यक्ति र ठाउँ अनुसार फरक पर्छ । यो शिक्षा प्राविधिक भएकाले केही महँगो हुन्छ । पढाइ हुने विषयहरू नर्सिङ क्षेत्र वृहत छ । यसका लागि विद्यार्थीहरू धेरै विषयहरूको अध्ययन गर्नुपर्छ । जसमा विशेष साइन्स जस्तै एनोटमी, फिजियोलोजी, फार्माक्लोजी कम्युनिटी हेल्थ नर्सिङ, चाइल्डहेल्थ नर्सिङ, लगायतका विषयहरू पढ्नुपर्ने हुन्छ । भने वयस्कमा ग्रोथ कसरी हुन्छ, गर्भवस्था टिनेजर हेल्थ लगायत सबै कुरा हर्नेुपर्छ । नर्सहरूले बढी समुदायमा नजिक भएर काम गर्नुपर्ने भएकाले धेरै विषयमा अध्ययन गर्नुपर्ने हुन्छ । पिसिएल नर्सिङपछिको अध्ययन के हुन्छ ? तीन वर्षे पीसएिल नर्सिङ कोर्ष पढिसकेपछि फेरि व्याचलरमा तीन वर्षको कोर्ष गर्नुपर्ने हुन्छ । ब्याचलर्समा नर्सिङ शिक्षा दुई प्रकारको हुन्छ । जसले एसईईपछि तीन वर्षको पिसिएल कोर्स गरिसकेका छ उनीहरूले बीएनएस अर्थात (ब्याचलर इन नर्सिङ साइन्स) कोर्स गर्नुपर्छ । यो कार्ष पनि तीन वर्षको हुन्छ । यसका लागि साढे ५ लाख शुल्क लाग्छ । बाँकी खर्च कलेज र व्यक्ति अनुसार तलमाथी हुन्छ । अर्को भनेको बिएस्सी नर्सिङ र बिएस्सी मिड वाइफ्ररी छ । यसका लागि जो विद्यार्थी एसईई दिएर दई वर्ष साइन्समा बायोलोजी लिएर अध्ययन गरेको छ उसको हकमा चार वर्षको बिएस्सी नर्सिङ गर्नुपर्ने हुन्छ भने बिएस्सी मिडवाइफ्री पनि गर्न सकिन्छ । यसका लागि शुल्कमात्र १० लाख बढी लाग्छ । कलेज कसरी रोज्ने ? विद्यार्थीले आफू जुनसुकै विषय लिएर पढ्दा कलेज राम्रो छनोट गर्न सक्नुपर्दछ । कलेज कसरी छनोट गर्ने भन्दा सबैभन्दा पहिले कलेजको पास आउटदर हेर्न सकिन्छ । अर्को कुन कलेजका विद्यार्थीले बढी रोजगारी पाएका छन्, लाइसेन्स पासको संख्या कस्तो छ हेर्नुपर्छ । यस्तै कलेज रोज्दा ठाउँ पनि हेर्नुपर्छ । आफू बसिरहेको ठाउँ नजिकैको कलेज राम्रो छ भने सकेसम्म आफ्नो नजिकको आफूलाई पायक पर्ने पनि हेर्नुपर्छ । घर नजिकै कलेज हुँदा धेरै आर्थिक भार पर्दैन । विद्यार्थीले यस्ता कुरामा पनि ध्यान दिनुपर्छ । रोजगारीको अवस्था विद्यार्थीले कुनै पनि विषय पढिसकेपछि कामको अवसर स्वदेशमा पनि खोज्छ, विदेशमा पनि खोज्छ । नर्सिङ भनेको यस्तो प्राविधिक जनशक्ति हो जसको माग आजभोलि स्वदेशभन्दा बाहिर अन्य देशमा बढी छ । नेपालमा नर्सिङ पढेकाहरू क्यानडा, बेलायत अष्ट्रेलिया लगायतका देशमा पुगेका छन् । बाहिर कमाइ पनि राम्रै गरिरहेका छन् । नेपाली नर्सहरूलाई नेपालमा रोक्ने वातावरण राज्यले बनाउन सकेको छैन । यसो भन्दा हामीले आत्तिनुपर्ने अवस्था छैन । क्षमवान विद्यार्थीलाई स्वदेशमा पनि थुप्रै अवसरहरू छन् । अहिले नेपालमा अस्पतालको संख्या बढ्दो छ । विभिन्न संघ संस्था, उद्योगमा पनि नर्सिङको लागि अवसर छ । नर्सहरूको श्रम शोषण वास्तवमा हेर्ने हो भने नेपालमा नर्सिङको श्रम शोषण भएको छ । सरकारले दरबन्दी सिर्जना गरेका क्षेत्रमा सेवा सुविधा राम्रो भएपनि निजी अस्पतालमा काम गर्ने नर्सहरूको भने श्रम शोषण भएको पाइन्छ । लाखाैं रुपैयाँ खर्च गरेर १०,११ हजारमा काम गर्नुपर्ने बाध्यता नर्सहरूलाई छ । यसका सरकारले नीति बनाउनै पर्छ । सरकारले सबै प्रतिष्ठान, अस्पताललाई सरकारी सरह तलब दिनु भनेर परिपत्र गरेका छ तर यस्तो अवस्था छैन । पढाइ अनुसारको कमाइ भएको छैन । नेपालमा नर्सिङहरूको दैनिक आधारभूत आवश्यकता नै पूर्ति भएको छैन । कामको लोड उस्तै छ । समस्या धेरै छन् । पहिलो कुरा नर्स र बिरामीको रेसियो मिलाउनुपर्यो । काम गर्ने वातावरण राम्रो हुनुपर्यो । स्रोत साधन हुनुपर्यो । पढाइको तह अनुसार काम गर्ने ठाउँ हुनुपर्यो । नर्सहरू मास्टरसम्म पढेर आएका हुन्छन् तर एउटा स्टाफ नर्सको दरबन्दीमा काम गर्नुपर्ने बाध्यता छ । मेडिकल सर्जिकल पढेका नर्सले बच्चाको हेरचाहमा काम गर्नुपरिरहेको छ, आमा शिशु सम्बन्धी पढेका नर्सले कम्युनिटीमा काम गर्नुपरिरहेको हुन्छ विज्ञता अनुसार क्षेत्रमा काम गर्ने वातावरण नहुनु नर्सका लागि सबैभन्दा ठूलो चुनौती छ । सरकारले यो विषयमा शिघ्र काम गर्न आवश्यक छ । अन्त्यमा, नेपालमा नर्सिङ क्षेत्रमा स्कोप छैन भन्ने कुराहरू धेरै आउँछ । तर हामी नकरात्मक सोचको पछाडिमात्र नलागौँ । सकारात्मक सोचको पनि विकास गरौं । नर्सिङ शिक्षा राम्रो शिक्षा हो । स्वदेश वा विदेश जहाँ पनि राम्रो अवसर छ । (डा. आचार्य, महाराजगञ्ज नर्सिङ क्याम्पसकी सह-प्राध्यापक तथा नर्सिङ एसोसिएसन अफ नेपालको महासचिव हुन् । )
अब सबै संघीय अस्पतालले मेडिकल उपकरणको अडिट अनिवार्य गर्नुपर्ने
काठमाडौं । अब सबै संघीय अस्पतालले आफ्ना उपकरणको अवस्थाबारे अडिट गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाउनुपर्ने भएको छ । मन्त्रालयले अस्पतालहरुसँग भएका उपकरण तथा उनीहरुको अवस्थाबारे यकिन विवरण नभएको भन्दै सबै संघीय अस्पतालहरुमा अनिवार्य रुपमा मेडिकल उपकरणको अडिट अनिवार्य गर्ने निर्णय गरेको हो । हाल मन्त्रालयमा यसरी उपकरणको अवस्थाबारे तथ्यांक प्राप्त गर्ने व्यवस्था नै नभएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले चासो देखाएका थिए । उनले अस्पतालहरुका बिग्रिएका उपकरणबारे जानकारी लिएर मर्मतका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिएका थिए । त्यसक्रममा कैयौं सामान्य खर्चमै मर्मत गर्न सकिने उपकरण थन्किएको पाइएको थियो । त्यसयता मन्त्रालयले उपकरणको अवस्थाबारे जानकारी प्राप्त गर्नका लागि विवरण प्राप्त गर्न पहल थालेको थियो । तीन वर्ष अघि देखि नै प्रयास थालिए पनि मन्त्रालयको निर्णयले अब उपकरण लेखापरीक्षणको ढोका खुलेको हो । अब यस व्यवस्थाले उपकरणको सुरक्षा तथा मर्मत गर्नुपर्ने भए सोसम्बन्धी जानकारी मन्त्रालयले प्राप्त गर्ने र यसले अभिलेख व्यवस्थापनमा पनि सहज हुने मन्त्रालयको गुणस्तर मापन तथा नियन्त्रण महाशाखा प्रमुख डा. सरोज शर्माले बताए । उपकरणको स्थिति पहिचान, मर्मत आवश्यक भए नभएको जानकारी, सुरक्षा तथा स्टक व्यवस्थापन आदिमा यसले सघाउने उनले बताए । सामान्य मर्मत गर्न सकिने उपकरण भए पनि अस्पतालहरुले त्यसको मर्मतमा ध्यान नदिंदा नयाँ खरिदमा ठूलो धनराशी खर्च भैरहेको छ । हालै मन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रमार्फत गरिएको अध्ययनमा कैयौं सामान्य मर्मत गर्न सकिने उपकरण बिग्रिएर थन्किएको पाइएको थियो । केन्द्रले झण्डै २४ करोड लाग्ने ती उपकरण २३ लाखमा मर्मत गरिएको विवरण पेश गरेको थियो । यसैगरी, कतिपय अस्पतालमा उपयोग नभएर रहेका उपकरण आवश्यक परेका स्थानमा पठाउन समेत प्राप्त तथ्यांकले सहजता प्राप्त हुने अधिकारीहरुले बताएका छन् ।