टाइम फर्मास्युटिकल्सले बुक बिल्डिङ्ग विधिबाट आईपीओ जारी गर्ने, पुँजी ४६ करोड पुर्याउने
काठमाडौं । टाइम फर्मास्युटिकल्सले बुक बिल्डिङ्ग विधिबाट साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ । कम्पनीको सभा २०८२ बैशाख ११ गते उद्योग परिसर गैडाकोटमा दिउसो साढे १२ बजे बोलाएको छ । सभामा आईपीओ निष्काशनबाट प्राप्त रकम प्रयोग सम्बन्धि छलफल गरिनेछ । कम्पनीको जारी पुँजी ४२ करोड ९१ लाख ११ हजार रुपैयाँबाट ४६ करोड रुपैयाँ पुर्याउने प्रस्ताव पारित गर्नेछ । यस्तै, कम्पनीको जारी पुँजीमध्ये ७९.३४ प्रतिशत संस्थापक समूह र २०.६५ प्रतिशत सर्वसाधारण सेयरधनी समूहको कायम गर्नेछ । यस्तै, १ जना महिला संचालक सहित संस्थापक समूहबाट ५, सर्वसाधारण समूहबाट १ र स्वतन्त्र सञ्चालक १ जना गरी कुल ७ जनाको सञ्चालक समिति बनाउने र सोही बमोजिम नियमावली संसोधन गर्नेछ ।
दाताको सहयोग घटे पनि अनिवार्य दायित्व सरकारले निर्वाह गर्ने स्वास्थ्य मन्त्री पौडेलको भनाइ
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्यका बजेट समयमै खर्च गर्ने वातावरण बनाउन सक्रियता देखाएका छन् । मन्त्रालयअन्तर्गतका विभिन्न महाशाखा तथा केन्द्रहरूलाई मन्त्रालयमा बोलाएर उनले समय बाँकी छँदै अधिकतम प्रगति देखिने गरी काम गर्न भनेका हुन् । मन्त्रालयको कार्य प्रगतिबारे नियमित बैठक राखेर जानकारी लिइरहेका मन्त्री पौडेलले यसपाली आर्थिक वर्षको अन्त्यसम्ममा अधिकतम नतिजा प्राप्त हुने गरी कर्मचारी तन्त्रलाई सक्रिय बनाएका हुन् । उनले मन्त्रालयअन्तर्गगतका महाशाखा तथा केन्द्रहरूको नियमित रूपमा कार्य प्रगतिको रिपोर्टका आधारमा आवश्यक पृष्ठपोषण दिँदै आइरहेका छन् । यसक्रममा मंगलबार प्रगति कमजोर भएका महाशाखा तथा केन्द्रहरूलाई मन्त्री पौडेलले लक्ष्यअनुसार काम गर्नका लागि सजग बनाएका हुन् । ‘दातृ निकायहरुबाट बजेट कटौतीका समस्या हाम्रा आम समस्या हुन्,’ उनले भने, ‘समस्या जसले पनि देखाउन सक्छ । तर हामीले भएका श्रोतको अधिकतम उपयोग गरेर त्यसको समाधान पनि निकालौं ।’ मन्त्री पौडेलले चालु आर्थिक वर्षको बजेट प्रगतिको अधिकतम नतिजा निकाल्नका लागि बचेको समय सक्रिय भएर काम गर्नका लागि विभागीय प्रमुखहरूसँग आग्रह गरे । ‘हामीसँग बजेटमा स्रोत छ तर सोंचेजस्तो कार्यान्वयन हुन नसकेको विषय समीक्षा गरौं,’ उनले भने, ‘अब ४ महिना बाँकी छ पूर्ण उपयोग र परिणाममुखी नतिजा दिनुहोला ।’ मन्त्री पौडेलले परम्परागत शैली बदलेर काममा नयाँपन आवश्यक रहेको भन्दै त्यसका नयाँ सोचका साथ काम गर्नेहरुलाई सदैव साथ रहने बताए । ‘तपाईंहरूको काम प्रभावकारी बनाउन नीतिगत सुधार आवश्यक छ भने भन्नुहोला,’ उनले भने, ‘हामी त्यसमा हरसम्भव प्रयास गर्नेछौं ।’ स्वास्थ्यमा दाताको बजेट कटौतीले परेका समस्याबारे आफू जानकार रहेको भन्दै मन्त्री पौडेलले अनिवार्य आवश्यक विषयमा सरकारले विकल्प दिने प्रतिबद्धता जनाए।
टोखाले मुटु रोग उपचारका लागि नगरवासीलाई ५० हजार दिने
काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाले मुटु रोग उपचारका लागि नगरवासीलाई उपचारका लागि ५० हजार रुपैयाँसम्म उपलब्ध गराउने भएको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखाले आर्थिक वर्ष २०८१/८२ को हिउँदे नगरसभाबाट संशोधन गरेर रु १० लाख बजेटबाट नगरवासीलाई मुटु रोग उपचारमा ५० हजार रुपैयाँसम्म सहयोग गर्न लागेको हो । टोखाले नगरवासीलाई मुटु रोग उपचारका लागि आइतबार सहिद गङ्गालाल हृदयरोग केन्द्रसँग सम्झौतासमेत गरेको छ । सम्झौतापत्रमा टोखा नगरपालिकाका तर्फबाट नगर प्रमुख प्रकाश अधिकारी र अस्पतालका तर्फबाट कार्यकारी निर्देशक प्राडा रवि मल्लले हस्ताक्षर गरेका छन् । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले मुटु रोग उपचारका लागि नगरवासीलाई थोरै भए पनि राहत पुग्ने उद्देश्यले उक्त कार्यक्रमलाई अगाडि बढाइएको बताए । ‘टोखाले वडाको सिफारिसका आधारमा प्रतिव्यक्ति रु २५ हजार र गरिब तथा विपन्न वर्गका लागि ५० हजार रुपैयाँसम्म सहयोग गर्नेगरी सम्झौता गरेको छ, यसले टोखाका बासिन्दालाई थोरै भए पनि मुटुरोगको उपचारमा सहयोग पुग्नेछ’, नगरप्रमुख अधिकारीले भने । उक्त सेवा लिनका लागि नगरवासीले स्थायी बसोबास गरेको देखिने नागरिकताको प्रमाणपत्र, बसाइँसराइको प्रमाणपत्र, अतिविपन्न नागरिक भएको वडा कार्यालयको सिफारिसपत्र आवश्यक पर्नेछ । यस्तै, नगरभित्र स्थायी बसोबास गर्ने जोसुकैले पनि मुटुको उपचार गर्दा २५ हजार रुपैयाँ सहयोग पाउनेछन् । बिरामीको उपचार गरेपश्चात् सम्झौताअनुसारको रकम लिनका लागि अस्पतालले नगरपालिकामा आवश्यक कागजात पेस गरेर मात्र लिन सक्ने व्यवस्था सम्झौतापत्रमा उल्लेख गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक प्राडा मल्लले नगरपालिकाको सम्झौताअनुसार अस्पतालले सेवा प्रदान गर्ने बताए । कार्यक्रममा टोखाका उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीलगायत टोखाभिका वडाअध्यक्षहरुको सहभागिता रहेको थियो ।