चितवनमा डेङ्गु सङ्क्रमणदर उच्च भए पनि मृत्यु कम

नारायणगढ । जिल्लामा गत आर्थिक वर्षमा तीन हजार ८८९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार सो अवधिमा एक हजार ५४८ पुरुष र एक हजार ४७२ महिला गरी तीन हजार २० जना चितवन जिल्लाभित्रै डेङ्गु सङ्क्रमित भएका हुन् । त्यसैगरी, अन्य जिल्लाबाट आएका चार सय १२ पुरुष र चार सय ५७ महिला गरी आठ सय ६९ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । गत वर्ष सबैभन्दा धेरै सङ्क्रमित भरतपुर महानगरपालिकामा देखिएका छन्, जहाँ एक हजार एक सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यसपछि रत्ननगर नगरपालिकामा नौ सय सात, इच्छाकामना गाउँपालिकामा चार सय ६७, खैरहनी नगरपालिकामा दुई सय २३, राप्ती नगरपालिकामा एक सय २४, कालिका नगरपालिकामा ९१ र माडी नगरपालिकामा ३७ जना सङ्क्रमित भएका छन् । डेङ्गुका कारण गत आवमा एक जनाको मृत्यु भएको पुष्टि गरिएको थियो । जिल्लामा गत आव १७ हजार ३५३ जनाको रगत परीक्षण गरिएको थियो । जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले सङ्क्रमणदर उच्च भए पनि मृत्युदर कम रहेको बताए । उनका अनुसार अघिल्लो आवमा एक हजार आठ सय ३१ जनामा डेङ्गु सङ्क्रमण देखिएको थियो, जुन २३ हजार आठ सय ४० जनाको परीक्षणबाट पुष्टि भएको थियो । आव २०७४-७५ मा एक हजार २९१ परीक्षण ५९ सङ्क्रमित, २०७५-७६मा एक हजार ९५१ परीक्षण ३१ सङ्क्रमित, २०७६-७७ मा १९ हजार २३० परीक्षण चार हजार ८०३ सङ्क्रमित, २०७७-७८ मा एक हजार ७१७ परीक्षण २४३ सङ्क्रमित, २०७८-७९ मा १४ हजार ९७८ परीक्षण, तीन हजार ३३६ सङ्क्रमित, २०७९-८० मा पाँच हजा ४५४ परीक्षण, ३०३ सङ्क्रमित भएको कार्यलयको तथ्याङ्कमा उल्लेख छ । जिल्लाको मुख्य बजार क्षेत्रमा डेङ्गु जोखिम बढी हुने गरेको छ । सङ्क्रमण बढ्न नदिन उच्च सतर्कता अपनाइएको छ । कार्यालयले सबै सातै पालिकाका स्वास्थ्यकर्मी र जनप्रतिनिधिसँग अन्तक्र्रिया र छलफल गर्दै डेङ्गु नियन्त्रणका उपाय अघि बढाएको भेक्टर कन्ट्रोल निरीक्षक केसीले जानकारी दिए । डेङ्गु फैलाउने लामुखुट्टेको सङ्ख्या बढ्ने मौसमी कारण यस सिजनमा सतर्क रहन सबैलाई सचेत गराइएको उनले बताए । नेपालमा डेङ्गु ज्वरो पहिलोपटक सन् २००४ मा चितवनमा देखिएको थियो । त्यो वर्ष यहाँ आएका एक जापानी पर्यटकमा रोग पुष्टि भएको थियो । त्यसपछि सन् २००६ मा तराई र भित्री मधेसका केही जिल्लामा पनि डेङ्गुका बिरामी भेटिएका थिए । सन् २००९ मा चितवनमा नौ जनामा सङ्क्रमण देखिएको थियो । सन् २०१० मा तीन हजार २९८ जनाको परीक्षण गर्दा ७३९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको कार्यलयको तथ्याङ्कमा उल्लेख छ । भेक्टर कन्ट्रोल केसीका अनुसार डेङ्गु रोगको ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । यो रोग लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, शरीरमा बिबिरा आउने र रक्तश्राव हुने, उच्च ज्वरो आउनेजस्ता लक्षण देखापर्छ । यस्तै वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुनेजस्ता लक्षण देखापर्ने उनले बताए । डेङ्गु ज्वरो विषाणुका कारण हुने भएकाले यसको खासै उपचार नहुने उनले जानकारी दिए । डेङ्गु ज्वरोबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । आफू बस्ने ठाउँ वरिपरी फालिएका खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरु, पुराना टायर आदिमा पानी जम्न नदिने रहेको भेक्टर कन्ट्रोल केसीले बताए ।

दुर्गा प्रसाईंको बी एण्ड सी मेडिकलको मात्रै साढे ३ अर्ब ऋण, विवादमा तानिएपछि खस्कियो व्यापार

काठमाडौं । विवादित व्यवसायी दुर्गा प्रसाईंको बी एण्ड सी मेडिकल कलेजले एक वर्षमा झण्डै १ अर्ब रुपैयाँ बराबरको कारोबार गरेको छ । प्रसाईंको झापास्थित बी एण्ड सी मेडिकलले सन् २०२४ मा ९२ करोड २० लाख रुपैयाँ बराबरको कारोबार गरेको हो ।  प्रसाईको मेडिकलले सन् २०२३ मा ८१ करोड ५० लाख रुपैयाँ र सन् २०२२ मा १ अर्ब १९ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो ।  यस्तै, कम्पनीले सन् २०२१ मा ८१ करोड ४० लाख रुपैयाँ र सन् २०२० मा ५३ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो ।  प्रसाईंको झापास्थित बी एण्ड सी मेडिकल कलेजले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट साढे ३ अर्ब रुपैयाँ ऋण लिएका छन् । बी एण्ड सी मेडिकलले दीर्घकालिन ऋण ३ अर्ब ३६ करोड ९१ लाख रुपैयाँ र अल्पकालिन ऋण १० करोड रुपैयाँ गरी कुल ३ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ ऋण लिएका छन् । कम्पनीले सुरुमा २ अर्ब ७९ करोड १२ लाख रुपैयाँ ऋण लिएका थिए ।  केयर रेटिङ्ग नेपालले कम्पनीलाई दीर्घकालिन ऋणका लागि सिङ्गल बी प्लस र अल्पकालिन ऋणका लागि ए फोर रेटिङ प्रदान गरेको छ । विवादित व्यवसायी प्रसाईलाई गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनाका मुख्य नाइके भएको आरोपमा प्रहरीले प्रक्राउ गरि अनुसन्धान गरिरहेको छ । प्रसाईंकै उक्साहटमा चैत १५ गते तीनकुने घटनामा परेर दुई जनाको निधन भएको थियो भने दर्जनौं प्रदर्शनकारी घाइते भएका थिए । विभिन्न निजी तथा सरकारी सम्पत्तिमा आगजनीसँगै लुटपाट पनि भएको थियो । तिनकुने घटना हुनुअघि प्रसाईंले अराजक किसिमका अभिव्यक्ति दिँदै आएका थिए । बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण पनि नतिर्न उर्दी जारी गर्दै आएका थिए । साथै, बैंकरलाई जहाँ भेट्यो त्यहीँ कालो मोसो दल्ने अभिव्यक्ति दिँदै आएका थिए । 

स्वास्थ्य बीमितले अब ३ सय ७७ अस्पतालबाट प्रथम सेवा लिन पाउने

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा गरेका व्यक्तिले ३ सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार गर्न पाउने भएका छन् । यही साउनदेखि प्रथम सेवा विन्दुका लागि बोर्डमा सूचीकृत भएका अस्पतालबाट सेवा पाउने बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिए।  यसअघि बोर्डले तोकेको स्वास्थ्य संस्थामा गएर प्रथम सेवा विन्दुबाट मात्रै प्रथम सेवा लिनुपर्ने व्यवस्था रहेको थियो । ‘अब झापाको बीमितले कञ्चनपुरमा रहेको प्रथम सेवा विन्दुका लागि सूचीकृत भएको स्वास्थ्य संस्थाबाट उपचार पाउनेछन्’, उनले भने, ‘प्रथम सेवा विन्दुमा गएर उपचार गर्ने व्यवस्थालाई खुला गरिएको हो ।’ ती प्रथम सेवा विन्दुमा उपचार गरेपछि प्रेषण केन्द्र (रिफरल) अस्पतालमा गएर उपचार बीमितले पाउनेछन् । देशभरि बोर्डमा प्रथम सेवा विन्दु ३ सय ७७ वटा स्वास्थ्य संस्था र रिफरल स्वास्थ्य संस्था ९८ वटा रहेका छन् । बोर्डले सङ्घीय अस्पताल, विशेषज्ञ अस्पताल, विशिष्टीकृत अस्पताल र प्रतिष्ठानलाई प्रेषण केन्द्रका रुपमा राखेको छ ।  बोर्डमा हाल ९४ लाख बीमित आबद्ध छन् । यस्तै, बोर्डले प्रत्येक स्थानीय तहमा एक/एकवटा प्रथम सेवा विन्दु स्वास्थ्य संस्था राख्न अनुरोध गरेको छ । बोर्डका सूचना अधिकारी मल्लले स्थानीय तहअन्तर्गतका कुन कुन सेवा प्रदायक स्वास्थ्य संस्थामा स्वास्थ्य बिमाको प्रथम सेवा विन्दु आवश्यक पर्ने हो सोको जानकारी गराउन आग्रह गरे । सरकारले २०७२ साल कैलालीबाट सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रमले आर्थिक अवस्था कमजोर भएका विपन्न नागरिकलाई उपचार सेवा पुर्याउँदै आएको छ ।