८ संघीय अस्पतालमा १५ सेवा थप तथा विस्तार गर्ने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले वैशाख महिनाभर विभिन्न आठ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको कार्यक्रम सार्वजनिक गरेका छन् । मन्त्री पौडेलको संघीय अस्पतालको सेवा सुधार तथा विस्तारको नीति अन्तर्गत संघीय अस्पतालहरूमा सेवा थप्ने र विस्तार गर्ने कार्यक्रम वैशाख महिनामा थपिने र विस्तार गरिने सेवा सार्वजनिक गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । उनका अनुसार वैशाख महिनामा वीर अस्पतालले सर्जिकल आइसीयुको सेवा विस्तार गर्नेछ । वीरको आइसीयुमा नौ शैय्या थप गर्ने कार्यक्रम वैशाख दोश्रो साता राखिएको छ । यसैगरी, भरतपुर अस्पतालले क्याथ ल्याब सेवा शुरु गर्दैछ । यसैगरी, जलन वार्ड, सिमुल्टेशन ल्याब, इनफर्टिलिटी क्लिनिक र ल्याक्टेसन म्यानेजमेन्ट युनिटसँगै भरतपुर अस्पतालले क्याडाभर ल्याब सेवा वैशाख अन्तिमसम्म थप गरिसक्ने विवरण मन्त्रालयमा पठाएको छ । भक्तपुर क्यान्सर अस्पतालले पिआइसीयु तथा पेडियाट्रिक वार्ड वैशाख दोश्रो साता आरम्भ गर्दैछ । भेरी अस्पतालले मृगौला प्रत्यारोपण सेवा वैशाख दोश्रो साताबाट आरम्भ गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । यसैगरी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले इमर्जेन्सी वार्डमा २० शैय्या वैशाख अन्त्यसम्ममा थप गर्नेछ । यसैगरी नारायणी अस्पताल वीरगञ्जले वैशाख अन्त्यसम्ममा क्याथ ल्याब आरम्भ गर्नेछ भने जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्र तनहुँले हेमोडायलासिस सेवा वैशाख तेश्रो साता औपचारिक सञ्चालनमा ल्याउनेछ । धनगढीको गेटा अस्पतालले भने वैशाख तेश्रो साताभित्र मोड्युलर ओटी, आकस्मिक वार्ड तथा अक्सिजन प्लान्ट एकै साथ थाल्नेछ । मन्त्री पौडेलले स्वास्थ्य सचिव डा. विकास देवकोटालाई सबै संघीय अस्पतालहरुलाई थप तथा विस्तार गर्ने व्यवस्था मिलाउन भनेका थिए । जसअनुसार गत चैत्रमा १२ संघीय अस्पतालले केही सेवा थप तथा विस्तार गरेका थिए भने वैशाखमा समेत यसलाई निरन्तरता दिइएको छ । मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले चालु आर्थिक वर्षभित्रै थप संघीय अस्पतालमा सेवा विस्तारका कार्यक्रम कार्यान्वयन क्रममा रहेको जानकारी दिए । ‘केहीमा सेवा थपिएका छन्, केहीमा थपिने क्रममा छन्,’ उनले भने, ‘स्वास्थ्य सेवा सुधार र विस्तार गर्ने मन्त्रीज्यूको नीतिअनुसार काम भैरहेको छ ।’
४८ हजार ७३७ रुपैयाँ निर्वाह भत्ता दिने निर्णय तत्काल लागू गर्नुपर्ने
काठमाडौं । चिकित्सा शिक्षा आयोगको १६औँ बैठकले आवासीय चिकित्सकलाई सङ्घीय सरकारको आठौँ तह सरहको ४८ हजार ७३७ रुपैयाँ निर्वाह भत्ता दिने भनी गरेको निर्णय तत्काल लागू गर्नुपर्ने नेपाल चिकित्सक सङ्घले माग गरेको छ । चिकित्सा शिक्षा आयोगको वैशाख ३ गतेको बैठकले सिट पुनरावलोकनका साथै शुल्क समायोजनसम्बन्धी कार्यदल गठन गरेको थियो । उक्त विषयमा सङ्घको आज बसेको केन्द्रीय कार्यकारिणीको नियमित बैठकले गरेको निर्णय अनुसार प्रदर्शनरत आवासीय चिकित्सकलाई निःशर्त र सुरक्षित रूपमा काममा फर्कने वातावरणको सुनिश्चितता गर्नुपर्ने माग गरेको हो । बैठकपछि सङ्घका महासचिव डा सञ्जीव तिवारीद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रदर्शनरत आवासीय चिकित्सकलाई निःशर्त र सुरक्षित रूपमा काममा फर्कने वातावरणको सुनिश्चितता गर्नुपर्ने माग पूरा नभएसम्म यो कार्यदलको काम कारबाहीमा सहभागी नहुने भनी गरिएको निर्णय संयोजकलाई जानकारी गराउन चाहन्छु ।
नेपाली श्रमिकको स्वास्थ्य सुरक्षामा सहयोग गरिदिन युएईसँग मन्त्री पौडेलको आग्रह
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संयुक्त अरब इमिरेट्स (युएई) सरकारसँग नेपाली श्रमिकको स्वास्थ्य सुरक्षामा सहयोग गर्न आग्रह गरेका छन् । अबुधाबीमा युएईका स्वास्थ्य विभाग अध्यक्ष मन्सुर इब्राहिम अल मन्सुरीसँग शिष्टाचार भेट गर्दै मन्त्री पौडेलले युएईमा ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत रहेको स्मरण गराउँदै उनीहरूको स्वास्थ्य हकको प्रत्याभूति गर्न दुई देशबीच सहकार्य आवश्यक भएको बताए । 'प्रस्थान गर्नु अघि र फर्किएपछि श्रमिकहरूको स्वास्थ्य सुरक्षाका लागि नेपाल सरकारले विभिन्न कदम चालेको छ । युएई सरकारको सहयोग प्राप्त भएमा यसलाई अझ प्रभावकारी बनाउन सकिन्छ,' मन्त्री पौडेलले भने । भेटमा उनले नेपालमा स्वास्थ्य प्रणालीलाई डिजिटल प्रविधिमार्फत अगाडि बढाउने, सर्वसुलभ स्वास्थ्य बीमा प्रणाली कार्यान्वयन गर्ने तथा मृगौला डायलसिस केन्द्रको स्तरोन्नति र अंग प्रत्यारोपण सेवाको विस्तारका लागि युएई सरकारसँग सहकार्यको प्रस्ताव राखेका थिए । युएईका स्वास्थ्य विभाग अध्यक्ष मन्सुरीले नेपाली श्रमिकको योगदानको उच्च प्रशंसा गर्दै युएई नेपालसँग स्वास्थ्य क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको बताए । उनले भने, 'सम्झौता गरेर सहकार्य अगाडि बढाउन सकिन्छ, तर नेपाल सरकारले लगानीमैत्री कानूनी र नीतिगत वातावरण तयार गर्नुपर्छ ।' भेटमा युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीसमेत सहभागी थिए । मन्त्री पौडेल युएईमा आयोजना हुने ‘नेपाल फेस्टिभल’ कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुँदैछन्, युएईस्थित नेपाली दूतावासले जनाएको छ ।