१३ करोडमा चन्द्रकोट अस्पताल निर्माण सम्पन्न, सेवा पाउन बुटबल धाउनुपर्ने बाध्यता
तम्घास । 'म आफैँलाई मधुमेह (सुगर) छ, नियमित जाँच र औषधि लिन बुटबल जानुपर्छ', चन्द्रकोट गाउँपलिका–६ हरेवाकी लीलमाया शर्माले भनिन्, 'घरैअगाडि १५ शय्याको अस्पताल बनेको छ, सञ्चालनमा नआउँदा सेवा लिन पाइएको छैन ।' शर्माले अस्पताल बनाउने समयमा आफूहरूले गरिखाने खेत माया मारेर अस्पतालका लागि जग्गा दिए पनि अहिले सञ्चालनमा नआउँदा दुःख लागेको बताइन् । उनको घरबाट नवनिर्मित १५ शय्याको चन्द्रकोट अस्पताल पाँच मिनेटभन्दा कम दूरीमा छ । तर निर्माण सम्पन्न भएपछि आफूहरू अस्पताल सञ्चालनकै पर्खाइमा हुँदा शर्माले त्यसको उपभोग गर्न पाएकी छैनन् । उनले नजिकैको अस्पताल सञ्चालनमा आए आफूजस्ता अन्यलाई पनि औषधि लिनका लागि बुटबलसम्म आवतजावत गर्ने समय र पैसाको बचत हुने बताइन् । 'अस्पताल छिटो सञ्चालनमा आउनुपर्छ', शर्माले भने । उनले निःशुल्क रूपमा चारआना जग्गा पनि प्रदान गरेकी थिइन् । विसं २०७७ मङ्सिर १५ मा देशभरका तीन सय ९६ पालिकामा एकैसाथ पाँच, १० र १५ शय्याका आधारभूत अस्पतालको शिलान्यास गरिएको थियो । जसमा चन्द्रकोट गाउँपालिका–६ मा १५ शय्याको आधारभूत अस्पतालको तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शिलान्यास गरेकी थिइन् । हाल अस्पताल निर्माण सम्पन्न भएपछि चन्द्रकोटवासी सञ्चालनको पर्खाइमा छन् । स्थानीय कुमारबहादुर सार्कीले अस्पताल सञ्चालन नहुँदा उपचारका लागि पाल्पा वा बुटबल धाउनुपर्ने बाध्यता रहेको बताइन् । उनले अस्पताल सञ्चालनका लागि प्रदेश र केन्द्र सरकारले पनि ध्यान दिनुपर्ने बताइन् । उनले भनिन्, 'यति ठूलो अस्पताल पालिका एक्लैले सञ्चालन गर्न सक्दैन, प्रदेश र केन्द्र सरकारले पनि सहयोग गर्नुपर्छ ।' चन्द्रकोट गाउँपालिका–६ मा रु १३ करोड ६६ लाखको लागतमा १५ शय्याको भवन निर्माण गरिएको हो । चन्द्रकोटमा अस्पतालका साथसाथै चिकित्सक बस्ने दुईतले आवास भवन पनि निर्माण गरिएको छ । गाउँपालिका अध्यक्ष युवराज केसीले अस्पताल सञ्चालनका लागि चिकित्सकको विज्ञापन खुलाउने गरी बजेट स्वीकृत गरिएको बताए । रासस
भिडियो एक्सरे मेसिन चलाउने मान्छे नहुँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा बन्द
काठमाडौं । जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भिडियो एक्सरे सेवा बन्द भएको छ । अस्पतालको भिडियो एक्सरे, अल्ट्रा साउण्ड लगायत सेवा एक महिनादेखि बन्द हुँदा उपचारका लागि प्रतिष्ठानमा आएका सेवाग्राहीलाई सास्ती भएको हो । तिला गाउँपालिकाका टोपबहादुर रावतका अनुसार अस्पतालमा आएका बिरामी भिडियो एक्सरे सेवा प्रवाहबाट वञ्चित भएका छन् । अस्पतालमा भिडियो एक्सरे मेसिन उपलब्ध भए पनि त्यसलाई चलाउने जनशक्ति अभावका कारण सेवा बन्द रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति सह प्राध्यापक डा डबल बहादुर धामीले जानकारी दिए । प्रतिष्ठानले रेडियोलोजिस्टका लागि माग गरे पनि कोही सम्पर्कमा नआउँदा यो समस्या भएको उनले बताए । एक सातादेखि बन्द भएको सिटिस्क्यान सेवा भने सञ्चालनमा ल्याएको निमित्त उपकुलपति डा. धामीले बताए ।
एनआईसी एशिया बैंकका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलमा छुट
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूलाई फ्रन्टलाइन हस्पिटलका सेवामा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्रदान गर्ने सम्झौता भएको छ । नोबल कलेज अफ हेल्थ एण्ड एजुकेसन फाउन्डेसन, फ्रन्टलाइन हस्पिटल र एनआईसी एशिया बैंकबीच भएको सम्झौतापछि ग्राहकहरूले पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा विभिन्न सेवा लिँदा बैंकको डिजिटल माध्यमबाट भुक्तानी गरेमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । सम्झौता पत्रमा बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र अस्पतालका तर्फबाट क्लिनिकल प्रेसिडेन्ट डा. योगेश न्यौपानेले हस्ताक्षर गरेका हुन् । ग्राहकहरूले डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एप प्रयोग गरी भुक्तानी गर्दा सो छुट उपलब्ध हुनेछ । बैंकले यस सहकार्यबाट ग्राहकहरूलाई स्वास्थ्य सेवामा सहजता पुग्ने र देशमा नगदरहित कारोबार तथा डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिएको छ ।