अब बसेकै ठाउँबाट स्वास्थ्य बीमा सुविधा लिन सकिने, सुविधा लिन तीन महिना कुर्नु नपर्ने

काठमाडौं । अब स्वास्थ्य बीमा गर्नेले आफू बसेकै स्थानमा प्रस्थान बिन्दु कायम गरेर सुविधा लिन सक्ने भएका छन् । आफू रहेकै स्थानमा प्रस्थान बिन्दु कायम गर्ने गरी स्वास्थ्य बीमा नियमावली संशोधन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रस्ताव मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो । यसअघि मन्त्री पौडेलले स्वास्थ्य बीमामा सहजताका लागि बीमा गरेको स्थानबाट अन्यत्र गएका व्यक्तिले आफू बसेकै स्थानमा प्रथम बिन्दु कायम गर्न सक्ने व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका थिए । सोही अनुसार मन्त्रालयले नियमावली संशोधन प्रस्ताव लगेकामा बुधवारको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको मन्त्री पौडेलले जानकारी दिए । यसले रेफर लिनका लागि बीमा गराएकै स्थानमा पुग्नुपर्ने झन्झट कम हुने अपेक्षा गरिएको छ । स्वास्थ्य बीमामा आबद्ध हुने धेरै नागरिकले यस्तो व्यवस्था गर्न माग गर्दै आएका थिए । यसैगरी, मन्त्रिपरिषदबाट पारित प्रस्तावअनुसार अब स्वास्थ्य बीमाको सेवा लिनका लागि तीन महिना पर्खनु पर्नेमा अब एक महिनाभित्रै सेवा लिन सकिने भएको छ । यसले सेवा लिनका लागि थप सहजता प्रदान गर्ने मन्त्री पौडेलले बताए । ‘स्वास्थ्य बीमामा आम नागरिकको पहुँच वृद्धि गर्न संशोधन आवश्यक थियो,’ मन्त्री पौडेलले भने, ‘स्वास्थ्य बीमालाई बढी व्यवहारिक र सहज बनाउन यसले भूमिका खेल्नेछ ।’ यसैगरी, संशोधनअनुसार अब सबै तहमा स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु कायम हुनेछ । हाल स्वास्थ्य बीमा सबै तहमा पुगे पनि प्रथम सेवा बिन्दु भने सबै तहमा छैनन् । अब संशोधनअनुसार हरेक तहमा त्यस्तो व्यवस्था हुनेछ । यसले बीमामार्फतको आधारभूत सेवा लिनका लागि टाढा जानुपर्ने अवस्थासमेत अन्त्य हुने अपेक्षा गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

राति सुत्नुअघि केसर-अलैंची चिया पिउनूहोस्, छन् यस्ता फाइदा

काठमाडौं । यदि तपाईं राम्रो निद्रा, उज्यालो छाला र बलियो पाचन प्रणाली चाहनुहुन्छ भने राति सुत्नुअघि केसर र अलैंचीको चिया अवश्य पिउनूहोस् । यो चिया स्वादिष्ट मात्र होइन, शरीरलाई भित्रैदेखि स्वस्थ राख्न सहयोग पुर्‍याउँछ । जान्नुहोस् कसरी यो चियाले तपाईंको स्वास्थ्यमा लाभ पुर्‍याउन सक्छ। राति सुत्नुअघि किन पिउने केसर-अलैंची चिया ? रातको समयमा शरीरलाई शान्ति र विश्राम आवश्यक पर्छ । यस्ता समयमा यदि तपाईं यस्तो केही पिउन चाहनुहुन्छ जुन स्वादमा स्वादिलो होस् र स्वास्थ्यका लागि पनि फाइदाजनक होस् भने केसर र अलैंचीको चिया उत्तम विकल्प बन्न सक्छ । टाइम्स अफ इन्डियामा प्रकाशित रिपोर्टअनुसार याे चियामा रहेका प्राकृतिक गुणहरूले धेरै स्वास्थ्य समस्याहरूको समाधान दिन सक्छ ।  यस चियाका फाइदाहरू निद्रा सुधार्छ यदि तपाईं रातभरि छटपटाइरहनुहुन्छ र राम्रोसँग निद्रा लाग्दैन भने यो चिया उत्कृष्ट विकल्प हुन सक्छ । अलैंचीमा पाइने प्राकृतिक तेल र केसरमा हुने सेरोटोनिन बढाउने तत्वहरूले मानसिक तनाव घटाउँछन् । यी दुवै मिलेर मस्तिष्कलाई शान्त बनाउँछन् र गहिरो निद्रा ल्याउँछन् । छालालाई उज्यालो बनाउँछ केसरमा भएका एण्टीअक्सिडेन्टहरूले छालाबाट फ्री रेडिकल्स हटाउँछन्, जसले छालालाई युवाकाे जस्तै राख्न सहयोग गर्छ । अलैंचीको डिटक्सिङ शक्तिले छालाको गहिरो सफाइ गर्छ, यसले डन्डीफोरबाट पनि राहत दिन्छ। पाचन प्रणालीलाई बलियो बनाउँछ राति भारी खाना खाएपछि हुने ग्यास, अपच र पेट फुल्ने समस्या समाधान गर्न यो चिया उपयोगी हुन्छ । अलैंचीमा हुने एन्जाइमहरूले ग्यास र एसिडिटी घटाउँछन्, केसरले पाचन सहज बनाउँछ । तनाव र मुड स्विङमा राहत दिनभरको थकान र मानसिक तनाव कम गर्न यो चिया प्राकृतिक उपचारजस्तै काम गर्छ । केसरले मुड सन्तुलनमा राख्ने हर्मोन बढाउँछ भने अलैंचीले मस्तिष्कलाई रिल्याक्स गर्छ । शरीरलाई डिटक्स गर्छ केसर- अलैंची चिया नियमित पिएमा शरीरमा जम्मा भएका विषाक्त पदार्थहरू बाहिर निस्कन्छन् । अलैंचीले लिभर सफा गर्छ र केसरले रोगसँग लड्ने क्षमतामा सुधार गर्छ । यो चियाले शरीरलाई प्राकृतिक रूपमा सफा गर्दै मौसमी रोगसँग लड्न तयार बनाउँछ ।

पुरानो मेडिकल कलेजमा न्यूरोसर्जरी सेवा पुनः सुरु

 चितवन । चितवनको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा न्यूरो सर्जरी सेवा पुनः सुरु भएको छ । वरिष्ठ न्यूरो सर्जन प्रा. डा. आइप चेरियनको नेतृत्वमा वरिष्ठ न्यूरोसर्जन डा. बिपिन चौरसिया सहितको चिकित्सकको टोलीले अस्पतालमा न्यूरो सर्जरी सेवा दिने थालेको हो । डा. चौरसियाका अनुसार अस्पतालले २४ सै घण्टा आकस्मिक न्यूरो सर्जरी सेवा र बिहान ९ देखि बेलुका ५ बजेसम्म ओपीडी सेवा प्रदान गर्नेछ । विशेष गरी सवारी दुर्घटनाबाट हुने टाउको र मेरुदण्डको चोट (न्यूरो ट्रमा) जस्ता आकस्मिक केसहरूमा विशेष ध्यान दिइएको छ। 'हाम्रो टिम मस्तिष्कको ट्युमर,मस्तिस्क घात, ब्रेन एन्युरिजम, टाउकोमा पानी जम्ने, मेरुदण्डको ट्युमर, फ्र्याक्चर, ढाड दुख्ने, खुट्टा झमझम गर्ने र पक्षाघातजस्ता न्यूरोसम्बन्धी सम्पूर्ण समस्याको उपचार गर्न सक्षम छ,' डा. चौरसियाले भने । यो सेवाले चितवनवासीलाई काठमाडौं रिफर गर्नुपर्ने बाध्यता हटाउँदै गुणस्तरीय न्यूरोसर्जरी सेवा उपलब्ध गराउने प्रतिबद्धता अस्पातलले व्यक्त गरेको छ ।