विशेषज्ञ आयुर्वेद चिकित्सक समाजमा नयाँ नेतृत्व, सभापतिमा डा.पुनेश्वर केशरी
काठमाडौं । विशेषज्ञ आयुर्वेद चिकित्सक समाज नेपालको तेस्रो राष्ट्रिय अधिवेशनले दुईवर्षे कार्यकालका लागि डा.पुनेश्वर केशरीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । राजधानीमा शुक्रबारदेखि सुरु भएको समाजको अधिवेशनले नयाँ नेतृत्व निर्विरोध निर्वाचित गरेको सभापति केशरीले जानकारी दिए । कार्यसमितिको उपसभापतिमा डा.निर्मल भुसाल, सचिवमा डा. निश्चल गुप्ता, कोषाध्यक्षमा डा.मदन भण्डारी निर्विरोध निर्वाचित भएका हुन् । यसैगरी समाजको सदस्यहरुमा डा. काजल झा, डा.विशुनदयालप्रसाद पटेल, डा.साधना पराजुली र डा.प्रशन्न नेपाल निर्वाचित भएका छन्। अधिवेशनको शुक्रबार विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालय परिषद्का अध्यक्ष डा.अर्जुन कार्कीले उद्घाटन गरेका थिए । समाजको स्थापना वि.सं २०६५ मा भएको हो । हाल नेपालमा आयुर्वेदका १८७ जना विशेषज्ञ चिकित्सक छन् । आयुर्वेदका विशेषज्ञ चिकित्सकलाई एलोपेथिकभन्दा फरक व्यवहार गरिएपछि तिनलाई उपयुक्त काम गर्ने अवसर दिने उद्देश्यले समाजको स्थापना भएको संस्थापक अध्यक्ष डा. देवकला भण्डारीले जानकारी दिइन् । करिब एक दशकसम्म भने समाज निष्क्रिय रहेकाले केशरीको संयोजकत्वमा तदर्थ समिति गठन गरी तेस्रो अधिवेशनबाट समाजलाई निरन्तरता दिइएको जनाइएको छ । समाजले नेपालमा आयुर्वेदको प्रवर्द्धनका लागि सरोकार भएका निकायसँग सहकार्य गरी काम गर्ने सभापति केशरीरले बताए ।
एमबीबीएस बिडीएस कलेजको सिट संख्या बढ्यो, एमबीबीएसमा १३० र बीडीएसमा ६० जना भर्ना हुन पाउने
काठमाडौं । सरकारले एमबीबीएस बिडीएसको सिट संख्या बढाउने भएको छ । बिहीबार बसेको चिकित्सा शिक्षा आयोगको बैठकले मेडिकल कलेजको पूर्वाधार हेरेर सिट संख्या बढाउने निर्णय गरेको हो । अब अहिले एक सय सिट संख्या रहेको कलेजले एक सय ३० र ५० सिट रहेको बीडीएसमा ६० जना विद्यार्थी भर्ना गर्न पाउने भएका छन् । विराट मेडिकल कलेज , चितवन मेडिकल कलज, नोबेल, नेपालगञ्ज, युनिभर्सल, काठमाडौं मेडिकल कलेज, नेपाल मेडिकल कलेज र काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिकल १ सय ३० बढको छ भने मणिपाल, जीएमसी ले १२० सिट पाउने जनाइएको छ । यस्तै, देवदह मेडिकल कलेज ९० जनालाई पढाउन पाउने भएको छ । अन्य सरकारी तथा प्रतिष्ठान को स्रोत सुनिश्चित भएपछि मात्रै बढ्ने बताइएको छ । सरकारले यसअघि नै निजी मेडिकल कलेजसँग सिट बढाउने सहमती गरेको थियो । निजी मेडिकल कलेजमा कार्यरत पीजि चिकित्सकहरूले सुरक्षाभत्ता बढाउनुपर्ने माग गर्दा निजी मेडिकल कलेजले सिट संख्या बढाउनुपर्ने अडान राखेको थियो ।
अन्नपूर्ण न्यूरो हस्पीटल र प्रभु बैंकबीच ग्राहक तथा कर्मचारीका लागि छुट सम्झौता
काठमाडौं । काठमाडौं महानगरपालिका, वाड नं ११, बबरमहलस्थित अन्नपूर्ण न्यूरो हस्पीटल र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरूका लागि छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार, प्रभु बैंकका कर्मचारी, कर्मचारीका परिवारजन र ग्राहकहरूले अन्नपूर्ण न्यूरो हस्पीटलमा १०–१५ प्रतिशत छुट पाउने भएका छन् । यो छुट हस्पीटलमा उपलब्ध सबै सेवासुविधामा लागू हुनेछ । उक्त सम्झौतापत्रमा अन्नपूर्ण न्यूरो हस्पीटलको तर्फबाट मेडिकल प्रशासक डाक्टर शरद गजुरेल र मार्केटिङ म्यानेजर प्रेम कुमार दाहाल तथा प्रभु बैंकको तर्फबाट चिफ मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दीन चित्कारले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् ।