बालबालिकाको प्रतिरोधात्मक क्षमता बढाउन स्वर्णप्रासन आयुर्वेदिक थोपा प्रदान गरिने
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बालबालिकाको प्रतिरोध क्षमता विकासका लागि आयुर्वेदिक पद्धतिको स्वर्णप्रासन थोपा प्रदान गर्ने निर्णय गरेका छन् । स्वर्ण भष्मलाई घ्यू र महमा मिसाएर थोपा अंशको रूपमा उपलब्ध गराइँदा प्रतिरोध क्षमता वृद्धि हुनुका साथै बालबालिकाहरूको शारीरिक तथा मानसिक विकासका हुने जानकार बताउँछन् । मन्त्री पौडेलले मन्त्रीस्तरीय निर्णयबाट यस्तो थोपा देशैभर जन्मेको ६ महिनादेखि ५ वर्षसम्म प्रदान गर्ने निर्देशिकासमेत स्वीकृत गरेका छन् । गत वर्ष मन्त्री पौडेलले बालबालिकाको प्रतिरोध क्षमता बढाउन यस्तो कार्यक्रम ल्याउने घोषणा गरेका थिए । अब देशभरका २५ आयुर्वेदिक स्वास्थ्य संस्थाहरुमार्फत देशैभर पहिलो चरणमा कार्यक्रम सुरु हुने मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए । आगामी वर्षमा देशका सबै आयुर्वेदिक संस्थामा यस्तो कार्यक्रम विस्तार गर्ने योजना रहेको प्रवक्ता बुढाथोकीले बताए । ‘देशभित्रकै आयुर्वेदिक प्रविधिको प्रवर्द्धन र प्रयोगमार्फत नागरिकको स्वास्थ्य रक्षामा यो महत्त्वपूर्ण कदम हो,’ उनले भने । मन्त्री पौडेलले आयुर्वेदिक औषधी तथा उपचार विधि प्रवर्द्धन गर्न स्वदेशी उत्पादकलाई विदेश निर्यातमा सहयोग पुग्ने गरी अन्तर्राष्ट्रिय मापदण्ड जिएमपी प्राप्त गर्ने व्यवस्था मिलाएका छन् । विदेश निर्यात गर्न तथा देशभित्रै स्तरीय उत्पादन गरिरहेका आयुर्वेदिक उत्पादकले औषधी व्यवस्था विभागबाट यो प्रमाणपत्र प्राप्त गर्ने व्यवस्था मन्त्री पौडेलले मिलाएका हुन् । नयाँ बजेटमा देशका सबै स्थानीय तहमा नागरिक आरोग्य कार्यक्रम समेत अघि बढाइएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
खतिवडा सेवा समाज र ग्रीनसिटी अस्पतालबीच स्वास्थ्य उपचारमा सहुलियत दिन समझदारी
काठमाडौं । खतिवडा सेवा समाज नुवाकोट र ग्रीनसिटी अस्पताल, काठमाडौंबीच स्वास्थ्य उपचारमा सहुलियत दिने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी अनुसार समाजका सदस्य र उनका परिवारका सदस्यहरूले ग्रीनसिटी अस्पतालमा विभिन्न स्वास्थ्य सेवामा छुट पाउनेछन् । यसले सदस्यहरूलाई गुणस्तरीय उपचार सहज र किफायती दरमा उपलब्ध हुने अपेक्षा गरिएको छ । समझदारी अनुसार खतिवडा सेवा समाजले आफ्ना सदस्यहरूलाई सदस्यता कार्ड उपलब्ध गराउनेछ र सोही कार्डका आधारमा अस्पतालका सेवामा विशेष सुविधा प्राप्त गर्न सकिनेछ । साथै, समाजले अस्पताललाई आफ्नो स्वास्थ्य साझेदार भनेर घोषणा गर्दै अस्पतालका कार्यक्रमहरूको प्रवर्द्धन गर्ने जिम्मेवारी लिनेछ । स्वास्थ्य शिविर सञ्चालनमा अस्पतालले प्राविधिक व्यवस्थापन गर्ने भने समाजले समग्र व्यवस्थापन गर्नेछ । यो सम्झौता भदौ १ गतेदेखि लागू भई दुई वर्षसम्म रहने व्यवस्था गरिएको छ । आवश्यक परेमा दुवै पक्षको सहमतिमा यसलाई थप अवधि बढाउन वा संशोधन गर्न सकिनेछ । समझदारीपत्रमा हस्ताक्षर गर्दै खतिवडा सेवा समाज नुवाकोटका अध्यक्ष विकास खत्रिवडाले आफ्ना सदस्यहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै गरिएको यो कदमले सदस्यहरूलाई ठूलो लाभ पुग्ने विश्वास व्यक्त गरे । त्यस्तै, ग्रीनसिटी अस्पताल प्रालिका अध्यक्ष लोक बहादुर टण्डनले आपसी सहकार्यले समाजका सदस्यलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज बनाउने बताए । समाज र अस्पताल दुवैले यस सम्झौतालाई सदस्यहरूको स्वास्थ्य र कल्याणका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन् ।
आईएमई लाइफ इन्स्योरेन्सको आठौँ वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रम नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा काठमाडौंको लैनचौरमा सम्पन्न भएको थियो । 'रगतदान, जीवनदान' भन्ने मूल नाराका साथ आयोजित सो कार्यक्रममा कम्पनीका सञ्चालक समिति सदस्य, ग्राहक, अभिकर्ता, कर्मचारी तथा सर्वसाधारण गरी सयौं व्यक्तिले स्वेच्छिक रक्तदान गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले भने, 'स्वास्थ्य, सेवा र सामाजिक उत्तरदायित्व हाम्रो व्यवसायको महत्वपूर्ण आधार हुन् । रक्तदान जस्तो जीवनरक्षक कार्य हामी सबैको दायित्व हो ।' नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिहरूले कम्पनीसँगको दीर्घकालीन सहकार्यप्रति धन्यवाद व्यक्त गर्दै, रक्तदानले धेरै जीवनमा नयाँ आशा थप्ने उल्लेख गरे । आईएमई लाइफ इन्स्योरेन्सले आफ्नो वार्षिकोत्सव सप्ताहभित्र विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरू सञ्चालन गरिरहेको छ, जसमा स्वास्थ्य शिविर, बीमा सचेतना, प्रभातफेरी लगायतका कार्यक्रमहरू समावेश छन् ।