विश्व क्षयरोग दिवस आज, ३ हप्ताभन्दा बढी खोकी लागे परीक्षण गराउन आग्रह
काठमाडौं । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ : राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नाराका साथ मंगलबार विश्व क्षयरोग दिवस मनाइँदैछ । क्षयरोग नियन्त्रणका लागि सचेतना फैलाउने उद्देश्यका साथ हरेक वर्षको मार्च २४ तारिखमा यो दिवस मनाउने गरिन्छ । सन् २०३५ सम्म देशमा क्षयरोग अन्त्य गर्ने तथा सन् २०५० सम्म देशलाई क्षयरोगमुक्त बनाउने लक्ष्यका साथ विभिन्न कार्यक्रम गरी दिवसलाई भव्यताका साथ मनाउन लागिएको हो । यस वर्षका लागि तय भएको नाराले राष्ट्रिय अभियान, साझा जिम्मेवारी र जनसहभागिताको महत्वलाई उजागर गर्न खोजिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालको प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको क्षयरोगको पहिचान गरी निदान गर्ने र जनचेतना फैलाउने लक्ष्यका साथ यस दिवसलाई भव्यताका साथ मनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुरोधमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई आग्रह गरेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२४ मा नेपालमा ६७ हजार नयाँ क्षयरोगका बिरामी फेला परेका छन् । देशभरका छ हजार २४१ स्वास्थ्य संस्थामा क्षयरोगको उपचार हुन्छ भने ७८५ संस्थामा तोकिएको माइक्रोस्कोपी सेवा र १४२ संस्थामा द्रुत परीक्षण सेवा निःशुल्क उपलब्ध छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार औषधि प्रतिरोधी उपचारका लागि ३१ वटा केन्द्र र ९८ वटा उपकेन्द्र सञ्चालनमा छन् । त्यस्तै, १४९ स्थानीय तहमा क्षयरोगमुक्त नेपाल अभियान विस्तार गरी सक्रिय बनाइएको छ । क्षयरोग प्राचीन कालदेखि मानव समुदायमा विभिन्न रोग र सङ्क्रमणका रूपमा लिने गरिएको थियो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हरेक बर्ष संसारभर ८० लाख नयाँ क्षयरोगी थपिन्छन् । तीन हप्ता वा बढी समयदेखि लगातार खोकी लागेमा, खकारमा रगत देखिएमा, श्वास फेर्न गाह्रो वा छाती भारी भइरहेमा, अकस्मात धेरै तौल घटेमा, बढी पसिना आउने र थकान बढी महसुस भएमा नजिकैको स्वास्थ्यचौकी गएर परिक्षण गराउनुपर्नेमा मन्त्रालयले जोड दिएको छ । शारीरिक अवस्था कमजोर भई रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसमा यो रोगको सङ्क्रमण सहजै हुन सक्दछ । जानकारहरूका अनुसार कमजोर रोगप्रतिरोध क्षमता भएका तथा धुमपान, मध्यपान वा लागुऔषध सेवन गर्नेमा यो रोगको सक्रमण हुन सक्छ । त्यस्तै, क्षयरोगको औषधिको मात्रा पूर्ण सेवन नगरेमा पनि सङ्क्रमण पुनः देखिन सक्छ । औषधिको नियमित सेवनले क्षयरोग निको हुन्छ । यो रोग लाग्नुभन्दा लाग्न नदिन विशेष सचेतना अपनाउनुपर्छ । उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गरी क्षयरोग नियन्त्रणसम्बन्धी जनचेतना अभिवृद्धि, अन्तरक्रिया तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरी भव्यताका साथ दिवस मनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्थानीय तहलाई आग्रह गरेको छ । रासस
स्वास्थ्यमन्त्री शर्माले सार्वजनिक गरिन् आफ्नो कार्यकालका उपलब्धी
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले आफ्नो पाँच महिने कार्यकालका उपलब्धीहरू सार्वजनिक गरेकी छिन् । आफ्नो कार्यकाल सकिनुअघि आफूले गर्न सकेका र अबको सरकारले गर्नुपर्ने कामका विषयमा उनले सुझाव दिएकी छिन् । जेनजी आन्दोलनपछि छोटो समयमा मन्त्रालयको नेतृत्व गरेकी शर्माले नेपालको संविधानले व्यवस्था गरेको स्वास्थ्यसम्बन्धी अधिकारहरू, विभिन्न ऐन नियमावली र कार्यविधिले निर्देशित गरेका कार्यहरू, स्वास्थ्य क्षेत्र रणनीति र वार्षिक बजेट तथा कार्यक्रमको परिधिभित्र रही जनआकांक्षा पुरा हुनेगरी काम गर्नुपर्ने अवस्थामा केही दूरगामी महत्त्वका कार्यहरू सम्पन्न गरेको बताएकी छिन् । मन्त्री शर्माले जेनजी आन्दोलनमा घाइते भएकाहरूको उपचार र राहतको काम पुरा गरेको उल्लेख गरेकी छिन् । उनले यो आन्दोलनमा घाइते भएका २ हजार ६ सय ३८ मध्ये तीन सय ६१ घाइतेहरूको वर्गीकरण गरी राहत उपलब्ध गराउनेक्रममा रहेको, घाइतेहरूको देशका विभिन्न अस्पतालमा निःशुल्क उपचार गरेको, जेनजी आन्दोलनमा सहिद भएका परिवारका लागि आजीवन निःशुल्क स्वास्थ्य उपचारको स्रोत व्यवस्थाका लागि अर्थ मन्त्रालयमा पठाएको, घाइते तथा सहिद परिवारका लागि देशभरका ९७ अस्पतालबाट निःशुल्क मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउँदै आएको उल्लेख गरेकी छिन् । यसैगरी, मन्त्री शर्माले जेनजी आन्दोलनमा मन्त्रालयको भवन जलेर ध्वस्त भएका बेला मन्त्रालय र अन्तर्गतका निकायहरूको व्यवस्थापन र सुधारको प्रयास गरेको बताएकी छिन् भने पाँच महिनामा १३ वटा नीतिगत निर्णयहरू गरेकी छिन् । वीर अस्पतालको आकस्मिक उपचार विभागलाई ७५ शैया बनाउने लक्ष्यसहित हाल ५५ शैयामा विस्तार गरिएको, सल्यान जिल्ला अस्पतालमा रक्तसञ्चार केन्द्र स्थापना गरिएको, तलव भत्ता लगायतको माग राख्दै आन्दोलनमा उत्रेका नर्सहरूको पारिश्रमिक बढाएको, हाल ९३ आधारभूत अस्पतालको निर्माण सम्पन्न भएको र ६२ वटा अस्पताल निर्माणको काम जारी रहेको लगायतका उपलब्धी सार्वजनिक गरेकी छिन् । यस्तै, सातै प्रदेशका स्वास्थ्य संस्थाहरूको सवलिकरणद्धारा सेवाको गुणस्तरमा अभिवृद्धि गरेको उल्लेख छ । त्यस्तै, मातृ तथा नवजात शिशु स्वास्थ्यको गुणस्तर सुधार गर्न राष्ट्रिय नवजात कार्ययोजना २०८०, २०८७ र मातृ पेरिनेटल मृत्यु अनुगमन तथा प्रतिक्रिया प्रणाली बमोजिम १ सय २१ वटा अस्पताल र ५२ जिल्लामा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा विस्तार गरिएको सेवाको पहुँच कम भएका सुदूरपश्चिम र मधेश प्रदेशका स्थानीय तहमा एकीकृत प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरिएको, देशभरका संघिय अस्पतालमा मनोसामाजिक परामर्श केन्द्र स्थापना गरी सेवा सुरु गरिएको समुदाय स्तरमै मानसिक स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले ७ सय ५३ स्थानीय तहमा नागरिक आरोग्य कार्यक्रममा मनोसामाजिक स्वास्थ्य कार्यक्रम पनि समावेश गरी सञ्चालन गरिएको उल्लेख छ । वैदेशिक रोजगारीमा संलग्न श्रमिक नेपालीको स्वास्थ्यलाई ध्यान दिँदै त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलको हेल्थ डेस्कमा सन्देश मूलक सामग्रीहरू राखिएको, वीर अस्पतालबाट प्रदान हुँदै आएको दूर चिकित्सासेवालाई थप प्रभावकारी बनाइ माघ महिनामा मात्रै ३ सय २८ जनालाई सेवा दिइएको शुक्रराज अस्पतालमा वैदेशिक रोजगार पूर्व प्रस्थान र वैदेशिक रोजगार फिर्तापश्चातका चरणमा सेवा दिने गरी ट्राभल मेडिसिन क्लिनिक सञ्चालनमा ल्याएको उल्लेख छ । त्यस्तै, स्वास्थ्य बीमा सुधारका लागि मन्त्री शर्माले २० बुँदे सुझावहरू कार्यान्वयनका लागि सम्बन्धीत निकायहरूसँग समन्वय भइरहेको उल्लेख गरेकी छिन् । बीमा बोर्डको संरचनात्मक तथा कार्यगत अवस्था विश्लेषण गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण को स्वीकृती अन्तिम चरणमा पुगेको, सातवटै प्रदेशका स्वास्थ्य सचिवहरूसँग छलफल गरी आगामी आर्थिक वर्षदेखि स्वास्थ्यबीमाको कोषमा सबै तहका सरकारले आआफ्नो क्षेत्रमा भएको खर्चको अनुपातमा सहयोग गर्ने निर्णय गरेको उल्लेख छ । त्यस्तै, मन्त्रीले मन्त्रालयमा आएका नागरिकलाई प्रत्यक्ष असर पार्ने ६ सय ६९ वटा जनगुनासो सम्बोधन गरिएको, विभिन्न सात देशका राजदूत तथा कुटनीतिक निकायका पदाधिकार विश्व स्वास्थ्य संगठन, युनिसेफ लगायतका दातृ निकायका पदाधिकारीसँग छलफल गरी स्वास्थ्य क्षेत्रको सुदृढिकरणका विषयमा छलफल गरेको उल्लेख छ।
दैनिक रगत अभावपछि कोशी अस्पतालले ब्लड बैंक स्थापना गर्ने
विराटनगर । कोशी अस्पतालले आफ्नै ‘ब्लड बैंक’ स्थापना गर्ने भएको छ । कोशी प्रदेशकै सबैभन्दा ठूलो सो अस्पतालमा बिरामीको चापसँगै दैनिक रगत अभाव हुन थालेपछि ‘ब्लड बैंक’ स्थापनाको तयारी थालिएको हो । प्रादेशिक रक्तसञ्चार सेवा विराटनगरका अनुसार कोशी प्रदेशमा दैनिक करिब ९०० देखि १००० युनिटसम्म रगतको माग हुने गरेको छ । अस्पतालका प्रशासन प्रमुख त्रिलोचन न्यौपानेले आकस्मिक अवस्थाका बिरामीलाई समयमै रगत उपलब्ध गराउन अस्पतालले आफ्नै संरचनामा ब्लड बैंक स्थापना गर्न लागेको जानकारी दिए । अस्पतालमा दैनिकजसो रगतको अभाव हुँदा आकस्मिक सेवाका बिरामी र तिनका आफन्तले निकै सास्ती खेप्दै आएका छन् । विशेषगरी प्रसूति र शल्यक्रियाका बिरामीलाई समयमै रगत जुटाउन हम्मेहम्मे पर्ने गर्दछ । उनका अनुसार अस्पतालले बल्ड बैंक सञ्चालनका लागि आवश्यक सामग्री खरिद लागि गत पुस महिनामा बोलपत्र आह्वान गरि प्रक्रिया सुरु गरेको थियो । सोही अनुसार अस्पतालले आह्वान गरेको बोलपत्ररमार्फत ब्लड बैंकका लागि आवश्यक पूर्वाधार निर्माण, उपकरण जडान तथा सेवा सञ्चालनको व्यवस्था गरिने जनाएको छ । करिव २४ लाखको बजेटमा निमार्ण गर्न लागिएको उक्त ‘ब्लड बैंक’ अस्पतालमै स्थापना भएपछि रगत सङ्कलन, परीक्षण र भण्डारणको प्रक्रिया छिटो हुने भएकाले आकस्मिक सेवामा सुधार आउने अपेक्षा गरिएको अस्पतालका प्रशासन प्रमुख न्यौपानेले जानकारी दिए । 'अहिले हामी बाह्य निकायमा निर्भर छौँ, जसका कारण कतिपय अवस्थामा रगत अभाव हुन्छ,' प्रशासन प्रमुख न्यौपानेले भने, 'अस्पतालमै ब्लड बैंक सञ्चालनमा आएपछि बिरामीलाई छिटो र सहज रूपमा सेवा दिन सकिन्छ ।' उक्त ‘ब्लड बैंक’ सञ्चालनका लागि आवश्यक कर्मचारीका लागि पनि दरबन्दी खुलाइसकेको र छनोट प्रक्रियामा रहेको उनले जानकारी दिए । अस्पतालमा टाढाका जिल्ला र छिमेकी भारतीय सहरबाटसमेत बिरामी उपचारका लागि आउने भएकाले त्यहाँ रगतको आवश्यक अत्याधिक रहेको अस्पतालमा कार्यरत चिकित्सक बताउँछन् । आवश्यकता अनुसार समयमै रगत उपलब्ध हुन नसक्दा उपचारमा कठिनाइ आउने गरेको चिकित्सकको भनाइ छ । अस्पालमा प्रसूति र सर्जरी सेवा अत्यन्तै आपतकालीन हुने भएकाले रगत अभाव हुँदा यो विभाग सबैभन्दा बढी समस्यामा पर्ने गरेको अस्पतालका स्त्री तथा प्रसूतिरोग विभागका प्रमुख डा. अन्जु देव बताउँछन् । 'हामीकहाँ प्रसूति र शल्यक्रियाका बिरामीमा रगतको अत्यधिक आवश्यकता हुन्छ,' उनी भन्छन्, 'तर अभावका कारण कतिपय अवस्थामा बिरामी भर्ना गर्नुअघि नै एक पोका रगतको व्यवस्था गर्न लगाउनुपर्ने बाध्यता हुन्छ ।' उनका अनुसार अस्पतालको आफ्नै ब्लड बैंक नहुँदा रेडक्रसमा निर्भर हुनुपर्ने अवस्था छ । 'कहिलेकाहीँ निजी अस्पतालहरूले आफ्ना बिरामीलाई प्राथमिकता दिँदा यहाँका गरिब बिरामीहरू मारमा पर्छन्,' उनी भन्छन् । डा. देवले प्रसूति सेवालाई अत्यन्तै संवेदनशील र आकस्मिक सेवा भएको उल्लेख गर्दै अस्पतालले नै ‘ब्लड बैंक’ स्थापना गर्ने भएपछि धैरै बिरामीलाई आफै रगत खोज्नुपर्ने बाध्यताबाट राहत मिल्ने बताए । विशेषगरी मोरङ जिल्लाका अस्पतालहरूमा रगतको माग अत्यधिक हुनेगरेको छ । पछिल्लो समय नियमित रक्तदान कार्यक्रम ओझेलमा परेका छन । रासस